site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जातीय अहङ्‍कारले निम्त्याएको रुकुम नरसंहार
SkywellSkywell

काठमाडौं । अधिकारवादी संघ–सङ्गठनले पश्चिम रुकुमको चौरजहारीको नरसंहार जातीय छुवाछूत र अहङ्कारको उपज भएको निष्कर्ष निकालेका छन् । स्थलगत अध्ययन र पीडितहरूको बयानका आधारमा उनीहरू घटना नियोजित भएको निचोडमा पुगेका हुन् ।


गत जेठ १० किशोरी भगाउन छिमेकी गाउँ, भेरी नगरपालिका ४, रानागाउँबाट दलबलसहित युवाको एक समूह सोती गाउँ पुगेको थियो । कथित दलित युवकले माथ्लो जातको केटी भगाउन खोजेको भन्दै गाउँलेहरूले साङ्घातिक आक्रमण गर्दा प्रेमी नवराज विक र उनका पाँच साथी मारिएको अधिकारकर्मीहरूको ठहर छ ।

घटनामा केही युवा घाइते छन् । उनीहरूको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले आफैं जमानी बसेर उपचार गराइरहेको बताएको छ ।

KFC Island Ad
NIC Asia

घटनास्थलको प्रकृति, पीडित पक्षको भनाइ र प्रहरीको भनाइका आधारमा मृतकहरूलाई हत्यापश्चात् भेरी नदीमा बगाइएको अधिकारवादीहरूले निष्कर्ष निकालेका छन् ।

भेरीमा निमोठिएको विजातीय प्रेमको अन्तरकथा

Royal Enfield Island Ad

भेरी नगरपालिका ४, राना गाउँका नवराज विश्वकर्मा र भेरीपारि मध्यपहाडी लोकमार्गसँगै जोडिएको चौरजहारी नगरपालिका ८ की मल्ल थरकी किशोरीबीचको केटौले मायाप्रीति पुरानो होइन । झाँगिएको केही समय मात्रै भयो ।

अढाइ वर्षअघि, २०७५ सालमा जाजरकोटको कुदुमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता भएको थियो । खेलकुदमा सौख भएका नवराज स्कुलबाट प्रतिनिधित्व गर्दै कुदु गएका थिए । त्यसअघि नै धेरै टुर्नामेन्टमा भाग लिएका नवराज साथीसङ्गातीबीच पनि लोकप्रिय थिए । उनको ‘ख्याति’ वल्लोपल्लो गाउँ छिचोलेर टाढाटाढा पनि पुगेको थियो ।

त्यही स्पर्धामा मल्ल थरकी किशोरीसँग उनको भेट भएको थियो । किशोरवय छिचोलेर भर्खरै युवावयमा प्रवृष्ट भएका नवराज किशोरीसँग आकर्षित भए । प्रेम प्रगाढ बन्न कत्ति समय पनि लागेन ।

तर, त्यही प्रेम काल बन्छ र अकालमा ज्यान गुमाउनुपर्छ भनेर नवराजले भेउ पाउनै सकेनन् । दुईजनाको केटौले प्रेममा जात पर्खाल बन्छ र जीवन गुमाउने कारक पनि त्यही बन्छ भनेर हेक्का नराखी दुवैले ‘विजातीय प्रेम’लाई निरन्तरता दिई नै रहन्छन् ।

आठवटा सङ्घ–सङ्गठनले स्वतन्त्र तवरले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितापछि मल्ल थरकी ती किशोरी र नवराजबीचको भेटघाटमा केही ‘ग्याप’ देखिन्छ । यद्यपि उनीहरूबीच फोन संवाद र म्यासेन्जरमा भने गफ आदान–प्रदान भइ रहेको तथ्यबाट खुल्छ ।

‘छोरो मारिँदा पनि न्याय देऊ भनेर आन्दोलन गर्नुपरेको छ’

२०७६ पुस १२ गते जाजरकोटको खलङ्गामा स्थानीय मेला चलेको थियो । भेरीपारि चौरजहारी र आसपासका गाउँबाट मानिसहरू मेला भर्न आएका थिए । मल्ल थरकी किशोरी पनि मेला भर्न आएकी थिइन् । र, चारदिन नवराजकै घरमा आश्रय लिएर चौरजहारी फर्किएकी थिइन् ।

“त्यतिबेला किशोरी हाम्रै घरमा आइन् । उनकै उमेरकी नवराजकी बहिनी पनि छन् । उनीसँगै सुतिन् । चारदिन बसेपछि नवराजले नै उनलाई चौरजहारी ८, सोतीगाउँमा रहेको उनको घर पुर्‍याइ दिएका थिए,” आमा उर्मिला त्यसदिनको घटना सम्झिन्छिन् ।

मल्ल थरकी किशोरी ठूलो जातको भन्ने थाहा पाएपछि त्यतिबेलै छोरालाई हप्काइदप्काइ गरेको उर्मिलाको भनाइ छ ।

बाबु मोहनलालले पनि ती किशोरीलाई सम्झाउने कोसिस नगरेका होइनन् । मानवअधिकारवादी सङ्घसंस्थाका प्रतिनिधिसँग उनले भनेका छन्, “तिमी त उमेरमा पनि स्यानी छौ, जातका आधारमा पनि तिमी मल्ल ठकुरीकी छोरी, हामी सानो जातका मानिस, भोलि तिम्रो बाबुआमाले लफडा गर्लान् । अबदेखि तिमी हाम्रो घरमा नआउनू !” 

किशोरीले आफ्नो ढिपी छाडिनन् । बरु उनले उल्टै सम्झाउन खोजेको मोहनलालले सम्झिएका छन्, “अङ्कल तपाईं पनि कस्तो मन्त्री जस्तो कुरा गर्नुहुन्छ ? हामी माओवादी हुम् ! हामी जात–भात मान्दैनौं । हामी दुवैजना साथीसाथी हौं । हामीले आठ वर्षपछि बिहे गर्ने हो ।” 

कार्यदलको प्रतिवेदनमा २०७६ पुस २९ गते पनि किशोरी नवराजको घरमा आएको उल्लेख छ । बाह्रखरीसँगको कुराकानीमा आमाले पनि दोस्रोपटक तीनदिन आएर बसेको बताएकी थिइन् । त्यतिबेला उर्मिलाकी बहिनीका छोरा (नवराजको सानीआमाका छोरा) को जन्मदिन थियो । घरमा सानोतिनो जमघटको आयोजना भएको थियो ।

“नआइजो भन्दाभन्दै पनि त्यतिबेला उनी आइन् । त्यतिबेला पनि तीन दिन बसेर गइन्,” आमा उर्मिलाले बाह्रखरीसँगको कुराकानीमा भनेकी थिइन् ।

त्यसपछि भने किशोरीको बाबुआमाले नवराजसँगको प्रेम सम्बन्ध चाल पाएको र छुटाउने प्रयत्न गरेको उर्मिला बताउँछन् ।

“हामीले ठूला जातको छोरीमा आँखा नला । उनीसँग हाम्रो जात मिल्दैन । केटीका बाबुआमाले मान्दैनन् भनेर सम्झाएका थियौं,” आमा भन्छिन् ।

त्यसबीचमा केटीका आमाबाबुले नवराजलाई फोनमै हप्काइदप्काइ गरेको र पिछा नलाग्न चेतावनी दिएको आमा बताउँछिन् ।

‘एक्लो छोरो थ्यो, दलित भएर ठूलो जातको केटी भगाउने भन्दै मारे’

२०७६ चैत १७ गते, लकडाउनकै अवधिमा नवराज पुनः चौरजहारी गएका थिए । छोरी उठाउन आएको भन्दै क्षुब्ध बनेका किशोरीका बाबुआमाले अपशब्दले गाली–गलौज गर्दै नवराजलाई चौकी पुर्‍याएको उर्मिला बताउँछिन् । चौकी पुर्‍याउने हर्ताकर्ता तिनै वडाध्यक्ष डम्बरबहादुर मल्ल थिए ।

त्यतिबेला आमाले चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष मल्लसँग छोराको बदमासी र चौकी पुर्‍याउनुपर्ने कारणबारे सोधनी गरेकी थिइन् । तर, खानेपानीको काममा छु भन्दै वडाध्यक्षले भेट्न र कुरा गर्न इन्कार गरेको उनको भनाइ छ ।

