सम्पादकीय
नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई अरू पार्टीका अनगिन्ती विद्यार्थी संगठनहरूमध्येको एउटा ठान्नु लोकतान्त्रिक इतिहासप्रति अन्याय हुन्छ । राजा महेन्द्रले संसदीय लोकतन्त्रको हत्या गरेपछि देशमा लोकतन्त्र समर्थकहरूको व्यापक दमन गरियो । नेपाली कांग्रेसका अधिकांश नेता तथा कार्यकर्ता कि त झ्यालखानामा थिए नभए निर्वासनमा थिए । देशभित्र लोकतन्त्रका पक्षमा बोल्ने आँट कसैले गर्दैनथियो । राजनीतिक दलहरूमाथि प्रतिबन्ध लागेको थियो । निर्वासनबाट थालिएको सशस्त्र आन्दोलन स्थगित गरिएपछि जो बाँचेको आशा पनि समाप्त भएको थियो । यस्तो निराशाको अन्धकारमा अध्ययनका लागि देशको विभिन्न भागबाट आएका चेतनशील विद्यार्थीहरूले काठमाडौंमा लोकतन्त्रको दियो सल्काएका थिए । काठमाडौंमा विद्यार्थीहरूको आन्दोलन, दमन र आन्दोलनको चक्र चलिरह्यो । यही क्रममा देशभरका लोकतन्त्रवादी विद्यार्थीहरूले एउटै संगठन निर्माण गरे । नेविसंघ त्यही अधिनायकवादको अन्धकारमा बालिएको लोकतन्त्रको दियो हो ।
नेविसंघको स्थापनासँगै सरकारले दमन गरेको थियो । विधिको शासनमा विश्वास गर्ने लोकतन्त्रवादी विद्यार्थी नेताहरूले पञ्चायतमा पनि न्यायालयको ढोका ढकढकाए । सरकार र स्वयं जेलमा रहेका विद्यार्थी नेताहरूलाई समेत आश्चर्यचकित बनाउँदै सर्वोच्च अदालतले नेपाल विद्यार्थी संगठनलाई वैध घोषणा गरिदियो । यसरी देशमा शान्तिपूर्णरूपमा स्थापित लोकतन्त्र पक्षधर पहिलो संस्था बन्न पुग्यो नेपाल विद्यार्थी संघ । यथार्थमा पञ्चायत कालमा देशमा लोकतन्त्रको दियो बाल्ने र जोगाउने नेविसंघले विद्यार्थी आन्दोलनहरूका माध्यमबाट पञ्चायतविरुद्ध भएका संघर्षमा अगुवाइ पनि गरिरह्यो । त्यति बेला कम्युनिस्टहरूले पनि विद्यार्थी संगठनहरूलाई नै पार्टी संगठनका आधार बनाएका थिए । यसैले लोकतन्त्रवादी विद्यार्थीहरू स्वाभाविकरूपमा नेपाली कांग्रेसको निकट भए । राजनीतिक दलहरू प्रतिबन्धित रहेकै अवस्थामा नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइराला भारत निर्वासनबाट स्वदेश फर्केपछि नेविसंघ पार्टीको वैधानिक मञ्चजस्तो बन्न पुग्यो । नेविसंघसमेतको अगुवाइमा भएको विद्यार्थी आन्दोलनले राजा देशमा निर्विकल्प घोषित पञ्चायत व्यवस्थाको विकल्प रोज्न जनमत संग्रह गराउन भए । जनमत संग्रहमा बहुदल हारेको घोषणा गरिए पनि लोकतन्त्रका पक्षमा देशभर संगठन निर्माण भयो । स्वाभाविकरूपमा त्यस्ता संगठनहरूमा नेविसंघका सदस्यहरू संगठित भए । यसले नेपाली कांग्रेसको संगठन त सुदृढ भयो तर नेविसंघ भने कमजोर र पार्टीमा निर्भर हुनथाल्यो । त्यसपछि देशको राजनीतिमा पार्टीहरू निर्णायक बन्न थाले । सत्याग्रह र पहिलो जनआन्दोलनमा विद्यार्थीहरू अग्रपंक्तिमा भए पनि निर्णायक हुन सकेनन् ।
नेपाल विद्यार्थी संघका अधिकांश नेता नेपाली कांग्रेसको संगठनमा स्थापित भएपछि नेविसंघ बिस्तारै पार्टीको विद्यार्थी विभागमा परिणत हुँदैगयो । यसपछि नेविसंघमा पार्टीको हस्तक्षेप बढ्दै गयो । संगठनका नियमित क्रियाकलापसमेत पार्टीको निर्देशनमा हुनथाल्यो । नेताहरू नेविसंघलाई कब्जा गरेर पार्टी संगठनमा प्रभुत्व जमाउन होडमा लागे । पार्टीमा जस्तै नेविसंघमा पनि नेतापिच्छेको गुट बन्न थाल्यो । कांग्रेस सत्तामा पुगेपछि नेताहरूका आडमा नेविसंघका नेता कार्यकर्ता सत्ताको ‘दलाल’ बन्न पुगे । यद्यपि, गणतन्त्रतर्फको यात्रामा भने नेविसंघले नै पार्टीलाई मार्गनिर्देश गरेको हो । नेविसंघका नेताहरूले गणतन्त्रका पक्षमा अभियान चलाएबापत राजद्रोहका मुद्दा खेप्दैगर्दा पार्टीका नेताहरू गणतन्त्रलाई दिवास्वप्न भन्दै थिए । दोस्रो जनआन्दोलन सफल भयो र संविधान सभाको पहिलो बैठकबाट राजतन्त्र समाप्त गरियो तर नेविसंघ भने नेताहरूको हातको कठपुलती बन्न पुग्यो । यसैले करिब एक दशकसम्म नेपाल विद्यार्थी संघको महाधिवेशनसम्म पनि हुन सकेन । अहिले पनि महाधिवेशन उद्घाटन हुँदै गर्दा दुई जना विद्यार्थी नेता विधि र प्रक्रियाको पक्षमा आमरण अनशन गरिरहेका छन् । तर, उनीहरूको अनशन समाप्त गर्न नेताहरूबाट प्रयास भएको देखिँदैन । यसैगरी पार्टीको गुटगत उमेदवारहरू प्रतिस्पर्धा गर्दैछन् । यस्ता अभ्यासहरू नेविसंघको ऐतिहासिक गरिमा सुहाउँदा छैनन् । यसैले यस अधिवेशनमा सहभागी नेपाल विद्यार्थी संघका प्रतिनिधिले संगठनको गरिमा जोगाउन आवश्यक र उचित भूमिका खेल्नुपर्छ । कारण, देशमा लोकतन्त्रको दियो निभ्न लाग्यो भने फेरि पनि समस्त लोकतन्त्रवादीका पक्षमा नेविसंघले नै त्यसलाई जोगाउनुपर्छ ।
प्रकाशित मिति: आइतबार, साउन २३, २०७३ २१:१५
प्रतिक्रिया दिनुहोस्