सिङगिङ रियालिटी शो नेपाल आइडल सिजन ३ अन्तिम–अन्तिममा पुगेको थियो । केही साता मात्रै थियो ग्रान्ड फिनाले आउन । २८ शृंखला प्रशारण भइसकेको थियो । फाइनल सकिएपछि अर्को काम सुरु गर्ने योजनामा थिए आयोजकदेखि निर्णायकसम्म । नेपाल आइडलका निर्णायकमध्येका एक हुन् न्ह्यु वज्राचार्य । उनलाई पनि अरूलाई झैं फाइनलको प्रतीक्षा थियो । फाइनल सकिएपछि प्रतिस्पर्धीको मूल्यांकन छोडेर नयाँ काम गर्ने सोचमा थिए । तर ठीक त्यही बेला कोरोना संक्रमणको जोखिम बढ्यो । सरकारले लकडाउन सुरू गर्यो । घरमै थुनिए न्ह्यु ।
उनीहरूले पनि अमेरिकन आइडलले झैं भर्चुअल प्रस्तुति दिने कि भन्ने नसोचेका होइनन् । तर टेक्नोलोजी बाधक बनिदियो । “हामीले पनि नसोचेको त होइन । तर हामी अमेरिकाजति टेक्नोलोजीमा एड्भान्स र आर्थिक रूपमा सबल छैनौं,” न्ह्यु भन्छन्, “अर्को कुरा एक प्रतिस्पर्धी धनगढीमा भए अर्को मोरङमा हुन्छन् । ठूलो क्रु मेम्बरसहित जानुपर्ने भएकाले जोखिम बढ्ने भएकाले पनि भर्चुअल प्रस्तुतिबाट पछि हट्यौं ।”
० ० ०
संलग्न रहेकै काम थाती रह्यो । नयाँ काम सुरु गर्ने कुरै भएन । त्यसमा पनि घरबाहिर निस्किन नपाएपछि योजनाअनुरूप काम हुने कुरै भएन ।
पुरानै काम सकिएन । नयाँ काम सुरु गर्न पाएनन् । त्योभन्दा पनि न्ह्युलाई सरकार देखेर उदेक लाग्यो । एक्कासि लकडाउन भयो । कसैलाई थाहै थिएन । न कुनै सूचना थियो न जानकारी । “कति मान्छे अलपत्र परे । न खाना न सवारीसाधन सयौं किलोमिटर हिँडेरै घरजान बाध्य भए,” न्ह्यु भन्छन्, “सरकारले यस्तो अवस्थामा आफ्ना नागरिकलाई यस्तो हुँदै छ, आफ्नो बन्दोबस्ती गर है पो भन्नुपर्छ, अलपत्र त पार्नु हुँदैन नि ।”
नागरिक सयौं किलोमिटर हिँडेर घर गए । भारतमा रहेका नागरिक सीमामा आएर महिनौं अलपत्र परे । कहिले सीमा खुला र घर जाउँला भनेर बसेको, ढाँट नखोलेपछि नदीमा हाम फालेर पौडिएर सीमा पार गरेको, आफन्त मात्रै होइन केहीले आफ्नै ज्यानसमेत गुमाएको देखेर न्ह्युको मन कुँडियो तर सरकार त्यसमा गम्भीर नभएको देखेर उनलाई अचम्म लाग्यो ।
कोरोना संक्रमणको त्रासले लकडाउन छ । त्रासले उपलब्ध गराएको समय किन आफ्नो हुन्थ्यो र ? अरूको होला । तर न्ह्युको हकमा भने यो फुर्सदलाई उनले आफूअनुकूल खासै उपयोग गर्न सकेनन् । तीन–चारवटा गीत त उनले तयार नगरेका होइनन् । तर, तुलनात्मक रूपमा उनले यति लामो समयमा निकै धेरै काम गरिसक्थे ।
कोरोनाको कहरलाई लिएर उनले एउटा गीत तयार पारे । नेपाल आइडल सिजन २ का प्रतिस्पर्धीलाई गाउन लगाउने निश्चित गरे । तर पहिलो त सामूहिक स्वर त्यसमा पनि लकडाउन । “स्वर कलेक्ट गर्नै समय लाग्यो । अब केही दिनमै सायद बजारमा आउँछ,” न्ह्यु भन्छन् ।
अरू पनि केही गीत उनले तयार पारेका छन् । तर, बन्दाबन्दीले अवरोध बनिरहेको छ । स्टुडियो जान पाइँदैन । काम गर्नेहरूसँग भेट हुँदैन । त्यसैले बन्दाबन्दीपछि गीत ल्याउने उनको तयारी छ ।
लकडाउनलाई कसरी सदुपयोग गर्ने ? न्ह्युले दिमाग चलाए । मिल्नेमध्येका केही साथी मिलौं र यो समयलाई सकेसम्म उपयोगी बनाऔं । योगेश्वर अमात्य, जेम्स प्रधान र आफूसहितको क्याम्प बोर्ड बनाए । आ–आफ्नो घरबाट भर्चुअल प्रस्तुति सुरु गरे । तयार भयो मलाई एकछिन् देऊ..., अर्को पनि तयारी गर्दै छैन् लैजा चरी...।
त्यसो त नयाँ मात्रै होइन उनीहरू घरमा बस्दा–बस्दा दिक्क भएका संगीतप्रेमीलाई उनीहरू आफ्ना पुराना गीतहरू पनि सुनाउँछन् । अधिकांश गायक–गायिकाहरू आफूआफू फेसबुकमा आएर गीत गाइरहेका बेला उनीहरूले सामूहिक रूपमा गीत गाए । एकातिर उनीहरू स्वयंलाई पनि रमाइलो अनि दर्शकलाई पनि गफगाफसहितको फरक प्रस्तुतिको रमाइलो धेरैले मन पराएको न्ह्यु सुनाउँछन् ।
० ० ०
काम त गरे तर उनले सहज महसुस गरेनन् । एकातिर दरिलो र भरपर्दो नेतृत्वको अभाव अर्कोतर्फ विभिन्न सञ्चारमाध्यमले दिने अतिरञ्जित समाचारले त्रास फैल्याएको न्ह्युको भनाइ छ ।
“यो लकडाउनले संगीतकारलाई काम गर्न त्यति धेरै शान्ति पनि चाहिँदो रहेनछ भन्ने पनि थाहा भयो । अलि अफ्ठ्यारो समय पनि चाहिँदो रहेछ,” हाँस्दै उनी भन्छन्, “शून्यको अवस्थामा संगीत बनाएर कसलाई सुनाउने भन्ने पनि दिमागमा आउँदोरहेछ ।”
कसैले सोच्दै नसोचेको समस्याले अफ्ठ्यारो अवस्था सिर्जना गरिदिएको भन्दै न्ह्यु अबको समय सबैलाई असहज रहेको सुनाउँछन् । “भर्खर व्यापार सुरु गरेकालाई बैंकको लोन कसरी तिर्ने भन्ने समस्या छ । गायक–गायिकाले तयार भएको गीत रिलिज गर्न नपाउँदा समस्या छ । भर्खर–भर्खर संघर्ष गरेर अबचाहिँ केही होला कि भनेर अपेक्षामा बाँचिरहनेलाई कठिन छ,” उनी भन्छन्, “आमनागरिकलाई समस्या छ । चलचित्र भर्खर निर्माण सकेर बस्नेलाई कति चिन्ता होला त्यो म महसुस गर्न सक्छु ।”
० ० ०
संसारै लकडाउनमा छ । आर्थिक कारोबार ठप्प छ । मनोरञ्जन उद्योग त झन् लकडाउन खुलेपछि पनि तत्काल पहिलाकै अवस्थामा फर्किन्छ अथवा सुस्ताउँछ भन्न सकिने अवस्था छैन । तर भिड गर्नु र त्यसमा सामेल हुनु जोखिमपूर्ण भएकाले मनोरञ्जन उद्योगमा लामो समय प्रभाव पर्ने लगभग पक्का छ । तर कालो बादलका बीच चाँद देखिन्छ कि भन्ने उनलाई अपेक्षा छ ।
“सरकार–माओवादी द्वन्द्वको समयमा अब कलाकारिता क्षेत्र सुस्ताउँछ भनेर धेरै कलाकार विदेश पलायन भए । तर त्यही समयदेखि नेपाली रहेका देशमा नेपाली कलाकारको ठूलो माग हुन थाल्यो । र त्यहाँ हुने कार्यक्रमहरू गायक–गायिकाको आम्दानीको स्रोत बन्न थाल्यो । यस्तै केही नयाँ विकल्प पनि देखिन सक्छ अपेक्षा गरौं,” आशावादी सुनिन्छन् न्ह्यु ।
आम्दानीका स्रोतहरू बन्द भए । कति समयका लागि हो निश्चित छैन । त्यसैले उनी आर्थिक मितव्ययिता अपनाउनुपर्नेमा जोड दिन्छन् । “यो समय ल्यावियस खर्च गर्ने समय होइन । कसरी हुन्छ थोरै खर्च गरेर आर्थिक मितव्ययिता अपनाउने समय हो,” न्ह्यु भन्छन्, “जस्तो समय र परिस्थिति आउँछ त्यहीअनुसार बाँच्न सिक्नुपर्छ । समयअनुसार चल्न सकिएन भने पक्कै पनि पछि परिन्छ ।”