site stats
बाह्रखरी :: Baahrakhari
विचार
चुनावी सन्देश : मिलापसँगै पुस्तान्तरण

आफूलाई ठूला र स्थापित मान्ने दलहरुको लागि चुनावी परिणाम अनपेक्षित भएको छ । सामन्ती शैलीमा आफ्नो विकल्प छैन भन्ने अहं बोकेका दलका नेतालाई बाहिर र दलभित्रैबाट चुनौती आएको परिणामले देखाएको छ । 

चुनौती वा विकल्प नेपाली कांग्रेसमा जति प्रस्तुत देखिन्छ अरु दलमा छैन । यसकारण कांग्रेसको लागि चुनावी परिणामको प्रथम सन्देश दुईमध्ये पुस्तान्तरण र मेलमिलाप नै हो । बुझ्दा अन्य दलको लागि पनि यही सन्देश हो । 

धेरैलाई शंका हुन थालेको छ चलिरहेको मिश्रित प्रणालीको निर्वाचनले कुनै पनि दललाई एकल बहुमत दिने भएन र स्थायी सरकार बन्ने पनि भएन । फलस्वरुप, सरकार सधैँ अस्थिर हुने र यसको प्रभाव संसदीय लोकतान्त्रिक प्रणालीकै स्थिरतामा पर्ने भयो । यस्तो शंका केही हदसम्म जायज पनि देखिन्छ । 

यस्तो शंकाको निवारण व्यवस्थाका परिकल्पनाकारहरुले नै गर्नुपर्छ । कुनै दलले एकल बहुमत नपाए पनि मिलिजुली सरकार र त्यसअन्तर्गत स्थायित्व दिन हामी सक्षम छौँ भन्ने सन्देश वा व्यवहार प्रदर्शित गर्न तिनै दलहरु सक्षम हुनुपर्छ । अन्यथा यो व्यवस्था असफल भए विकल्प के त ? 

नेपालको राजनीतिक सन्दर्भमा हेर्दा दुईथरी विकल्प टड्कारो देखिन्छ । एक संसदीय लोकतान्त्रिक व्यवस्था वा चुनावसँगै कुनामा गुनगुन गरिने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख । अर्को गणतन्त्र वा राजतन्त्र वा राष्ट्रपति अर्थात् एकल शक्तिशाली शासक ? यसमा थप भन्नुपर्दा शक्ति पृथकीकरण कि एकीकृत शक्ति सत्ता ? वा अधिनायवाद कि लोकतन्त्र ? रोजाइ लोककै हो, भोगाइ पनि लोकले नै भोग्ने हो । संसदीय प्रणाली वर्तमान हो, अरु भविष्य ।  

Global Ime bank

संसदीय चुनावी सन्देशको यही सेरोफेरोमा दुईवटा मान्यता स्पष्ट भएका छन् । पहिलो मेलमिलापको सरकार र स्थिरताको कामना । दोस्रो पुस्तान्तरण । सरकार र पार्टी नेतृत्वमा पनि पुस्तान्तरण वा सैद्धान्तिक रुपान्तरण या परिमार्जन । पुस्तान्तरण युवा ऊर्जाको आगमन होस् भन्ने आग्रहमा छ । चुनावी परिणामले बुझाएको यही हो । रुपान्तरण परम्पराभन्दा समसामयिक सैद्धान्तिक मान्यतामा पुनर्ताजगी हुनुपर्छ भन्ने नै हो ।

के यो सम्भव छ ? अर्थात् नेतृत्वमा पुस्तान्तरण र सैद्धान्तिक मान्यतामा सामयिक रुपान्तरण ? चुनावी परिणामले दिएको सन्देश चाहिँ यही हो तर के यो सम्भव छ ? यसपटक यस्तो अपेक्षा असम्भव भएजस्तो लाग्छ । कारण आफैँमा स्पष्ट छ । स्थापित जेठा दलहरुको निर्णय गर्ने ठाउँमा अहिले पनि पुरानो पुस्ताकै वर्चस्व छ । चुनौती दिने कसले, विकल्प प्रस्तुत गर्ने हिम्मत देखाउने कसले ? कम्युनिस्ट दलमा त यो सम्भवै देखिँदैन ।  

परम्परामाथि अब चुनौती चाहिँ दिनै पर्छ । विकल्प प्रस्तुत हुनैपर्छ । नेतृत्वमा होस् कि सैद्धान्तिक पुनर्ताजगीमा । विकल्प आवश्यक छ । अन्यथा नेपाली राजनीतिको गतिहीनताविरुद्ध कुनै दिन ‘विस्फोट’ हुने जोखिम छ । यो कुरा ठाउँ ओगटेका जेठा नेताहरुले बुझ्नै पर्छ । आफू नेतृत्वको शक्ति सामथ्र्य खस्किएको बुझ्न यिनीहरुलाई चुनावी मत नै पर्याप्त छ ।  

देखियो, नेपालका कम्युनिस्ट दलमा नेतृत्व र तिनले मनखुसी थोपरेको सैद्धान्तिक मान्यतालाई चुनौती दिने र विकल्प प्रस्तुत गर्ने हैसियत तिनै दलका नेता र कार्यकर्ता कोही कसैको छैन । उदाहरण, नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा केपी शर्मा ओलीको प्रधानमन्त्री दाबामा म विकल्प हुँ भनेर एमालेका कोही कसैले भन्न सकेको छैन ।  

अनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको खस्किँदो हैसियतमा पनि तपाईं असफल हुनुभयो, म विकल्प हुँ भन्ने त्यहाँ देखिने हिम्मत कसैमा छैन । किन ? कम्युनिस्टले सरकारी सत्ता पाए जसरी अधिनायकत्व चलाउँछन् पार्टीभित्र त्यही अधिनाकत्व जारी छ । त्यसैले विकल्प र चुनौतीको हिम्मत कम्युनिस्ट पार्टीभित्र कसैले गर्न सक्दैन । यो एकल नायकत्वको नमुना हो । 

कम्युनिस्ट नेताहरुको पार्टीभित्र जुन एकाधिकार छ त्यसभन्दा अलि भिन्न नेपाली कांग्रेसभित्रको तानतानीमा देखिँदै छ । कांग्रेसमा प्रधानमन्त्री दाबा गर्ने धेरै देखिएका छन् । यसलाई पदाकांक्षीको जमात भन्ने कि लोकतान्त्रिक स्वतन्त्रता, स्वायत्तता मान्ने ? वा गतिशीलताको सन्देश भन्ने कि, विकल्पहरुको संरक्षण र अधिकार सुरक्षित ठान्ने ? निश्चय पनि यो स्पर्धा लोकतान्त्रिक अभ्यासको स्वीकार्य नमूना चाहिं हो  ।     

कांग्रेसमा प्रधानमन्त्री आकांक्षीको लर्को देखेर प्रतिपक्षी कम्युनिस्टहरु हौसिनु सिद्धान्तहीन हर्कत हो । किनभने कम्युनिस्टहरु आफ्नो पार्टीभित्र वैकल्पिक चिन्तन वा प्रस्तुतिको ठाउँ मुठार्छन् र अरुभित्रको स्पर्धालाई उकेरा लगाउने धूर्त बाटो लिन्छन् । उनीहरु लोकतान्त्रिक अभ्यासलाई उपयोगको अर्थ र स्वार्थमा प्रयोग गर्न सधैँ उद्यत रहन्छन्  । लोकतन्त्र र कम्युनिस्ट मान्यताबीच भिन्नता यहीँ छ । 

कांग्रेसमा अझै स्पर्धा गर्ने संस्कार बाँकी छ । कम्युनिष्टहरुमा जडसूत्रीय एकाधिकारवादी परम्परा अद्यापि कायम देखिन्छ । कांग्रेसका आकांक्षीले स्पर्धा स्वीकार गर्नेछन् र यही कारण मुठारिने र विभक्त हुने सम्भावना अहिलेलाई देखिँदैन । यो अवस्थामा कांग्रेसका आकांक्षीको पहिलो सर्त संसदीय दलको नेता चुनिनु हो । त्यसपछि मात्र अरु दलको घर आँगन चाहार्नु स्वाभाविक होला ।  

दाबासाथ यतिखेर भन्न सकिने भयो – कांग्रेसमा विकल्प छ, स्पर्धा छ र चुनौती पनि छ । अर्थात् अझै लोकतान्त्रिक अभ्यास यो पार्टीमा जिउँदो छ । कांग्रेसका जनअनुमोदित युवा प्रतिनिधि देशको नेतृत्व गर्नसमेत अग्रसर देखिँदैछन् ।

जेठो पुस्तालाई सम्मानसाथ अभिभावकत्व दिन अनुरोध गर्दै कार्यकारी दायित्व युवाको काँधमा सुम्पिन यो युवा पुस्ता आग्रह गर्दैछ । स्मरणीय चाहिं पदलोलुपताले  जतासुकै शरणागत युवाको लागि यी पंक्तिमा कुनै भरोसा व्यक्त छैन । 

कांग्रेसभित्र अहिलेको स्पष्ट सन्देश युवा नेतृत्व प्रधानमन्त्रीको दायित्व वहन गर्ने स्पर्धामा दृढ देखिन्छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच हुने संयुक्त प्रयासको सन्देश सार्वजनिक भइसकेको छ । यस्तै अर्का युवा नेता प्रदीप पौडेलले आफू परिवर्तनको पक्षमा हुने बताएर समयलाई सम्बोधन गर्ने सन्देश दिइसकेका छन् । 

कांग्रेसका यी युवाको राजनीतिक सन्देश सुखद छ । लाग्छ, यिनीहरुले पदीय अपेक्षाले मात्रै यस्तो प्रयत्न गरेका होइनन् । नेपाली कांग्रेसमा पुस्तान्तरण र सैद्धान्तिक पुनर्ताजगीको प्रयत्न पनि यिनीहरुको उद्देश्य हो भन्ने बुझिएको छ ।

देशलाई नयाँ गति दिने सोच पनि हो । नेपाली जनमतले यस्तै रुपान्तरण वा पुस्तान्तरण चाहेको कुरा त मत परिणामले बुझाएकै छ । 

समग्रमा कांग्रेसका युवा नेतृत्वलाई जित्नैपर्ने चुनावी सन्देश हो । अन्यथा, कांग्रेस हार्दैछ, भविष्य थप हार्ने छ । कांग्रेस हारे लोकतन्त्र पनि सायदै बाँच्ला ? संसदीय दलमा प्राविधिक मत हारे पनि सन्देश जित्ने हो र यही सन्देशमा कांग्रेस बाँच्ने हो । अहिलेको चुनावी सन्देशका दुई महत्त्व छन् – पहिलो सैद्धान्तिक पुनर्जागरण र अर्को मेलमिलाप । यो कुरा कांग्रेसका थापा, शर्मा, पौडेलआदिले बुझेकै हुनुपर्छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu