एक जनाको गल्तीले हजारौँमा फैलने संक्रामक महामारीका लागि सरकारमात्र सचेत भएर पुग्दैन । देशभरका नागरिक सचेत हुनुपर्छ । साबुन पानीले हात धुने, खोक्दा मुख छोप्ने, एक अर्काका बीचमा कम्तीमा एक मिटरको दूरी राख्ने, रुघाखोकी, ज्वरो आदि आएका व्यक्तिलाई छुट्टै स्थानमा बसोवासको व्यवस्था गर्ने जस्ता कुराको अब सबैलाई जानकारी भइसकेको छ । त्यसलाई पालना गरेर अरूलाई रोग सार्ने वाहक नहुने कि कि भूपी शेरचनले भनेजस्तो ‘बुद्धु’ भइरहने हाम्रै हातमा छ । सबैको चाहना नेपाललाई कोरोना मुक्त बनाएर विश्व नै यो महामारीबाट बँचोस् भन्ने नै हुन्छ ।
वाल्मीकि विद्यापीठका सहप्राध्यापक अच्युत लामिछानेले आफ्नो फेसबुकमा पास्ट गरे – य उपेक्षेत शत्रुं स्वं प्रसरन्तं यदृच्छया । रोगं चालस्यसंयुक्तः स शनैस्तेन हन्यते ।। अर्थात् जसले मनोमानी रुपमा बढी रहेको शत्रु र फैली रहेको रोगलाई उपेक्षा गर्छ ऊ बिस्तारै बिस्तारै त्यही शत्रु वा रोगबाट मारिन्छ । अझ भनिएको छ – जातमात्रं न यः शत्रुं व्याधिञ्च प्रशमं नयेत् । अति पुष्टाङ्गयुक्तोऽपि स पश्चात् तेन हन्यते ।। अर्थात् – जसले उत्पन्न हुनेबित्तिकै शत्रु र रोगलाई नाश गर्दैन, त्यो हृष्टपुष्ट भए पनि तिनैद्वारा मारिन्छ । त्यसैले अहिलेको अवस्थामा कसैले कोरोनालाई उपेक्षा नगरौँ, सचेत बनौँ ।
हुनुपर्ने त त्यही हो तर अझै पनि कोरोनाभाइरसलाई उपेक्षा गर्दै बाहिर डुल्न निस्कनेलाई रामराम भन्नु सिवाय के नै पो गर्न सकिन्छ ? तर, तिनैका कारण समाजमा रोग फैलने जोखिम भएकाले या त समाजले या सरकारले सम्झाउन बुझाउन र नसके नियन्त्रणमा लिन आवश्यक देखिएको छ ।
कोरोना भाइरसले न राजनीतिक आस्था हेर्नेगरेको छ, न जातभात, थर, गोत्र, रङ्ग, वर्ण, धर्म, संस्कार, परम्परा नै हेर्नेछ । कम्युनिस्टलाई छोए, कांग्रेसलाई पनि पक्डन्छ, बाहुनलाई लागे जनजातिलाई पनि सर्छ । पहाडीलाई लखेटे मधेसीलाई पनि खेद्छ, हिन्दूलाई घसिट्दा मुस्लिम या क्रिस्चियन सबैलाई घिसार्छ । यस्तो रोग भित्रिएका बेला सबै एकजुट भएर सामना गर्नुको विकल्प छैन । एकले अर्कोलाई दोषारोपण गरेर घर बाहिर निस्की कराउनुको सट्टा घरभित्रै बसी कोरोनालाई परास्त गर्नुको विकल्प देखिएको छैन ।
यद्यपि हामीले के गर्यौँ, के गर्दैछौँ र भोलि के गर्ने भन्ने सोच्न चाहिँ जरुरी छ । यो महामारीको संकटमा रुमल्लिएरमात्रै सरकार र जनता घरभित्रै बस्ने हो भने भित्री सकेको संकटभन्दा झन् ठूलो महासंकट निकट भविष्यमै आउन सक्छ । महामारीको प्रभाव र त्यसबाट उत्पन्न हुने भोलिको परिस्थितिलाई सामना गर्ने तयारी पनि सँगै गर्न सक्नुपर्छ । दैनिक ज्यालादारीमा गुजारा चलाई रहेकाहरु अहिले नै भोकमरीमा परी सके भने आर्थिक मन्दीका कारण भोलिका दिनमा अन्य कतिले समस्या बेहोर्नु पर्ने हो त्यो आकलन गरिएकै छैन । अहिल्यै पनि पैसा भएकालाई किनेर र नभएकालाई सित्तैमा खाना ख्वाउन निश्चित योजना तय हुनसकेको देखिँदैन ।
कोरोना संक्रमण चीनमा आरम्भ हुँदाकै बखत प्रतिनिधि सभामा सांसद्हरुले नेपालमा त्यसको सामना गर्न के कस्ता तयारी गरिएको छ भनेर प्रश्न उठाएका थिए । त्यसको प्रत्युत्तरमा स्वास्थ्यमन्त्रीले यो कोरोना भन्ने कुरा जति चर्चा गरिएको छ त्यति ठूलो कुरा होइन । नेपालमा प्रवेश गर्यो भने त्यसलाई निर्मूल गर्न सरकार सक्षम छ भन्ने अहंकारी हचुवा उत्तर दिएका थिए । त्यसपछि पनि स्वास्थ्यमन्त्रीका भनाइ र कामकारवाही हेर्दा उनी अत्यन्त हलुका देखिए । चैत्र ४ र ५ गते हवाइ मार्गमार्फत् विदेशबाट नेपाल भित्रिएकाहरुलाई पनि क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएन, घरघरमै बस्न भनिएको छ भन्ने जवाफ सुन्न पाइयो ।
विगतमा यस्ता कमजोरीहरु देखिए भने अझै पनि चिकित्सकहरुका साथै कोरोनाको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन सकेको पाइँदैन । चिकित्सकहरुकाअनुसार नेपालमा कम्तीमा पनि ८ हजार जनाको परीक्षण गर्न सकियो भने कोरोना नियन्त्रणमा लिन त्यति कठिनाइ हुनेछैन भन्ने सुनिएको छ । चीनबाट परीक्षणका लागि भर्खरै सामान भित्रिएको छ । अब त्यसको वितरण र प्रयोग कसरी हुन्छ हेर्न बाँकी नै छ । स्वास्थ्यमन्त्रीको विगतमा देखिएको अयोग्यताले भने शंका उत्पन्न गराएको छ । यसका लागि सरकारले वैकल्पिक व्यक्ति वा समूहलाई अधिकार दिएर अघि बढ्न उपयुक्त देखिन्छ ।
अहिलेसम्म देखिएका सबै संक्रमित हवाइ मार्गबाट नेपाल भित्रिएका रहेछन् । त्यसमा पनि कोरोनाले विश्वव्यापी पमा संकट निम्त्याई सकेपछि भित्रिएकाहरु नै देखिए । चैत्र ४ र ५ गतेका जहाजबाट आएकाहरुलाई पनि चीनबाट ल्याइएका विद्यार्थीलाई जसरी क्वारेन्टिनमा राखेको भए नेपाल सुरक्षित हुन्थ्यो भन्ने भनाइमा निराधार हैन ।
विगतमा जे गल्ती भयो, भयो । त्यसको चर्चा परिचर्चा पछि नै गर्नुपर्छ । जजसले गल्ती गरे ती तिनले जिम्मेवारी लिएर राजीनामा दिने या गल्ती स्वीकार गर्ने कुरा पनि पछि नै होला । अहिले भने सरकारलाई भोकमरीमा परेका जनताको सहयोगमा जुट्न घच्घच्याउनु सबैको जिम्मेवारी हो । जहाज चढेर नेपाल भित्रेका सबैलाई २४ घन्टाभित्रै खोजी परीक्षण गर्न र क्वारेन्टिनमा राख्न दबाब सिर्जना गर्नु सबैको कर्तव्य देखिएको छ ।
पासपोर्टमा एउटा ठेगाना र हाल बसोवास अर्कै ठाउँमा रहेकाले खोज्न नसकिएको भन्ने भनाइहरु आइरहेका छन् । त्यो दिन जहाज चढेर आउनेहरु चौबीस घन्टाभित्र नजिकैको पालिका या प्रहरीमा सम्पर्कमा जान अन्यथा कडा कारबाही हुने सूचना जारी गरे के सम्भव नहोला र ?
जनता ज्वरो आएका बिरामीलाई सहजै उपचार गर्ने या भर्ना लिने अस्पताल खोजी रहेका छन् तर सरकार कुनै बेला घरघरमै खाद्यान्न पुर्याउने समाचार प्रकाशित गर्छ । नेपालजस्तो मुलुकमा यो हावादारी गफ नै साबित हुन्छ । कहिले काहीँ दिनको दुई घन्टा पसल खोल्ने पनि सुनिएको छ । दैनिक दुई घन्टामात्रै पसल खोल्दा झन् त्यतिबेलै भिड जम्मा हुन्छ र कोरोना संक्रमण बढ्ने त्रास हुन्छ । बरु, दिनभरि नै पसल खोलेर अत्यावश्यक मान्छेहरुमात्र निस्कने, आफैँ नियन्त्रित र संयमित भई एक मिटरको दूरीमा रही खरिद गर्ने गरे उपयुक्त हुन्छ कि ?
सामाजिक सञ्जालहरुमा चीनबाट मगाइएका कोरोना नियन्त्रणका लागि आवश्यक उपकरणहरुका साथै मास्क, थर्मामिटरहरुमा व्यापक भ्रष्टाचार भएका समाचार आइरहेका छन् । त्यस्तो त नहुनु पर्ने हो । किनभने, महिषासुर, शुम्भ, निशुम्भजस्ता रक्तपिपासु दैत्यहरु निश्चय नै यो सरकारमा छैनन् । यो महामारीमा पनि असहज अवस्थाको मौका छोपी प्रधानमन्त्रीका सल्लाहकारका छोराकै कम्पनीलाई टेन्डर दिएर भ्रष्टाचार गर्ने नियत राखिएको रहेछ भने त भविष्यले मात्रै होइन भावीले समेत ठूलै दण्ड दिने नै छ । आशा गरौँ, त्यस्तो भएको छैन ।
सरकारले गरेको राम्रो काम भनेको लकडाउन नै हो । ढिलो गर्यो भन्ने आरोप पनि लाग्न सक्ला । कुनै पनि काम गर्न नसकेको सरकारले ढिलै भए पनि गर्यो, राम्रै गर्यो । सरकारका कमजोरी यो महामारीलाई नियन्त्रणमा लिई सकेपछि केलाउँला, सचेत गर्न भने नछोडौँ । देशभरका सबै अस्पतालमा ज्वरोका बिरामीलाई उपचार गर्न व्यवस्था मिलाउन सरकारलाई बाध्य गराऔँ । जे गर्ने हो सोचेर मात्रै गरौँ । नियम सर्वसुलभ, हितकारी र प्रभावकारी बनाऔँ । जनता आफै संवेदनशील बनौँ र सरकारलाई पनि सक्रिय गराऔँ ।
हुन त सरकारले लकडाउनको अवधि थपिसकेको छ तर पनि सोच्नु पर्ने कुरा के हो भने भारत कोरोनामुक्त नभई नेपाल कोरोनामुक्त हुने सम्भावना अत्यन्त न्यून छ । भारतको लकडाउन अन्त्य नभएसम्म नेपालको लकडाउन जारी गर्नुपर्छ कि ? कोरोना भाइरस आफैँ घरभित्र आउँदैन । त्यसलाई लिन बाहिर नजाऊँ । वनको बाघले नखाए नि मनको बाघले खान्छ भन्ने उखान सम्झौँ । कोरोनाले खान त बलियालाई पनि खान्छ तर पनि कमजोरलाई नै चाँडो खाने हो । त्यसैले आत्मबल दह्रो बनाऊँ तर कोरोनालाई नहेपौँ, यसविरुद्धको युद्ध जारी राखौँ !