“वडाध्यक्षले चौकीमा आउन मानेनन् । मेरो खानेपानीको काम छ भन्दै टारे । भोलिपल्ट बिहान आफैंले कागज गरेर छुटाएर ल्याएँ । त्यसबेला पनि केटीको पिछा नलाग्न छोरालाई भनेकी थिएँ,” आमा भन्छिन् । 

कुटीकुटी हत्या, प्रहरी रमिते
गत १० गते नवराजले १९–२० जना साथी बटुलेर सोती गाउँ लागेको अध्ययनबाट देखिन्छ । त्यतिबेला आफू घरमा नभएको र बाबु पनि बजार गएकाले केही थाहा नभएको आमा बताउँछिन् । त्यही दिन जाजरकोट, खलङ्गा बजार गएकाबेला किशोरीको ठूलो बुबा नाता पर्नेले ‘मल्लको सम्धी बन्न इच्छा छ ?’ भनेर सोधेको बुबा त्यतिबेलै आफूलाई शङ्का लागेर छोरीलाई दाजु आएको छ ? भनेर सोधेको मोहनलालले अध्ययन टोलीलाई बताएका छन् ।

घटना भएको दिन किशोरीले नै नवराजलाई बोलाएको प्रतिवेदनको ठहर छ । ‘मेरो अन्यत्रै विवाह गरिदिने भए । भगाएर लैजाने भए आउनू’ भनेर बोलाएपछि नवराज सोती गाउँ जान तयार भएको र साथी बटुल्न थालेको अधिकारवादीले निष्कर्ष निकालेका छन् । 

सन्देश किशोरीले पठाएकी थिइन् कि फोन कब्जामा लिएर बाबुआमा, दाजुले घटना घटनाउने नियतले बोलाएका थिए भन्ने अनुत्तरित छ । प्रहरीको अनुसन्धानमा पनि यो पाटो नखुलिसकेकाले अधिकारवादीको प्रतिवेदनमा पनि यो प्रश्न अनुत्तरित छ ।

किशोरीसँगको प्रेम सम्बन्ध विवाहमा परिणत गर्न १८ साथीसहित नवराज मध्याह्न १२ देखि १ बजेको समयमा सोतीगाउँतिर लागेको सँगै गएकाहरू बताउँछन् ।

सोतीगाउँ हिँडेका नवराजको समूह भेरी नदीको झोलुङ्गे तरेर पारि पुगेर थप साथीको प्रतीक्षा गरेको आमा बताउँछिन् । प्रेमिका लिन हिँडेको नवराजको समूह त्यहाँ करिब २० मिनेट बसेको देखिन्छ । त्यतिञ्जेल चौरजहारीतिरबाट आठ साथी थपिएको आमा बताउँछिन् ।

सोती गाउँ जाने किशोर–युवाले पनि आफूहरूलाई नवराजले फोन गरेर केटी भगाउन जाउँ भनेर बोलाएको बयान दिइसकेका छन् ।

“त्यसदिनको बिहानको खाना खाइसकेपछि करिब साढे १२ बजेतिर मलाई नवराजले केटी भगाउन जाउँ भने,” किशोरी भगाउन जाने समूहमा रहेका र भागेर ज्यान जोगाएका इन्द्रजङ्ग शाही भन्छन्, “त्यपछि हामी साथीहरू मिलेर रानागाउँबाट केटी ल्याउने भनेर सोतीगाउँ प्रस्थान गरेका थियौं । हामी सबै गरेर १९ जना गएका थियौं ।”

साँझको ५ बजे नवराजसहितको समूह किशोरीको घरमा पुग्दा आमा बाटैमा फेला परिन् । बाटोको छेउमा पाल नभएको घर थियो । आमा बाटैमा युवा आउँदै छन् भनेर चाल पाएजसरी बसेकी थिइन् । उनले टाढैबाट नवराजलाई चिनिहालिन् । हात उज्याउँदै गाली गर्न थालिन् ।

‘‘तँ....... फेरि आइस्..., अस्तिको पिटाइले तँलाई पुगेन..!’ भनेर वडाध्यक्षलाई बोलाइन् । त्यतिञ्जेल हामी केही साथीहरू अब यहाँ लफडा हुने भयो भनेर फर्कियौं,” इन्द्रजङ्ग शाहीले बयान दिएका छन् ।

किशोरीको आमाले फोन गरेर वडाध्यक्षलाई बोलाउनबित्तिकै गाउँलेहरू झुरुप्प जम्मा भएको कार्यदलको पनि निष्कर्ष छ । हातमा घरेलु हातहतियार, दाउरा, भाटा लिएका गाउँलेहरूले युवालाई भेरी बगरसम्मै लखेटेका थिए । त्यतिञ्जेल भेटिएजत्तिलाई पिटेको र नभेटिएलाई भेरीमा हेलिन बाध्य बनाएको समितिको ठहर छ । भेरीको किनारमा रहेका प्रहरीले केहीलाई उद्धार गरेपछि गाउँले पनि तितरबितर भएको अध्ययनको निष्कर्ष छ ।

“हामी भाग्दै थियौं, वडाध्यक्षहरूको हूलले घरेलु हतियार हँसिया, लाठी र ढुंगाले आक्रमण गर्न थाले,” इन्द्रजङ्ग घटनाको सविस्तार वर्णन गर्छन्, “त्यसपछि हामी गोइरीस्थित भेरीको किनारमा पुग्यौं । ज्यान जोगाउन भेरीको सानो भँगालो छिचोलेर जँघारतिर के सोझिएको थिएँ, त्यहाँ हामीलाई नदीको दुवैतिर गाउँलेहरूले घेराहालेर बसेका रहेछन् । मलाई पनि समातेर लाठीले कुट्न थाले ।”

उनले गुहार, गुहार भन्दै खुट्टा समातेर बिन्ती गर्दा पनि गाउँलेले कुट्न नछाडेको बताएका छन् ।

“उनीहरूले सुनेनन्, कुटेको कुट्यै गरे,” उनले अध्ययन टोलीलाई त्यसदिनको घटनाको विवरण सुनाएका छन्, “त्यसपछि मलाई प्रहरीले उद्धार गरेर लियो । प्रहरी त्यहाँ नआएको भए हामीलाई पनि मार्ने थिए ।”

उनले त्यतिबेला नवराज र मारिने कसैलाई पनि बगरमा नदेखेको पनि बताएका छन् ।

नवराजको शव त्यही दिन साँझ ७ बजे भेरीको झोलुङ्गे पुलनजिक फेला परेको थियो । त्यसको केहीबेर पछि टीकाराम सुनारको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनामा प्रहरी रमिते बन्न बाध्य भएको इलाका प्रहरी कार्यालय चौरजहारीका निरीक्षक धर्मसिंह विष्टले स्वीकार गरेका छन् ।

उनी त्यसदिन अघिल्लो दिनकै सडक विवाद मिलाउन खोलागाउँमा वडाध्यक्षले फोन गरेर बोलाएको विष्ट बताउँछन् । वडाध्यक्षको फोन आएको केहीबेरमै सहायक निरीक्षक सन्तोष लामिछानेको कमान्डमा पाँचजना प्रहरी वारदातस्थल पठाएको बताएका छन् ।
“म त्यहाँ पुग्दा महेश कार्की र डिल्ली विश्वकर्मालाई नियन्त्रणमा लिएर राखेका रहेछन्,” उनले अध्ययन टोलीलाई घटनाको जानकारी दिँदै भनेका छन्, “वडाअध्यक्षसहित ५० जना जति बारीको डिलमा उभिएका थिए । गाउँलेको पिटाइबाट सुदीप खड्काको मुखमा रगत आएको थियो । उनी अलिक धेरै घाइते थिए । उभिएका जतिले ढुङ्गा, लाठीले पिट्दै गरेको देखेपछि प्रहरीले रोकेको हो ।”

किशोरीकी आमाले वडाध्यक्षलाई ‘..फौज आएका छन्, डेढ–दुईसय मानिस ल्याउनू’ भनेर फोनमै भनेको सुनेपछि डराएका युवा केही ओह्रालो झरेका थिए । त्यहाँ पनि गाउँलेले ‘काफल, पानी खाओ’ भनेर अल्मल्याउन खोज्नुले पनि घटना नियोजित रहेको पुष्टि हुने र गावैंको संलग्नता देखिने रानागाउँवासीको ठहर छ ।

किशोरीको घरबाट १० मिटर वर आइपुग्नेबित्तिकै ढुङ्गामुढा– लाठीको वर्षा भएको र युवाको समूह तितरबितर भएको घाइतेहरूले बयान दिएको प्रहरीले बताएको छ । “हामी बाटाबाटै भाग्दै थियौं । गाउँलेहरू कुट्दै थिए । कतिलाई मारेर भेरीमा फालिसके भनेर उद्धार गरिएका १२ जना केटाहरूले बयान दिएका छन्,” प्रहरी निरीक्षक विष्टले बताएका छन् ।

गाउँलेहरूले किशोरी उठाउन जाने केटाहरू हातहतियारसहित गएको बताए पनि प्रहरीले त्यसको खण्डन गरेको छ । घाइते र मृतक सबै निःशस्त्र रहेको विष्टको भनाइ छ । “घाइतेहरू निःशस्त्र थिए पैसा पनि थिएन । हामीले नै सुदीप खड्काको २ हजार ८ सय र अरू ११ जनाको १७ हजार ९ सय रुपैयाँको उपचार जमानी बसेर गराएका हौं,” विष्टले भनेका छन् ।

प्रहरीले पनि घटना जातीय भेदभाव, छुवाछूतकै कारण घटाइएको निष्कर्ष निकालेको छ । “मृतक सबैको कुटेरै हत्या भयो । यसको निष्पक्ष छानबिन गर्छौं,” विष्टले आश्वस्त पार्दै भनेका छन् ।

भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश (सीपी) घर्तीले पनि गाउँलेको लखेटाइमा परेका किशोर–युवाको समूह आफैं भेरीमा हाम फालेको भन्ने अवस्था नरहेको बताउँछन् । घटनास्थलको अवस्था र मृतकको प्रकृतिले पनि त्यो बयानको इन्कार गर्ने उनको भनाइ छ । सीपीले शव भेटिएका ठाउँ वरवर ठूलाठूला भँगाला रहेकाले हाम फालेर मरे भन्न नमिल्ने बताउँछन् । मारिनेमध्ये अधिकांश युवा पौडन सिपालु रहेकाले हत्या गरेरै फालेको निष्कर्ष रानागाउँवासीको पनि छ । 

भेरी नगरपालिकाका मेयर सीपी जातीय सङ्कीर्णतावादी सोचलाई नै हत्याको कारण औंल्याउँछन् । “घटनाको प्रकृति हेर्दा सोतीका गाउँलेहरूले नवराजलगायत उनका साथीलाई लखेटेर, भेरी नदीको दुवैतर्फ घेरा हालेर कुटपिट गरी हत्या गरेर शवलाई नदीमा फालेको देखिन्छ,” उनले ठहर गरेका छन् ।

प्रहरी घटनास्थलमा नभएको भए बाँकी १२ जनाको पनि हत्या हुनसक्ने अवस्था देखिने उनको निष्कर्ष छ ।


हामी सुरुमा नवराज विश्वकर्माको घर गयौं । उनकी बाबुआमासँग भेट गर्‍यौं । त्यसपछि हामी भेरी नगरपालिकाका मेयर सीपी घर्तीसँग भेट गर्‍यौं । ततपश्चात् जिल्ला प्रहरी कार्यालय जाजरकोट गयौं । त्यसको भोलिपल्ट चौरजहारी पुग्यौं । त्यहाँ गएर जो घटनामा बाँच्न सफल भए उनीहरूलाई भेट्यौं । इलाका प्रहरी कार्यालयमा अन्तर्क्रिया गर्‍यौं र, घटनास्थलतर्फ लाग्यौं । 

घटनास्थल अवलोकन गरेपछि हामी के निष्कर्षमा पुग्यौं भने घटना एकदमै योजनाबद्ध हो । नियोजित रूपमा घटाइएको हो । भेरी नदी अहिले होइन बर्खामा पनि सहजै तर्न सकिन्छ । त्यहाँका मानिसहरू सजिलै भेरी तर्न सक्छन् । भान्सामा भात पकाउँदा–पकाउँदै तल आएर माछा मारेर तरकारी पकाएर पनि खाँदा रहेछन् ।

घटनास्थलभन्दा मुनि भिरालो परेको जमिन छ । कतै भिर पनि छ । तर, भाग्दाभाग्दै भिरबाट खसे होलान् भन्ने अवस्था छैन । उनीहरूलाई लखेट्दै भिरतिर पुर्‍याइएको छैन । एकैपटक भेरीको बगरमा पुगेका छन् । शव फेला पार्ने मानिस कसैले पनि नदीमा हाम फालेर मरेका हुन् भनेका छैनन् । सबैजसो शवहरू हात बाँधिएका अवस्थामा फेला परेका थिए । टाउकामा ठुल्ठूला चोट छन् । हामीले स्थानीय, प्रत्यक्षदर्शी सबैको भिडियो ल्याएका छौं । भिडियोले पनि मारेकै हो भन्ने पुष्टि गर्छ ।

युवालाई योजनाबद्ध तवरले बोलाइएको छ । किशोरीका दाजुले मोबाइल नियन्त्रणमा लिएर आफैंले म्यासेज गरेर बोलाएको तथ्य पनि हामीले फेला पारेका छौं । 

हाम्रो अध्ययन र घटनास्थलको प्रकृति हेर्दा यो जातीय छुवाछूतकै कारण हो भनेर निष्कर्ष निकाल्न सकिन्छ । घटनामा चारजना दलित र दुईजना गैरदलितको हत्या भएको छ । भागेर बाँचेका र प्रहरीले नियन्त्रणमा लिएकाहरू विक्षिप्त छन् । घटनाको क्षण सम्झन पनि सक्दैनन् । भक्कानिन्छन् । नियन्त्रणमा लिइसकेपछि बाँधेर, पिटेर, आँखामा बालुवा खाँदेर मारिएको छ । अमानवीय, क्रूर तरिकाले मानिस मारिएको छ । घटनामा मुख्य योजनाकार नै वडाध्यक्ष देखिन्छन् । उनीहरूले नै गाउँलेलाई खबर गरेका छन् ।

हामी त्यहाँ गइरहँदा त्यस क्षेत्रमा माननीय जनार्दन शर्माले घटनालाई तोडमोड गर्दै आफैं भेरीमा हाम फालेका हुन् भन्नुभयो । जाजरकोटबाट निर्वाचित माननीय त अहिलेसम्म बोल्नुभएको छैन । त्यो माओवादी जनयुद्धको आधारभूमि हो । उहाँहरू त्यसलाई जनक्रान्ति भन्नुहुन्छ । जनयुद्ध भएकै ठाउँमा दलित त्यसरी मारिन्छन्, अन्यत्र कस्तो होला ?

निचोडमा के भन्न सकिन्छ भने, मृतक ६ जना सबै मारिएका हुन् । जातीय छुवाछूतकै कारण उनीहरूको हत्या भएको हो । चौरजहारी नगरपालिका र कान्छो जिल्ला पश्चिम–रुकुम जातीय छुवाछूतमुक्त जिल्ला घोषणा गरिसकिएको रहेछ । कर्णाली प्रदेशका मुख्यमन्त्री र त्यस जिल्लाका माननीय भएर घोषणा गर्नुभएको रहेछ । तर, अवस्था त्यस्तो छ ।

अब मारिएकाहरू फर्किएर आउँदैनन् । उनीहरूको जात, धर्म, संस्कृतिअनुसार क्षतिपूर्ति दिनुपर्छ । क्षतिपूर्ति पैसामा होइन, सबै प्रकारका जातीय छुवाछूत अन्त्य गर्न राज्यले ठोस कदम चाल्नुपर्छ । मारिने ६ जनाको सम्झनामा केही खडा गरिदिनुपर्छ । २० जनाविरूद्ध किटानी जाहेरै भएको छ । उनीहरूलाई जन्मकैदको सजाय हुनुपर्छ । ताकि छुवाछूतले पुनः मुन्टो उठाउन नपाओस् ।

अध्ययन कार्यदलमा रहेका गैरसरकारी संस्था महासंघ नेपाल, 
पाँच नम्बर प्रदेशका प्रतिनिधि धर्मलाल रोकाया

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro