site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नाटक खेलेर जीवन चलाउन सकिन्न : अशेष मल्ल
Sarbottam CementSarbottam Cement

सर्वनाम थिएटर र अशेष मल्ल एकअर्काका पर्यायवाची हुन् । सर्वनाम उनकै परिकल्पना हो । पञ्चायतकालदेखि नाटक मार्फत् स्वतन्त्रताको वकालत गरिरहेका उनी आजसम्म पनि यसै क्षेत्रमा सक्रिय छन् । करिब ५ दशकदेखि उनले नाटक मञ्चन र रङ्गकर्मी उत्पादन गर्दै आएका छन् । नाटकप्रतिको यो लगावलाई उनी आफ्नो ‘पागलपन’ भन्न पनि हिचकिचाउँदैनन् । किनकि यसमा कुनै देखिने लाभ छैन, तर मानसिक आनन्द भने अतुलनीय छ । अशेषलाई अधिकांशले नाट्यकर्मीका रुपमा मात्रै चिन्छन्, तर उनी कवि, कथाकार पनि हुन् । उनीसँग नाट्ययात्रा, साहित्य र सिर्जनाका अन्य विषयमा १२खरीकर्मी वर्षा महर्जनले गरेको कुराकानीको सार :

तपाईंका लागि रङ्गमञ्च र नाटक के हो ?
यी दुवै मेरा जीवन हुन् । यीबिना सायद म बाँच्न सक्दिनँ । जसरी माछाको लागि पानी आवश्यक छ त्यसैगरी मेरो लागि रङ्गमञ्च र नाटक । 

Prabhu Bank
Agni Group
NIC Asia

 

सर्वनाम थिएटरको जन्म कसरी भयो ? 
म २०३२ सालमा नाटककै गर्न भनेर एक महिनाको लागि काठमाडौं आएको थिएँ । नाटक मञ्चन भएपछि सबै साथीहरु घर फर्किए, तर मचाहिँ नाटक र साहित्यमा भविष्य बनाउने हो भने राजधानीमै बस्नुपर्छ भन्ने सोचेर यतै बसेँ ।

Global Ime bank

त्यो पञ्चायतको क्रूर अवधिको समय थियो । हामीजस्तो विद्रोह लेख्नेलाई गाह्रो थियो, नाटक गर्न हल पाउन एकदमै गाह्रो, पाइहाले पनि भाडा एकदमै महँगो हुने गर्दथ्यो । रङ्गमञ्च भनेको टिमवर्क हो । एक्लैले गर्छु भनेर सकिँदैन । म पनि आफ्नै एउटा टिम बनाएर निरन्तर नाटक मञ्चन गर्ने सोचका साथ टिम खोजिरहेको थिएँ । तर टिमको लागि एउटा संस्था त चाहियो, त्यही खोजीको क्रममा सर्वनाम जन्मिएको हो ।

सर्वनामले स्थापनकालदेखि अहिलेसम्म धेरै कलाकार जन्मायो, तर ती कलाकार सर्वनाममै किन नटिकेका होलान् ? 
सर्वनामले सयौं कलाकार जन्मायो, एउटै संस्थामा टिक्न असम्भव नै हुन्छ । त्यो सर्वनाममा मात्रै होइन, अरु नाटकघरहरुको सवालमा पनि उही हो । किनभने यो कुनै व्यवसाय होइन र यहाँ आउनुअघि व्यक्तिले कुनै अपेक्षा लिएर आउनु हुँदैन । गोजी भर्ने होइन, गोजीमा भएको केही रकम पनि दिनुपर्ने हुन सक्छ । 

कुनै रिटर्न नहुने यस्तो क्षेत्रमा म जस्तो पागल मात्रै बसिरहन्छ । हामी अहिले ४९औं वर्षमा छौं । यसरी सिङ्गो जीवन नाटकका व्यतीत गर्ने धैर्य सबैमा हुँदैन । म यसमै छु र खुसी पनि छु । 

नाटकमा लिने होइन, दिनुपर्छ भन्नुभयो । तपाईंले सर्वनामबाट केही पनि पाउनु भएको छैन ?
सर्वनामले मलाई सन्तुष्टि दिएको छ । देशमा पहिले प्रजातन्त्र थिएन, राजनीतिक रुपमा शोषण थियो । अन्याय, अत्याचारको विरुद्धमा हामीले आवाज उठायौं । त्यो समयमा नाटक गर्नेभन्दा पनि राष्ट्रमा प्रजातन्त्रको र स्वतन्त्रताको लागि लड्नुपर्छ भन्ने मनभित्रदेखिको चाहनालाई सर्वनामले शक्ति दियो । नाटककै कारण थुप्रै पटक हामीलाई प्रहरीले पक्रियो । विषम परिस्थितिमा पनि हामी स्वतन्त्रताका लागि नाटकमार्फत् आवाज उठाइरह्यौं । यसले दिने सन्तुष्टि पैसासँग कहाँ तुलना हुन सक्छ र !

नयाँ पुस्ताको नाटकप्रति लगाव रहर या कलाकार बन्ने लोभ ? के यसमा उनीहरुको करिअर बन्ला ?
रङ्गकर्मीहरु दुई प्रकारका हुन्छन् । एउटा सोखले आउने र अर्को भनेको यसमै जीवन व्यतीत गर्ने । सोखले आउनेहरु १–२ वर्ष बस्छन् अनि हराउँछन् । रङ्गमञ्चमा टिकिराख्ने भनेको त्यस्ता व्यक्तिहरु हुन् जो हावापानी, हुरी, सङ्घर्षलाई छिचोल्दै अघि बढ्छन् । यसैलाई जीवन मान्छन्, त्यस्ता व्यक्ति निश्चित रुपमा कम हुन्छन् ।

यो प्रश्नले मलाई एउटा रमाइलो प्रसङ्ग याद आयो । म धनकुटामा जन्मिएको, त्यो समयमा बिजुली बत्तीको विकल्पमा ‘पेट्रोम्याक्स’ बालिन्थ्यो । त्यो चमकले पुतलीहरु लालटिननिर आउँथ्यो र मर्दथ्यो । उनीहरुलाई त्यो तेजिलो प्रकाशले आकर्षित गर्दथ्यो । यो रङ्गमञ्च पनि करिबकरिब त्यस्तै हो । रङ्गकर्मी भनेको एउटा कलाकार मात्रै होइन, ऊ समाज अनि कुनै परिवारको एक सदस्य पनि हो । उसमा धेरै कुराको जिम्मेवारी हुन्छ । सारा कुरा त्यागेर यसमा लाग्छु भनेर आउँदा उसको परिवार र सामाजिक सम्बन्ध भताभुङ्ग हुन सक्छ । त्यसैले परिवारको समर्थनबिना ऊ यो क्षेत्रमा लाग्न सक्दैन । लागिहाल्यो भने पनि बत्तीमा पुतली गएको जस्तै हुन्छ । धेरैले यो सङ्घर्ष र त्याग गर्न सक्दैनन्, किनभने उसको परिवारले समर्थन गरेको हुँदैन । यस मामिलामा म आफूलाई भाग्यमानी ठान्छु । 

परिवार नै यही क्षेत्रमा हुँदा यसका फाइदा केके हुँदा रहेछन् ? 
राम्रो पक्ष भनेको मेरो चाहना र सपना पूरा गर्ने मौका पाएँ । काठमाडौंमा एउटा नाटकघर बनाउने सपना थियो, जसले सिनेमा जस्तो हरेकदिन नाटक प्रस्तुत गरोस् । कहीँकतैबाट पनि आर्थिक सहयोग नलिई आफैं गर्छु भनेर लागेँ । म जस्तो मध्यमवर्गीय मानिसले त्यो सपना पूरा गर्न सक्नुमा मेरी श्रीमती डा. सावित्री मल्ल कक्षपतिको विशेष सहयोग रह्यो । नराम्रो पक्षचाहिँ सबैजना नाटकमै लागिरहँदा पारिवारिक तथा नातागोताको जमघट भोजभतेरमा सहभागी हुन सकिँदैन । यसले कताकता असामाजिक बनाइरहेको हुन्छ । 

पहिले र अहिलेका रङ्गकर्मीहरुल् गर्नुपरेको सङ्घर्षमा के भिन्नता देख्नुहुन्छ ?
त्यो बेला पनि दुई प्रकारका रङ्गकर्मी नै थिए । एउटा सत्ताका नजिक र अर्को सत्ताभन्दा टाढा । बिना स्वतन्त्रता हामीले कलालाई अघि बढाउन सक्दैनौं, यही कारण हामी स्वतन्त्रताको लागि नाटकमार्फत लड्थ्यौं । हामीलाई सत्तापक्षबाट धेरै अप्ठ्यारोको सामना गर्नुपथ्र्यो जुन सत्तापक्ष नजिककाहरुले झेल्नुपर्दैनथ्यो । साथै, सिक्ने ठाउँ र नाटक देखाउन नाटकघरको अभाव अनि आर्थिक अभाव त छँदै थियो । पहिलेको जस्तै अहिलेका रङ्गकर्मीहरुले पनि आर्थिक अभाव भोगिरहेकै छन् । अचेल नाटकघरमा दर्शक अलि बढ्न थालेका छन्, तर त्यति सन्तोषजनक भने छैन ।

प्रविधिको विकासले नाटकमा प्रत्यक्ष फाइदा पुगेको छ ?
पक्कै छ । अहिले नाटकको सहारा जस्तै भैसकेको छ डिजिटल विकास ।

पछिल्लो समय नाटकमा प्रयोग हुने भव्य सेट समयको माग या कथाको ?
नाटक दुई प्रकारहरु हुन्छन्, यथार्थवादी र गैरयर्थाथवादी । नाटकको प्रकारअनुरुप सेटको प्रयोग हुन्छ । सेट कस्तो बनाउने भन्ने कुरा निर्देशकको परिकल्पनामा भर पर्छ । जस्तै जङ्गलको दृश्य छ भने रुखैरुख राख्ने हो या एउटा पात सिम्बोलको रुपमा राख्ने हो त्यो निर्देशकमा भर पर्छ । 

संसारभरिका नाटकनिर्देशकहरुको एउटै चाहना नाटकमा आफू देखिने रहेको हुन्छ । भौतिकरुपमा निर्देशक मञ्चमा त हुँदैन, तर उसको परिकल्पना र सेटमार्फत् उसले आफूलाई देखाउने जमर्को गर्छ ।

पछिल्लो समय नाटकमा राजनीतिक विषयले प्रवेश बाक्लै रुपमा पाउन थालेको हो ?
नाटक भनेको समाज नै हो र रङ्गकर्मीहरुलाई समाजका हरेक कुराले प्रभाव पारिरहेको हुन्छ । अहिलेको हाम्रो सन्दर्भमा विहानदेखि बेलुकासम्म प्रभाव पार्ने विषय भनेको राजनीति हो । हाम्रोमा राजनीति अस्थिर छ । हाम्रो घरको भात पाक्न ग्याँस चाहिन्छ, ग्याँस पनि राजनीतिसँग सम्बन्धित छ । यसरी हाम्रो आधारभूत कुराहरुमा राजनीतिक कुराले प्रत्यक्ष प्रभाव पारिरहेको छ भने नाटक कसरी अछुतो रहला ? यो अहिले मात्रै होइन मैले नाटक सुरु गर्दादेखि नै राजनीतिक विषयले स्थान पाएको हो । 

मलाई एकजना विदेशी रङ्गकर्मी साथीले सोध्नु भएको थियो, “तेरो हरेक नाटकमा किन राजनीति हुन्छ ? यहाँ यति राम्रो हिमाल, फूल र सुन्दर प्रकृति छ तँ किन यस्ता विषय नाटकमा ल्याउदैनस् ?” मैले उत्तर दिएँ, जुन देशमा अभाव, गरिबी, महँगी छ त्यो देख्दादेख्दै म फूलको कथा लेखूँ ?” किनभने हामी समाजलाई परिवर्तन गरौं, केही कुरा दिउँ भनेर नाटकमा लागेका हौं ।  

नाटकको हेर्न शुल्क किन यति महँगो ?
म नाटकलाई व्यवसाय बनाउन हुन्न भन्ने पक्षमा अडिग छु । तर रिहर्सलदेखि नाटकमञ्चनसम्मको खर्च उठाउनुपर्ने बाध्यता हुन्छ नै । तथापि, मेरो व्यक्तिगत विचारमा नाटकको शुल्क अलि बढि नै हो, कम राख्नुपर्छ । यसलाई जीवन चलाउने आधार बनाउनु हुँदैन । 

नेपालमा विदेशी नाटक पनि बाक्लै मञ्चन हुन्छन्, नेपाली नाटकको अभाव हो ?
मैले खासै विदेशी नाटकहरु गरेको छैन । अलिअलि मात्रै गरेको हो, तर पछि मन लागेन । त्यो आआफ्नो रुचिको कुरा पनि हो । मञ्चन गर्नै नहुने होइन विदेशी नाटक, विदेशी नाटक देखाउँदा हाम्रा दर्शकले धेरै कुरा बुझ्ने मौका पाउँछन् । तर यसको मतलब नेपाली नाटकको अभाव भएको होइन । बरु अध्ययनको अभाव भन्न सक्छौं । 

मोफसलमा पनि नाटकघरहरु विस्तार हुनुलाई यसको विकास मान्न सकिन्छ ?
केही जिल्लामा नाटकघर बन्दैमा नाटकको विकास भयो भन्न सकिन्न । केही जिज्ञासा बढेको भन्न मिल्छ । विभिन्न जिल्लाका रङ्गकर्मीहरु नाटकघर स्थापनाको प्रयासमा रहेको देख्छु, तर त्यो व्यक्तिगत प्रयासमात्रै हो । देशैभरि यसमा जागरण ल्याउन सरकारी तवरबाटै केही पहल हुनुपर्छ । एउटा जिल्लामा कम्तीमा दुईवटा नाटकघर हुनुपर्छ अनि बल्ल रङ्गमञ्चको विकासले गति लिन्छ । यति हुँदाहुँदै पनि हाम्रो राजधानीमा नाटकको चहलपहल हेर्ने हो भने छिमेकी राष्ट्र भारतमा भन्दा बढी छ, यो सुखद पक्ष हो ।

तपाईंले थुपै देशका रङ्गमञ्च देख्नुभएको छ । तिनको तुलनामा नेपाली रङ्गमञ्च कहाँ उभिएको पाउनु हुन्छ ?
उनीहरु प्राविधिक रुपमा बलिया छन् । रङ्गकर्मीहरुमा शिक्षाको स्तर राम्रो छ, यसमा उनीहरु हामी भन्दा धेरै अगाडि छन् । तर जान्दानजान्दै हाम्रा रङ्गकर्मीहरुले जुन गरिराखेका छन् त्यो प्रशंसनीय छ । नयाँ पुस्ताको प्रस्तुतिमा केही न केही नयाँपन आइरहेको देख्छु । विदेशीहरुसँग प्रतिस्पर्धा गर्नेखालका नाटकहरु बन्न थालिसकेका छन् ।

तपाईंले निर्देशन गर्नुभएको धेरै नाटक आफ्नै लेखनमा छ । अरुको लेखनमा निर्देशन गर्न चाहनु हुन्न ?
मैले सुरुसुरुमा केही अरुको नाटक गरेँ । त्यस्तो हुँदा केही लाइन हटाए या केही गरेँ भने लेखकले गुनासो पोख्थे । 
तर आफैंले लेखेकोमा स्वतन्त्रता हुन्छ । रिहर्सल गर्दागर्दै पनि आवश्यकता अनुरुप जति पनि संशोधन गर्न सकिन्छ । त्यसैले आफैंले लेखेको नाटक गर्न बढी चाहन्छु ।

नाटक चलचित्रमा उक्लने भर्‍याङ बनिरहेको छ, यसले नाटकलाई चाहिँ कस्तो असर पर्छ ?
यो पहिलेदेखिको ट्रेन्ड हो । सभागृह, नाचघर र एकेडेमी यी तीनवटा ठाउँमा मात्रै हल हुँदा नाटक गर्नलाई ३–४ महिना कुर्नुपथ्यो । कुनै समय नेपालमा नाटक गर्ने समूह धेरै थिए । टेलिभिजन आएसँगै नाटक गर्नेहरु अधिकांश टीभी, चलचित्रतिर गए । तर यसले नाटकलाई असर गर्छ कि भन्नु भ्रम मात्रै हो । दुवै क्षेत्रको आआफ्नै दर्शक छन् ।

सिनेमा आएपछि नाटक सकिन्छ भन्ने तर्क नगरिएको होइन । तर त्यस्तो भएको छैन । अहिले पनि तपाईं युरोपतिर जानुभयो भने सिनेमाको टिकट एकदम सस्तो पाइन्छ र नाटकको एकदम महँगो । दर्शकले नाटकलाई दिएको सम्मान सिनेमालाई दिएको देखिँदैन । यति भन्दाभन्दै पनि सिनेमा भन्दा राम्रो कसरी गर्ने भन्ने चुनौती भने नाटकलाई छ । सिनेमामा जे देखिन्छ त्यही हेर्न त दर्शक आँउदैनन् । 

तपाईं कविता पनि लेख्नु हुन्छ, नाटक र कविता कुनमा बढी रमाउनुहुन्छ ?
दुवैमा म रमाउँछु । नाटक लेख्न पूर्वयोजना चाहिन्छ । नाटक लेख्न बस्नुअघि लामो तयारीको जरुरत पर्छ । कविता झट्ट बसेर पनि लेख्न सकिन्छ । कविता लेखेको थाहै हुँदैन, कुनबेला आउँछ– आउछ । लेख्छु भनेर लेखिएको कवितालाई म कविता भन्न रुचाउँदिनँ । कविता त त स्वतस्र्फूत आउने कुरा हो । 

कविता मेरो प्रिय साथी हो, किनभने कवितासँग रुन र हाँस्न सकिन्छ । कसैलाई भन्न नसकिने कयौं कुराहरु कवितामार्फत् भन्न सकिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २५, २०७६  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement