site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आड छैन, ओत भएर के गर्नु ?

पोखरा । पति मंगले बुढाले उनलाई सदाका लागि छाडेर गए । रोल्पा सुनछहरी गाउँपालिका ७, जेल्बाङका ९० वर्षीय मंगले बुढा मगरले गएको कात्तिक दोस्रो साता धर्ती छाडेका थिए । २३ वर्ष अघि २०५३ सालमा मंगले दम्पतिले एकमात्र छोरा भुवनलाई गुमाएका थिए ।

पति र छोरा गुमाएकी, हरियो चुना लगाएको पक्की घरभित्र, ८५ वर्षीया फर्की बुढा सुल्फामा कक्कड तान्दै थिइन् । गाउँमा पक्की घरभित्र बसेकी फर्कीको मन घरजस्तो पक्की भने छैन । चिसो माघलाई छल्न अगेनाछेउ फर्कीले आफ्नो वृद्ध शरीर तताउँदै थिइन् । हामी त्यहाँ पुग्दा उनले चिम्सा आँखा बिस्तारै उघारिन् ।

अनि कहिन्, आफ्नो व्यथा । उनको व्यथा सबैभन्दा पहिले बीबीसीले साझा सवाल कार्यक्रममार्फत प्रसारण गरेको थियो । त्यसपछि चर्चामा आएकी बुढाको घर त्यहाँबाट निर्वाचित भएर ऊर्जामन्त्री बनेका वर्षमान पुनले बनाइदिने घोषणा गरे । पुन र पूर्वसभामुख ओनसरी घर्तीमगर त्यही घरमा पुगेका थिए ।

Dabur Nepal

अहिले घर नयाँ छ, फर्की पनि एकपछि अर्को व्यथा सँगालेर बसेकी छन् । देशमा नयाँ व्यवस्था ल्याउने आन्दोलनले उनको छोरा खाइदियो । बुढेसकालका सहारा मंगले बुढाले पनि संसार छाडे । मगरहरूको नयाँ वर्ष सुरु भए पनि फर्कीलाई भने नयाँ वर्षले छुन सकेन ।

“माघमा मैले यो घर पोतेकी हुँ । माघ नयाँ वर्षमा घर त सफा गर्नुपर्यो नि भनेर सफा गरेकी हुँ । यो म बसेको नयाँ घर हो । पहिले अर्को थियो । यो घर वर्षमानले बनाइदिएको हो ।” मनमा कुनै उमंग छैन ।
उनी भावुक भइन्, तर आँसु खसाइनन्, रुँदारुँदा उनको आँशु सकिएको छ । मगरहरूको ठूलो पर्व माघी । ठूलो पर्व भए पनि उनको घर निर्जन देखिन्थ्यो । यो पर्वमा छोरीचेली माइत आउने परम्परा छ । तर, उनका दुई छोरी आएनन् । माघीमा दिदीबहिनीलाई दाजुभाइले कोसेली लगिदिने चलन हुन्छ । प्रदेश ५ सरकारले माघी पर्वका लागि १ गते र २ गते सार्वजनिक बिदा दिएको थियो । 

माघीको दोस्रो दिन आफ्ना चेलीबेटीहरूको घरमा पुगेर मिसरा (निस्राउँ) दिने चलन हुन्छ । दाजुभाइले चेलीबेटीहरूलाई ढकियाभरि चामल तथा तरकारीहरू दिने परम्परा छ । माघीमा सुँगुरको मासु, आलु, घुइँया, तरुल, साग, मुला, सिन्की, रोटी, सुकेको माछा, ढिकरी आदि परिकार बनाएर खाइन्छ । फर्कीले पनि सुँगुरको मासुको परिकार तयार पारिन् । तर, उनका छोरीहरू आएनन् ।
“भाइ नभएर होला, छोरीहरू पनि माघीमा आएनन् । बल्लतल्ल घर पोतकी थिएँ, कोही आएनन्,” उनले भनिन् ।

घर कसको, सरकारको
‘घर कसको पोत्नेको,
खेत कसको जोत्नेको’

यही गीत गाउँदै फर्कीका एकमात्र छोरा भुवन तत्कालीन माओवादी जनयुद्धमा होमिएका थिए । देशको शासन व्यवस्था परिवर्तन ल्याउन आन्दोलनमा होमिएका बुढा, शासन व्यवस्था नआउँदै तत्कालीन राज्य पक्षबाट मारिए । घटना २०५३ माघ १० गतेको हो । तत्कालीन सुनछहरी गाउँपालिका १, सेरम जम्कीडाँडामा उनको हत्या भएको थियो ।

उनको निधनको झन्डै १० वर्षपछि देशमा शासन व्यवस्था फेरियो, भुवनलाई सहिद घोषणा गरियो । आन्दोलनमा ज्यान गुमाएर सहिद बनेका भुवनलाई तत्कालीन सरकारले १० लाख रुपैयाँ दिने घोषणा गर्‍यो ।
तर, जुन आन्दोलनको लागि उनले बलिदान दिए, शासन व्यवस्था देशमा फेरियो, उनको घरमा भने त्यो व्यवस्था आउन सकेन । ढुंगाले छाएको पुरानो घरले एउटा सदस्य गुमायो, तर त्यही घरले आफ्नो आवरण भने फेर्न सकेन ।

०००

२०७४ को प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनपछि, त्यहाँका जनताले अहिलेका ऊर्जामन्त्री वर्षमान पुनलाई जिताए । उनी पत्नी ओनसरीसहित निर्वाचनको केही समयपछि बीबीसीको साझा सवाल कार्यक्रममा सहभागी हुन जेलबाङ पुगे । मंगले दम्पतिका छोरा भुवन, जो वर्षमानका साथी पनि थिए ।

साथी गुमाएका वर्षमान, सोही साथीको बलिदानीपछिको शासन व्यवस्थापछि त्यहाँका जनताको प्रतिनिधित्व गर्ने ठाउँमा पुगेका थिए । उनले मंगले दम्पतिलाई भेटे, ओनसरी भावुकै भइन् । र, काठमाडौं फिर्तापछि वर्षमानले मंगलेको घर बनाइदिने घोषणा गरे । अहिले, जेलबाङको हरियो घरमा उनै फर्की आफ्ना बाँकी दिन काट्दै छिन् ।

वर्षमानले पूरा पैसा दिएनन्...
छोराको नाममा आएको १० लाख, बूढाबूढीको वृद्धभत्ता, मंगले बिरामी हुँदा आएको २ लाख रुपैयाँ सबै नयाँ घरमा खर्च भयो । नयाँ घरको भित्तामा शिलालेख बनाएर लेखिएको छ, ‘लिखितम्, सुनछहरी गा.पा. ७ जेलबाङ रोल्पा निवासी, सहिद भुवन बुढामगरको बाबु श्री मंगले बुढा मगरको आवासघर नेपाल सरकारका माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्री वर्षमान पुनको आर्थिक सहयोग र अन्य सहयोगी संस्थाहरूको विभिन्न सहयोगमा ११ लाख ७७ हजार पाँच सयको लागतमा निर्माणकार्य सम्पन्न भएकोले माननीय श्री वर्षमान पुनको करकमलबाट समुघाटन सुसम्पन्न भयो ।’

शिलालेखअनुसार वर्षमान पुनले १० लाख ५० हजार रुपैयाँ, जीआर गोर्खा काष्ठ उद्योगले झ्यालढोका, चौकोसका लागि ५२ हजार पाँच सय, एसियन पेन्टले ७५ हजार रुपैयाँको पेन्ट सहयोग गरेको उल्लेख छ ।
दुईतले घरकी धनी फर्कीलाई भने कतिमा बन्यो, कसले बनाइदियो भन्ने याद छैन । उनले यतिमात्र भनिन्, “सरकारी घरमा बसेको छु । सरकारी घर भन्ने मात्रै वृद्धभत्ताबाट आएको पैसा सबै उतै गइहाल्यो । उनीहरू आएर झन् रित्तो बनाएर गए । अहिले त मेरो छोराको सहिदको पैसा पनि गयो ।”

सहिद छोरो, बिमार बुढोको उपचार खर्च सबै घरमा लगानी भएको उनी बताउँछिन् । “बूढोको बिमार खर्च आएको थियो २ लाख त्यो पनि घर बनाउँदै गयो । सहिदको पैसा डेढ लाख गएको छ । यसको पैसा पछि आउँछ भनेका छन् । तर आउँछ कि आउँदैन त्यो पनि थाहा छैन ।” यसबारे मंगले बुढाको घर निर्माण समिति अध्यक्ष राजेन्द्र रोका मगर (दीपक) सँग सम्पर्क गर्दा वर्षमान पुनले एक लाख ५० हजार रुपैयाँ दिन बाँकी छ । “दिन्छु भन्नुभएको छ, पोहोरै मैले मन्त्रीज्यूलाई कुरा गरेको थिएँ, अहिलेसम्म दिनुभएको छैन, अहिले सम्पर्क पनि छैन, रकम कहिलेसम्म आउँछ भन्ने पनि थाहा छैन,” उनले भने ।
१० लाख ५० हजार रुपैयाँ सहयोग गरेको शिलालेखसहित वर्षमान नै घर उदघाटन गर्न आएका थिए । तर, रकम भने अहिलेसम्म दिएका छैनन । निर्माण समितिका अनुसार उनले ९ लाख रुपैयाँ दिएका छन् ।

कोही साथमा भए...
फर्की अहिले घरधनी होइन, घरकुरुवा भएकी छन् । सँंगै बोल्ने, खाने कोही छैन । एक्लै भात पकाउँछिन्, घरधन्दा गर्छिन्, बस्छिन् । उनको दैनिकी नै यही बनेको छ । ओत लाग्ने छानो छ, तर आड दिने मान्छे छैनन् ।

“पहिले भुइँमा घर थियो । अहिले यस्तो ठूलो घर बन्यो । तर, घरमा बस्ने मान्छे नभएपछि यो घरको पनि काम नहुँदो रहेछ । अहिले एक्लै बस्छु । मेरो बूढो साथीले साथ छोडेर गइसक्यो । साथी नभएपछि एक्लै त भन्नुपर्‍यो । भात तरकारी पनि आफैं पकाउँछु । कोही साथमा भए त उनीहरूसँग कुरा गर्दै पकाउनु हुन्थ्यो ।” उनले आफ्नो दुखान्त कहिन् । बूढो शरीर लिएर चिसोमा उनलाई बाहिरफेर हिँडडुल गर्न धौधौ हुन्छ । अगेना वरिपरि र बाहिर केहीभारी दाउरा छन् । ती पनि सकिन लागेका । 
“काठ दाउरा पनि खोज्न सक्दिनँ । पहिले ल्याएका केही काठ–दाउरा छन् । अहिले ती पनि सकिन लागिसके । सकिएपछि भोकै मर्ने त होला नि !...”

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro