हिमालको फेदमा एकसरो टि–सर्टमा गल्फ खेलें

राजु थकाली–गल्फर

हिमालको फेदमा एकसरो टि–सर्टमा गल्फ खेलें

मेरो गल्फप्रति आशक्ति बढेर गएको छ । सन् १९९७ देखि गल्फ खेल्न थालेको छु । अहिले पनि अविराम खेलिरहेको छु । उम्दा खेलाडी त होइन, ठीकै खेल्छु । गल्फले थकान मेटाउन शारीरिक तन्दुरुस्तीका लागि ओखती नै साबित भएको छ ।

पहिला यस्तो रुचि थिएन । तर, साथी–संगति बढ्दै गएपछि गल्फ मेरो जीवनको हिस्सा बन्यो ।

गत साल हुनुपर्छ, ज्ञानेश्वर आचार्यसँग भेट भयो । ज्ञानेश्वर पोखराकै साथी । धेरै पहिलेदेखिको साथी । 

भेट भएपपिछ सुख–दुःखको कुरा हुने नै भयो । त्यसबखत सुख–दुःखका कुरा मात्र भएनन् । केही  व्यवसायका कुरा । केही पारिवारिक कुरा पनि ।

छुट्टिने बेलातिर हुनुपर्छ, उहाँले एउटा प्रस्ताव छ भन्नुभयो । कस्तो प्रस्ताव होला ? म आश्चर्यमा परे । फेरि सोचें– कुनै व्यावसायिक काम होला । उहाँको परिचय नै त्यही हो ।

होइन रहेछ । उहाँले सगरमाथा क्षेत्रमा गल्फ खेलाउन खोज्नुभएको रहेछ । बाह्रखरी मिडिया पछिल्लो समयको चलेको समाचार संस्था हो । अनलाइन मिडियाको क्षेत्रमा छोटो समयमा परिचय कमाउने मध्ये पर्छ ।

यसमा समाचारको मात्रै देन छैन । यस्तै–यस्तै कार्यक्रमको पनि हात छ । बाह्रखरीले दुई–तीन वर्षयता गल्फ गरिरहेकै छ । गल्फरहरूले बाह्रखरीजस्तो मिडियाको साथ पाउने चानचुने कुरा होइन ।

यसपल्ट बाह्रखरीले कोङ्देमा गल्फ आयोजना गर्दै रहेछ । सुनेपछि मलाई त कहिले भाग लिउँजस्तो भयो । धेरै बुझ्न पाइनँ । किनकि, उहाँ काठमाडौं गइहाल्नुभयो ।

दुई–तीन महिनापछि प्रक्रिया सुरु भयो । नाम दर्ता गरियो । पोखराबाट बलराम थापा र म छनोटमा प¥यौं । कोङ्दे जाने भनेपछि बलराम पनि उत्साहित नै हुनुहुन्थ्यो । ममा त उत्साहको साँधी नै थिएन ।

सगरमाथा देशको उच्च भूगोल । हिमखण्ड । हिमालको बर्को । हिमालकै सिरानी । हिमालै त पोखराबाट पनि देखिन्छ । तर हिउँ नै गल्फ खेल्ने मौका सित्तिमित्ति कहाँ जुुर्छ र !

तर, हिउँमा गल्फ खेल्न सजिलो छैन । चिसोले शरीर कठ्यांग्रिन्छ । श्वासप्रश्वासमा समस्या भएर जे पनि हुनसक्छ । सुरुमा त मन आत्तियो । उच्च रक्तचाप, मधुमेहले पिरोलिरहकै छन् । परिवारले जान दिने हुन् कि होइनन् संसय पनि छँदै छ ।

सगरमाथाको काखमा गल्फ खेल्ने मौका दोहोर्‍याएर आउँदैन भन्ने ठानेपछि मन दह्रो बनाएँ । साहस बटुलें । हिउँ, बादलसँग लुकामारी खेलेको कल्पिएँ पनि ।

चन्द्रमामा त मानिस पुगेर आएका छन् । मंगलग्रहमा बसोबास गराउन हरसम्भव प्रयत्न भइरहेको छ । 

मानिसको क्षमता अपरिमेय पनि छ । सीमाहीन छ । अक्सिजनको कमी छ भन्ने ज्ञात हुँदाहुँदै पनि म जान उत्साहित भएँ । 

शरीरप्रति मलाई उच्च भरोसा थियो । साथ दिन्छ भन्ने विश्वास पनि ।

अन्तिममा घरपरिवासँग कुरा त गर्नुपर्‍यो । 

सुरुमा त उनीहरू पनि निकै डराए । सगरमाथामा गल्फ आयोजना ? पत्याउन कठिन पनि भयो । 

नजानुस् भन्दै थिए । मनले निश्चय गरिसकेकाले कसरी रोकून ! इच्छाशक्ति भए कसैको केही लाग्दैन । रोग पनि थकित हुन्छ भनेर कन्भिन्स गराएँ ।

गल्फका लागि सगरमाथा क्षेत्र त प्रस्थान गरियो । तर मौसम प्रतिकूल बन्यो । चारैतिर हुस्सुले ढाक्यो । सगरमाथा क्षेत्र त पुगियो तर हिमालै नदेखिने गरी कुहिरो लाग्यो ।

आँखा अगाडिको कुहिरो देखेर नरमाइलो पनि लाग्यो । गल्फ खेल्ने बहानामा सगरमाथाको काखमा त आइयो ! किन दुःख मान्नू ! आफैंले आफैंलाई सम्झाएँ पनि ।

मौसमले साथ नदिएपछि स्याङ्बोचेमा झर्नुपर्‍यो । तर मेरो उत्साह झरेन । जोसमा कुनै कमी आएन । जहाँ भए पनि हिउँमा गल्फ खेल्न पाइन्थ्यो । रेकर्ड ब्रेक गर्न पाइन्थ्यो । इतिहास बनाउन पाइन्थ्यो ।

हामीभन्दा अघि दुई समूह थियो । उनीहरूको नियति हाम्रोभन्दा भिन्न थिएन । उनीहरू हामीभन्दा अघि नै साङ्बोचे पुगेका थिए । त्यसपछि हाम्रो पालो आएको थियो । जानेहरूको अनुहार हाम्रोजत्तिकै मुस्कानयुक्त थियो ।

हिमालसँगको मेरो नाता बालवयदेखि नै हो । हिमालमै जन्मिएँ । हिमालमै हुर्किएँ । घामभन्दा पहिले हिमाल देखिन्थ्यो । तर पहिलोपल्ट हिम उपत्यकाका पुगेको भान भयो । आकाशतिर फर्किएर आनन्दित भएँ । धन्य भएँ ।

मसँग हिमाली भेकमा लगाउने लुगा थिएन । साधारण लुगा थियो । झन्डै एकसरो लुगा थियो भनौं । 

तैपनि जाडाको अनुभूति थिएन । डाउन ज्याकेट लगाउनुपर्ने ठाउँमा टि–सर्ट लगाएर गल्फ खेलें ।

हिमालको शक्ति नै यही हो । हिउँको सामथ्र्य नै त्यही हो ।

गल्फ खेलेपछि फर्कनुपर्थ्यो । सधैंभरि हिउँ खेलेर बस्न त कहाँ पाइन्थ्यो र ! तर सगरमाथाको काख छाड्न मनले मानेन ।

हेलिकोप्टर २ मिनेट पनि रोक्न मिल्दैनथ्यो । उडानमा केही समयमात्रै ढिला भए इन्जिन स्टार्ट नै गर्न मुस्किल हुँदो रहेछ ।

मन बाँधेर फर्कनुपर्‍यो । बाह्रखरीले सगरमाथाको फेरि कहिले गल्फ खेलाउला ?

गल्फरहरू कुरिबसेका छन् । 
 

प्रतिकृया दिनुहोस
ad