site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काम गरेपछि जस पाउने चाहना सबैको हुन्छ । प्रशंसाको भोक मानवीय कमजोरी नै हो । राजनीति गर्नेहरू त झन् अरूले गरेको कामको समेत जसमा दाबी गर्न तम्सन्छन् । यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामहरूको प्रचार गरिएन भनेर गुनासो गर्नु पटक्कै अस्वाभाविक होइन । काठमाडौंको सडकमा माग्न बसेकाहरूलाई आश्रयहरूमा लगेर व्यवस्था गरिएको विषयलाई समाचार नबनाइएकोमा बिचरा प्रधानमन्त्री ओलीको चित्त दुखेकोे रहेछ । सरकारका राम्रा कामहरूको प्रचार नगर्ने सम्पादकहरूलाई त ‘मुटु नभएका’ अर्थात् संवेदनाहीन नै भनिदिए ।  नेपाल चेम्बर अफ कमर्सका व्यवसायीहरुसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले सम्पादकहरूप्रतिको पिरलो पोखेछन् । बालबालिकालगायत कोही पनि सहकमा बेवारिस नभेटिने दाबी पनि उनले गरेका छन् । 

काठमाडौंका मूल सडकमा अहिले बेवारिस बालबालिका र रोगीहरू प्रायः देखिँदैन । यसका लागि सम्बन्धित निकाय प्रशंसाका पात्र बनेका छन् । तर, यो त नेपालको संविधान, २०७२ अनुसार सरकारले गर्नैपर्ने काम पनि हो । यत्तिकैका लागि प्रधानमन्त्रीले यसरी गुनासो गर्नु अलि सुहाएन । प्रधानमन्त्री ओलीले भन्न छुटाएका अर्को एउटा काम पनि काठमाडौंका केही सडकमा भइरहेको देखिएको छ । सडकका सानातिना खाल्टा पुर्ने र कालोपत्र गर्ने । सडक भत्काएपछि बनाउँदै नबनाउने प्रवृत्ति भएको शासनमा सडकको खाडलमात्र पुर्दा पनि स्थानीय बासिन्दालाई ठूलै सुविधा पाएजस्तो हुन्छ । सामाजिक सञ्जालहरूमा राजधानीबाहिर पनि सडक मर्मतका कामहरू भएको चर्चा भएका छन् । यसका लागि पनि सम्बन्धित व्यक्तिहरूलाई धन्यवाद भन्नुपर्छ ।  यद्यपि, यो त भत्काउनेबित्तिकै बनाइहाल्नुपर्ने काम जनतालाई सास्ती र धुलो खुवाएपछि मात्र भएको छ । र, शक्तिशाली ठेकेदारहरूले ठेक्का लिएका सडक त कहिले बन्ने हाे प्रधानमन्त्रीले पनि भन्न सक्लान् जस्तो देखिँदैन । तैपनि, राम्रो काम भइरहेकाले प्रशंसा गर्न कन्जुस्याइँ गर्नुपर्दैन ।   

Prabhu Bank
Agni Group
NIC Asia

सडकलाई बेवारिस व्यक्ति मुक्त बनाउने काम पटके अभियानबाट पूर्ण हुनसक्तैन । बालबालिकाका हकमा त यो विषय झन् जटिल छ । प्रधानमन्त्रीले देशका नामुद व्यवसायीहरूलाई सुनाएर गरेको दाबी केही महिना पनि टिकेन भने प्रधानमन्त्री स्वयं उपहासका पात्र बन्नेछन् । अहिले सरकारको कामको सराहना गर्ने र नगर्ने सबैले त्यतिबेला सरकारको आलोचना गर्नेछन् । राम्रा काम गर्दा नलेख्ने सञ्चार माध्यमहरूले नराम्रो कामको व्यापक प्रचार गरे भन्ने गुनासो त्यतिबेला पनि प्रधानमन्त्रीको हु्नसक्छ । संसद् प्रधानमन्त्रीको अनिर्णयका कारण बन्धक बनेको छ । सर्वोच्च अदालतले सरकारका निर्णयहरूमा भ्रष्टाचार भएको सन्देह पुष्टि हुने गरी कार्यान्वयनमा रोक लगाएको छ । देशभर मूलतः प्रधानमन्त्री ओलीकै पार्टीका कार्यकर्ताले प्राकृतिक साधन विशेषगरी खोला, नदी र पहाडहरूको भयावह दोहन गरेका छन् र सरकार तमासा हेरेर बसेको छ ।

आर्थिक वर्षको दोस्रो चौमासिक सकिन लाग्दा पनि विकास खर्च १५ प्रतिशत पुग्न सकेको छैन । अभिव्यक्ति स्वतन्त्रता, गोपनीयताको हकजस्ता संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार कानुन बनाएरै अतिक्रमण गर्न सरकारले योजनाबद्धरूपमा प्रयास गरिरहेको छ । यी सबै छाडेर प्रधानमन्त्री वा सरकारको प्रशस्ति गाउनु सञ्चारकर्मीको धर्म त हैन । सरकारले गर्नु नहुने कामहरू गरेको छ । गर्नुपर्ने काम गर्दा प्रशंसा खोज्नेले गर्नै नहुने काम गर्दा गरिएको आलोचनालाई ग्रहण गर्नुपर्ने थियो । यसैले सरकारका सानातिना कामको प्रचार नभएमा पिरलो गर्नुभन्दा प्रधानमन्त्री ओलीको ध्यान देशलाई गम्भीर हानि हुने र दूरगामी असर पर्ने प्रकृतिका गल्ती रोक्नेतर्फ जानु उचित हुनेछ । अहिले नै अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि अनुदार भ्रष्ट मुलुकका रूपमा चित्रित भइरहेको छ । आत्ममुग्ध मयुरले आफूलाई जे ठाने पनि त्यसको कुनै अर्थ हुँदैन । अर्थत त अरूले कसरी हेरेका छन् भन्नेको न हुन्छ ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १, २०७६  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC