बनेपा । करेसाबारीमा उत्पादन भएको साग बेचेर नाग्रेगगर्चेका नानीमाया लामाले आठ हजार रुपैयाँ आम्दानी गरिन् । गाउँमै सञ्चालनमा आएको सिर्जनशील कृषि सहकारी संस्थाले गुन्द्रुक बनाएर बेच्न थालेपछि गाउँका किसानको आम्दानी बढेको छ ।
करिब ४ सय किलोभन्दा बढी साग बेचेर ८ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको उनले जानकारी दिइन् । उनले मात्रै होइन, अहिले गाउँका सबै किसानले घर वरिपरिको करेसाबारी र खेत-बारीमा साग रोपेर आम्दानी गर्न थालेका छन् । खेर जाने गरेको साग बेचेर पैसा आउने भएपछि गाउँले सबै साग खेतीतर्फ आकर्षित भएको स्थानीय राजीव लामाले बताए । उनका अनुसार अहिले त्यहाँका गाउँलेले प्रतिघर परिवार कम्तीमा तीन/चार सय किलो साग बेच्ने गरेको छन् ।
जिल्लाको कोसीपारिस्थित चौरीदेउराली गाउँपालिका २, नाग्रेगगर्चेमा रहेको सिर्जनशील कृषि सहकारी संस्थाले आम्दानीमा वृद्धि र सेयर सदस्यको आर्थिक उपार्जनमा सहयोग पुर्याउने ध्येयले सागबाट गुन्द्रुक बनाई बिक्री गर्न थालेको हो । साग संकलन गरी गुन्द्रुक बनाउने काम तीव्र बनाइएको संस्थाका अध्यक्ष ननिता लामाले जानकारी दिइन् । संस्थाले गाउँमा तरकारी संकलन केन्द्र स्थापना गरी दैनिक साग संकलन गरेको छ ।
संस्थाले साग प्रतिकिलो २० रुपैयाँका दरले खरिद गर्छ । १३० सेयर सदस्य आबद्ध संस्थाले छोटो समयमै १० लाख रुपैयाँ जम्मा गरिसकेको छ । सेयर सदस्यले उत्पादन गरेको तरकारीलाई संकलन गरी खरिद गर्न थालेसँगै गाउँमा सागखेती गर्नेको संख्या बढ्न थालेको छ ।
माया तामाङ र प्रिती तामाङलाई महिनाको १० हजार दिने गरी संस्थाले रोजगारीसमेत दिएको छ । उनीहरुको काम साग संकलन, केलाउने, पखाल्ने, गुन्द्रुक बनाउने, सुकाउने र प्याकिङ गर्ने रहेको अध्यक्ष लामाले बताइन् ।
स्थानीय शशि तामाङले काठमाडौंमा होटलका लागि १ लाखको गुद्रुक माग गरेपछि गुन्द्रुक बनाउने काम अहिले धमाधम जारी छ । अध्यक्ष लामाका अनुसार सागको गुन्द्रुकसँगै फर्सी, स्कुस र मुलाको सुकुटी बनाउने तयारी भइरहेको छ । उत्पादन सबै खरिद गर्ने सम्झौता भइसकेकाले कुनै समस्या नरहेको संस्थाले जनाएको छ । यससँगै सहकारीले संस्थामा आबद्ध किसानका लागि आवश्यक मल, बीउ सुपथ मूल्यमा बिक्री गर्ने र बचत तथा ऋणलाई पनि सँगसँगै लाने गरी कैयौं योजना अघि सारेको जनाएको छ । -रासस