ओली सरकार र नेकपा

डा. वीजन पन्त 

आजको मितिमा नेपाल कम्युनिस्ट पार्टीको नामको गाडी ‘हाइवे’मा ‘हाइ गिएर’मा कुदिरहेको हुनुपर्ने । तर, बाटै बिराए झैँ गरी चौबाटामा रुमलिएको देखिन्छ । संसद्मा करिब दुई तिहाइ बहुमत भएको यस सरकारको कार्यशैलीबाट चिन्तित र पीडित नेपाली जनता विस्मित पनि बनेका छन् । पक्ष, प्रतिपक्ष, बुद्धिजीवी र जनसाधारणले प्रधानमन्त्री केपी ओलीको कार्यशैली र बोलीमा सुधारको माग बारम्बार गरिरहेका छन् । इतिहासमै यति बलियो सरकार, सहयोगी सत्ता पक्ष र यति कमजोर प्रतिपक्ष कुनै प्रधानमन्त्रीलाई प्राप्त भएको थिएन । तर, यस्तो मौका पाउँदा पनि एकदमै असहिष्णु र आधारहीन गफ दिने प्रधानमन्त्री पाउनु यो देश र जनताकै दुर्भाग्य हो  । 

यही विषयमा एउटा प्रसंग जोड्न चाहन्छु  । ओली सरकारकै अघिल्लो मन्त्रिपरिषद्मा भएका एकजना मन्त्री एक दिन प्रम ओलीसँग बालुवाटारमा प्रधानमन्त्री निवासको लिफ्टबाट सँगै माथि उक्लँदै रहेछन् । त्यसबेला प्रधानमन्त्रीले उनलाई भने रे — ‘‘काम होस् वा नहोस् बोल्ने कुरा केही बाँकी राख्नुहुन्न  ।’’ ती मन्त्रीले उक्त घटना यस पंक्तिकार लाई सुनाउँदा प्रधानमन्त्रीको सोच देखेर आफैँ आश्चर्यचकित भएँ पनि भन्न भ्याएका थिए । अर्थात् आफ्नै दलका मन्त्रीसमेत उनको गफ दिने प्रवृत्तिबाट आजित रहेछन् । वास्तवमा ती मन्त्रीले सिधै सुनेकामात्र हुन् नत्र प्रधानमन्त्री ओलीको वास्तविकता नजान्ने अहिले कोही नहोलान् । पुराना गफका पुलिन्दा नखोलौँ । हालै संसद्मा लामो बेसार महात्म्य सुनाएर उनले आफैँले आफ्नो चरित्र एकपल्ट पुनः पखालेका छन्  । अब कस्तो अवस्था आएको छ भने सामान्य जनतासमेत प्रधानमन्त्री ओलीलाई शंकाको सुविधा दिने अवस्थामा देखिँदैनन्  ।

यस्तो अवस्थामा प्रधानमन्त्री ओली जुम्ल्याहामध्ये एक अध्यक्ष भएको नेपाल कम्युनिस्ट पार्टीको के अवस्था होला ? बाहिरबाट हेर्दा यो पार्टी कमरेड ओलीको लाचार छायामात्र भएको देखिन्छ  । उहाँले पार्टीभित्र र बाहिरका सबैलाई ढाँट्ने, छल्ने र वाक्वाण प्रहार गरेर आजित पार्नु भएको छ । आफूमात्र जान्ने, सुन्ने र आफैँलाई ठूलो ठान्ने फोस्रो घमण्डले चुर ओली जत्तिको प्रधानमन्त्री देशले देख्न र भोग्न परेको थिएन । राज्यको स्रोत र साधनको मनोमानी वितरण, सरकारको हरेक तहमा भ्रष्टाचार कति चरम भइसकेको छ भने राजनीतिमा चासो नै नराख्ने युवाले बन्दाबन्दीकै समयमा उहाँकै आँखा अगाडि ‘अब त अति भो’ भन्दै जुलुस निकाले ।

विडम्बना, नेकपा मौन छ  । भोलि नेकपामा अझै धेरै माथि जाने संभावना भएका मन्त्रीहरू नै मौन छन्  । मन्त्रिपरिषद्मा कुनै मन्त्रीको कुरा सुनिदैन । एउटा मूर्ख विद्यार्थीले शिक्षकको खप्की खाएजसरी प्रधानमन्त्रीको हप्की सुन्नुपर्ने गुनासो एक जना मन्त्रीले गरेका थिए  । अन्य कार्यक्रममा पनि आफू बोलेपछि कसैको कुरा नसुनी हिँडने उहाँको बानी नै बनिसक्यो । बसेको ठाउँमा पनि समकक्षीहरूलाई हेप्ने र बेतुकको गफ हान्ने बानीले गर्दा नजिकैका नेताहरूले समेत उहाँमा समस्या रहेको टिप्पणी गर्न थालेका छन्  । 

कुनै पनि व्यक्तिमा आआफ्नै गुण र अवगुण हुन्छन् । तर प्रधानमन्त्रीमा भएको यस्ता अवगुणले भने पूरै देशमा नै प्रत्युत्पादक असर पर्ने हुनाले यस विषयको उठान गर्नु परेको हो  । किनभने एकजना प्रधानमन्त्रीको कारण देशै डुब्ने अवस्था आउनु हुँदैन । त्यसैले सोध्नैपर्ने भएको छ — के यस देशले अझै अढाइ वर्ष यो अभिशाप सहनै पर्ने हो ?

जनताको घृणा र रोषका कारण सडकबाटै सरकार परिवर्तित हुनुपर्ने अवस्था आयो भने न त नेकपाले अर्को प्रधानमन्त्री दिनसक्छ न त अरु पार्टीले नै विकल्प दिन भ्याउँछन् । त्यस्तो अवस्थामा प्रधानमन्त्रीमात्र नभई सम्पूर्ण राज्य व्यवस्था नै डुब्ने अवस्था आउनसक्छ  । अर्थात्, बहुमतप्राप्त नेकपाका कमरेडहरू प्रधानमन्त्रीको गलत बोली, काम, कारबाहीका कारण अनाहकमा राजनीतिक सती जाने अवस्थामा पुग्नेछन्  । 

परन्तु, नेकपा र यसका नेतासँग अझै समय छ  । प्रधानमन्त्री ओलीलाई उहाँले गरेजस्तो देखिने केही कामको खादा ओढाएर समयमै बिदा गर्ने  । आफ्नै पार्टी र सबै प्रतिपक्षको साथ र सहयोगले राष्ट्रियता र सीमा संरक्षणको पहल उहाँले गरेको राम्रो काम हो । तर, राज्य र पार्टी सञ्चालनमा उहाँको मनोमानी र लापर्बाहीको सूची कति लामो भयो भने स्वयं नेकपा कमरेडहरुलाई कति लाज भयो होला ? लाग्छ, प्रधानमन्त्री ओलीलाई स्वयं नै त्यसको आभास हुँदैछ । आफ्नै दलसँग डराएर सचिवालयको बैठक राख्न सक्तैनन्, स्थायी कमिटीको बैठक पटकपटक सारेर बल्लतल्ल गर्छन् अनि आफ्ना भनाइ राखेर अन्य नेतालाई उपेक्षा गरेर अनुपस्थित रहन्छन् । ‘जसले जे गर्नसक्छ गरे हुन्छ’ भन्ने आशयका वक्तव्य दिन्छन् ।

सरकार र पार्टीमा आफ्नै कारण र व्यवहारले गतिरोध सुरु हुनेबित्तिकै उहाँ आफ्नो बचाउमा राष्ट्रियताको मुद्दा गाँसिदिनु हुन्छ ! आफ्नो पदीय गरिमालाई नसुहाउने गरेर बोल्न थाल्ने शैली साधारण नागरिकलाई पच्दैन भने देशका ठूला हौँ भन्नेहरूलाई के हुँदो हो? आज यस्तै अवस्थाबीच मुस्किलले स्थायी समितिको बैठक चल्दै छ । यो बैठकले के गर्छ त भन्ने प्रश्न नै अहिलेको जनसमुदायको चासो र सरोकार हो  । 

यसपल्ट पनि नेकपाको स्थायी कमिटीले मुखको तीतो पोखेपछि अब दुई अध्यक्ष मिलेर निर्णय लिनुस् भनेर छाडिदिने हो भने शीर्ष नेता र स्थायी कमिटीका नेताहरू क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भाग लिन गए हुन्छ । राष्ट्रिय राजनीतिमा उनीहरूको कुनै भूमिका रहनेछैन  । 

हामीले बडो ठूलो त्याग, तपस्या र बलिदान गरेर ल्याएको अहिलेको संघीय, समावेशी र समानुपातिक संविधानको कलिलै उमेरमा हत्या नहोस्  । अहिलेको अवस्थामा ओलीलाई नेकपा आफैले बहिर्गमन गराउन सक्तैन र जनताको सडक संघर्ष आवश्यक हुने हो भने वर्तमा राजनीतिक व्यवस्थामा नै गंभीर आघात पर्न सक्छ । त्यसबेला कस्तो शक्ति, कस्तो राजनीतिक व्यवस्था र जनताका अधिकार कति रहन्छन् भन्ने कुनै प्रत्याभूति हुँदैन  । त्यसैले यही स्थायी कमिटीको बैठकबाट संसदीय दलको बैठक आह्वान गरेर नयाँ नेतृत्व चुन्न नेकपाका सांसदमा सोच र शक्ति आओस्  । 

अन्यथा, ओली राजमा या त दुई वर्षभित्रै हामीले बनाएको व्यवस्था धराशायी हुन्छ नभए आउने निर्वाचनमा कम्युनिस्ट पार्टीको टिकट लिएर उठ्नेहरूको मत माग्ने आधार समाप्त भएर जानेछ । अनि त राष्ट्र र पार्टीलाई एक जनाको सनक र लहडले पाँच वर्षभित्र कहाँ पुर्याउला भनेर सोच्दा पनि डरलाग्दो चित्र आखाँ अगाडि आउँछ ।

प्रतिकृया दिनुहोस
ad