समय अहिले उत्सव मनाउने मुडमा छैन
शुभजन्मदिनको केकमा मैनबत्ती रोपेर
समयलाई नपर्खे हुन्छ
विवाहको सुखद वार्षिकीको दिनमा
प्रितीभोजको निम्तो
समयलाई नगरे हुन्छ
समयअहिले
उत्सव मनाउने मुडमा छैन
रमाइलो गर्ने मुडमा छैन
उदात्त हुने मुडमा छैन ।
अस्पताल भरिएका छन्
बिरामीका लागि बेडखाली छैन
मान्छेहरु सोत्तर भएर लडेका छन्
तिनका लागि चिहान खन्ने कोही छैन
चिहानसम्म लग्ने कोही छैन
चिहान पनि भरिइसक्यो
चिहानको लागि खाली जग्गा छैन
हाँस्न बिर्सेका छन् मान्छेहरुले
रुनलाई आँसु वाँकी छैन
शोकमा छ समय
समय अहिले
उत्सव मनाउने मुडमा छैन ।
यो के भयो ?
किन भयो ?
कसरी भयो ?
मानिस पिच्छे कारण छन्
तर्क छन्
व्याख्या–विश्लेषण छन् ।
फरकफरक मत छन्
तर सत्य भने एउटै छ
ढलिरहेछन् मान्छेहरु
छटपटाइरहेछ मानवता
के मान्छेहरुसँग
मर्दै गएको हो मानवता ?
के मान्छेहरुसँग
मर्दै गएको हो मानवीय संवेदना ?
समय बेचैनीको पराकाष्टा भोग्दैछ
समय अहिले
उत्सव मनाउने मुडमा छैन ।
समय यतिखेर
तिम्रो भान्सामा पाकेको
थरिथरिका पकवान्को तस्बिर हेरेर
मुखमा पानी निकाल्ने अवस्थामा छैन
समय यतिखेर
तिम्रा उत्तेजक पहिरन र हाउभाउमा
रोमाञ्चित हुने अवस्थामा छैन
समययतिखेर
तिम्रा मनगढन्त उपदेश र घटनाको
ब्रेकिङ न्यूज
आँखा लाउने मुडमा छैन
समय यतिखेर
उत्सव मनाउने मुडमा छैन ।
० ० ०
लाम
लाम लागेका छन्
जिन्दगीहरू
लाम लागेको छन्
मृत्युहरू !
देख्दछु
अनिश्चितता पनि
लाममा लागेको छ ।
लाम निकै लामो छ
कतासुरू
कता अन्त्य
अत्तोपत्तो छैन ।
दुनियाँमा
जीवन र मृत्युबाहेक
केही रहेन शेष
अवशेष ?
हिजोसम्मको
म्याराथुन दौड
फगत् फजुल थियो ?
मआफैंलाई खोजिरहेछु
कुन लाममा छु म !