टिङ टिङ टिङ घण्टी बज्यो टिङ
किङ किङ किङ आयो सेल्फी किङ
लुगा, टोपी र चस्मा बेतालले लगाएको व्यक्ति औंलो ठड्याउँदै स्क्रिनिङ हुन्छ । जोकर जस्तो देखिने व्यक्ति रुखको फेदमा गएर सेल्फी खिच्न थाल्छ ।
“होइन एउटै कार्यक्रम कति हेरिराखेको ?” नेपथ्यबाट एउटा बूढो आवाज सुनिन्छ ।
जवाफमा उमेरले डाँडो काट्न लागे पनि चिरिच्याट्ट परेकी महिला भन्छिन्, “आफ्नी छोरालाई टीभीमा हेर्न पाउँछु भने म जति पनि हेर्छु बा !”
बूढो मान्छे स्क्रिनिङ हुन्छन् । भन्छन्, “टीभीमा आएर मात्रै हुन्छ, जिम्मेवारी पनि बुझ्नुपर्यो नि !
टीभीमा लवाइ, हिँडाइ अनि मुस्कुराहट बेतालको लाग्ने व्यक्ति रुखको फेद र कापमा पसेर सेल्फी लिइरहेकै हुन्छ । तर यो बेलासम्म टेलिभिजनअघि बसेर चिरिच्याट्ट परेर बसेकी महिलाकी छोरी स्क्रिनिङ हुँदिनन् ।
पछाडि मनराज्यकोराजा लेखिएको स्टिकरै–स्टिकर टाँसिएको जिन्सको हाफ ज्याकेट, लामो कर्ली कपाल भएको टिङ टिङ टिङ घण्टी बज्यो टिङ, किङ किङ किङ आयो सेल्फी किङ भन्ने व्यक्ति एउटा महलमा हिँड्दै गरेको देखिन्छ ।
अचानक चर्को स्वर सुनिन्छ, “मलाई थाहा थियो तपाईं हिजो राति कहाँ हुनुहुन्थ्यो भनेर ।”
“नाइट सुटिङ थियो नाइट देखिनस्” आफ्नो हुलियातर्फ संकेत गर्दै उनी भन्छन् ।
सायद टेलिभिजनमा पर्खिरहेकी आमाकी छोरी तिनै हुन्, भन्छिन्, “मलाई तपाईंको केही भर लाग्दैन ।”
यो संवादका अनुसार उनीहरू श्रीमान्–श्रीमती हुन् अथवा यो नै सुटिङ हो । बैंकको स्ट्यान्ड पोस्टर, भर्याङमुनि संकेत बोर्ड, कर्नरको भित्तामा टेलिभिजन अनि केही व्यक्ति हेर्दा लाग्छ उनीहरू अनस्क्रिन श्रीमान्–श्रीमती हुन् ।
यसपछि बेतालको लुगामा देखिने ती व्यक्ति सर्ट, स्वेटर र ढाकाटोपीमा दराजको ऐना हेरेर ठाटिँदै हुन्छन् । लगत्तै उनी बुबा अथवा ससुरालाई नुहाइदिँदै गरेको देखिन्छन् ।
तिनै व्यक्ति गाडी चढ्छन् । गाडीको झ्यालको सिसाबाट बाहिर चियाउँछन् । फेरि तिनै व्यक्ति अरूको मोटरसाइकलमा लिफ्ट मागेर कतै जाँदै हुन्छन् । यति गर्दा उनको आवाज नेपथ्यबाट आइरहेको हुन्छ । “विभिन्न ठाउँमा जाने, दर्शकहरूलाई हसाउँने, इन्ज्य गराउने यो हो मेरो काम । आईएम इन आर्टिस्ट ।”
बल्ल थाहा हुन्छ, उनी अझै श्रीमतीसँगै त्यही बोलिरहँदा आफ्नो कामको बेलिविस्तार लगाइरहेका छन् । र एकसाथ नोस्टाल्जिक भइरहेका छन् । त्यही नै बेला श्रीमती तपाईंले रक्सी खाइसक्या हो भन्दै उनको मुख सुँघ्न खोज्छिन् । उनले लगाइसकेका रहेछन् । अर्कोतिर फर्किन्छन् । क्यमेरा फेडआउट हुन्छ ।
“तपाईं रोडबाटै सल्लेरी आउनुपर्ने भयो ।”
औंलामा चुरोट च्यापेर पिइरहेका विपिनलाई फोन आउँछ, उनी अचम्म मान्दै भन्छन्, “रोडबाट ?”
ट्रेलरले गति समात्छ । उनी उम्किसकेको गाडी समात्छन् । गाडीमा सुरु हुन्छ रमिता । सँगैको सिटमा बसेको यात्रु उनकै शरीरमा निदाउँछन् । पिसाब फेर्ने ठाउँमा उनलाई यात्रुले चिहाउँछन् ।
“हैन ए बाबु त्यो चङ्खे सेल्फी किङ तपाईं नै हो त ?” छक्क पर्दै एक यात्रुले जिप रोकेको ठाउँमा सोध्छन् ।
फिस्स हाँसेर उनले टेलिभिजनमा देखिने चङ्खे सेल्फी किङ आफू नै भएको मौनतामै जवाफ दिएपछि उनीसँग पालैपालो सेल्फी खिच्नेको भीड लाग्छ । वाक्कै लाग्ने गरी ।
“कति खानु हुन्छ त्यो कार्यक्रममा ?” चङ्खे सेल्फी किङ भएको खुट्याउने यात्रु उनलाई प्रश्न गर्छन् ।
“हजुर ?” सेल्फी किङ नसुने झैं गर्छन् । उनलाई जवाफ नदिएर टार्ने मन छ ।
“पैसो कति दिन्छन् कार्यक्रम गरे ठाउँमा भनेको क्या ?”
जवाफ नपाएसम्म नछोड्ने झैं ढिट प्रश्न गर्छन् ।
सेल्फी किङले जवाफ दिएको देखिँदैन । उनी गम्भीर भएर अर्कोतिर फर्किंदै गर्दा एक÷दुई रुपैयाँका सिक्का छरेको देखिन्छ । त्यो पनि टक्टक्याई टक्टक्याई ।
सहरिया हावाले छुन थालेको एउटा पहाडी बजार देखिन्छ । माथि कतै डाँडाबाट खिचेको ।
सम्भवतः उनी कार्यक्रम गर्ने ठाउँमा पुग्छन् । खादा लगाएर आयोजक स्वागत गर्दै भन्छन्, “म एकदमै सरी भन्न चाहन्छु गोपालजी, मैले सक्दो प्रयास गरेकै हो ।”
गोपाल अर्थात् सेल्फी किङ होटल पुग्छन् । होटलमा आफूलाई बस्न दिएको पर्दा खोल्छन् । पर्दासँगै आयोजकले उनलाई गरेको व्यवहारको नियतको पनि पर्दा खुल्छ । उनलाई फ्लाइटको टिकट पाइएन भन्ने आयोजकले त उनीसँगै कार्यक्रममा बोलाइएको अर्का कलाकारलाई त फ्लाइटमै पो बोलाएका रहेछन् ।
गोपाल बस, सुमो, बाइकमा लिफ्ट, घोडा हुँदै आएको सम्झिन्छन् । अनि देखिन्छ गोपालले रक्सी पिएको ।
सहकर्मी उनलाई सम्झाउँछन् रक्सी नपिउन ।
सायद तिनै कलाकारको दूर्नियत गोपालले चाल पाउँछन् । रक्सीले मात्तिएपछि उनी होटलको प्यासेजमै सँगै पफर्म गर्न गएका स्टारलाई चाहेमा बनाउन र बिगार्न पनि सक्ने चेतावनी दिन्छन् ।
सायद त्यो दिन उनले धेरै पिए । केही समयपछि उनी आईसीयूबाट निस्किँदै गरेको देखिन्छन् ।
त्यसपछि सेल्फी किङले पत्तो पाउँछन् स्टारडम, सेलिब्रिटी, पपुलारिटी, फिल्म भन्ने कुरा ‘मुतको न्यानो’ मात्रै हो । एकछिन तातो हुन्छ तर एकछिनपछि घीन लाग्छ, गन्हाउँछ ।
रक्सी, विवाद, प्रतिवाद, रिस, आवेग र इज्जतका केही दृश्य फुत्तफुत्त आउँछन्, जान्छन् ।
श्री सोलु दुधकुण्ड युथ क्लबले आयोजना गरेको कार्यक्रम सुरु हुन्छ । आयोजकले सेल्फी किङलाई स्टेजमा बोलाउँछन् । तर सेल्फी किङ सायद स्टेजमा उक्लिन्न्, भन्छन् । आयोजक गैरजिम्मेवार नबन्न आग्रह गर्छन् ।
सेल्फी किङ स्टेज चढ्छन् । माइकको अगाडि उभिन्छन् । दर्शकको अनुहारमा चमक आउँछ । हुटिङ सुरु हुन्छ । तर, सेल्फी किङको आँखामा आँसु मात्रै हुन्छ । उनको बोली फुट्दैन । स्टेजबाट ब्याक हुन्छन् । र वेटिङ रुममा पुगेर भन्छन्, “म गर्न सक्तिनँ ।”
आयोजक भन्छन्, “एकपटक स्टेजमा उभिदिनुस् मात्रै गोपालजी मलाई मार्छन् ।”
सेल्फी किङ रुन थाल्छन् । होटलमा रक्सी खाँदा उनले स्टार भनेका कलाकार उनलाई सम्हाल्छन् ।
त्यसपछि गोपाल अर्थात् सेल्फी किङ घोसे मुन्टो लगाएर घोडामा चढेको देखिन्छ । उनलाई बाटो देखाउने । उनको अगाडि अर्को घोडा हुन्छ ।
घोडामाथि चढेका सेल्फी किङका आँखाबाट बलिन्द्र धारा आँसु बगिरहेका हुन्छन् । पृष्ठभूमिमा वियोगान्त गीत बजिरहेको हुन्छ– अजम्बरी को नै छ र, भावीले लेखेको कसले छ देखेको, जन्म र मृत्यु बीचको कुरा हुँदैन सधैं चाहेका कुरा...
यो दर्द बोल्ने गीत बजिरहँदा सेल्फी किङ घोडाबाट ओर्लिएर कसैसँग बाइकमा लिफ्ट माग्छन् । केही समयपछि गाडी समात्छन् । पफर्मेन्सका लागि लगाएको मेकअप आँसुले बगाएर गालामा लत्पतिएको छ । गाडीमा कुनै यात्रु अथवा खलासीले उनलाई चिन्छ र सोध्छ “अनी कलाकार बन्नचाहिँ कति पढ्नु पर्दोरहेछ सर ?”
रोइरहेका उनले जवाफ दिन्छन्, “खलासी बन्न जति पढ्नुपर्छ त्यति नि ।”
नेपथ्यको गीतले उस्तै दर्द पोखिरहेकै हुन्छ । ट्रेलर सकिन्छ । सेल्फी किङले कार्यक्रममा किन आफ्नो पफर्मेन्स दिन सकेनन् ? सस्पेन्स नै छ ट्रेलरमा । तर उनले चाहेर पनि प्रस्तुति दिन नसक्नु, सँगैको कलाकारले सम्झाउन खोज्नु, डाको छोडेर रुनु । सायद मौसमको प्रतिकूलले प्लेनको टिकट पाइएन । बन्द हड्ताल भयो अथवा अन्य कुनै कारणले गाडी पनि पाइएन ।
त्यसैले उनी घोडा चढेर फर्किए । तर पनि आँसु थामिएन । पृष्ठभूमिमा वियोगान्त गीत बजिरह्यो । गीतले जन्म, मृत्यु, लेखान्त मानिसको नियन्त्रणबाहिर रहेको कुरा भन्नुले सेल्फी किङको घरमा ठूलो घटना भएको अनुमान लगाउन सकिन्छ । श्रीमती वा परिवारकै कोही सदस्यको मृत्यु भएको कथा देखाउन खोजेको पूर्वानुमान लगाउन सकिन्छ ।
एकातिर परिवारमा गएको पहिरो, अर्कातिर आयोजकले गर्ने अपमान, त्यसमा पनि सार्वजनिक यातायातमा पाउने हैरानीले कलाकारको जिन्दगी कति दुःखदायी छ । ट्रेलरले चलचित्रमा आउने संकेत गरेको छ ।
ठाउँ कू–ठाउँ मुटु नै छियाछिया हुने गरी दशर्कका तीता प्रश्नले कति दुखाउँछ कलाकारलाई, ट्रेलर हेर्दा चलचित्रले भन्ने अपेक्षा गर्न सकिन्छ । चलचित्र ‘सेल्फी किङ’ को ट्रेलर सार्वजनिक कार्यक्रममा मुख्य भूमिकामा रहेका अभिनेता विपिन कार्कीले कथा धेरै हदसम्म नेपाली कलाकारको दैनिकीसँग मेल खाने बताएका थिए । उनले स्टारडम, सेलिब्रिटी, पपुलारिटी, चलचित्र नेपाली कलाकारको सन्दर्भमा ‘मुतको न्यानो’ सरह नै रहेको पनि बताएका थिए । उनको आशय थियो– हासीखुसी देखिने कलाकारको पर्दा पछाडिको जिन्दगी कति सकसपूर्ण छ ।
विशाल सापकोटा चलचित्र, यसको बनावट, सूत्र, अर्थ, यथार्थ, कथा, सान्दर्भिकता र दर्शकबारे लामै समय बहसमा उत्रिन सक्ने व्यक्ति हुन् । उनलाई तीन वर्षअघि एउटा सत्य घटनाले छोयो । ती व्यक्ति एक टेलिभिजन कमेडियन थिए । उनले एक सांस्कृतिक कार्यक्रममा जाँदा तीन दिन भोगेको जीवनमा विशालले चलचित्रको कथा देखे । ती कमेडियन को हुन्, उनी अहिले नै खुलाउन चाहँदैनन् ।
चलचित्र निर्देशन गर्ने रंगीन सपना सजाइरहेका विशालले स्टोरीलाइन निर्देशक दिनेश राउतलाई सुनाए । दिनेशलाई मन परेछ भने, गज्जब छ । विशालले स्टोरी बनाउन थाले । चलचित्र निर्माण गर्ने भएपछि सोझो कथाले मात्रै हुँदैन थियो । केही काल्पनिक कथा जोडे । टुइस्ट एन्ड टर्न गरे । यतिबेलासम्म दिनेशले म आफैं प्रोड्युस गर्छु तिमी निर्देशन गर भनिसेकका थिए । टिममा विपिन जोडिइसकेका थिए । तीनजना बसेर कथालाई निखार्न थाले । विशाल रि–राइट गर्न थाले । अन्ततः चलचित्र फ्लोरमा गयो । यही चलचित्र ‘सेल्फी किङ’ माघ २४ गते रिलिज हुँदै छ ।
चाहे पुराना अनुभवी निर्देशकका चलचित्र हुन् अथवा नयाँ निर्देशककै किन नहुन् अधिकांश बक्सअफिसमा फ्लप साबित भइरहेका छन् । ठीक यही समयमा विशाललाई दिनेशले विश्वास गरे । विशालले आँटे । ट्रेलरले देखाएको सम्भावनालाई चलचित्रले परिपूर्ति गर्छ अथवा दर्शकलाई हलमा फिस्स पार्छ यसमै डेब्यु निर्देशकको निर्देशन करिअर निर्भर छ ।