थाहा पाउने छौं
चेतनाको हतियारमा
जब पाइन चढ्दै जान्छ
हामी त्यसबेला बुझ्ने छौं
हामीसँग केवल यही क्षणमात्र बाँकी छ
केवल हामीसँग
हामी बाँच्दै गरेको क्षणमात्र बाँकी छ
जुन हाम्रो हातमा
इन्द्रेणीझैं जगमगाइरहेको छ
सँगसँगै जुन क्षण हिउँसँगै पग्लिरहेको छ ।
अवसर रोकेर भ्रष्ट शासकहरु
शासनमा कति बसिरहलान्
चेतनाको हतियारमा
जब पाइन चढ्दै जान्छ
हामी त्यसबेला मात्र देख्ने छौं
कुरुक्षेत्र कति नजिकै छ ।
चेतनाको हतियारमा
जब पाइन चढ्दै जान्छ
अवश्य देख्ने छौं हामीहरु
हाम्रो धर्ती कति विशाल छ
हाम्रो आकाश कति व्यापक छ ।
छातीमा राष्ट्रियता रित्तिएपछि
एउटा देश नक्साबाट हराउन पनि सक्छ
सुकिसकेको जर्जर रुखमा पनि
राष्ट्रियताको वसन्त जुर्मुराए
मुनाहरु फेरि लहलह हुन पनि सक्छ
घडी बाँधेर, समय बाँध्न सकिँदैन ।
चेतनाको हतियारमा
जब पाइन चढ्दै जान्छ
हाम्रो साहस र उत्साह
निर्भय सिंह भई गर्जन थाल्छ
हो, त्यसबेला
हामी पहाडको छाती फोरेर
नयाँ नदी भएर जन्मने छौं
यसरी जन्मने नदीले
कहिल्यै कसैलाई सोध्ने छैन
समुद्र कति टाढा छ ?
चेतनाको हतियारमा
जब पाइन चढ्दै जान्छ
अवश्य थाहा पाउने छौं हामीहरु
आफ्नो धर्तीको मगमग वासना
आफ्नो आकाशको सुन्दर इन्द्रेणी
आफू हुनुको अर्थ र,
यति विशाल संसारमा आउनुको उद्देश्य ।
० ० ०
उही छन्–उस्तै छन्
साल, महिना र ऋतुहरु जस्तै
पटक पटक संविधान फेरियो
शासन, शासक र व्यवस्था फेरियो
तर उनीहरु उही छन्–उस्तै छन् ।
प्रत्येक तानाशाहको
विरोध गर्दै आएका उनीहरु
सत्तामा आएपछि कसरी छेपारो भए ?
एकतन्त्री, पारिवारिक
निरङ्कुश शासनको विरोधमा
जेलनेल भोग्दै आएका उनीहरु
सत्तामा आएपछि कसरी जङ्गबहादुर भए ?
लाखौं श्रमिक, गरिब र किसानहरुको
हात समाउँछु भन्दै, ढाडमा अडेस लाग्दै
यहाँसम्म आएका उनीहरु
टाउकामा चढेर
किन उनीहरुमाथि नै बारम्बार प्रहार गरिरहन्छन्
श्रमिकलाई सधैं फेदिमै छाडेर
गरिबलाई सधैं भुइँमै राखेर
किसानलाई सधैं किनारामै सधैं लथालिङ्ग पारेर
मात्र, आफूमात्र कसरी सर्वसम्पन्न भए ?
भन्थे– हामी पुगेपछि सत्तामा
मानु र छानुको चिन्ता हुँदैन
विपन्नता र भोकले कसैलाई छुँदैन
अकाल र दुर्भिक्षमा कोही मर्दैन ।
आज यो कोरोना कहरमा
एकान्तमा बसेर
तिनै शासकहरुको पतित समाचार पढिरहेछु
ती सबै आखिर
हामी प्रयोग भएको
भ्रमको भ¥याङ मात्र रहेछ !