site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बोझिलो असफल सरकार

यो सरकार पूरै असफल भएको छ । सरकारलाई असफल घोषित गर्ने हतारोले होइन, परिणामले साबित गरेको हो । शान्तिपूर्ण जनआन्दोलनले लोकतन्त्र पुनःस्थापित भएपछिको बहुमतको दोस्रो सरकारमा यो पहिलो भारिभरकम समर्थन प्राप्त हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुई तिहाइको सरकारभन्दा हुन्छ, दसजना अपुग न हो । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको पालामा सामान्य बहुमतको सरकार थियो । 

पार्टीबीचको गठबन्धन सरकार, आठ दस महिनामा फेरिइरहने । दलहरुको ध्यान सरकार बचाउन र बनाउन केन्द्रित हुने । एक दुई सांसद भएका दल पनि पत्ती खेलको ‘सिक्वेंस’ मिलाउन जोकरजस्ता प्रभावी बन्ने  । यस्तै अस्थिर सरकारको लामो निरन्तरताले लोकतन्त्रसँगको जनअपेक्षा निराशामा बदलिँदै थियो । जनताको समस्या सम्बोधन हुन सकेन । राजनीतिक विकृति घाँटी घाँटी भयो । समाज ‘किं कर्तव्य विमूढ’ थियो । 

त्यहीबेला त्यतिबेलाको नेकपा एमाले, अहिलेको नेकपाका अध्यक्ष केपी ओलीले उपहारमा मिलेको दुई नाले बन्दुक बखुबी पड्काए । विध्वंशक भुइँचालोले थलिएको बेला अघोषित भारतीय नाकाबन्दीको विरोधमा उनले ‘कथित’ राष्ट्रवादी पहिचान बनाए । अर्को, लामो अस्थिरता हटाउन र सुख पाउन आफ्नो पार्टीलाई बहुमत दिन आग्रह गरे । आजित मतदाता राष्ट्रवाद र सुखी स्थिरताको नसामा  लठ्ठिनु स्वाभाविक भयो । एमाले, माओवादी ‘मर्ज’ भएपछि दस कम दुई तिहाइ नेकपा सरकार बन्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

बहुमत कम्युनिस्टको अर्थ भर्खरै बुझ्न पाएका लोकतान्त्रिक नेपालीले भारीभरकम सरकारले आफ्नो खाँचो पूरा गरिदिने लालसा मत दिँदै साटेका हुन् । सुखी र समृद्धिको नाराले अभावग्रस्त जीवनमा वसन्त आउने सपना सबैले देखेका हुन् । सपना बाँडेर सबै शक्ति केन्द्रीभूत गर्ने प्रधानमन्त्रीले सपनाको विपना देखाएनन्, देखाउनै सकेनन् । ओली सपना सिरानी हालेर नेपाली सुतेको अढाइ वर्ष बितेको छ । 

बलियो सरकारसँग अपेक्षा स्वाभाविक थियो । जो तुहिँदै गएको छ । बजेट आयो, कोरोना महामारीमा भोकभोकै बसेको नेपालीले फेरि पनि रेल र पानी जहाजको कथा सुने । बाँच्ने आशामा भोकै पेट सडक, पेटी र रोग संक्रमण केन्द्रजस्ता क्वारेन्टिनमा थलिएको नागरिकलाई बजेट आकाशे फल भयो । दार्चुला, लिम्पियाधुरातिर भारतसँग ‘सीमा विवादको’ नक्सा जारी भएको छ । भनिन्छ, रणनीतिक समेत स्थानीय पहुँच र चीनसम्म व्यापारिक आवतजावत सहज हुने दार्चुला, टिंकर सडकखण्डका लागि ‘रेल कुदेको’ बजेटमा रकम व्यवस्था छैन । 

Global Ime bank

हिजोमात्र सरकारले कोरोना प्रतिरोधका लागि करिब दस अर्ब खर्च गरेको फेहरिस्त सार्वजनिक गर्यो । दस अर्बले सप्तरीका मलर सदा, कीर्तिपुरको सडक छेउ जीवन विसर्जित मजदुर सूर्यबहादुर तामाङ र क्वारेन्टिनमा पुगेर ढलेकाहरु कसैलाई पनि बचाउन सकेन छ । ‘लकडाउन’ले काम र माम जोहो गर्न नपाउँदा मर्नेको संख्याले सुविधाभोगी सरकार सञ्चालकहरुलाई छोएको छैन । 

घर बनाउने काममा मजदूरी गर्दै आएकी राई थरकी महिलाले ख्वाउन नसक्ने अवस्थामा नवजात बच्चीको मुखमा झुम्रो कोचेर सास खोसेको ललितपुरको हृदय विदारक घटना भर्खरैको हो । एउटी आमा यति निष्ठुरी बन्नुपरेको अभावको बयान सायद उनी कुनै प्रहरी खोरमा दिँदै होलिन् । लकडाउनले भोक भर्ने कुनै उपाय नदिएपछि आत्महत्या रोज्नेको संख्या प्रतिदिन सार्वजनिक हुँदैछ । 

वषौँदेखि कुनै बजेटले नदेखेको अभाव पीडित समाज बन्दाबन्दी उपहारमा आत्ममृत्यु रोज्न बाध्य छ तर विलासी सरकारले यही बन्दाबन्दीलाई सुरक्षाकवच बनाएको छ । भुइँमा बस्नेको दुःखी पुकार बजेटमा सुनिदैन । आँखा चिम्लिएर पारित गर्ने ताली पिट्न तयार सरकारी सांसदले समेत बजेटप्रति सन्तुष्टि व्यक्त गरेको पाइएन । सिधा टिप्पणीले ठूला रिसाउने भयमा  राम्रो शब्दबाहेक कार्यान्वयन जटिल हुने तिनले पनि सार्वजनिक अभिव्यक्ति दिएका छन् । कार्यान्वयन नै चुनौती हुने बजेटलाई के भन्ने ? 

कर्मचारीको भत्ता र अन्य सुविधा कटौती घोषणाको बजेट ल्याएसँगै सरकारी पदधारीहरुको विलासितामा खर्च बढाइएको निर्लज्ज खबर पनि आयो । कोरोना महामारीबीच शीतलनिवासको विलासी शौचालय र सिङारपटार वा भैंसेपाटी सार्ने भनिएको हाल अस्थायी (?) मन्त्री निवासमा जिमखानको तामझाममा तीन करोडभन्दा बढी लगानी गर्न क्रान्तिकारी सरकार लागेछ । 

बाहिरबाट निर्बाध आयात गर्ने सरकार किसानको उत्पादनलाई बजार पुर्याउने व्यवस्था गर्न सक्दैन । उपभोक्ता महँगीमा छन् तर नेपाली तरकारी खाल्डोमा पुर्ने बहादुरी निर्लज्ज मञ्चन छ । सेनाको काँधमा सबै काम सुम्पिएर सरकार हुनुको गौरव भाषण सुनिन्छ । गरिब भोकभोकै मर्दैछन्, बिरामीले उपचार पाएका छैनन् । उपचारको अभावमा यसबीच ५६ भन्दा धेरै सुत्केरी आमाहरुको मृत्यु भएको खबर छ । 

दुई साताअघि डा. सुधार अधिकारी भन्दै थिए – लकडाउनपछि डायलासिस नपाएर २८ जना मृगौला रोगी बिते । यस्तो बेला जनताको पीडामा नुनचुक छर्कने प्रकारको सन् २०६५ तिर फिलिपिनो तानाशाह‘फर्डिनान्ड र इमेल्दा मार्कोसको’राज्यस्रोत दोहनको विलासी शैलीमा’ नेकपा सरकारी कृत्य सार्वजनिक भएका छन् ।   

आयात बढेको छ, निर्यात घटेको छ । राजस्व ओरालो झर्दैछ । राजस्वको लक्ष्यभन्दा चालु खर्च धेरै हुने घोषणा बजेटको छ । नौ खर्बभन्दा बढी चालु खर्च छ । सरकार ससर्त ऋण बढेकोमा आफ्नो सफलता अनुदित गर्न मख्ख छ । तीन खर्बमाथिको  विकास खर्चको पूरै बोझ ऋणको भरोसामा छ । फर्किएर हेर्दा घोषित विकास खर्च गर्ने हैसियत समेत सरकारसँग छैन ।  

ऋणको भार गरिब नेपालीको थाप्लोमा नै पर्ने हो । नेकपाको सरकार ‘ऋणं कृत्वा घृतम् पिवेत्’ भन्ने चार्वाक धुनमा जनताको ढुकुटी आफ्नालाई लुटाउन मस्त छ । जनताले बोक्नुपर्ने ऋणको मधुमोहमा लागेको नेकपा सरकार अनुदान लिन ‘इम्पोज्ड’राष्ट्रवादी नाराले अनिर्णयको सिकार भएको छ । नेपाली शब्द ‘जार्गन’मा ‘लहैलहै’ निरर्थक स्थापित भएको होइन, चेतना संस्कार बोधक हो । अर्थात्, बुझाइ र विवेकको प्रयोगभन्दा हल्लामा धारणा बनाउने । नेकपाले एमसीसी सहयोगलाई ‘इम्पोज्ड राष्ट्रवादी’ हल्लाको सिकार बनाउँदै छ । 

सरकार सबै दायित्वमा असफल साबित भएको छ । कुनै एउटा काम र भूमिकामा अक्षम भए व्यक्ति र सरकारले सच्याउन पाउने वा सक्ने समस्या हो । तर, सबै दायित्वमा असफलले के सच्याउन सक्छ ? असफलताबीच आइलागेको कोरोनाभाइरस झन्डै गइसकेको नेकपा ओली सरकारलाई सुरक्षा कवच भयो । अरु मरुन् कि बाँचुन् तर बन्दाबन्दी सरकारी पदासीनलाई आराम निदाउने चयन गरियो  । 

ढाइ महिनाको‘लकडाउन’पछि सरकार स्वास्थ्य संकटकाल घोषणा गर्ने तारतम्य प्रचार गर्दैछ । संकटकाल आफ्नो आयुको अर्को अकण्टक अवधि हुने सरकारले सोचेजस्तो छ । अहिले कोरोना संक्रमितको संख्या सयौंमा भेटिँदैछ । परीक्षण दायरा थप फराकिलो पारिए संक्रमित हजारौं पुग्ने लक्षण जो छ । तराई पहाड जताततै संक्रमित छन् । श्रम आर्जनमा गएका नेपालीहरु छिमेकी भारतबाट फर्किने क्रम जारी छ । अरु मुलुकबाट ल्याउन सरकार हवाईजहाजको व्यवस्था मिलाउँदै छ सायद । 

यताका उतै र भारतीय श्रमिकलाई यतैको क्वारेन्टिन लगायतमा व्यवस्था गर्ने सहमतिको राग अलापेर सरकारले डेढ महिना बितायो । कतिपय मुलुक महामारीले थलिएको देख्दादेख्दै एक दुई सातामा नै निको हुने जस्तोगरी कुनै आवश्यक तयारी गरिएन । प्रतिपक्ष र विज्ञले दिएको अग्रीम सुझावलाई उपेक्षा गरियो । पद सुरक्षाको कारक कोरानालाई सरकारको कमाउ धन्दा बनाइयो ।     

भारतले लकडाउनको बेला आन्तरिक तयारी पूरा गरेको भन्दै व्यापार व्यवसाय र रेललगायत यातायात सेवा आंशिक खुलाएको छ । बम्बईदेखि पैदल आउन तयार नेपाली श्रमजीवी यातायात सुविधा पाएपछि आफ्नो मुलुक फर्कनु स्वाभाविक हो । आम्दानीमा लकडाउन र सुरक्षाको खासै अनुभूति नपाएपछि जेपर्ला आफ्नै घर आँगनको पोल्टामा पुग्ने नेपाली चाहना अन्यथा होइन । देशकै क्वारेन्टिनमा पुगेर पनि भोक, तीर्खाले मरे । तिनका लागि सरकार बाँच्नुको पनि अर्थ भएन । आफ्नो देश आउनेलाई भारतबाट ओइरिए भन्ने गलत असन्तुष्टि अमानीव र अराष्ट्रिय हो । ती जाउन् त कहाँ ? यस्तै बेला हो देश, सरकार रहेको, भएको भरोसा दिने, सघाउने । 

भुइँमा खुट्टा नभएको बजेट, आवश्यक र भोकालाई सहायताको गाँस दिन नसकेको सरकार, ठूलाठालु गफ र भाषणमा आत्मरति लिएको ‘राष्ट्रवादी’ नेकपालाई लिम्पियाधुराको कागजी नक्सा अर्को प्राणत्राण भएको छ । राष्ट्र भोका जनतासँगै मर्दै गरेको हेक्का कम्युनिस्ट सरकारलाई छैन । जनताको स्वःस्फूर्त आत्मभावमा देशभक्ति बाँच्ने सत्य कम्युनिस्टहरुले कहिल्यै स्वीकार नगरेको सत्य हो । अधिनायवादी चेतका तानाशाहहरु राष्ट्र र देशभक्तिको केन्द्रीय तत्त्व आफूबाहेक अर्कोमा देख्न चाहँदैनन्, स्वीकार गर्दैनन् । 

एमसीसीमा के त्यस्तो सर्त छ, नेपाली राष्ट्र लुटियोस् र खोसियोस् ? ऋण बढेकोमा आफ्नो पौरख बखान्ने सरकारले विनासर्त कुन ऋण वा अनुदान लिएको छ ? नेकपाका कथित राष्ट्रवादी र सरकारले सार्वजनिक गरोस् । छिमेकी चीनको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) प्रस्ताव के नेपालले विनासर्त स्वीकार्न पाएको हो ? नेपाली भाषामा अरुकै भाव ओकल्नु नेकपाले बनाएको राष्ट्रवादको पहिचान हो । 

हालै लिएको विश्व बैंक, र एसियाली विकास बैंकको ऋण वा युरोपेली विकास सहयोग नेपालले कुन चाहिँ विनासर्त पाएको छ ? एमसीसीको योजना पाँच वर्षमा सकिने हो, ऋण होइन, सित्तै अनुदान हो । पाँच वर्षपछि काम सकिन्छ, संलग्न उसको संयन्त्र फर्किन्छ । कुनै पनि वैदेशिक सहयोगमा यहाँ हुने विकासले कुनै छिमेकीको टाउको दुःख्छ भने नेपालीले ‘एनासिन’ किन खाने ?

मिलेनियम च्यालेञ्ज कम्प्याक्ट अमेरिकी अनुदान हो । जुन अनुदान तीनसय किलोमीटर सडक पुनरुद्धार र तीन सय किलोमिटरभन्दा लामो झन्डै तीन हजार विद्युत भोल्ट प्रवाहक तार विस्तारक वृहत् योजना हो । पर्यटन आकाशे खेतीजस्तै भएको कोरोनाले बुझायो । लप्सीफेदी – हेटौँडा र लप्सीफेदी – नुवाकोट हुदै नवलपरासी (बुटवल) सम्मको तीनचारसय केभी प्रसारण लाइनको भारी विद्युत् नेपालमा मात्र उपभोग हुन सक्तैन । 

भूबनोट र स्रोतले नेपालमा जलाशय वा अर्धजलाशयबाट बिजुली उत्पादनको दीर्घजीवी सम्भावना देखिएको छ । एमसीसी योजनाले बिजुली भारत र मिले बंगलादेशमा बिक्री गर्ने उद्देश्य राखेको छ । गर्नसक्दा नेपालका लागि विद्युत् व्यापार स्थायी ठूलो आर्थिक स्रोत बन्ने स्पष्टै छ । अरुण होस् कि अरु, नेपालको यही र यस्तै स्थायी स्रोतमाथि लप्mफाजी तर्क दिएर नेकपाको हमला निरन्तर जारी छ । समृद्ध नेपालीमा खुल्ने, फुल्ने देशभक्ति कम्युनिस्टलाई स्वीकार्य छैन ? 

नेकपाको सरकार बनेको अढाइ वर्षभन्दा धेरै भयो । आप्तजनको बाहेक जनताको  सुख, समृद्धिका लागि तात्कालिक वा दीर्घकालीन कुनै सम्भावना सरकारले उद्घाटित र परिणामदायी बनाएको छैन । पुराना योजनामा रिबन काटेको र ताली पड्काएको छ । थप समस्या बल्झाएर समाजलाई अल्झाएको छ । सन् २०१४ देखि एमसीसी योजनाको प्रक्रिया सुरु भएको हो । यसबीच नेकपाका अध्यक्ष केपी ओली दुईपटक, अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि प्रधानमन्त्री भए । यतिका वर्षमा पनि नेकपाले एमसीसी योजनामा स्पष्ट धारणा बनाउन नसक्ने निरीह हैसियत देखाएको छ । यस्तो ‘भरिया’ हैसियतले अरु समस्या के समाधान गर्ला ?   

नेपालका कम्युनिस्टको इतिहास हेर्दा यिनीहरु सानो समाधान, ठूलो समस्या बनेको भेटिन्छ । माओवादीको उद्गम रुकुमको चौरजहारी सोतीमा भएको निर्मम घटनाको एघार दिनपछि नेकपाले बल्ल ‘क्रान्तिकारी’ विज्ञप्ति निकालेको छ । सत्र हजारको जीवन सापटीमा जातीय विभेद अन्त्य गरेको दाबा गर्ने नेकपा (तत्कालीन माओवादी) अध्यक्ष पुष्पकमल दाहाल त बोलेकै छैनन् । सोती–भेरी हत्याकाण्डमा पुराना माओवादी, नयाँ नेकपा कार्यकर्ता नै सम्लग्न रहेछन्, वडा अध्यक्ष नै नेता जो । अहिलेसम्म आइपुग्दा पुनर्पुष्टि भएको छ नेकपा (कम्युनिस्ट) समस्या हुन्, समाधान होइनन् ।       
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC