site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीको प्रस्ताव– त्यसो भए वामदेवलाई प्रधानमन्त्री बनाउँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छाड्नै पर्ने भए उपाध्यक्ष वामदेव गौतमलाई सरकारको नेतृत्व गर्न दिनुपर्ने प्रस्ताव अघि सारेका छन् । पार्टी सचिवालयको बैठकमा झण्डै साढे तीनघण्टा रस्साकस्सी चलेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बैठक सञ्चालन भएको थियो ।

बैठकमा अध्यक्ष प्रचण्डले यस्तो अवस्थामा आफूले भए राजीनामा दिने बताउँदै घुमाउरो शैलीले दबाब दिएका थिए । प्रचण्डले आफ्ना कुरा राख्नेबित्तिकै प्रधानमन्त्रीले राजीनामा दिनै पर्ने भए नयाँलाई अवसर दिउँ भनेर वामदेवलाई अघि सारेको स्रोतको दाबी छ ।

Argakhachi Cement Island Ad

“अहिले सामान्य अवस्था छ । कोरोनाको त्रास छ । साथीहरूको त्यस्तै मन हो भने पार्लियामेन्ट (संसद्)मै फेस गरौंला । मैले छाड्नु नै पर्ने हो भने साथीहरू भइसक्नुभयो, कोही एकपटक, कोही दुईपटक, नयाँ, अवसर नपाउनुभएको वरिष्ठ नेता वामदेव हुनुहुन्छ, कुनै क्षेत्र खाली गरौं, उहाँलाई उठाउँ, जिताएर ल्याउँ, प्रधानमन्त्री बनाउँ,” प्रधानमन्त्रीको प्रस्ताव उद्धृत गर्दै स्रोतले बाह्रखरीसँग भन्यो ।

प्रधानमन्त्रीले वामदेव अघि सारेपछि प्रचण्डको भावभङ्गिमा बदलिएको स्रोतको दाबी छ । “त्यसपछि बैठकको माहौल बदलिएको थियो । प्रचण्डले वामदेवलाई बेलाबखत भकुण्डो बनाउने गरिएको छ भन्दै टिप्पणी गर्नुभयो,” स्रोतले भन्यो ।

प्रचण्ड आक्रोशित शैलीमा प्रस्तुत भए पनि वरिष्ठ नेता माधवकुमार नेपाल केही नरम शैलीमा प्रस्तुत भएको स्रोतको दाबी छ ।

नेताहरूको बीचमा अनौपचारिक संवाद बढाउने र सचिवालयको अर्को बैठक २० गते बस्नेगरी बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  २२:२७
प्रतिक्रिया दिनुहोस्