site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तेलको मूल्य बढे पनि निगम घाटामा कसरी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्धनको मूल्य समायोजन (वृद्धि) गरे पनि नेपाल आयल निगम घाटामा पुगेको छ । तीन महिनापछि मूल्य बढाए पनि निगमले जुलाईको पहिलो अर्धमासिक अवधिमा घाटा सहेर इन्धन बेचिरहेको जनाएको हो ।

आईओसीबाट प्राप्त मूल्यसूचीका आधारमा निगमले गएको मंगलबार नेपाली बजारमा इन्धनको मूल्य बढाएको हो । तेलको मूल्य बढाउनुको कारण थियो, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले मूल्य बढाएर नयाँ मूल्यसूची पठाउनु र जसका कारण निगमलाई आर्थिक भार थपिनु ।

अन्तर्राष्ट्रिय बजारमा अहिले तेलको मूल्य बढिरहेको छ । तर, नेपालमा तेलको मूल्य अन्तर्राष्ट्रिय बजार मात्रै नभएर भारतीय बजारले पनि प्रभाव पार्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले भारतीय बजारमा तेलको मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ । रक्सौलमा पेट्रोल प्रतिलिटर साढे ८३ भारु (१ सय ३३ नेरु) जबकि डिजलको मूल्य साढे ७७ भारु (१ सय २४ नेरु) छ ।

अर्कोतर्फ अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य निरन्तर बढ्दै गएको छ । जसले निगमलाई अझै घाटाको बाटोमा धकेल्ने त्रास बढेको छ ।

Global Ime bank

यसबाहेक सीमावर्ती भारतीय बजारको तुलनामा नेपालमा तेलको मूल्य निकै सस्तो हुनु, सरकारले यसअघि लगाएको पूर्वाधार कर इन्धनको मूल्यमा समावेश नगर्नु र सोहीकारण घाटामा योगदान भइरहनाले निगमले स्वतः सञ्चालित मूल्य प्रणालीअनुसार तेलको मूल्य बढाएको जनाएको छ ।

यति धेरै कारणले तेलको मूल्य बढाए पनि निगम अझै घाटा नै बेहोर्ने प्रक्ष्येपण गरिएको छ ।

निगमलाई कसरी घाटा हुन्छ ?

दुई साताअघि प्राप्त मूल्यसूचीका आधारमा निगमले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा २–२ रुपैयाँले तेलको मूल्य बढायो । त्यसमा पनि घाटा रहेको निगमले जनाएको छ । घाटा हुनुको कारण हो, पेट्रोल र डिजेल दुवैमा घाटा र एलपी ग्यासमा कम नाफा ।

पछिल्लो एक वर्षमा आयल निगमलाई डिजेलमा घाटा थिएन । तर, मंगलबार सार्वजनिक नयाँ मूल्य सूचीअनुसार भने निगमलाई डिजलमा प्रतिलिटर १ रुपैयाँ ८२ पैसा घाटा छ । डिजेल सर्वाधिक प्रयोग हुने इन्धन हो । पेट्रोलमा पनि प्रतिलिटर ३ रुपैयाँ ८५ पैसा घाटा रहेको निगमको दाबी छ ।
यी दुवैमा बेहोरिएको घाटा यसपल्ट ग्यासले सन्तुलन गर्न सकेको छैन ।

गत वर्षको उदाहरण लिँदा, अक्टोबर महिनामा पेट्रोलमा घाटा सहँदा ग्यासमा प्रतिसिलिन्डर २७ रुपैयाँ नाफा थियो । पेट्रोलमा घाटा भए पनि निगमलाई ग्यास र डिजलमा घाटा थिएन । यसरी एक प्रकारको इन्धनमा घाटा हुँदा अर्कोबाट सन्तुलन हुने गरेको थियो ।

कारण हो दुई सातामा ग्यासमा प्रतिसिलिन्डर ७३ रुपैयाँ नाफा गरेको निगमको प्रतिसिलिन्डर नाफा घटेर ५० रुपैयाँ पुगेको छ । डिजेलमा १ रुपैयाँ ८२ पैसा र पेट्रोलमा ३ रुपैयाँ ८५ पैसा घाटा सहँदा निगम आउने १५ दिनमा ६ करोड १५ लाख रुपैयाँ घाटा सहने प्रक्षेपणमा छ ।

लकडाउनसँगै बदलियो समिकरण, सिलिन्डर बेचेर उठ्दैन तेलको आर्थिक भार

ग्यासको कुरा गर्दा २०१९ देखि नोभेम्बरदेखि २०२० अप्रिलभरसम्म निगमले महंगोमा किनेर सस्तोमा बेचेको थियो । जसको सन्तुलन निगमले पेट्रोल र डिजेल बिक्रीबाट मिलाएको थियो । मे महिनामा भने निगमलाई सबै प्रकारमा इन्धनमा नाफा थियो । तर, जुन लागेपछि परिस्थिति त्यस्तो रहेन । प्रति सिलिन्डर ग्यासमा हुने नाफा घट्दै गयो भने पेट्रोल र इन्धनको नाफा पनि घटेर ऋणात्मकतर्फ उन्मुख भयो ।

जसअनुसार भर्खरै समायोजित मूल्यले निगमलाई अर्धमासिक अनुमानित बिक्रीको आधारमा १५ दिनमा पेट्रोलमा ३ करोड ७३ लाख र डिजलमा १० करोड ५८ लाख रुपैयाँ घाटा हुने देखाउँछ । यो घाटालाई हवाइ इन्धन र एलपी ग्यासबाट हुने नाफाले सन्तुलन गर्न सक्दैन ।

१५ दिनमा साढे १० लाख सिलिन्डर बिक्री हुने अनुमान लगाउँदा एलपी ग्यासमा निगमलाई ५ करोड २८ लाख रुपैयाँ नाफा हुनेछ । हवाइ इन्धनको बिक्रीबाट डेढ करोड रुपैयाँ नाफा हुने निगमको अनुमान छ ।

यसरी घाटा बढ्दै जाँदा निगमलाई इन्धनको मूल्य फेरि समायोजन गर्नुको विकल्प नरहेको निगमले जनाएको छ ।

के भन्छ निगम ?

निगमका प्रवक्ता विनितमणी उपाध्याय भन्छन्, “नयाँ मूल्यसूचीअनुसार पाक्षिक रुपमा ६ करोड १५ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ । जसको कारण हो, पेट्रोल र डिजल दुवैमा सहेको घाटा ।” निगमले सहेको घाटाको परिमाण अहिलेको भन्दा उच्च हुन पनि सक्थ्यो । उपाध्याय भन्छन्, “संयोगवस अहिले हामीलाई एलपी ग्यासमा नाफा छ । ग्यासमा पनि घाटा भएको भए अहिलेको घाटा अनुमानै लगाउन नसकिने मात्रामा हुने थियो ।”

ग्यासमा प्रतिसिलिन्डर १० रुपैयाँमात्र नाफा–घाटा हुँदा निगमलाई मासिक औसत ३ करोड रुपैयाँको नाफा–घाटा हुन जान्छ । नेपाली बजारमा मासिक औसतमा ४० हजार मेट्रिक टन (२८ लाख सिलिन्डर) ग्यास खपत हुने गरेको छ । तर, आर्थिक गतिविधि ठप्प हुनुका कारण आउने १५ दिनमा साढे १० लाख ग्यास खपत हुने अनुमान गरिएको छ ।

अबको १५ दिनमा ९७ लाख ३ हजार लिटर पेट्रोल, ५ करोड ८१ लाख ७६ हजार लिटल डिजल, ६ लाख १९ हजार लिटर मट्टितेल, ३ लाख ७४ हजार लिटर हवाइ इन्धन र १० लाख ५६ हजार थान सिलिन्डर बिक्री हुने निगमको अनुमान छ । यो बिक्रीबाट निगमलाई ६ करोड १५ लाख रुपैयाँ घाटा हुनेछ ।
यसर्थमा पेट्रोलियम पदार्थको मूल्य समायोजन नहुने हो भने निगमलाई थप आर्थिक घाटा हुनेछ जसका कारण कालान्तरमा उपभोक्ता नै यसबाट मारमा पर्नेछन् । 

उनले भने, “निगम कमजोर अवस्था पुग्न सक्छ, भोलि तेल किन्नै नसक्ने अवस्थामा पुग्न सक्छ ।”

यता, कोभिड– १९ को कारणले गर्दा अर्न्तराष्ट्रिय बजारमा घटेको तेलको मूल्य दोब्बर भइसकेको छ । २१ अप्रिल २०२० मा प्रतिब्यारेल १९.३३ डलर रहेकोमा आजको मितिमा करिब ४२ डलर रहेको थियो ।

यसैगरी जुन ६ तारिखदेखि भारतमा इन्धनको मूल्य लगातार उकालो लागेको छ ।

यसअघि निगमले चैत १९ गते पेट्रोल, डिजेल र मट्टितेलको बिक्री मूल्य १० रूपैयाँले घटाएको थियो भने जेठमा हवाई ईन्धन आन्तरिक तर्फ १० रूपैयाँ र बाह्यतर्फ ८२ अमेरिकी डलरले घटाएको थियो ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त मूल्यसूचीको आधारमा नेपाल आयल निगमले हरेक १५–१५ दिनमा इन्धनको मूल्य समायोजन गर्दै आएको छ । ६ वर्षदेखि स्वतः सञ्चालित मुल्य प्रणालीबाट नेपालमा इन्धनको मूल्य घटबढ हुँदै आएको छ ।

नेपालको मूल्य समायोजनमा अन्तर्राष्ट्रिय बजारको मूल्यले केही समयपछि प्रभाव पार्ने गरेको अनुभव छ ।

त्यसमा अन्य केही तत्व पनि छन् जसले नेपालमा इन्धनको मूल्यमा निर्धारणमा अर्थ राख्छन् । सीमावर्ती भारतीय बजारको इन्धन मूल्य, नेपाल सरकारले इन्धनमा लगाउने विभिन्न प्रकारको कर तथा शूल्क, आयल निगमले अवसरमा प्रदान गर्ने छुट आदिले समयसमयमा इन्धनको मूल्य तलमाथि भइरहन्छ ।

तेल बिक्री नहुँदा अप्रिलमा निगमलाई १८ करोड घाटा

लकडाउनका कारण बजार ठप्प हुँदा तथा सवारीसाधान नचल्दा नेपाल आयल निगमलाई अप्रिल महिनामा १८ करोड ३० लाख रुपैयाँ घाटा भयो । सो बेला डिजल र पेट्रोलमा निगमलाई क्रमशः १२ र १५ रुपैयाँ नाफा थियो । जबकि माग सामान्य दरमा घटेको एलपी ग्यासमा प्रतिसिलिन्डर १ सय ९५ रुपैयाँ घाटा थियो ।

मे महिनामा भने निगमको बाटो मोडिएको देखिन्छ । भारतीय बजारमा एलपी ग्यासको मूल्यमा कमी आउँदा निगमको लागत कम पर्‍यो । जसका कारण प्रतिसिलिन्डर १ सय ८१ रुपैयाँसम्म नाफा भयो । डिजल र पेट्रोलमा नाफा यथावतै थियो ।

तर, जब भारतमा जैविक इन्धनको मूल्य बढ्न थाल्यो । यता निगम चापमा पर्न थालेको निगमकै अधिकारी बताउँछन् ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  २१:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC