site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अधिनायकवादी अभ्यासका दुई वर्ष

सरकार आफ्नै पिठ्युँ थपथपाउन रमाइलो मानेको छ । सरकार के भन्ने, कसलाई भन्ने ? सरकार समूल होला, समग्र होला । राज्यका सबै अंग सरकार हुन् वा जनताको हिस्सा पनि होला सरकार भनिने जिनिसमा ? कि सरकार प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) र तिनका मन्त्रीमात्र ? पुरेतले कस्तो ठ्याक्कै नाम जुराए उनको, कुरा काट्न कम्युनिस्ट नेता खड्गप्रसाद ओली असाध्यै सिपालु । कुरैमा अधिनायकवाद !  

सरकार भनिने संस्थाको मूली या मुखियाबाट कुरा सुरु गरौँ । पत्रकारहरु जसले बालुवाटारमा घुँडा टेकेर ‘प्रचण्ड प्रतापी भूपति’ समक्ष शपथ ग्रहण अहिलेसम्म गरेका छैनन् ती देखेको लेख्छन्, बोल्छन् वा भन्छन् । जनताको अनुभूति छाप्छन् । शक्तिशाली प्रधानमन्त्री, झन्डै दुई तिहाइका, त्यसमाथि जिन्दगीभर कम्युनिस्ट शासनको सपना र जपना गर्ने, अनि दाबा लोकतन्त्रवादी भएको राख्ने ‘प्रतापी’का विरुद्ध लेख्ने ? यी कस्ता पत्रकार, बुद्धिजीवी ? जसले त्यो प्रमाणपत्र कम्युनिस्ट नेता ओलीसँग लिएका छैनन् ती के बुद्धिजीवी ?     आफ्नो शक्तिशाली ‘ओली सरकार’लाई ढाल्न खोजेका छन् — उनै प्रधानमन्त्री ओलीले भने । तर, ढाल्ने कसले भनेनन् उनले ।

प्रधानमन्त्रीले भन्दैमा ढाल्ने समाचार बनाउन पाइन्छ पत्रकारले ? समाचार बनाइदिए, ढाल्न खोज्ने को ? भन्ने खोजी सुरु भयो । चोर औँला उनकै समकक्षी अर्का अध्यक्षतिर सोझिन्छ । प्रतिपक्ष त हाइबरा ! शेरबहादुर देउवाको काखमा औँला चुसेर उँघ्दैछ ।  प्रधानमन्त्रीको अनुमति नलिई ‘रोमको निरो’ सम्झाउने बाँसुरी बजाएको तस्बिर छाप्न पाइन्छ ? बाँसुरी बजाएको देख्ने, बनाएको नदेख्ने ?

KFC Island Ad
Dabur Nepal
NIC Asia

बुद्धिजीवी, पत्रकार बन्न र हुन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओलीको स्कुलमा पढ्नुपर्छ, त्यहीँ भातभान्छा गर्नुपर्छ । अनि पाइन्छ सर्टिफिकेट बुद्धिजीवीको प्रधानाध्यापकबाट । उखान, टुक्कैटुक्कामा गफ लेख्न मन लागेर के गर्ने, बेलामा त्यो सिकिएन । संगतले पनि साथ दिएन । हिन्दी फिल्ममा एउटा गीत छ नि फिल्महरुको नामै नाम मिसाएर, जोडेर बनाएको गीत । त्यस्तै गफ, टुक्का जोडेर लेख बनाउन मन लागेको छ यी पंक्तिमा । तर, क्षमतामा लिएर आएको भए पो !  

छोडौँ, गफाडी कुरा नगरौँ । कुरा गरौँ, अधिनायकवादी अभ्यासका दुई वर्षको । अभ्यास पूरा भएको छैन तर भरपूर सुरु भएको छ । कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीको सरकारले दुई वर्ष पूरा गरेको खुसीमा हर्षबढाइँ खुब गरियो । बिजुलीका पोल, खम्बाहरुमा फोटो टाँसेर सुरु भएको लोकतान्त्रिक कम्युनिस्ट सत्ताले दुई वर्षे हर्ष बढाइँमा पत्रकारको उछित्तो काढ्यो, बुद्धिजीवीको बुद्धिको भ्रम तोड्यो । अरिँगाल खनिए । सरकारी माध्यमले भर्याङभन्दा माथि चढेको विकास बखाने । उनलाई पुगेन । प्रधानमन्त्रीको रिस बुद्धिजीवी, पत्रकारमाथि । लेख्देउन पत्रकार चारैतिर विकासै विकास । जनता सुकिलामुकिला । टन्न खान पाएका । कतै महँगाइ छैन । सुरक्षा छ, सुशासन छ । विकासले चीनलाई उछिन्ने बेला आयो ओली कालमा लेखन पत्रकार । किन कञ्जुस्याँइ ? कम्युनिस्ट नेता ओलीको बोलीमय बनाऊ बुद्धि, पत्रिका र सञ्चार । 

प्रधानमन्त्री भएपछि उनलाई यो सबै गर्ने र भन्ने छुट छ । छुट तिनलाई छैन जसले बालुवाटारबाट स्याबासी पाएको छैन । नामै बालुवाटार, बालुवा रुखो, सुखो हुने नै भयो । त्यहाँ रस, रसिलो ? मरुभूमि । त्यसमाथि विचारलाई, प्रतिस्पर्धीहरुलाई दुस्मन ठान्ने कम्युनिस्ट दीक्षाले ओतप्रोत सत्ता । पुगेन त भारी ?

‘विकासको मूल’ फुटेको बेला हो । कुनै नयाँ योजना छैन,चिन्तन छैन । पहिले चर्चामा आएका वा योजनामा परेका काम सकेर वा भत्काएर थपडी मार्न पाइएकै छ । विकासको मूल फुटाएको गुड्डी हाँकिएकै छ । कति काम पुरानै उही, नाम बदल्ने विकास भएको छ । यत्रो विकास ‘फुटेको आँखा’ले नदेख्ने बुद्धिजीवी, पत्रकार ? त्यस्तालाई बुद्धिजीवी मान्ने भाष्य लेनिनवादमा छैन, माओवादमा छैन । यसैले कम्युनिस्टमा पनि हुने कुरै भएन । 

पञ्चायतकालमा नै विकासको मूल फुटेको हो  । शब्दै शब्दको माला बुनेर । राणाकालमा जुद्ध सडक बन्यो, चन्द्रज्योति बिजुली आयो । भानु हाइस्कूल र त्रिचन्द्र कलेज बने । अहिलेजस्तै यी पनि विकासका पूर्वाधार हुन् । होइनन् ? उनका प्यारा मन्त्रीले सत्य खुट्याउन सक्लान् ।  दरबारहरु बने, सिंहदरबार बन्यो, अहिले प्रधानमन्त्रीले त्यहीँबाट सरकार चलाउँछन् । विकासको नमुना – अब सिंहदरबार बालुवाटार सारिँदैछ  । बल्खु, धुम्बाराही र पेरिस डाँडा त उहिल्यै सरेका हुन् बालुवाटार । 

राणाहरुले पनि विकासको मूल जुटाएकै हुन् । जुट मिल बनाइ दिए र न आन्दोलन भयो । कालापानी जोगाएकै थिए । गफै गर्दा । त्यो गफ दिने अहिले कोही छैन । पशुपति राणा (जबरा) भन्ने छन्, राजनीति गर्छन् । गफ जान्दैनन् क्यार ? विकास गरेर पनि हुन्छ, गतिले पनि हुन्छ । अगतिले हुँदैन । अहिले गति छ तर अधोगति । 

गफ गर्न जानेका कम्युनिस्ट ओलीभन्दा बोल्न नजानेका शेरबहादुर देउवा बरु ठीक । कमसे कम देउवा गफ त दिँदैनन् । दिए पनि घोचपेचको अपसंस्कृति ओकल्दैनन् । समाजमा असहिष्णुता, अरुलाई घृणा र  होच्याउने वा च्वास्स घोच्ने (कु ) संस्कार सिकाउने ओलीको बोलीभन्दा देउवाको ‘बसेको’ स्वर नै ठीक । देउवाले पुस्तौंपुस्ताको भाषिक भावको मर्यादा बिगार्ने दोष लिनुपर्दैन । 

फेरि कुरा गफतिरै गएछन् । गफमाथि टिप्पणी गफ नै हुने भयो । अधिनायकवादी शैलीमा पत्रकार, बुद्धिजीवीलाई दुत्कार्ने प्रधानमन्त्री ओलीको उत्साहित सिको चिनियाँ दूतावासले पनि गर्न थालेछ । कसले कसको सिक्यो ? निक्र्योल गर्न आफ्नो हैसियत छैन । तर, लोकतान्त्रिक  घोषित हुन रमाउने प्रधानमन्त्रीले संविधान, विवेक र देखेको लेख्नेलाई दुत्कारेपछि अधिनायकवादीहरुले त्यसको फाइदा उठाउने नै भए । आलोचना असह्य हुने केको लोकतन्त्रवादी ? 

पहिलो अधिनायकवादको नमुना संस्कार आफूबाहेकका अरु सबैलाई दुत्कार्नु हो । आफूले चाहेकोबाहेक अरुको खिसिट्युरी गर्नु हो । यो नमुना प्रधानमन्त्री ओलीबाट पटकपटक प्रस्तुत भएकै छ । दुईवर्षे दोस्रो अधिनायकवादी नमुना कम्युनिस्ट सरकारले प्रस्तुत गरेको विधेयक, ऐन, कानुन र नपुगेर निर्देशनसमेत हुन् । सरकार भनेर पनि सबैको हुन नसकेको कारण विशेषण जोडेर ‘कम्युनिस्ट सरकार वा सरकारी कम्युनिस्ट’को पहिचान खुलाउनुपर्ने  बाध्यता आएको छ । 

यस सरकारले नागरिक खुलापन खुम्च्याउने प्रयास बनेदेखि नै गरेको हो । जनताको अभिव्यक्ति स्वतन्त्रतामाथि बारम्बार हस्तक्षेप गर्ने कोसिस गरेको छ । बोलीले,  व्यवहारले र कानुन नै बनाएर पनि कम्युनिस्ट सरकारले आफ्नो मनोदशा छर्लंग पारेको छ  । तैपनि, आफूलाई लोकतन्त्रवादी, प्रेस स्वतन्त्रतावादी र जनवादी भन्न छोड्दैन, पटक्कै लाज मान्दैन ।

माइतीघरमा भेला हुन रोक्ने निर्देशन दिएर तानाशाही मनोदशा सार्वजनिक गरेको कम्युनिस्ट सरकारले खुलामञ्च अतिक्रमणलाई प्रोत्साहित गर्यो । लौ त अब कहाँ गर्छौ  आमसभा ? त्यो पनि सरकारको विरोधमा ! प्रतिपक्षले विरोध गर्ने ठामै पाएन । नभए देउवाजस्ता जुझारु नेता भएका पार्टीले के छोड्दा हुन् ! उभिने ठामै नपाएपछि केको विरोध ? 

विधेयक गुठीबाट सुरु भयो विरोध  । फौज्दारीसम्बन्धी कानुनमा पनि अभिव्यक्ति वा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रावधान राखियो । ठूलो विरोध सामु तर्सिएर, सरकारमा पाएको मोहियानी गुम्ने भयले गुठी विधेयक कम्युनिस्ट सरकारले फिर्ता लियो । पत्रकारहरु अझै विरोधमा छन् । विचरा पत्रकारहरु कति विरोध गरुन् ? कति विरोध सहून् ? प्रधानमन्त्रीको समेत । कस्ता जिनिस हुन् पत्रकार ? 

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने सरकारी मनसाय गोपनीयता सम्बन्धी, विशेष सेवा, विज्ञापन, विद्युतीय माध्यम(साइबर कानुन) मिडिया काउन्सिललगायत दर्जनौँ विधेयक, कानुनमा अभिव्यक्त भएको प्रस्टै छ । सरकारले विधेयक प्रस्तुति आरम्भ गरेदेखि प्रत्रकारहरुको विरोध सिलसिला अटुट छ । यो देन कम्युनिस्ट सरकारको हो । स्वेच्छाचारी मनसायका ऐन, कानुन अधिनाकवादको दुईवर्षे अभ्यास हो । 

कानुन बनाउन सरकारले प्रस्तुत गरेका जन सरोकारका कुनै पनि विधेयक सरोकारवालाले सहर्ष स्वीकार्ने किसिमका छैनन् । शिक्षा, विश्वविद्यालय र खेलकुदसम्बन्धी विधेयकको सम्बद्ध पक्ष र सरोकारवालाले आलोचना गरेकै हुन्, सुधारको सुझाव दिएकै हुन् । यो सरकारले नटेर्नु स्वभावै भयो, रबैया तानाशाही रह्यो । 

हप्काउने शैली वा संविधान, लोकतन्त्र र नागरिक खुलापन वा बहुलता विरोधी कानुन बनाएर सत्ता निरंकुश हुने चाह हो । यस्तैलाई अधिनायकवाद भनिन्छ । कम्युनिस्ट सरकारले दुई वर्षभर गरेको ‘रिहर्सल’को प्रयत्न कानुनी अधिनायकवाद रह्यो । थप सुशासनको हत्या र आफ्ना कम्युनिस्टहरुलाई भ्रष्टाचार र दसखत माफ गर्ने अभ्यास खड्गप्रसाद ओली सरकारले अपनायो । सारांशमा दुईवर्षे सरकारी अभ्यास अधिनायकवादको दिशातिर लक्षित रहेको देखियो ।
 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro