नरेश फुयाँल
चलचित्र कलाकार सङ्घलाई आगामी आर्थिक वर्षको बजेटले ठूलो खुसी दियो । कारण सङ्घको भवनका लागि सरकारले पैसा छुट्याएको अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमै उल्लेख गरिदिए । वर्षौंदेखिको पहल साकार भयो । लकडाउन खुलेपछि भवन धापासी अथवा कालोपुलमध्ये एक ठाउँमा बनाउने निर्णय गरेर काम सुरू गर्ने योजनामा कलाकार सङ्घ छ ।
बजेटले खुसी सञ्चार गरिरहेको बेला सङ्घका अध्यक्ष रवीन्द्र खड्कालाई अर्को तनावचाहिँ बाँकी नै छ । तनाव सिर्जना गर्ने कारण हो, लकडाउनले निम्त्याउने बेरोजगारी । सङ्घले साढे तीनहजार कलाकारलाई सदस्यता वितरण गरेको छ । आजीवन, साधारण, सहसदस्य तथा मानार्थ गरी उक्त सङ्ख्यामा नेपाली कलाकार सङ्घमा आवद्ध छन् ।
यसमध्ये करिब १५ सय कलाकार सक्रिय छन् । त्यसमध्ये पनि सातसयदेखि आठसय कलाकार कलाकारिताबाटै जीविकोपार्जन गरिरहेका छन् । यो सङ्ख्या ठूलो पर्दा र सानो पर्दा दुवैमा संलग्न कलाकारको हो । यसमा अभिनय गर्ने कलाकर्मी मात्रै छन् ।
अघिल्लो वर्षको अन्त्यतिरबाट चीनको वुहान सहरबाट कोरोना भाइरसको महामारी सुरू भयो । संसारका प्रायः सबै देशमा फैलिएको महामारीबाट बच्न अधिकांश देशले लकडाउन गरे । लकडाउनसँगै हरेक देशमा आर्थिक गतिविधि शून्य प्राय : भयो । सधैं भीडभाड हुने सिनेमा घर लकडाउन घोषणा हुनुअघि नै बन्द भए । नेपाल पनि यो क्रमबाट अछुतो रहन सक्ने कुरै भएन । यहाँ प्रदर्शन भइरहेका चलचित्र हलबाट उतार्नु पर्यो । छायाङ्कन भइरहेका चलचित्र रोक्नु पर्यो । रिलिज हुन ठीक्क परेका चलचित्र थन्किए । कोरोनाको महामारी अन्त्य भएको छैन । औषधि तथा खोप केही पत्ता लागेको छैन । त्यसैले लकडाउन खुकुलो भए पनि अथवा पूरै खुले पनि तत्काल सिनेमा घर चालू हुने अवस्था छैन । सिनेमा घर खुले पनि पुरानै गतिमा चलचित्र निर्माण र प्रदर्शन हुने अवस्था छैन ।
चलचित्र निर्माण तथा प्रदर्शन नहुँदा त्यसको प्रत्यक्ष असर कलाकारलाई पर्ने कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का बताउँछन् । “चलचित्र तथा गीतसङ्गीतको काम नहुँदा यसको प्रत्यक्ष असर अभिनय गर्ने कलाकारलाई पर्छ । लगानी गर्ने निर्मातालाई त परिस्थिति सहज नहुँदासम्म लगानी नगरे भयो । तर हामी अभिनय गर्ने कलाकारले के गर्ने ?” अध्यक्ष खड्का चिन्ता पोख्छन्, “अभिनय गरेर यसमै आश्रित रहेका सातसयदेखि आठसय कलाकारलाई अबका केही वर्ष जीविकोपार्जनमा नै कठिन हुने छ ।”
चलचित्र बन्ने छैनन् र बने पनि निकै कम बन्नेछन् । म्युजिक भिडियोहरु कम आउने छन् । काम नै नभएपछि कलाकार बेरोगार हुने अवस्था सिर्जना त हुने नै भयो ।
कलाकारहरुले जीविकोपार्जनकै लागि पेशा परिवर्तन गर्नुपर्ने अवस्था आएको रवीन्द्रको भनाइ छ । “कति साथीहरुले मसँग सल्लाह गरिरहनु भएको छ । अभिनय गर्न चलचित्र नबनेपछि के गर्ने भन्ने उहाँहरुको गुनासो छ । सरकारले कृषिमा अनुदान र सहुलियत दिएकाले तरकारी खेती गर्ने कि भनिरहनु भएको छ,” उनी भन्छन्, “थुप्रै कलाकार आफ्नो पेशा नै परिवर्तन गर्ने सोचमा पुगेको देखिएको छ ।”
लामो अनुभव बटुलेका दक्ष र राम्रा कलाकारले पेशा परिवर्तन गरिदिँदा कला क्षेत्रलाई हानि हुने उनी बताउँछन् । त्यसैले सरकारले कलाकारका लागि उपचार खर्च, बेरोजगारी भत्तालगायतका वैकल्पिक व्यवस्था गरेर कलाकारितामै टिकाइरहनुपर्ने उनको तर्क छ ।
कलाकार सङ्घले अभावमा रहेका केही कलाकारलाई राहत बाँड्यो । तर रवीन्द्रलाई अहिले लाग्दैछ– राहत बाँड्न अलि हतार गरिएछ । बल्ल राहत बाँड्ने बेला भयो ।
तर पनि सङ्घ हतास नभएको र संयम भएर काम गरिरहेको अध्यक्ष रवीन्द्र बताउँछन् । “हामी हतास पनि भएका छैनौं, तर यसको अर्थ सहज अवस्था पनि छैन । यद्यपि, संयमता नगुमाई आफ्नो दायित्व निर्वाह गरिरहेका छौं,” उनी भन्छन् ।
सङ्घकै सदस्य रहेका तथा सुभेच्छुक कलाकार र अन्य व्यक्ति जो देशविदेशमा रहेका छन्, उनीहरुले राहत वितरणका लागि सहयोग गरिरहेका र आगामी दिनमा पनि सहयोगका लागि वचन दिएको उनले जानकारी दिए । “कोही कलाकार अभावमा हुनुहुन्छ, खान नै समस्या छ भने हामीसँग सम्पर्क गर्नुहोला हामी सकेको सहयोग गर्न तयार छौं,” उनले भने । सङ्घले कलाकारमात्रै होइन कलाकारितासँग सम्बन्धित अन्य व्यक्तिलाई पनि सहयोग गरिरहेको रवीन्द्र बताउँछन् ।
ठूलो लगानी गरेर निर्माण सम्पन्न गर्दै रिलिजका लागि तयार भएर बसेका चलचित्रलाई लगानीको केही प्रतिशत राहत दिनुपर्ने, ठूलो लगानी गरेर खुलेका सिनेमा हललाई ऋण तिर्ने समयसीमा केही पर सार्ने र ब्याजमा छुट तथा राहत दिएर चलचित्र उद्योगलाई सहजीकरण गर्नुपर्नमा उनको जोड छ ।
० ० ०
कलाकारलाई जस्तै कोरोनाको प्रभाव चचित्र प्राविधिकलाई पनि परेको छ । साढे तीनहजार प्राविधिक बेरोजगार भएको र उनीहरुलाई सहयोगको आवश्यकता परेको चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) का अध्यक्ष पुष्कर लामा बताउँछन् । चलचित्र प्राविधिकहरु कामको अभावमा भोकभोकै मर्ने अवस्थामा पुगेको भन्दै उनीहरुलाई सरकारले सहयोग गर्नुपर्ने पुष्करको भनाइ छ ।
सरकारले प्राविधिकहरुलाई सहयोग नगरे वैकल्पिक पेशा अपनाउन बाध्य हुने भन्दै उनी प्राविधिकहरु पलायन भए चलचित्र बन्न थालेपछि दक्ष प्राविधिकको अभाव हुने बताउँछन् । लकडाउन खुलेपछि पनि तत्काल पहिलाकै परिमाणमा चलचित्र नबन्ने र बेरोजगार सबै प्राविधिकले काम नपाउने भन्दै अझै केही वर्ष समस्या र अभावको अवस्था झेल्नुपर्ने उनको अनुमान छ ।
चलचित्रकर्मीलाई सरकारले अल्पकालीन र दीर्घकालीन राहत प्याकेज ल्याउनु पर्ने चलचित्र कलाकार सङ्घ र नेफ्टाका अध्यक्ष रवीन्द्र तथा पुष्कर दुवैको धारणा छ । यसका लागि चलचित्र विकास बोर्डले पहल गर्नुपर्नेमा उनीहरुको जोड छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले सदस्य–सचिवमार्फत् सरकारसामु पनि राहत तथा सहयोगका लागि अपिल गरिसकेको जानकारी दिएका छन् । “अल्पकालीन र दीर्घकालीन राहत तथा सहयोगको आवश्यकता पहिचान गरेर हामीले सरोकारवाला सबै सङ्घसंस्थासँग छलफल गरेर मन्त्रालयसमक्ष कुरा पुर्याइसककेका छौं,” दयाराम भन्छन्, “लकडाउन लम्बिँदै गएको तथा तत्काल नयाँ चलचित्र छायाङ्कनमा नजाने अहिलेको अवस्थामा सबै प्राविधिक र कलाकारहरुलाई सहयोगको खाँचो छ ।”
० ० ०
चलचित्रमा जस्तै कोरोनाको प्रभाव गीतसङ्गीतमा पनि परेको छ । गीतकार, सङ्गीतकार, गायक गायिका, रेकर्डिस्ट, म्युजिक कम्पनी, ब्यान्ड, नाइट क्लब र रेस्टुराँमा गाउने तथा बजाउने कार्यमा करिब पाँच हजार सक्रिय छन् । यो सङ्ख्याको ८० प्रतिशत अब पलायन हुने अवस्था आएको सङ्गीतकार सङ्घका अध्यक्ष शान्तिराम राई बताउँछन् ।
“जो गीतसङ्गीतलाई साधना सम्झिएर यो क्षेत्रमा आउनु भएको थियो, उहाँहरु पलायन हुनुहुन्न । तर जो पैसा र लहडका भरमा आउनु भएको थियो उहाँहरु पलायन हुने अवस्था छ,” शान्तिराम भन्छन्, “यो महामारीको केही फाइदा पनि छन्, गीतसङ्गीतलाई साधना सम्झिएर आउनेहरु मात्रै यसमै टिक्नुहुन्छ । तर जसले व्यवसाय सम्झिएर आउनु भयो उहाँहरु टिक्न गाह्रो छ ।”
हाल नेपालमा गीतकार नौ सय, सङ्गीतकार ११ सयको हाराहारीमा छन् । यसमा करिब साढे तीनसय गीतकार र त्यति नै सङ्ख्यामा सङ्गीतकार सक्रिय छन् ।
कलाकार तथा सङ्गीतकर्मीहरु वैकल्पिक पेशा अपनाउन बाध्य हुने शान्तिराम बताउँछन् । “अधिकांशको घर गाउँमा छ । गाउँमा घर हुनेको खेतबारी छ । स्थानीय सरकारले कृषिलाई प्राथमिकता दिने भनेको छ, त्यसैले आधुनिक कृषिकर्मतर्फ लाग्नुको विकल्प छैन,” उनी भन्छन्, “मनोरञ्जन मान्छेको प्राथमिक विषय र प्रमुख आवश्यकता नभएका कारण अब यसमा हुने न्यून लगानीतर्फ कलाकारले अनुमान गर्न सक्नुपर्छ ।’’
प्रस्तोता समाजका निवर्तमान अध्यक्ष तुलसी पराजुलीका अनुसार नेपालमा गायकगायिकाको सङ्ख्या करिब १२ सय छ । गायकगायिकाको आम्दानीको मुख्य स्रोत मेलामहोत्सव तथा विदेशमा हुने कार्यक्रम हुन् । यस्ता कार्यक्रममा एउटा गायकगायिकाले ३० हजारदेखि डेढ लाखसम्म लिन्छन् । ग्लोबल अर्थतन्त्र नै खस्किएको र भीडभाड गर्न नहुने वर्तमान परिस्थितिमा यस्ता कार्यक्रम नहुने र यसको मार गायकगायिकालाई पनि पर्ने पराजुलीको भनाइ छ ।
अबका केही वर्ष साङ्गीतिक क्षेत्रमा न्यून लगानी हुने भएकाले गायकगायिकाले आम्दानीको अर्को स्रोतबारे सोच्नुपर्ने अवस्था आएको उनी बताउँछन् ।
कलेक्सन एल्बममा गीत गाएर जीविकोपार्जन गर्ने गायकगायिकालाई पनि अबका केही वर्ष सहज नहुने गायक सत्यराज आचार्य बताउँछन् । सुखदुःखको साथी गीतसङ्गीत र चलचित्र भए पनि यो क्षेत्रलाई बजेटले बेवास्ता गर्दै आएको उनको गुनासो छ ।
“लकडाउनमा अधिकांशले गीतसङ्गीतलाई आफ्नो साथी बनाए । चलचित्र हेरे । घरमा दिक्क लागेर बसेका जनतालाई कलाकारले आफूले सकेको मनोरञ्जन दिए । तर सरकारले यही क्षेत्र र कलाकारलाई नै सधैं बेवास्ता गर्छ,” गायक सत्यराज भन्छन्, “राज्यभित्र बस्ने हरेक नागरिक आफ्नै जनता हुन् र सरकार अभिभावक हो । अभिभाकले आफ्ना सन्तानलाई समान व्यवहार गर्नुपर्छ भन्ने भुलिएको छ र यसपटक पनि पुरानै प्रवृत्ति र मूल्याङ्कनले निरन्तरता पायो ।”
सङ्गीतकार वसन्त सापकोटा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा योगदान गर्ने पेशा, वर्ग तथा समुदायलाई मात्रै सरकारले सम्बोधन गर्दै आएका कारण साङ्गीतिक क्षेत्र सरकारको नजरमा नपरेको बताउँछन् । सरकारले साङ्गीतिक क्षेत्रलाई करको दायरामा नल्याएको र साङ्गीतिक क्षेत्र पनि करको दायरामा नगएकाले सरकारले नजरअन्दाज गरिरहेको उनको भनाइ छ ।
सरकारले गीतसङ्गीतलाई नजरअन्दाज गरे पनि यो क्षेत्रमा वार्षिक ठूलो रकम कारोबार भइरहेको छ । वार्षिक १५ अर्ब रुपैयाँबराबरको कारोबार भइरहेको छ ।