site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अमेरिकामा रहेका नेपालीको अवस्था कस्तो छ ? 
Sarbottam CementSarbottam Cement

बष्टन (अमेरिका) । चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोनाभाइरसको संक्रमणले अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा रहेका नेपालीहरुको दैनिक जीवनमा पनि यसले प्रभाव पारेको छ । 

अमेरिकामा रहेका नेपालीहरु सामाजिक दूरी कायम राख्दै घरैमा बसिरहेका छन् र कोभिड–१९ लाई विस्तार हुनबाट रोक्न सघाउ पुर्याइरहेका छन् । 

अस्पताल तथा स्वास्थोपचार क्षेत्रसँग सम्बन्धित र अन्य अत्यावश्यकीय सेवामा संलग्न व्यक्तिहरु अग्रपंक्तिमा रहेर जनजीवनलाई सेवा गरिरहेका छन् । उनीहरुलाई हिरोको रुपमा पनि सरकार तथा जनताले सम्मान व्यक्त गरिरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

हामीले न्यूयोर्क, क्यालीफोर्निया, कनेक्टिकट र न्यूह्याम्सरमा बस्ने नेपालीहरुसँग कुरा गरेर उनीहरुको अनुभव बटुलेका छौं । उनीहरु सबैको साझा अनुभव उस्तै छ, प्रायः सबैजना यो लकडाउनबाट बाहिर निस्कन चाहन्छन्, यद्यपि सरकारको कोरोनाविरुद्धको युद्धसँग उनीहरुको सहकार्य छ र यसका लागि नियमको पालना गर्नैपर्छ । घरैमा बस्ने कुरालाई सचेतनाका साथ पालना पनि गरेको देखिन्छ । 

हेरौँ अमेरिकामा रहेका नेपालीहरुको अनुभव 

Global Ime bank

डा. कञ्चन कोइराला, पल्मोनोलोजिष्ट (पालोमार हेल्थ हस्पिटल, सान डिएगो, क्यालिफोर्निया)

सान डियगो, क्यालिफोर्नीयामा कोरोना भाइरसका बिरामी अमेरिकाका अन्य स्थानभन्दा कमै छन् । कोभिड–१९ लागेर सघन उपचार कक्षमा भर्ना भएका बिरामीहरुलाई सेवा दिइरहेको छु ।  हाल मैले हेरिरहेका बिरामीहरुमध्ये करिब ५ जना अति सिकिस्त छन् भने २ जना भेन्टिलेटरमा रहेर मृत्युसँग संघर्ष गरिरहेका छन् । 
अति कमजोर र धेरैनै गलेका करिब ३ जना बिरामीहरुको मृत्यु भइसकेको छ । 

म पालोमर हेल्थ हस्पिटलमा पल्मोनरी तथा आईसीयू डिपार्टमेन्टमा कार्यरत रही हाल कोरोनाभाइरसले सिकिस्त भएका बिरामीहरुको सेवामा उपलब्ध छु ।  जब कोभिड १९ चीनको वुहानमा धेरै मानिसको मृत्युको कारण बनिरहेको थियो, त्यतिबेलादखिनै यो अस्पतालमा आवश्यक पूर्वतयारीहरु गरेका थियौँ । 
यो अस्पतालको सञ्चालक समितिमा पनि म रहेको छु र मैलेनै पूर्वतयारीको सुझावहरु दिएको थिएँ ।

कोरोनाभाइरस बयोवृद्धलाई बढी लाग्ने गरेको छ । तर २० वर्ष, ४० वर्ष, ५० वर्ष उमेर समूहका मानिसलाई पनि यो भाइरसले आक्रमण गरेको छ । जसको रोग प्रतिरोधात्मक क्षमता अत्यन्त कमजोर छ र जो दम, मुटुरोग आदिको बिरामी छ, उनीहरुलाई यो रोगले हदैसम्म गलाउँछ । म बसेको काउन्टीमा हालसम्म ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ककेसियन, हिस्प्यानिक र ब्ल्याकको बढी बाहुल्यता छ । 

को बढी संक्रमित हुने र संक्रमित भएपछि कसलाई रोगले बढी गाल्छ भन्ने कुरा उमेर, शारीरिक अवस्था एवम् अर्थ सामाजिक स्थितिले पनि फरक पार्ने रहेछ ।  कोरोना लागेर पनि लक्षण नदेखिने पनि हुन्छ कतिपयलाई, त्यो स्थितिलाई एसिम्टोम्याटिक भनिन्छ । 
कोभिड १९ संक्रमित भएर पनि लक्षण नदेखिने मानिसहरु यो भाइरसका सक्रिय स्रोत हुन सक्छन् । 

त्यसैकारण यस्तो महामारीमा सबैजना घरमै बस्ने, सामाजिक दूरी कायम गर्ने तथा व्यक्तिगत सरसफाइमा ध्यान दिनेजस्ता कुराहरुले यो महामारीलाई फैलिनबाट रोक्न सकिन्छ ।  कोरोना भाइरस संक्रमणको दर अहिले क्यालीफोर्नीया राज्यमा निकै कम भएको छ । 
उत्तरी छिमेकी राज्य वासिङ्गटनमा कोरोना देखिनासाथै क्यालिफोर्नियाको जनस्वास्थले सावधानीका उपाय अपनाएको थियो । 

समयमै लकडाउन गरेको कारणले र यहाँका बासिन्दाहरुले पनि राज्यका गभर्नर र सिटीका एड्भाइजरीहरुको राम्रोसँग पालना गरेकै कारण हुनसक्छ संक्रमण फैलावटको वृद्धिदर रोकिएर घट्दो क्रममा छ ।  त्यसैकारण क्यालिफोर्नीया राज्यले ५०० थान भेन्टिलेटरअरु अरु राज्यहरुको आवश्यकताका लागि दिएको छ । 
सान डियगोमा करिब २५० नेपाली परिवारहरु बसोबास गर्दछन् उनीहरु प्रायः सूचना प्रविधि सम्बन्धी पेशा व्यवसायमा संलग्न छन् । 

नेपालीभाषी भुटानीहरुको पनि बसोबास रहेको छ यहाँ । नेपालीहरु कसैलाई पनि संक्रमण लागेको सुनेको छैन ।  

पद्मा लिंङ्खा मगर– ज्याक्सन हाइट्स, न्यूयोर्क

लकडाउनमा बसेको अहिले २६ दिन जति भयो । दिनहुँ मृत्युका समाचार हेर्दा अत्यास लाग्छ । समाचार नहेरी पनि बस्न सकिँदैन । म कोरोनाभाइरसका बिरामीहरु उपचार गरिने न्यूयोर्कको एल्महस्र्ट हस्पिटलको नजिकै बस्छु । बाहिर निस्केको छैन ।  समाचार सुनेर भन्नेहो भने यहाँको स्थित भयाबहनै छ । चामल र गेडागुडीको पर्याप्त जोहो गरेका छौँ । 

तर ताजा तरकारीहरु चाहिँ बेलाबेलामा सकिन्छ । त्यस्तो बेला अनलाइन अर्डर नै राम्रो विकल्प हो । अनलाइन अर्डर गर्दा आफ्नो पालो निकै पछि आउने रहेछ ।  मेरो अपार्टमेन्टमा कोही कोरोनाका बिरामी छैनन् । हामी सबैजना ठिक छौँ । तर डर लाग्छ अहिलेको यो परिस्थितिमा मेरो श्रीमानको काम चाहिँ खुला छ । तर हिजोआज उहाँ काममा जानुभएको छैन । 

वसन्तको यो समयमा बाहिर फूलहरु फूलेका कारण एलर्जीको सिजन पनि हो यो । त्यसकारण उहाँ काममा नजानुभएको हो । अहिले नेपाली समूदायका संघसंस्थाहरुले एकजूट भइ आवश्यक परेका नेपालीहरुलाई सहयोग गरिरहेका छन् न्यूयोर्कमा ।  त्यो अत्यन्तै सराहनीय काम हो । अनि अर्को कुरा विभिन्न विचारधारा र उद्देश्यबाट सञ्चालित ति नेपाली संघसँस्थाहरु यसरी मिलेर काम गरेको देख्नु खुसीको कुरा पनि हो । 

उहाँहरुले संक्रमित नेपालीहरुलाइ आवश्यक परेको खण्डमा ग्रोसरी तथा औषधीहरु पुर्याइदिइ राख्नुभएको छ ।  म अमेरिका आएको १३ वर्ष जति हुन लाग्यो । मेरो घर रुकुुम र माइती संखुवासभा हो । जिविकाको लागि म पार्लरमा काम गर्छु । काम ठप्प हुने भइहाल्यो यस्तो परिस्थितिमा । यो कारोना कहर सपना हो कि विपना हो जस्तो लागिरहेको छ । 

एउटा मान्छेदेखि अर्को मान्छे डराउनुपर्ने यो कस्तो दिन आयो । प्रविधि सम्पन्न राष्ट्र अमेरिकामा कोरोनाले यस्तो त्रास उत्पन्न गरेको छ । नेपालमा कोरोना नफैलियोस् भन्नका लागि सबैजना सचेत हुनुहोस्, सबैजना घरमै बस्नुहोस र सामाजिक दूरी कायम गर्नुहोस् भन्ने मेरो सन्देश छ । 
फुर्सदको समयमा म गीत, गजल र कविताहरु लेख्छु । मेरा गीतहरु सामाजिक विषय, प्रेम विछोड आदिमा केन्द्रित हुन्छन् । यो बन्दको समयमा कितावहरु पढेर दिन बिताइरहको छु । अहिले चाहिँ म सरस्वती प्रतिक्षाको नाथिया भन्ने किताब पढिरहेको छु । 

गोकुल श्रेष्ठ– क्वीन्स, न्यूयोर्क

म सेल्फ क्वारेन्टाइनमा बसेको करिब २३ दिन जति भयो । हालसम्म कुनै लक्षण देखिएको छैन । म पनि अपार्टमेन्ट सेयर गरेर बस्छु तर हामीमध्ये कोही पनि बाहिर निस्केका छैनौं । ग्रोसरी, ड्राइ फूड र खाद्यान्न २ महिनासम्म पुग्ने गरी जोहो गरेका छौँ ।  मेरो सम्पर्कमा भएका साथीभाइहरु पनि सेल्फ क्वारेन्टाइनमै छन् ।

न्यूयोर्कमा धेरै नेपालीहरुलाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ । तर उनीहरु यो कुरा अरुलाई भन्न खोजिरहेका छैनन् । 

कति नेपालीहरुलाई कोरोना भएको छ भनेर यकिन संख्या भन्न सकिने स्थिति छैन किनभने यस्तो किसिमको तथ्यांक न त अस्पतालले नै सार्वजनिक गरेको छ अथवा न न्यूयोर्क सिटीले नै ।

कोठा तथा अपार्टमेन्ट सेयर गरेर बस्ने भएका कारण पनि संक्रमितहरुबाट अरुमा सजिलै कोरोनाभाइरस फैलिन्छ । गर्मी महिना सुरु भएपछि कोरोनाको यो संक्रामक अवस्थाको अन्त्य होला कि भन्ने अपेक्षा छ । म पनि राइड सेयरिङमा इन्डिपेन्डेन्ट कन्ट्रयाक्टरको रुपमा काम गर्थेँ तर अहिले काम बन्द गरेर बसिरहेको छु । नेपालमा म सगरमाथा टेलिभिजन सम्बद्ध सञ्चारकर्मी थिएँ । न्यूयोर्क बस्न थालेको छ वर्ष जति भयो ।

न्यूयोर्कमा अहिलेको यो समयमा काम नगरी बस्न नसक्ने धेरै मानिसहरु छन् । किनभने उनीहरुसँग अर्को विकल्प पनि छैन ।

 

 

दोर्जी शेर्पा– ज्याक्सन हाइट्स

म पनि मार्च १६ देखी लकडाउनमा बसेको छु । ज्याक्सन हाइट्समा आफनो परिवारको साथमा बस्दछु । खानेकुरा र तरकारीहरु अनलाइन अर्डर गरेर इन्स्टाकार्ट मार्फत मगाउने गरेको छु तर डेलिभरी डेट पाउन निकै गाह्रो छ । धेरै दिन नबिग्रने खानेकुराहरु त स्टक किनेर राखेको पनि हुन्छ । तर सागसब्जीहरुका लागि भने पसलमै किन्न जानुपर्ने स्थिति छ । 

यहाँ नजिकै भारतीयहरुको पटेल ब्रदर्स भन्ने स्टोर छ । आवश्यक परेको खण्डमा त्यहाँबाट ल्याइन्छ । 

मलाई अलि अगाडि चिसो लागेजस्तो भएको थियो । स्वाद र वासना थाहा पाउने क्षमता पनि गुमेजस्तो भएको थियो तर ज्वरो थिएन । अहिले स्वाद र वासना थाहा पाउने क्षमता फेरि आइसकेको छ । त्यो चिसोकै लक्षण मात्र हुनुपर्छ ।

अमेरिकामा पनि यस्तो महामारी फैलेला भन्ने मलाई लागेको थिएन । अमेरिकामा जब पहिलोपटक वासिङ्गटन राज्यमा कोरोनाभाइरस देखियो त्यतिबेला यहाँ गम्भिरतापूर्वक लिइएन । लकडाउन गर्न पनि ढिलाइ गरियो । पहिला मास्कहरुको प्रयोग हेल्थकेयर वर्करले मात्र गर्ने हो सर्वसाधारणले गर्ने होइन भनिएको थियो । तर भाइरसको बारेमा नयाँ तथ्यहरु आएपछि अहिले भने मुख छोपेर हिंड्नुपर्छ भनिएको छ । 

प्रकाश बुढा– रचेश्टर, मुन्रो काउन्टी, न्यूयोर्क स्टेट

अन्य न्यूयोर्कवासी जस्तै अपस्टेट न्यूयोर्कमा पनि प्रायः सबैजना घरैमा बसेका छन् ।  स्थिति निकै भयावह बन्दै गएको छ अमेरिकाभर र खासगरी न्यूयोर्कमा ।  म यात्रामा आधारित भएर अमेरिकाका विभिन्न अदालतहरुमा दोभाषेको काम गर्छु तर अहिले यात्रा बन्द छ र काम पनि बन्द हुने भइहाल्यो । 

यात्रामा धेरै अभ्यस्त मेरो जीवन अहिले एकाएक फरक बन्न पुगेको छ । मेरो यात्रा जीवन पनि मिस भइरहेको अवश्था छ । न्यूयोर्क सहर म बसेको स्थानबाट ३ सय २० माइल टाढा पर्छ जहाँ कोभिड १९को ताण्डब चलिरहेको छ ।  न्यूयोर्क सहरमा जस्तो डरलाग्दो परिस्थिति छैन म बसेको अपस्टेट न्यूयोर्क क्षेत्रमा तर पनि संक्रमणहरु बढिरहेका छन् । 

मलाई विश्वास छ, यो विश्वव्यापी दुःखको अन्त छिट्टै हुनेछ । सामाजिक दुरी कायम गरौँ, घरमै बसौँ र यो कोभिड १९ लाई पराजित गरौँ ।

राम भण्डारी– न्यू ह्याम्सर

बन्दाबन्दी (लकडाउन) को मेरो दैनिकी सामान्य ढंगले व्यतित भइरहेको छ । म हाल एउटा सरकारी कार्यालयमा काम गर्छु र बन्दका कारण अहिले मेरो काम अनलाइनमार्फत भइरहेको छ । त्यसैले सोमबारदेखि शुक्रबारसम्म दैनिक ८ घण्टा त घरमा कामै गरेर बितिरहेको छ । 

बाँकी दुईदिन परिवारसँग समय बितिरहेको छ । त्यसको साथसाथै सामाजिक सञ्जाल चलाउने, फिल्महरु हेर्ने आदि क्रियाकलापले मेरो सप्ताहन्तको उपयोग हुन्छ । यो उराठलाग्दो समयमा मैले कविताहरु लेखेको छैन । किनभने यस्तो बेलाका रचनाहरु प्नि निराशा उत्पन्न गर्ने खालका हुनसक्छन् भन्ने मेरो व्यक्तिगत मान्यता छ । बरु म आशा जगाउने खालका युवा लेखकका रचनाहरु पढेर पनि समय व्यतित गर्छु । यो लकडाउनले मान्छे मान्छेको सामाजिक दुरी बढेको भएता पनि सामूहिक भावना चाहिँ सशक्त रुपमा बढिरहेको जस्तो मैंले अनुभूत गरेको छु । 

म बसेको राज्य न्यू ह्याम्सरमा हालसम्म २२ जना मानिसको मृत्यू भएको छ । संक्रमितको संख्या ९ सय पुगेको छ । 

अनामिका न्यौपाने (सीता)– वेष्ट हेभन, कनेक्टिकट 

यो समय डरलाग्दो छ । अमेरिकालगायत प्रायः विश्वका सबै देशमा यस्तो कहिल्यै नसोचेको कुरा कोभिड १९ को महामारी आयो ।  म बसेको राज्यमा हालसम्म ४ सय ४८ जनाले कोभिड १९ बाट ज्यान गुमाइसकेको छन् । अहिलेसम्म हामी सुरक्षित छौँ ।  यो रोगको संक्रमण फैलिनबाट रोक्नका लागि हामी पनि घरमै बसेका छौँ । 
घरमा बस्दा सारै पट्यारलाग्दो दैनिकी छ । खाने, बस्ने, टिभी हेर्ने भन्दा बाहेक अर्को काम केही छैन । 

दैनिक ठुलो संख्यामा मानिसहरु मरेको समाचार सुन्दा सुन्दा सारै दिक्क लाग्न थाल्यो ।  धेरै समाचार सुनेर डिप्रेसनमा नै गइएला भनेर अहिले त समाचार नै हेर्न छोडेका छौँ । फेसबुक पनि खास हेर्दिनँ त्यही कारणले । नेपालमा सम्पर्क गर्नको लागि केबल म्यासेन्जर मात्र चलाउँछु ।

दैनिक रुपमा नेपालमा रहनुभएका परिवार आफन्तसँग सम्पर्क गर्छु । अमेरिकामा यति धेरै मानिसहरुको मृत्युको खबर सुनेर नेपालमा रहनुभएको मेरो ममीलाई धेरै चिन्ता छ । त्यही भएर दैनिक २ मिनेट मात्र भए पनि ममीसँग कुरा गर्न छुटाउदिन । नेपालमा रहेकी मेरी दिदीको ५ वर्षे छोरीको कुरा सुनेर म छक्क परें । हिजो उसले भन्दैथिइ– काममा जाँदा मास्क, सेनिटाइजर र ग्लभ्स लगाएर जानुहोला, नत्र मरिन्छ । कलिलो त्यो बालमनोविज्ञानमा पनि कस्तो कठोर परिस्थितिले प्रवेश गर्यो ।

नारायण पौडेल– क्यालिफोर्निया

अहिले घरमै बसेर समय बितिरहेको छ । घरै बस्ने भन्ने सरकारको निर्णयलाई सहयोग गर्दा काममा पनि जान पाइएको छैन । काम नभएपछि सरकारले बेरोजगारी भत्ता दिने निर्णय पनि गरेको छ । सबै अमेरिकाका बासिन्दा जस्तै हामी पनि सरकारी राहतको पनि प्रतिक्षा गरिरहेका छौं । अहिलेसम्म बेरोजगारी भत्ता र राहत आइपुगेको छैन । 

तमाम व्यवसाय बन्द भएपछि र मानिसहरु रोजगारीमा नरहेपछि घरको लागि तिर्नुपर्ने किस्ता पनि अहिले केही समयका लागि डिफर गरेको अवस्था छ । खाद्यान्न तथा तरकारीहरुको किनमेल गर्न अनलाइनकै भर छ । यद्यपी, टिक्ने खालका दाल चामलहरुको बन्द हुनु अगाडि किनेका थियौं । बजारमा ट्वाइलेटपेपरको पनि मूल्य वृद्धि भएको छ ।

हामी परिवारमा नयाँ सदस्यको पनि अपेक्षा गरिरहेका छौं यही जुलाइमा । गर्भवती अवस्थामा श्रीमतिलाई अस्पतालको अपोइन्टमेन्टमा जानलाई पनि समस्या भइरहेको छ । 

म बसेको पिट्सबर्ग सहर कोन्टा कोष्टा काउन्टी अन्तर्गत पर्दछ जहाँ ११ जनाको मृत्यु भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  १०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC