अहिलेको सरकारीसत्ता गठबन्धन कि त सिद्धान्तहीनहरूको झुण्ड हो कि विपरीत सिद्धान्त वक्ताहरूको मस्ती स्वार्थको जोड । यस्तो निष्कर्षमा पुग्न अरू समय चाहिएन । सुरुमै स्पष्ट भयो – निरुद्देश्यहरूको उद्देश्य सरकारी सत्ता केन्द्रित भन्ने । गठजोडमा राष्ट्रिय प्रजातन्त्र पार्टीको रसायनले बनाएको सरकारी छवि यही हो । पूर्व राजा ज्ञानेन्द्रको प्रमुख भरोसा ।
राजावादी, धर्मवादी, संघीयताविरोधी र भ्रष्ट्राचार गर्नु ‘आमाको रगत खानुसरह’ भन्ने राप्रपाको सरकारमा उपस्थितिले सबै बुझायो । अरू बोल्नै परेन । उपप्रधान र अरूहरू मन्त्री बनेपछि लस्करै पशुपतिनाथको दर्शन गर्न जाने राप्रपालाई वाग्मती सेचनले कति पखाल्यो ? कि वागमती नै थप प्रदूषित भयो ?
सरकारमा सहभागी अरू केही दलको राजनीतिक नीति र उद्देश्य स्पष्ट छैन । अँध्यारै अँध्यारोमा अपेक्षा लिइएकाहरू सरकारको हिस्सा बन्न एकक्षण पनि धैर्य नगर्नेले गर्न सक्ने पनि केही भएजस्तो लाग्दैन । मनपरी सरकारी सुविधा लिनेदिने काम रोकिने भने पक्कै छैन ।
चुनावताका खुब चर्कियो । जताततै ‘स्टिकर’ टाँसिए । ‘रगत खाने’नारा ‘भुस्सु’ जनता झुक्याउनै थियो । आरोपितको झुण्ड बोकेर हिँडेको तिनले पत्तै पाएनन् । मन्त्री भएपछि एक प्रकारको रोइलो छ – राप्रपाका ‘भ्रष्ट’ अब औँल्याइए । राजनीतिको नाममा गरिने ‘रगत खाने’ स्टन्डबाजी कतिपटक भोगेर बुझ्ने हो नेपाली मतदाताले ?
यिनीहरू राजा ज्ञानेन्द्रका ‘तुरुप’ हुन् । लाग्छ, यिनीहरू नै उनका अन्तिम तुरुप हुन् । राजा, निर्मलनिवास र रानीवनले जे पाठ दियो त्यही कण्ठ गर्ने एक थिए कमल थापा । ती थाके छन् कि ? ‘राजाले हराएका’ थापा राप्रपा नेपालको अध्यक्ष भएर ‘म्याराथन दौडको पहिलो हुने’ दाबा गर्दै छन् ।
थापाको क्षतिपूर्ति ज्ञानेन्द्रले राजेन्द्र लिङदेन पाएका छन् । यिनीहरू रमाएका छन् । अहिलेको संविधान, गठबन्धको चरित्र, प्रवृत्ति र मान्यता जे छ त्यसमा लिङदेनको राप्रपा कता हुन्छ ? थाहा भएन । सरकारमा गयो, यो चाहिँ दुनियाँले थाहा पायो । भनिन्छ, यसमा निर्मल निवासकै ‘सुस्वादु’ इसारा छ ।
गठबन्धनको हिस्सा नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग राप्रपाको सोच मिल्नगएको देखिन्छ । त्यसो त प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सत्ताकै दास त हुन् । कोसँग मिल्ने, नमिल्ने भन्ने चिन्तन नै रहेन । नेपाली राजनीतिमा सत्ता दासहरूकै त वर्चस्व छ ।
कहीँ छ सिद्धान्तको संयोजन र साधना ? शून्यजस्तै छ राजनीतिक मान्यता । यही कारण सरकारमा जान हतार । पुग्यो कि मपाइँत्व निर्देशन दिने बाढी । प्रधानमन्त्री दाहालको हुटहुटी यस्तै चरित्रको गाँठोमा गुटुमुटी । बल्ल त एक महिना भयो । अरू राम रमिता हेर्दै जानु छ । त्यो खेल बा त बा नै हो तर बालुवाटार होइन रे बालकोटतिर हुन्छ रे ।
बालकोट ‘गोरु गाडा चढेर’ न्युयोर्कको यात्रामा छ । अरू सहयात्री । ऊसँग सबैभन्दा नजिक टाँसिएर बसेको छ राप्रपा । प्रदेशलाई संघको इकाइ भन्ने र संघ मान्दैनौ भन्ने स्वभावतः नजिक हुने नै भए ।
त्यसभन्दा पनि संघीय संसद्मा राप्रपाभन्दा शक्तिशाली राष्ट्रिय स्वतन्त्र पार्टी पो प्रदेश विरोधी भनिन्छ । यही कारण त प्रदेश निर्वाचनमा रास्वपाले उमेदवारी नै दिएन । राप्रपाले त केही छोडेकै छैन । भन्न त राजावादीहरू पनि संघीयता विरोधी हुन् भनिन्छ ।
यिनीहरूका मूलीनेता प्रधानमन्त्री दाहाल संघका प्रवक्ता, धर्म निरपेक्ष र गणतन्त्रवादी । थप के के भाँती ? गठजोडका जोडहरू नेकपा (माओवादी केन्द्र)का ‘एकीकृत’ नेता दाहालसँग नजिक छ कि ? एमाले, राप्रपा र रास्वपाको मिलनविन्दु धेरै नजिक हो । उखान छ नि ‘एउटै घाटको पानी खाने’ जस्ता ।
सिद्धान्त त भएन नै । नेपाली राजनीतिको दुर्दशा सिद्धान्तहीनतामात्रै नभएर उद्देश्यहीनता पनि हो । सिद्धान्त स्खलनसँगै उद्देश्य पनि स्खलित हुन्छ कि क्या हो ? सत्तास्रोत प्राप्तिलाई मात्रैे होेइन देश र जनताको पक्षमा हुनु राजनीतिक उद्देश्य हो कि ?
हिजो एउटा गठबन्धन थियो । सँगै चुनावमा गए । नेपाली कांग्रेस नेतृत्वले आफूमात्रै भन्यो । सत्ता रसायनको गाँठो फुस्कियो । अर्को गठबन्धन बनेको छ । कमसेकम हिजोको गठबन्धन त संविधान रक्षा गर्न भन्थ्यो । लोकतन्त्र बचाउन भन्थ्यो । देशको विकास र जनताको समृद्धि भन्थ्यो । प्रदेश र स्थानीय तहमा स्रोताधिकार पठाउने गफ त दिन्थ्यो ।
अहिले सुन्नुभएको छ यस्तो कुरा वा प्रतिबद्धता ? आजसम्म त निर्देशनकै पहिरो छ । भोलि पनि यो गठबन्धनले पूर्व गठबन्धनको जस्तो कुरा र वाचा गर्नेछैन । किनभने अहिलेको गठबन्धनमा संविधान प्रदत्त संघीयतालगायत विषयका विरोधीहरूको वर्चस्व छ । अर्थात्, संविधान प्रदत्त र पदप्रदत्त मौकामात्र उपयोग गर्नेहरूको वर्चस्व छ ।
यसको जोखिम लोकतन्त्र र संविधानमाथि व्यापक बढेको छ । कारण यतिबेलाको सरकारी गठबन्धन संविधान मन नपराउने वा विरोधीहरूको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल पनि संविधान प्रदत्त संसदीय व्यवस्थाका उपज हुन् । तर, दाहाल प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको सपना पनि सँगै देख्छन् । संविधान विरोधी सपना ।
ककसले बनाए संविधानलाई कमजोर ? लामो फेहरिस्त निस्कन्छ । त्यो खोतल्न सजिलो छैन तर कुनै न कुनै अर्थ वा अंशमा संविधान विरोधीहरूको सरकारी गठबन्धनले भावि दिनमा गर्छ के ? प्रतीक्षा यही भयो । अर्कोतर्फ राजा ज्ञानेन्द्रको अन्तिम तुरुपले थापाकै बाटो लिने हो कि अर्काे ? पर्खनै पर्ने त होला ।