site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बलिउडको फर्मुला कपी गर्न सुझाव
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल 
० ० ०
काठमाडौं । चलचित्रकर्मीहरूले वार्मअपका लागि सिनेमा हलमा पुराना चलचित्र लगाउनुपर्नेमा जोड दिएका छन् । दर्शकलाई चलचित्र हेर्न हलसम्म जाने वातावरण बनाउन सुरुमा पुराना चलचित्र लगाउनुपर्ने चलचित्रकर्मीहरू बताउँछन् । 

चलचित्रकर्मीहरू दीपकराज गिरी, दीपेन्द्र के. खनाल, केपी पाठकलगायतले लकडाउन खुलेपछि केही समय नयाँ चलचित्र रिलिज गर्दा निर्माताको लगानी जोखिममा पर्ने भएकाले सुरुमा पुराना चलचित्र लगाएर दर्शकलाई हलमा गएर सिनेमा हेर्न सकिने वातावरण छ भन्ने विश्वास दिलाउनुपर्ने बताउँछन् । 

कलाकार, निर्माता तथा निर्देशक गिरी बलिउडकै शैली नेपालमा पनि अपनाउन सकिने बताउँछन् । “बलिउड र हाम्रोमा धेरै समानता छ । चलचित्र निर्माणदेखि प्रदर्र्शनसम्म समान भएको र अहिले समस्या पनि उही भएकाले बलिउडले जे गर्छ त्यो नेपालमा पनि गर्दा हुन्छ,” गिरी भन्छन्, “हाम्रा सिनेमा हलमा ७० प्रतिशत कन्टेन्ट (फिल्म) प्रोभाइडर पनि बलिउड नै भएकाले अहिलेका लागि वार्मअपका लागि बलिउडले जस्तै सुरुमा दर्शकले रुचाएका तर चलिसकेका चलचित्र लगाउँदा हुन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

लकडाउन खुलेर सिनेमा हल सञ्चालन गर्ने अवस्था आए पनि कम्तीमा दसैंसम्म निर्माताले आफ्ना नयाँ चलचित्र रिलिज गर्ने अवस्था नरहने उनको भनाइ छ । 

निर्देशक खनालको विचार पनि गिरीसँग मिल्दोजुल्दो छ । ठूलो लगानी गरेर निर्माण गरेका चलचित्र लकडाउन खुल्नसाथ रिलिज गर्ने अवस्था नरहेको उनी बताउँछन् । 

Global Ime bank

“जनजीवन सामान्य भएर पहिलाकै अवस्थामा नफर्किएसम्म हलमा दर्शक जान्छन् भन्ने लाग्दैन । त्यसैले नयाँ चलचित्र लगाउन सम्भव छैन । एउटा सिट छाडेर ५० प्रतिशत अकुपेन्सीमा पुरानो चलचित्र लगाउने तयारी चलेको सुनेको छु,” निर्देशक खनाल भन्छन्, “चलचित्र संघले निर्मातासँग विनापैसा चलचित्र मागेर चलाउने योजना बनाएको सुनेको छु । यदि निर्मातासँग विनापैसा चलचित्र लिने हो भने दर्शकलाई पनि हलले विनापैसा चलचित्र देखाउन सक्नुपर्छ । विनापैसा चलचित्र देखाउन सकेको अवस्थामा दर्शकका लागि प्रोत्साहन पनि हुन्छ ।”

निर्देशक पाठक हलहरूले नयाँ योजना बनाएर दर्शकलाई आश्वस्त नबनाएसम्म हल चलाउन कठिन हुने धारणा राख्छन् । ५० प्रतिशत अकुपेन्सीमा पनि चलचित्र चलाउन कठिन हुने भन्दै पाठक भन्छन्, “पहिलो कुरा त एउटा सिट छाडेर अर्को सिटमा दर्शक राख्दा पनि दर्शकले आफू सुरक्षित रहेको महसुस गर्छन् र जान्छन् नै भन्ने छैन । यस्तो अवस्थामा चलचित्र विकास बोर्डले हल र निर्माता दुवैलाई प्रोत्साहनस्वरूप केही योजना ल्याउन सक्नुपर्छ ।”

नेपाल चलचित्र संघले अब कसरी चलचित्र चलाउने भन्नेबारे छलफल चलिरहेको तर निष्कर्षमा पुगिनसकेको बताएको छ । निर्मातासँग चलचित्र लिएर विनापैसा चलाउन नसकिने नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधान बताउँछन् । 

“पुराना चलचित्र हलमा चलाउँदा पनि दर्शक आउँछन् कि आउँदैनन् भन्ने निश्चित छैन । टेलिभिजन तथा एपमा पनि चलचित्र आउने भएकाले दर्शक हलमा आउँछन् भन्ने पनि छैन,” अध्यक्ष प्रधान भन्छन्, “चलचित्र विकास बोर्डको रोहबरमा चलचित्र संघ, निर्माता संघ र वितरक बसेर कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्नेछौं ।” अहिले विभिन्न योजना र विकल्पमा अनौपचारिक छलफल चलिरहे पनि निष्कर्षमा भने नपुगेको उनी बताउँछन् । हलमा ५० प्रतिशत दर्शक राख्ने वा ३३ प्रतिशत त्यो पनि निश्चित भइसकेको छैन । 

सरकारले चलचित्रलाई नजरअन्दाज गरेको उनको गुनासो छ । होटल, पर्यटनजस्तै चलचित्र उद्योगलाई पनि कोरोना अति प्रभावित क्षेत्रमा राखेर सेवासुविधा दिनुपर्नेमा सरकारले बेवास्ता गरेको उनको भनाइ छ । प्रधान चलचित्र क्षेत्रमा एक वर्ष कर छुट दिनुपर्ने बताउँछन् । 

यता, चलचित्र विकास बोर्डले चलचित्र उद्योगलाई अति प्रभावित उद्योगअन्तर्गत राख्न सरकारसँग पहल गरिरहेको छ । बोर्ड अध्यक्ष दयाराम दाहालले आफूले चलचित्र उद्योगलाई कोरोना अति प्रभावित क्षेत्रमा राख्न सरकारसँग आग्रह गरेको र यसमा सकारात्मक प्रतिक्रिया पाएको बताए । 

बजेट वक्तव्यमा कोरोना अति प्रभावित क्षेत्र भनेर सूचीकृत भएका उद्योगले उद्योग ऐनअन्तर्गत केही सरकारी सेवा, सुविधा तथा सहयोग पाउँछन् । 

आफूले प्रतिबद्धता जनाएअनुसार चलचित्र क्षेत्रसँग सम्बन्धित सबै पक्षलाई अबको केही दिनमै राहत दिने अध्यक्ष दाहालले बताए । “हामीसँग भएको बोर्डको आन्तरिक स्रोतबाट कति सकिन्छ, सकेको सहयोग हामी अबका केही दिनमै दिँदै छौं । यसका लागि तयारी गरिरहेका छौं,” अध्यक्ष दाहालले भने, “आन्तरिक स्रोतबाट मात्रै गरिने सहयोग पर्याप्त हुँदैन । त्यसैले सञ्चार मन्त्रालयलाई पनि हामीले आग्रह गरिसकेका छौं ।”

बोर्डले शुक्रबार (हिजो) सञ्चार मन्त्रालयलाई पत्र लेखेरै सहयोगका लागि आग्रह गरेको छ । एक साताअगाडि बोर्ड अध्यक्ष दाहालले सञ्चारमन्त्री युवराज खतिवडालाई भेटेर तत्काल राहत उपलब्ध गराउन आग्रह गरेका थिए । जवाफमा मन्त्री खतिवडाले लिखित रूपमा राहत तथा सहयोग माग गर्न भनेपछि बोर्डले पत्र पठाएको हो । 

अध्यक्ष दाहालले बोर्ड सदस्य नरेन्द्र महर्जनको संयोजकत्वमा तीन सदस्सीय समिति गठन गरेर राहत दिने व्यक्तिको पहिचान गरी प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् । महर्जन नेतृत्वको समितिले पहिचान गरेर तत्काल राहत दिन सिफारिस गरेका व्यक्तिलाई बोर्डले सुरुमा आन्तरिक स्रोतबाट र पछि मन्त्रालयबाट सहयोग आएपछि पुनः सहयोग गर्नेछ । 

कोरोनाले चलचित्र क्षेत्र ठप्प हुँदा जीवनयापन गर्न समस्या भएका चलचित्र प्राविधिक तथा यही क्षेत्रमा कार्यरत अन्य अभावमा गुज्रिरहेका व्यक्तिलाई राहत दिइने बोर्डले जनाएको छ । नेपालमा करिब साढे तीन हजार चलचित्र प्राविधिक छन् । यो संख्या करिब ५० प्रतिशत सक्रिय प्राविधिक भएको नेपाल चलचित्र प्राविधिक संघले दाबी गर्दै आएको छ । 

महर्जन नेतृत्वको समितिले नै लकडाउनपछि चलचित्र क्षेत्रलाई कसरी चलायमान बनाउने अध्ययन गरिरहेको छ । लकडाउन सकिएपछि कसरी चलचित्र हलमा लगाउन सकिन्छ, चलचित्र संघ र निर्माता संघका माग तथा उनीहरूलाई कसरी सहजीकरण गर्न सकिन्छ ? सरोकारवाला पक्षसँग छलफल गरेर बोर्डसामु अध्ययन प्रतिवेदन बुझाउनेछ । सोही अध्ययन प्रतिवेदनको सुझावअनुसार बोर्ड अगाडि बढ्ने योजनामा छ । 

“राहत वितरण पहिलो चरणको काम हो । यो सकिएपछि हामीसामु लकडाउनको अन्त्यसँगै चलचित्र क्षेत्रलाई कसरी चलायमान बनाउने भन्ने चुनौती छ,” दयाराम भन्छन्, “लकडाउन सकिएपछि निर्माताहरू कसरी फ्लोरमा जाने, निर्माण सम्पन्न भएर रिलिजका लागि पाइपलाइनमा रहेका चलचित्र कसरी प्रदर्शनको वातावरण बनाउने अध्ययन तथा छलफल गर्दै छौं । अध्ययन समितिसँगै म पनि सँगसँगै छलफलमा छु ।” 

सिनेमा हल र निर्माताहरूको लगानी कसरी सुरक्षित गर्ने त्यसतर्फ पनि सरकारमार्फत केही राहत तथा सुविधा जुटाउने योजनामा बोर्ड छ । 

यता, निर्माण सम्पन्न भएर बसेका तथा केही छायांकनमा रहेका चलचित्र भने तत्काल रिलिजको योजनामा छैनन् । सार्वजनिक सवारीमा ढुक्कले यात्रा गर्न सकिने अवस्था नभएसम्म र भिडमा बस्न नडराउने अवस्था नभएसम्म चलचित्र प्रदर्शन गरेर लगानीमा जोखिम उठाउन निर्माताहरू तयार छैनन् । 

यद्यपि ‘प्रेम गीत–३’ निर्माता तथा निर्देशक सन्तोष सेन आफूले भनेका सर्त पूरा भए दसैंमा चलचित्र रिलिज गर्ने बताउँछन् । 

यसका लागि सन्तोषले प्रमोसनका लागि आवश्यक पर्ने बजेट बोर्डले सहयोग गरिदिनु पर्ने, हलबाट मिनिमम ग्यारेन्टी (एमजी) दिनुपर्ने र देशभरका सबै हलमा बक्स अफिस लागु गर्नुपर्ने बताउँछन् । 

“अहिले आफ्नो जीवन बचाउने संघर्षमै सबै लागेको समयमा करोडौं लगानी जोखिममा राखेर कमैले मात्रै चलिचित्र रिलिज गर्छन् । यस्तो अवस्थामा चलचित्र क्षेत्रलाई चलायमान बनाउन पनि कुनै न कुनै ठूलो र प्रतिक्षित चलचित्र लगाउनुपर्ने अवस्था छ,” सन्तोष भन्छन्, “मेरो प्रस्ताव सम्बन्धित पक्षले मानेको खण्डमा दसैंमा चलचित्र रिलिज गर्छु । देशभरका हलमा बक्स अफिस लागु गर्ने र पारदर्शी हुने हो भने ७५ प्रतिशत प्रोड्युुसर बाँच्छन् ।”

अन्यथा आउँदो चैतमा चलचित्र रिलिज गर्ने योजना रहेको उनले सुनाए । ‘प्रेम गीत–३’ ले अघिल्लो वर्षको चैत अन्तिमका लागि रिलिज डेट लिएको थियो । कोरोना महामारीका कारण सरकारले सिनेमा हल बन्द गर्दै लकडाउन गरेपछि ‘प्रेम गीत–३’ सँगै आधा दर्जन चलचित्र रिलिज हुन सकेको थिएनन् । बन्द भएका हल लकडाउन खुलेपछि कसरी सञ्चालन गर्ने यसबारे बोर्ड तथा चलचित्र संघ छलफलमा छन् । 

संघका अध्यक्ष प्रधान तथा बोर्ड अध्यक्ष दाहालले बलिउड तथा अन्य अमेरिका, बेलायत, स्पेन, फ्रान्सलगायत देशमा पनि सिनेमा हल खुलेको भन्दै ती देशमा कसरी हल सञ्चालनमा आएका छन् अध्ययन गरेर नेपालमा पनि उपयुक्त निर्णय लिइने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १३, २०७७  ०८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC