site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
अर्को क्रिप्टोकरेन्सीको सनसनी : शिबा इनु, किन्नु कि नकिन्नु  

बोस्टन (अमेरिका) । केही महिनाअघि जसरी अमेरिकाका नेपालीहरू डोजक्वाइन नामको क्रिप्टोकरेन्सीको लहडमा थिए, अहिले त्यसैगरी विभिन्न यापमार्फत ट्रेडिङ गर्नेहरू शिब इनुको पछि लागेका छन् ।

डिस्कोर्ड र फेसबुकमा नेपाली रविनहुड नामक समूह सञ्चालन गर्ने आशिष संग्रौलाका अनुसार शिब इनु किनेका कारण धेरै नेपालीहरू ‘मिलिनियर’ बनिरहेका छन् वा बन्ने तयारीमा छन् । यो वर्षको जनवरीमा कसैले एक हजार डलर बराबरको शिब इनु नामको क्रिप्टोकरेन्सी किनेर नबेची होल्ड गरेको भए आजसम्म ४० देखि ४५ मिलियन डलरको धनी बन्ने देखिन्छ । संग्रौलाले भने, “नेपाली रविनहुड समूहमा आबद्ध रहेका मध्ये करिब १० जना नेपालीहरू शिब इनुबाट केही हजार लगानी गरेकै भरमा मिलिनियर बनेका छन् ।”

एक महिनाको अवधिमा शिब इनु एक हजार प्रतिशतले बढेको छ भने एक वर्षको अवधिमा झन्डै १० करोड चार लाख प्रतिशतले बढेको छ । “नेपाली रविनहुडको छलफलमा सहभागी हुने १० जना साथीहरूलाई शिब इनुले रातारात मिलेनियर बनाइदिएको छ,” संग्रौलाले भने, “मैले लगानी गरेकोमा पनि तीन हजार प्रतिशतले वृद्धि भएपछि त्यसको २५ प्रतिशत निकालेर बाँकी एक सेन्टको लक्ष्य राखेर त्यतिकै छोडेको छु ।”

Argakhachi Cement Island Ad

अहिलेको मूल्यानुसार एक अमेरिकी डलरले करिब १२ हजार १९१ वटा शिब इनु किन्न सकिन्छ । यदि, एक डलरमा किनेको शिब इनुको एउटा क्वाइन एक सेन्ट मात्र भयो भने पनि एक डलरको लगानी झन्डै १२२ डलर बराबरको हुनेछ । क्रिप्टोकरेन्सीको कारोबार बिहान, बेलुका, साँझ जुनै समयमा पनि गर्न सकिन्छ ।

“अहिले यो क्वाइन जुन रफ्तारमा गइरहेको छ, त्यसानुसार हेर्दा यसले पनि डोजक्वाइनकै बाटो (ट्रेन्ड)लाई पछ्याइरहेको छ,” संग्रौलाले भने ।

शिब इनुको बजार पुँजीकरण स्थानीय समय अक्टोबर २७ तारिख राति १० बजेसम्म साढे ४० अर्ब २२ करोड अमेरिकी डलर बराबरको छ ।

इमोसन नियन्त्रणमा राखौँ !

लहडको भरमा रकम क्रिप्टोमा खन्याउनु हुँदैन भन्नेहरू पनि धेरै छन् । जति बेला डोजक्वाइन बढ्दै गएर ७० सेन्ट जति पुग्न लागेको थियो, त्यति बेला उक्त क्वाइन थप बढ्ला भनेर किनेकाहरूले अहिलेको बजार मूल्यमा बेच्ने हो भने ५५ देखि ६० प्रतिशतसम्म घाटामा बेच्नुपर्ने हुन्छ । केही नेपालीहरूले डोजक्वाइन सुरुमै किनेर धेरै प्रतिफल प्राप्त गरे पनि पछि प्रवेश गर्नेहरूले निकै घाटा खानुपरेको थियो ।

नेपालमा लामो समय आर्थिक पत्रकारिता गरेका पत्रकार विजय घिमिरेका अनुसार क्रिप्टोकरेन्सीमा जोखिम र फाइदा दुवै हुन्छ । “म मानिसहरूलाई आफ्नो स्पेयर मनि मात्र प्रयोग गरेर किन्नका लागि सल्लाह दिन्छु,” घिमिरे भन्छन्, “किन्दा वा बेच्दा आफ्नो इमोसनलाई नियन्त्रण गरेर कारोबार गर्‍यो भने मात्र यसबाट फाइदा लिन सकिन्छ ।”

डालस, टेक्सासमा बस्ने एक नेपालीले डोजक्वाइन ६३ सेन्ट भएका बेला करिब २० हजार डलर बराबरको लिएका थिए । आफ्नो नाम खुलाउन नचाहेका उनले भने, “मैले लिएको दिनदेखि त्यो क्वाइन घट्न थालेको अहिलेसम्म माथि गएको छैन । घाटा खाएर त म बेच्दिनँ, हेरौँ माथि जान्छ कि !”

अहिले डोजक्वाइनको मूल्य घट्दै गएर २५ सेन्ट पुगेको छ । केही समययता डोजक्वाइनको मूल्य ३० सेन्ट माथि जान सकेको छैन । यही डोजक्वाइन सन् २०२० को जुलाई ३० मा एक डलरले ३१३ वटा किन्न मिल्थ्यो । सन् २०२१ को मार्चसम्म आइपुग्दा एउटा डोजक्वाइन बराबर ५० सेन्टभन्दा माथि पुगेको थियो । जसले डोजक्वाइन ६० सेन्टभन्दा माथि पुगेपछि मात्र बेचे, उनीहरूले निकै पैसा कमाएका थिए । डोजक्वाइनलाई माथि उकास्न स्पेस एक्स तथा टेस्ला कारका प्रमुख इलन मस्कले ठूलो भूमिका खेलेका थिए ।

परम्परागत सेयर कारोबार गर्नेहरू क्रिप्टोकरेन्सीको विरोधमा छन् ।

बोस्टन, म्यासाच्युसेट्सका नेपाली स्टक ट्रेडर लक्ष्मण कट्टेल गुमे पनि फरक नपर्ने खालको पैसा मात्र शिब इनुमा लगानी गर्ने सल्लाह दिन्छन् । “किनेकै दिनदेखि ओरालो लागेर सबै पैसा गुम्ने अवस्था पनि आउन सक्छ क्रिप्टोकरेन्सीमा कहिलेकाहीँ,” कट्टेलले भने, “गुमेर पनि फरक नपर्ने खालको रकम राखिराख्यो भने त्यसले कहिलेकाहीँ नसोचेको प्रतिफल पनि दिन सक्छ ।”
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १७:५१
प्रतिक्रिया दिनुहोस्