site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
परिवर्तनको कारकमा शब्द पनि

परिवर्तनका धेरै कारणमा एउटा चाहिँ गतिशील निरन्तरता हो । समाज र प्रकृतिमा पनि थाहै नपाई फेरबदल आइरहन्छ । कतिपय परिवर्तन मौसमी हुने र कतिपयले लामो समय लिएर आफ्नो यथास्थिति बदल्ने रहेछन् । सामाजिक वा प्राकृतिक रुपान्तरण मानिसले आफ्नै आयुभित्र अनुभूति गर्छ । केही वर्षअघिका गाउँ अहिले उस्तै छैनन् । सहर, बजारमा पनि प्रतिदिन परिवर्तन आइरहन्छ, सूक्ष्म वा हठात् । गतिशील निरन्तरता परिवर्तनको स्थायी चरित्र हो । शब्दलाई पूर्वीय चिन्तनमा ब्रह्म भनिन्छ । यिनको प्रयोगमा समेत परिवर्तनको सूक्ष्म तर गहिरो अर्थ कारण रहन्छ ।   

थाहै नपाएजस्तो हुने रुपान्तरण वा परिर्वतनबाहेक कुनै कारण हठात् र तीव्र घटना पनि परिवर्तन कारक हुन् । आन्दोलन र विपदहरुले समेत शीघ्र परिवर्तित परिणाम दिन्छन् । आन्दोलनले राजनीतिक परिवर्तन जति चाँडै गर्छ, सामाजिक,आर्थिक र सांस्कृतिक परिवर्तन भने उति नै ढिला वा  बिस्तारै हुन्छ । सामाजिक र संस्कृतिका कतिपय पक्षमा भने विपद्ले चाँडै फेरबदल ल्याउने रहेछ । अर्थ व्यवस्था नकारात्मक हुनसक्छ ।  

अहिले धेरै चिन्तकले कोरोना विषाणुको प्रकोप दुनियाँ चल्दै आएको प्रायः समग्र व्यवस्थापनमा रुपान्तरणको कारक बन्ने विश्लेषण गर्दैछन् । यतिबेलै पनि कोरोना विपद्ले हाम्रो सामाजिक र वैयक्तिक दिनचर्यामा प्रशस्त परिवर्तन भएको वा ल्याउनु परेको महसुस हुन्छ । महामारी र प्राकृतिक वा कुनै पनि प्रकारको विपद्ले परिवर्तनलाई अनिवार्य गर्ने रहेछ । त्यसको सीमा भने हुन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तन चाहिँ क्रमशः हुने गर्छन् । छलाङ मारेको परिवर्तन सधैँ सकारात्मक हुन्छ भन्ने हँुदैन । कतिपय दुःखद र नकारात्मक हुन्छन् । प्राकृतिक ध्वंश वा आन्दोलन यस्तै कोटीमा पर्न सक्छन् । नेपालमा राजनीतिक आग्रहको प्रत्यक्ष आन्दोलन सुरु भएको आठ दशक भएको छ । यस अवधिको आन्दोलनले गणतन्त्रसम्म पुगेको स्थितिमा पनि सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तनको सकारात्मक र व्यापक अनुभूति हुँदैन । अनुभव र लिखतहरुले पनि यस्तै बोध गराउँछन् । 

विध्वंशक भुइँचालोले रहनसहनमा फेरबदल ल्यायो । एक दर्जनभन्दा बढी जिल्लाको आवास संस्कृतिमै फरक पार्यो । घर निर्माणको पारम्पारिक सोच र शैलीमा देशव्यापी परिवर्तन गरिदियो । बाढी, पहिरोजस्ता विपद्ले पनि स्थिति स्वरुपमा उलटपुलट गरिदिएको नेपालकै अनुभव हो । परिवर्तनको सीमा भने हुने गर्छ । 

Global Ime bank

अढाइ दशकअघिको भीषण बाढीले तराईका केही जिल्लामा पहिरन र खाद्य संस्कृतिमा रुपान्तरण गरिदिएको थियो । घरका सबै समान बगेपछि सहर, बजारबाट जुटाइएको सहयोगमा त्यहाँको पारम्परिक लबाइभन्दा भिन्न र खानेकुरामा ‘जंकफुड’ पुगेका थिए । त्यहाँ ती चिजले फराकिलो स्वीकृति पाए । 

दुःखद परिघटनाहरुले पनि दुनियाँमा धेरै फरक ल्याएको पाइन्छ । कुनै परिवर्तनको प्रभाव विश्वव्यापी हुने गर्छ । कोभिड — १९ विपद्को प्रभाव आर्थिक, सामाजिकलगायत विषयमा विश्वव्यापी हुने बताइदै मात्रै होइन, केही अनुभवमै आइसकेको छ । अश्वेत युवकको हत्याका कारण अमेरिका र अन्य मुलुकमा समेत विभेद (रंग) विरोधी आन्दोलन फैलियो । यो आन्दोलन सामाजिक सोचमा परिवर्तनको कारक हुने अमेरिकी आगामी चुनावका डेमोक्रेट उमेदवार जो वाइडेनको भनाइ यसैबीच आएको छ ।  

नेपालमा राजनीतिक परिवर्तन खुबै भए पनि आर्थिक र सामाजिक क्षेत्रमा आन्दोलनको प्रभाव सुस्त र कम सकारात्मक छ । उदाहणका लागि माओवादी कम्युनिस्टले विभेदको अन्त्य र समानताको नारा दिएर गरेको दशक लामो हिंसात्मक आन्दोलनले विभेदको अन्त्य पनि गरेन छ र समानता पनि ल्याएन । बरु अर्को एउटा ठूलो सामन्ती समूह जब्बर बनायो । 

माओवादीको हिंसाले राजनीतिक परिवर्तन पनि गरेन, परिवर्तनका लागि शान्तिपूर्ण आन्दोलनमा आउन बाध्य भयो । माओवादीलाई अकुत कमाउने अवसरबाहेक हिंसाले गरेको असीमित ध्वंशको ठूलो अनुपातमा सकारात्मक रुपान्तरण न्यून रह्यो । माओवादीको प्रभाव क्षेत्र मानिने जिल्ला रुकुम, जाजरकोट (सोती–भेरी) को घटना सामाजिक मनःस्थितिको यस्तै निर्मम उदाहरण हो । माओवादी हिंसाले गहिरो गरी समुदायगत विभेद र घृणा बढाउने दुष्कर्म भने गर्यो ।

रुकुम सोतीको घटना प्रेमलाई वैवाहिक जीवनमा रुपान्तरित गर्ने उद्देश्य उत्पन्न हो । प्रश्न, प्रेमी कथित उपल्लो जातिका हुन्थे भने सायद् यो दुःखद घटना हुन्थेन कि ? । नवराज बिक दलित समुदायका युवक र युवती मल्ल थरकी  । यहाँको निर्मम घटनामा छजना युवा मारिए र त्यति नै युवा गम्भीर घाइते छन् । 

माओवादी मिसिएर बनेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सरकारले आजको मितिसम्म मृतकका परिवारलाई कुनै सहयोग र  सहानुभूतिसम्म दिएको छैन । घाइतेहरु, ती मानसिक भय ग्रसितसमेत भनिन्छन्को उपचारमा पनि कुनै वास्ता गरेको छैन । राज्यको तर्फबाट निष्पक्ष छानवीन र न्याय हुने विश्वाससमेत पीडितलाई लागेको छैन । किन ? 

सोती भेरीको घटनाले विभेद र समुदायमा घृणा अझ घनीभूत बनाउने देखिँदैछ । विभेदलाई राजनीतिक संरक्षण भएपछि विभेद हट्ने भएन, संरक्षित हुने भयो । यस घटनाको राजनीतिमा सरकारी कम्युनिस्ट र आरोपित समुदायमा एउटै थरका धेरै व्यक्तिहरु देखिएका छन् । रचित भयानक घटनालाई यी दुवैथरी सामान्यीकरणमा लागेका छन् । दोषी बचाउन सरकारी कम्युनिस्टहरु नै रक्षाकवच बनेको राजनीतिले अन्यायी विभेदलाई बचाई रहने भयो  । 

राजनीतिले बचाएको विभेदमा विभाजित नभएको समुदाय पनि छ भन्ने उदाहरणसमेत यो घटना हो । अनुसन्धानका लागि घटनास्थल पुग्नेहरुका अनुसार जाजरकोटबाट नवराज बिककी प्रेमिका लिन रुकुम सोती गएको १९ जनाको टोलीमा मारिने र घाइते गरी नौजना अन्य समुदायका रहेछन् । यो कुनै समुदाय लक्षितभन्दा पनि प्रेमी दलित समुदायको हुनु घटनाको कारक हुनुपर्छ । राजनीतिक संरक्षणले विद्यमान निन्दनीय विभेदलाई अरु जब्बर चाहिँ बनाउने भयो । 

युद्धको नाममा दलितहरुलाई मारकाटको अघिल्लो मोर्चामा उभ्याएर विभेद अन्त्य गर्ने उद्घोष गरेका नेता तत्कालीन ‘प्रचण्ड’ यस विषयमा किन मौन छन् ? कम्युनिस्ट सरकारका प्रधानमन्त्रीदेखि यो पार्टीका कुनै पनि  शीर्ष नेताको मुख स्पष्ट खुलेको छैन रुकुम घटनामा । एमसीसीमा चाहिने नचाहिने तर्क व्यक्त हुने मुखहरु रुकुम, भेरीको जघन्य घटनामा किन चुप हो ? 

घटनाको ११ दिनपछि मात्र, त्यो पनि सामाजिक टिप्पणीले बाध्य भएर निकालिएको नेकपाको विज्ञप्तिले नै विभेदको संस्कार बोकेको देखायो । ‘सोलोडोलो’मा यस्ता घटनादेखि भ्रष्टाचारसम्मको छानबिन हुने र कारबाही गरिने प्रधानमन्त्रीको भनाइ सुनिन्छ तर परिणाम हत्याहिंसा बढेको छ, विभेदजन्य घटना थपिएका र भ्रष्टाचार सरकार संरक्षित भएको छ । 

भ्रष्टाचारमा मन्त्री वा सरकारका अधिकारी लागेका घटना छन् । तिनकै संरक्षणको लागि प्रधानमन्त्री बोल्छन् । राज्यको चरित्रमा भ्रष्टाचारलाई संस्थागत गरिएको र हुँदाहुदा नेपाली सेना समेत आर्थिक अनियमिततामा मुछिएको समाचार सार्वजनिक भएका छन् । समाचारमात्रै होइन, स्वयं सेनाको संयन्त्रले गरेको छानवीनमा पूर्व वा वर्तमान सैनिक अधिकारी दोषी भेटिएका र दण्डित गरिएका घटनाले पनि सेनाभित्रको भ्रष्टाचारलाई सतहमा ल्याएको छ । जुन नकारात्मक परिवर्तनका उद्घाटित दृश्य हुन् ।     

समुदायमा विद्यमान विभेदलाई राजनीतिक संरक्षणले र  भ्रष्टाचारले धनी र गरिबबीचको खाडलको दूरी अझै फराकिलो पार्ने भयो । समुदायहरुमा समानता बोध गर्न, गराउन चाहनेको प्रयास विभेद वा वैमनश्य कायम गर्नेहरुको बलमा दमित हुँदैछ । माओवादी हिंसामा दिइएको नाराले उत्प्रेरित भएका माओवादी  बुद्धिजीवी (माबुजी, वाबुजी)हरुले भारतीय स्वतन्त्रताको संग्रामी इतिहासमा प्रयोग भएका शब्दहरु नेपाली प्रचलनमा खुब ल्याए । पश्चगामी यस्तै शब्द हो भने अर्को शब्द ‘ब्राह्मणवाद’ जोर लगाएर स्थापित गर्न खोजे । 

जसरी दलित शब्द सम्बोधन अस्वीकार्य हुनुपर्ने हो त्यसरी नै ब्राह्मणवाद पनि अस्वीकार्य छ । दलित स्वयं हीनतासूचक शब्द हो भने ‘ब्राह्मणवाद’ कुनै समुदायलाई होच्याउने वा घृणा गर्ने विभेद द्योतक शब्द हो । आफूलाई दलित नेता भन्न रुचाउनेहरुले नै दलित शब्द किन सहर्ष स्वीकार गरे ? के अन्य राम्रो शब्द फेला परेन ? यस्ता शब्दहरुको  सहाराले विभेद कम गर्न सहयोग पुर्याउँदैनन् । शब्दको विभेदजन्य नाकारात्मकता सोती–भेरीको घटना लक्षित सामाजिक सञ्जाल लगायतमा आएका धारणाको पक्ष विपक्षले पनि देखायो । 

ब्राह्मण समुदायका मानिसहरुको प्रगति र पढाइले जन्माएको ईष्र्या र केहीको शोषणले उत्पन्न आक्रोशजन्य शब्द ‘क्वाइन’ गरिएको हो– ब्राह्मणवाद । यस्तो शब्द प्रयोगकर्तालाई आक्रोशको कीरा मरेको अनुभूति दियो होला भने केहीलाई आधुनिक वा समदर्शी भएको ढोंग गर्न मिल्यो । समुदायगत यस्ता कुनै पनि लघुताबोधक शब्द विभेद अन्त्य र सहिष्णु संस्कार कायम गर्न सहायक हुने छैनन् ।

विरोधपछि ब्राह्मणवादका रचयिताले यसलाई समुदाय होइन, प्रवृत्ति बोधक हो भनेर सफाइ दिने कोसिस गरेका छन् । सामन्ती र शोषक वा उचनिच प्रवृत्ति बुझाउने शब्द भन्ने उपाय यिनले निकालेका छन् । यसो भए त्यस्तो प्रवृत्ति कुन चाहिँ नेपाली समुदायमा छैन ? र ब्राह्मण समुदायलाई नै लक्षित गरी किन शब्द प्रयोग वा ‘क्वाइन’ गरियो ? यो शब्दभित्रको मानसिकता के हो ? समुदायहरु नेपाली यथार्थ हुन् र हाम्रो खोजी समुदायबीच र समुदायभित्रै हुने विभेदको निवारण हो । त्यसका लागि के यी शब्द सहायक बन्छन् ?    

नेपालको सबै समुदायमा विद्यमान (आंशिक) कुप्रवृत्तिलाई बुझाउन वा त्यसको दोषभारी जति सबै ब्राह्मण समुदायलाई बोकाउन गरिएको यो शब्द चयन अहिलेको युगमा दुःखद र विभेदकारी द्योतक छ । त्यस्तो प्रवृत्तिलाई–सामान्तवाद, ठालुवाद, उचनीचवाद  वा (कथित) उपल्लो जातिवाद जस्ता शब्द प्रयोग गर्न सकिन्थ्यो र यो प्रवृत्तिको अंश को, कुन समुदायमा के कसरी प्रभावी र हिस्सा बाँडिन्छ भन्ने समीक्षा गर्न मिल्थ्यो । 

अपराधलाई दिइने राजनीतिक संरक्षणले अन्ततः विभेदलाई पोषण मिल्छ — जस्तै रुकुम घटना । शब्द प्रयोगले समानता बुझाउने र कतिपयले विभेद वा पक्षपात प्रतिरोपणगर्ने हुँदा रहेछन् । दलित र ब्राह्मणवाद यस्तै नकारात्मक शब्द हुन् । सामाजिकलगायत जुनसुकै विषयमा पनि न्याय र समानता बोध गर्न चाहनेहरुलाई होच्याउने, तल्लो बुझाउने र दुत्कार्ने बोली मान्य छैन । 

शब्दले पनि परिवर्तनको संकेत गर्छ तर सूक्ष्म र गहिरो । विचार गरौँ – दलित र ब्राह्मणवाद जस्ता होच्याउने शब्दले सामाजिक वा वैयक्तिक सोचमा कस्तो प्रभाव राखेको होला ? सामाजिक अभियन्ताहरु सजग हुनुपर्छ र शब्द मानवीय सन्देश दिने सकारात्मक  प्रयोग गरिनुपर्छ । शब्दको सकारात्मक वा नकारात्मक विभेद ख्याल नगरी गरिने ‘कुण्ठा प्रयोग’ नै सामाजिक विभेदको पूजक हो ।     
 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC