site stats
बाह्रखरी :: Baahrakhari
विचार
चीनले स्वतन्त्र विश्वको नेतृत्व गर्न सक्ला ?

भनिन्छ– चीन र अमेरिकाबीच ‘पहिलो विश्व शक्ति‘ हुने होड तीव्र वेगमा छ । स्थापित पहिलो शक्ति राष्ट्र अमेरिकासँग स्पर्धामा रहेको चीनले स्वतन्त्र विश्वको नेतृत्व गर्नसक्ला त भन्ने प्रश्न पनि त्यस्तै जीवन्त छ ।  

अमेरिका र तत्कालीन सोभियत संघको नेतृत्वमा दुई ध्रुवमा विभक्त विश्व सोभियत संघको विघटनसँगै विश्व एउटै ध्रुवमा केन्द्रित भएको मानिन्थ्यो । संयुक्त राज्य अमेरिका एकल महाशक्ति राष्ट्र गनिन्थ्यो । भौतिक उपलब्धि र शासकीय वैचारिकीको व्यापकताले नै त्यतिबेला यसको निर्धारण गरेको थियो । 

यसपछिको चीन र युरोपको उदयसँगै केही समय बहुध्रुवीय विश्वको भाष्य नर्मिाण गरियो । नब्बेको दशकतिर सोभियत साम्राज्यको पतनपछि बनेको रुसलाई पनि एउटा ध्रुव मान्ने हो भने चीन, अमेरिका र रुस गरी अहिले पनि विश्व महाशक्ति बहुध्रुवमा विभक्त भन्नुपर्छ । चीनको उर्लँदो शक्तिले हाल विश्वले दुई ध्रुवीय रुप लिन थालेको भान हुन्छ । एकातिर अमेरिका, अर्कोतर्फ चीन ।

त्यसताकाको सोभियत संघको स्थान चीनले लिँदैछ । रुस चाहिँ सायद ओरालो लाग्दैछ । सानो छिमेकी र सार्वभौम राष्ट्र युक्रेनमाथि रुसले थोपरेको युद्धले युक्रेनको भविष्य कल्पनातीत हुनपुगेको छ । दस महिना निरन्तर र अझै अनिश्चित युद्धले रुसको आन्तरिक क्षमतामा पनि क्रमशः ह्रास (स्खलन) आएको देखिन्छ । यस कारण अब विश्वलाई अमेरिका र चीनबीचको दुई ध्रुवमा अथ्र्याइने स्थिति देखिँदैछ ।

अमेरिका र चीनबीच के कस्ता कुरामा प्रतिस्पर्धा छ र केमा छैन ? सामान्य जानकारीको सीमाले नै पनि यो जिज्ञासा जन्मिएको हो । पहिलो त प्रथम शक्ति राष्ट्रको परिभाषा के हो र त्यसको परिपूरक आवश्यक तत्त्व के हुन् भन्ने जिज्ञासा हुन्छ ।

Global Ime bank

अमेरिका प्रथम महाशक्तिमा अविच्छिन्न कायम रहनु ऐतिहासिक निरन्तरता हो । चीनको चाहिँ अमेरिकालाई उछिन्नु ऐतिहासिक उपलब्धि हासिल गर्ने उद्देश्य हुनसक्छ । यस कोणबाट हेर्दा दुनियाँ पुनः दुई ध्रुवीय विश्वमा परिणत हुनेछ । विगतमा दुई ध्रुवजन्य शीतयुद्ध आगत वा सम्भावित दुई ध्रुवको भविष्य पनि त्यस्तै कठोर नियति बन्छ वा अर्कै धारमा हिँड्छ ? अनुमानकै कुरा भयो ।

पुनः प्रश्न दोहोर्याऊँ – महाशक्ति राष्ट्रको परिभाषा के ? शक्ति सबैसँग छ, धेर थोर । यहाँ कुरा दुनियाको प्रथम महाशक्ति मानिनेको हो । शक्ति बहुआयामिक र विविध कोणको जोडको समग्रता वा अधिकाधिक सम्पन्नता हो भन्ने लाग्छ । 

पढिएको, सुनिएको र जानकारी पाएको आधारमा अमेरिका र चीनबीच शक्ति सम्पन्नता हासिल गर्ने होडमा आर्थिक, व्यापारिक, प्राविधिक र भौतिक उपलब्धि तथा सैनिक क्षमताको तुलनालाई मूल आधार बनाइएको छ । यसमा ज्ञान, विज्ञानले पुर्याएको योग पनि समावेश छ । 

के यिनै कुराको शीर्ष उपलब्धि प्रथम शक्ति राष्ट्रको मानक हो ? लाग्दैन यतिमात्रै हो । विश्व शक्तिको धु्रवीय स्थितिलाई जसरी विश्लेषण गरिन्छ त्यसरी नै दुनियाँमा अर्को अवस्थिति पनि विद्यमान छ । समय क्रममा फेर बदल आए पनि यस्तो अवस्थिति विश्वको गतिशील तर स्थायी चरित्रजस्तै हो । 

यहाँ भनिएको अर्को अवस्थिति बन्द विश्वविपरीत खुला, मुक्त वा स्वतन्त्र विश्व अहिलेको यथार्थ हो । शासकीय संरचनाको प्रारम्भदेखि नै बिताएको लामो बन्दी समय हुत्याएर आएको क्रमिक खुला विश्वले अब गर्ने चयन कुन होला ? खुला कि बन्द ? प्राकृतिक नियम हो – नदीजस्तै समय पनि फर्कँदैन ।

निश्चय पनि, बन्द विश्वको प्रतिनिधित्व कम्युनिस्ट अधिनायवादी, धार्मिक कट्टरतावादी वा सैनिक र अन्य तानाशाही नेतृत्वको सत्ताले गर्छ । कुनै बेला विश्वको अधिक हिस्सा यिनैको जगजगीमा जकडिएको थियो । आंशिक अहिले पनि छ ।  

मुक्त वा स्वतन्त्र विश्वको प्रतिनिधि संरक्षक लोकतान्त्रिक पद्धति हो । प्रजातन्त्र देशका जनताको तन्त्र हो । ‘प्रजा’ कोही कुनै शासक, सत्ताको होइन, देशको हो । प्रजा कसको ? देशको । यसरी हेर्दा प्रजाको तन्त्र वा लोकको तन्त्रले शासित दुनियाँ र समाज स्वतन्त्र विश्वको अङ्ग, अङ्गी हो । 

चीन प्रविधि, सामरिक शक्ति, स्रोत,साधन र आर्थिक, औद्योगिक, व्यापारिक उपलब्धिको उचाइमा लम्कँदै छ र यिनै कुरामा स्पर्धा गर्दै अमेरिकालाई उछिन्ने ध्याउन्नमा छ । अमेरिका पनि यस्ता विषयमा कम छैन, थप ऊ स्वतन्त्र वा मुक्त विश्वको अग्रणी पात्र पनि हो  जुन चीन होइन । 
 

अझ स्पष्ट हुन हेरौँ – चीनले छान्ने भित्रिया साथी र सहयोगी कस्ता छन् ? उदाहरण रुस र उत्तर कोरिया । बर्माको सैनिक सत्ता, अफगानिस्ताको तालिवान सरकार, सैनिक प्रभुत्वको मानिने पाकिस्तान आदिजस्ता मुलुकसँग चीनको सान्निध्य र ‘सफ्ट’ नीति बन्द समाजलाई नै प्रश्रय दिनु हो । 

अरब र खाडी मुलुक, ती पनि मुक्त विश्वको समग्रतामा छैनन् । यिनीहरुसँग चीनले बढाइरहेको हिमचिम पनि चिनियाँ बन्द सत्ता चरित्रकै अनुकूल हो । विश्वका विभिन्न मुलुकसँग जुनसुकै मुलुकको द्विपक्षीय वा बहुपक्षीय सम्बन्ध हुनु नराम्रो होइन । प्रश्न रोजाइको हो र दृष्टिकोण वा प्रेरित कुन अवस्थालाई गर्ने भन्नेमात्र हो । 

शक्ति वृद्धिसँगै चीनको फैलावट विश्वव्यापी हुँदैछ । अमेरिका वा पश्चिमा र युरोपसँग पनि चीनको व्यापारिक सम्बन्ध र सामारिक स्पर्धा छ । स्वाभाविक हो । सम्बन्धको कसीमा अमेरिका पनि कम छैन । विश्व सम्बन्धमा सामरिक र व्यापारिकलगायत स्वार्थ अमेरिकाको पनि छ, त्यो लुकेको पनि छैन ।

फरक चाहिँ अमेरिकाले मुक्त विश्वको प्रतिनिधित्व वा नेतृत्व गर्छ पद्धति र प्रणालीगत रुपमा । अमेरिकाले पनि शासकीय बन्द मुलुक र समाजसँग समेत प्रत्यक्ष, परोक्ष सम्बन्ध राखेकै छ । अमेरिकी वा पश्चिमा विशेषता स्वतन्त्रता, मुक्ति र मानवअधिकार रक्षा गर भन्नेमा सजग रहेको सुनिन्छ । सहयोगी मुलुकलाई पनि मानवअधिकार हनन नहोस् भन्नेमा अमेरिका सचेत रहने र तिनलाई पनि सजग गराएको  नै पाइन्छ । तर, स्वार्थ बाझिएपछि सिद्धान्त थाती बसेको उदाहरण पनि कम त छैनन् ।

आआफ्ना स्वार्थबीच पनि मूलतः चीन बन्द समाजमा रमाउने र अमेरिकी खुला समाजमा नाच्ने प्रवृत्तिका देखिन्छन् । प्रणालीगत दिग्दर्शन पनि हो यो । कम्युनिस्ट चिन्तनधार स्वतन्त्र समाजको परिकल्पनाकार होइन । 

 चीन द्वैध प्रणालीमा सञ्चालित भनिएको छ । शासकीय सत्ता र राजनीति कम्युनिस्ट पार्टीमा केन्द्रित वा एकदलीय । अर्थिक नीति पुँजीवादी । पश्चिमा प्रबद्र्धित पुँजीवादी अर्थतन्त्रमार्फत चीनले भौतिक उन्नयनमा अग्रता लिने सपना साकार पनि होला । शक्ति यतिमै चाहिँ सीमित छैन । 

भौतिक प्रविधि र प्रक्रियाका जसरी विभिन्न स्वरुप, संरचना छन् त्यसरी नै वैचारिक प्रक्रियाका पनि नानाभाँती बौद्धिक र ज्ञानको स्रोत छन् । खुला विश्व वा अमेरिका, पश्चिमा र युरोपमा जुन तह र उत्कर्षमा मुक्त बहस निरन्तर छ त्यो विश्व ज्ञानको समेत शक्ति स्रोत हो । 

चीनको शासकीय सत्ता स्रोत यसमा चाहिं चुकेको छ । धेरै पछाडि छ वा बन्द समाजको प्रतिनिधित्व गर्छ । चीनमा सबै छ जो पश्चिमी दुनियाँमा छ तर मुक्त बहस र चिन्तन खुला वा सार्वजनिक छैन । खुला विश्वलाई समेतसँगै नेतृत्व गर्न नसक्दाको देश अग्रणी विश्व महाशक्ति मानिन सक्छ ? के अहिलेको चीनलाई मुक्त विश्वको पनि प्रतिनिधित्व गर्नसक्ने आत्मविश्वास छ ?   

यहीकारण विश्वको प्रथम महाशक्ति हुने चीनको चाहनाले खुला विश्वको नेतृत्व गर्न सक्ला र भन्ने सन्देहसँग पनि जोडिएको छ । अमेरिकाले भौतिक र वैचारिक दुवै विश्वको समान नेतृत्व गरेको क्षमताले नै प्रथम विश्वशक्ति मानिएको हो । स्वतन्त्र वैचारिकी वा खुला स्पर्धा गर्ने सामथ्र्य कम्युनिस्ट प्रणालीसँग हुँदैन । 

मुक्त विश्वसँग कम्युनिस्ट चीनले वैचारिक स्पर्धासमेत गर्न खोज्नुलाई अन्यथा नभनिए पनि वैचारिकी बन्द युगलाई मानव सभ्यताले उहिल्यै बिदा गरिसकेको हो । यसको नमुना अंश स्वयं कम्युनिस्ट चीनको पुँजीवादी अर्थ प्रणाली हो । यतिले त खुला विश्वमा चीनले आफूलाई पुर्याउन बाँकी नै छ भनी बुझ्नु्पर्छ ।  


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  ०८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu