site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चुहावट रोक्नु कमाउनुजस्तै हो भन्ने सूत्र अर्थतन्त्रका सबै क्षेत्रमा लागू हुन्छ । यसको पछिल्लो उदाहरण नेपाल विद्युत् प्राधिकरणले कायम गरेको छ । प्राधिकरणले गत यस आर्थिक वर्षको ६ महिनामा विद्युत् चुहावट ९.७५ प्रतिशतमा झारेको दाबी गरेको छ । गत आर्थिक वर्षमा चुहावट दर ११.२८ प्रतिशत रहेको थियो । प्राधिकरणले यस आर्थिक वर्षमा चुहावटदर ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । मुलुकमा चर्को विद्युत् कटौती भएका बखत २०७२÷७३ तिर विद्युत् चुहावटको दर पनि २५ प्रतिशतभन्दा धेरै थियो । विद्युत् चुहावट नियन्त्रण गरेर नेपाल विद्युत् प्राधिकरणले १० अर्ब रुपियाँ बराबरको बिजुली जोगाएको दाबी प्रधिकरणका अधिकारीले गरेका छन् । चुहावट नियन्त्रणबाट मात्र पनि विद्युत् कटौती घटाउन महत्त्वपूर्ण सहयोग पुगेको हुनुपर्छ । विभिन्न कारणले बन्द हुन पुगेका ससाना विद्युत् आयोजनाको मर्मत सम्भारलाई उपेक्षा गरिँदा हुने नोक्सान रोक्न सकेमा पनि यस्तै उल्लेख्य उपलब्धि हुनसक्ने देखिन्छ ।

मुगु जिल्लाबाट आएको समाचारअनुसार विभिन्न १९ लघुजलविद्युत् आयोजना बन्द भएका छन् । यस्ता आयोजना अरू जिल्लामा पनि छन् र तीमध्ये केहीको अवस्था मुगुको भन्दा फरक नहोला । त्यस्ता आयोजना बन्द हुँदा त्यहाँको बिजुली बाल्नेहरू त मर्कामा परेकै छन् राष्ट्रिय क्षति पनि भएको छ । जस्ले बनाएको भए पनि ती आयोजनाबाट उत्पादन हुने बिजुली यही देशको सम्पत्ति हो । समाचारअनुसार साना जलविद्युत्बाट उत्पादित बिजुली उपयोग गर्नेहरूले पुनः परम्परागत ऊर्जा प्रयोग गर्न थालेका छन् । परम्परागत ऊर्जाबाट हुने वातावरणीय क्षति पनि राष्ट्रकै नोक्सानी हो । अर्थात्, जसरी विद्युत् चुहावट रोक्ता नयाँ उत्पादन गरेजस्तै देशलाई लाभ भएको थियो त्यसरी नै साना जलविद्युत् आयोजनाको मर्मत सम्भार नगर्दा विद्युत् उत्पादन बन्द भएर नोक्सान भइरहेको छ । ठूला आयोजना निर्माणको चमकदमकमा चुहावट नियन्त्रण वा साना आयोजनाको मर्मतमा व्यवस्थापनको ध्यान नगएको हुनसक्छ । तर, विद्युत् प्राधिकरणको व्यवस्थापनले चुहावट नियन्त्रणको महत्त्व बुझेर त्यसलाई प्राथमिकता दिँदा जसरी वितरणमा उल्लेख्य सुधार भयो साना आयोजनाको मर्मतमा पनि ध्यान दिएमा थोरै नै भए पनि विद्युत् उत्पादन वृद्धि हुनेछ र स्थानीय उपभोक्ता लाभान्वित हुनेछन् ।

प्राविधिक जानकारी र आर्थिक स्रोतको अभावमा यस्ता आयोजनाको मर्मत हुन नसकेको हुनुपर्छ । प्रधिकरणले यस्ता आयोजनाको अध्ययन तथा अभिलेखन गरेर प्राविधिक दृष्टिले सम्भाव्य नदेखिएका आयोजना बन्द गर्न पनि अग्रसरता लिनु उचित हुन्छ । अर्कातिर,  प्राधिकरणले आवश्यक चासो लिएर सहयोग गरे तिनको उत्पादकत्व पनि बढ्नसक्छ । यसैले आफ्नो स्वामित्वमा नभए पनि सार्वजनिक क्षेत्रबाट निर्माण गरिएका र विभिन्न स्थानमा छरिएका साना आयोजनाहरूको अभिलेख राखेर तिनको रेखदेख तथा मर्मत सम्भार गर्ने अग्रसरता प्राधिकरणले लिनु उचित हुनेछ । बन्द भएका अधिकांश आयोजना स्थलहरू राष्ट्रिय प्रसारणमा जोडिएका पनि छैनन् । त्यहाँका बासिन्दालाई बिजुली उपलब्ध गराउनु आर्थिक र सामाजिक न्यायका दृष्टिले पनि आवश्यक र उचित हुन्छ । यसका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्थानीय सरकारहरूले पनि घचघच्याउने र सहयोग गर्ने गर्नुपर्छ । देशको कुनै पनि कुनामा कसैले पनि गर्ने उत्पादन राष्ट्रिय आयमै थपिने न हो भन्ने सबैतहका सरकार र संस्थाहरूले हेक्का राखेर काम गरून् !
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC