site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘लुटेरा’बाट लेखक !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

अक्षर काका


पूर्वकथा
हिन्दू वर्ण व्यवस्थाअनुसार सबैभन्दा पुछारको जीवन बाँचिरहेका मनोरञ्जनका जिजुबाजे व्यापार–व्यवसाय गर्थे, सामुद्रिक तटमा । जहाज, डुङ्गा चढेर समुद्रको सुदूर किनार नरिवलका व्यापार गर्न पुग्थे ।

भर्खरभर्खर विवाह गरेको दुलाहा । नरिवल बेचेर कमाएको नाफाले दुलहीलाई एकथान गुन्यू किनिदिने इच्छा भएछ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तिनताक १० रुपियाँमा भनेजस्तो गुन्यू आउँथ्यो ।

पत्नीका लागि चिताएको गुन्यू खरिद गरेर गरिबीले गाँजेको बस्ती हुँदै घर फर्कंदै थिए । लोकले सोध्न लाग्यो– “कति रुपैयाँमा खरिद् गरिस् यो कपडा ?”

Royal Enfield Island Ad

उनका जिजुबालेलाई आफैंप्रति भरोसा भएन । व्यापार त गर्थे तर उनको हातले साँवा पनि मुस्किलले भेट्टाउँथ्यो । कुनैमा सुका–मोहोर नाफा आर्जन गर्थे । कुनैमा त सावाँ नै गुम्थ्यो । पूराका पूरा नोक्सान हात लाग्थ्यो ।

धक र डरले मरिच झैं चाउरिएका जिजुबाजेले सोच्न लागे– “सद्दे कुरा बताएँ भने कसैले पत्याउनलेवाला छैनन् । खिसिट्युरी गर्न सक्छन् । यत्रो महँगो गुन्यु यसले किन्नै सक्दैन भनेर हियाउलान् । कसैले त यसले ठग्ने पो रहेछ भन्लान् !” 

पैसा आफूले भुक्तान गर्नु छ, लोकको गाली किन सुन्नु ! उनले दुई रुपैयाँ घटाएर मालको मोल सुनाए– “आठ रुपैयाँमा ल्याएँ !”

दलितलाई मान्छे नै ठान्न तयार नहुने लोक भन्न थाल्यो– “आठ रुपैयाँ मात्रैमा पाइन्छ कहीँ ? ढाँट्छस् !”

उनले दसऔंला जोड्दै भने– “होइन हजुर आठ रुपैयाँ मात्रै हो ! मोल त धेरै राखेको थियो । तर म कहाँ अबुझ थिएँ र ! सारा लोक जान्दछ, यत्तिका वर्षदेखि व्यापार गर्दै आएको छु !”

“उसो भए हामीलाई पनि ल्याइदिन सक्छस् !” लोक अझै पत्याउन तयार भएन ।

“एक होइन सय थान ल्याइदिन सक्छु,” उनले विश्वास दिलाउँदै भने ।

अचम्म ! भोलिपल्ट नदीको किनारमा गावैंभरिका मान्छे भेला भएका थिए । उनीहरूको हातमा आठ–आठ रुपैयाँ थियो । भन्न थाले, “हामीलाई पनि ल्याइदे !”

मूल्य आठ रुपैयाँ त थिएन । आफ्नै बोलीमा भासिए । नरिवल बेचेर आर्जन गरेको मुनाफा लोकको खुसी–इज्जतका लागि थपिदिए । आफूले आजीवन, पुस्तौंपुस्ता गरिबी नै झेलिरहे ।

सच्चाइको पर्दा उघ्रन समय कत्ति पनि लागेन !

तर लोकले जस्ताको तस्तै, सपाट बुझेन । बरु व्यापारी–व्यापारी भन्दै गिज्याउन लाग्यो ।

लोकको खिसिट्युरी पुस्ता–दरपुस्ता हुँदै सर्दै आयो । तथापि, विरासतमा पाएको ‘व्यापारी’ उपमा उनलाई त्याज्य भएन ।

व्यापारी उपमाले उनको पुस्ता कतिसम्म निमुखा थिए र आफ्ना कुरा भन्न असमर्थ थिए भनेर बिम्बित गर्छ । ‘व्यापारी’ त्यो समयको ऐना बनेर ठिङ्ग उभिएको छ । जहाँ त्यतिबेलाका दमित, उपेक्षित, उत्पीडितहरूको सामाजिक मनोदशा र श्रापित नियतिको सग्लो अनुहार देख्न सकिन्छ !

जब धुरीमा देश विभाजनको हुरी चल्यो
सन् १९४७ को झरीपछि उघ्रिएको शरद् । पूर्वी पाकिस्तान पैदा भयो । देश टुक्रियो । माटोको मुटु खण्डित भयो । विभाजनको हुरीले धुरी विखण्डित भयो । तर भाग्य विभाजन हुन सकेन । नियति विभाजन हुन सकेन । 

उनी जन्मिएको बरिसाल पूर्वी पाकिस्तानमा परेको थियो । वञ्चना आफूसँगै गाँसिएर आयो ।

मनोरञ्जन व्यापारीको परिवारको एक हिस्सा पाकिस्तानी बने । एक हिस्सा भारतीय । एक हिस्सा हिन्दू बने । एक हिस्सा मुसलमान ।

उनीहरूले सुँघेको माटो, हिँडेको बाटो, ओढेको आकाश विभाजन गर्नेवाला को थियो ? भोक र रोगसँगबाहेक कसैसँग चिनापर्ची नभएका उनीहरूले बुझ्ने कुरा थिएन । शासकको अनुहार उनीहरूको परिवारले विरलै चिन्थ्यो ।

विभाजन विदारक क्षण बेहोरेको व्यापारीको बचेखुचेको परिवारले थाहा पायो– “पाकिस्तान मुस्लिमका लागि जन्म भएको हो, हिन्दूका लागि होइन ।”

विभाजनताक जुन भाष्य निर्माण भएको थियो । तर परिस्थिति ठीक उल्टो थियो । 

पूर्वी पाकिस्तान मुस्लिमका जन्मिएको भाष्य निर्माण भएको थियो । तर, देश विभक्त हुँदा मुस्लिमधर्मी चारवटा गाउँ रेखावारी पर्‍यो । हिन्दूधर्मी चारवटा गाउँ पूर्वी पाकिस्तान बन्यो ।

विभाजनको तरबार किन यसरी चलाइयो ? उनीहरूले आजसम्म बुझ्न सकेका छैनन् । 

भारतीय शासकहरू चाहन्थे होला समाजका पिँधका जाती दलितहरू हाम्रो रेखाभित्र नपरून् । उनीहरूलाई अधिकार दिनुपर्ने दायित्व भारतीयको काँधमा नपरोस् । उनीहरू देशविहीन हुन् । परन्तु भारतीय नहून् !

“यसमा ठूलो राजनीति छ, बुझ्नुभो !,” उनलाई यत्ति थाहा छ ।

देश खण्डित भएपछि उनीहरू पाकिस्तानी भए । तर पाकिस्तानी उनीहरूका भएनन् ।

“यो भूमि मुस्लिमका लागि जन्म भएको हो । हिन्दू धर्ममै अडिग रहने हो भने भारत जाओ !” पूर्वी पाकिस्तानमा उनीहरूले पाइला अड्याउन पनि पाएनन् ।

शासकहरूले सीमा कोरिसकेका छन् । तिनले कोरेको विभाजनको रेखाले उनीहरूलाई पूर्वी पाकिस्तानी बनाइदिइसकेको छ । तर पूर्वी पाकिस्तानीले उनीहरूलाई बस्न नदिने भए ।

धेरै हिन्दूहरूले देश फेर्न सकेनन् । सजिलो त्यही थियो, धर्म फेरिदिए ।

तर उनको परिवारलाई हिन्दू मै अडिएर सङ्घर्ष गर्नु थियो । किनकि, विभेद गर्नेवाला हिन्दू थिए, उँचनिच तोक्नेवाला हिन्दू थिए ।

“हामी धर्म बदल्न सक्थ्यौं, तर नियति बदल्न कसरी सक्थ्यौं ?” उनी अहिले पनि त्यही प्रश्न दोहोर्‍याउँछन् ।

उनीहरूले धर्म र नियति दुवै बदल्न सकेनन् । पूर्वी पाकिस्तानबाट लखेटिए । 

भागेर कहाँ जाने ? जुन देशको नागरिकता गोजीमा बोकेर हिँडेका थिए, अन्ततः उनीहरू त्यही देशमा शरणार्थी भए । आफ्नै माटोमा शरणार्थी हुनबाट नियतिले बचाउन सकेन ।

विभाजनले व्यापारीको परिवारलाई बेघरबार बनाइदियो । (अ)नागरिक बनाइदियो । 

त्यसपछि सुरु भयो जीवनको अकथनीय दुर्दशा ।

पाँच हजार हिन्दू पूर्वी पाकिस्तानबाट भारत छिरे । भारत सरकारले फिर्ता पठाउन लाख कोसिस ग¥यो । केही सीप लागेन । निरुपाय हुँदै ती सबैलाई शरणार्थीको परिचय भिराएर अलगअलग क्याम्पमा कैद गर्‍यो ।

त्यतिबेला भारत सरकारको अपहेलना अकथनीय छ । पूर्वी पाकिस्तान छाडेर आएका हिन्दू धर्मभित्रका उच्च जातिहरूलाई भारतले उच्च सम्मान दियो । आयस्ता हुने जग्गा जमिन दियो । पढेलेखेकालाई नोकरी पनि दियो । जीवनको मार्ग सहज बनाइदियो ।

समाजको पिँधमा परेकालाई क्याम्पभित्र धकेल्यो । रोग, भोक, शोकको साथ छाडिदियो । नियतिले ठगेकाहरू दुःख पाउन अलि धेरै बाँचे । भाग्यमानीहरू चाँडै बिते ।

शरणार्थी जीवन पूरापूर जेलजस्तो थियो । सरकारले अड्कलेको गाँस खानुपथ्र्यो । सरकारले अड्कलेको लुगाले इज्जत ढाक्नुपथ्र्यो । क्याम्पको लक्ष्मण रेखा काटेर बाहिर निस्कने सुविधा थिएन ।

भोग, भोकले थलिएकाहरू हमेसा बिरामी हुन्थे । उपचारको प्रबन्ध थिएन । बेलाबखत सिटामोल त मिल्थ्यो । तर त्यत्तिले रोग कहाँ थान्को लाग्थ्यो र ! 

भोकसँग सिँगौरी खेल्न नसकेर उनकी बहिनीको शिविरमै प्राण पखेरु उड्यो ।

सन् १९५३ मा उनको परिवार शिरोमणिपुरमा आएका थिए । सन् १९५९ सम्म त्यहाँ रहे । शिरोमणिपुरमा रहँदासम्म थोरै भए पनि गाँस हात लागेको थियो ।

१९५९ पछि उनीहरूलाई घोलादोलतलामा रहेको अर्को क्याम्पमा स्थानान्तरण गरियो । घोलादोलतलाको दुःख, नर्कको बिम्ब बिर्साउने खालको थियो । सरकारी रासनपानी आउँदैनथ्यो । रोगीहरूको अखाडा थियो । हरदिन कसै न कसैलाई मृत्युले घेरा हालेकै हुन्थ्यो ।

भोकबाट त्राण पाउन उनीहरूको परिवारले क्याम्पभित्र मादुर (गुन्द्रीजस्तो बिछ्याउने कुरा) बुन्न थाल्यो । 

मादुर बन्न होगला र सुथरी (सुतली)को आवश्यक पथ्र्यो । क्याम्पस नजिकै किन्न पाइन्थ्यो । एउटा मादुर बन्नका लागि आवश्यक पर्ने होगलाको ५० पैसा र सुतलीको २५ पैसा पथ्र्यो । दुईवटा मादुर ३–३ रुपैयाँ ५० पैसामा बिक्री हुन्थ्यो । 

बँचेको नाफाले दुःख दूर हुँदैनथ्यो । अभाव पन्छँदैनथ्यो ।

जीवनको काँडाघारी पन्छाउन नक्सलबारी
सन् १९६० को पुछारतिर कोलकाता, पश्चिम बङ्गाल क्षेत्रमा नक्सलबारी विद्रोहको आगो सल्कियो । गाउँगाउँमा विद्रोहको डढेलो लाग्यो । कानु सन्याल, जङ्गल सन्थाल, चारु मजुमदार, विद्रोहका हर्ताकर्ता यिनै थिए । ठाउँठाउँमा राता झण्डा फहराएका थिए । रातो झण्डा मुक्तिको ध्वजा मानिन्थ्यो ।

तिनताक विभेद उत्कर्षमा पुगेको थियो । पसिनाको होइन जीवनकै मोल थिएन । गरिबहरू पसिनासँगै बग्थे । तर उनीहरूको आयस्तामा उनीहरूकै हक थिएन । साहू–महाजनहरूलाई उत्पादन बुझाउँदाबुझाउँदा उनीहरूको जीवन निख्रन्थ्यो ।

भोका–नाङ्गा, औंला डोब्नका लागि एक हत्केला जमिन नभएकाहरूले सत्ताविरुद्ध लडाइँ छेड्न थाले ।

आफू जन्मेको माटोमा शरणार्थी जीवन व्यतीत गरिरहेका मनोरञ्जनको मथिङ्गलमा पनि प्रश्न उब्जियो– “हामी पनि भोका छौं ? हाम्रो शरीरमा पनि लुगा छैन ? त्यसमाथि झन् हाम्रो त देशै छैन । मुक्ति हामीलाई पनि त चाहिएको छ ।”

“आओ हामी नयाँ समाज, नयाँ व्यवस्था निर्माण गर्दैछौं । त्यहाँ उँभनिच, विभेद, धनी–गरिब, मान–अपनाम, हुने–नहुने, हुने छैनन् । साम्यवादी राज्य निर्माण गर्नेछौैं हामी, छिट्टै,” कसैले १९ वर्षे किशोरको मथिङ्गलमा विद्रोहको पुल्ठो झोसिदियो । मनोरञ्जन व्यापारी सशस्त्र सङ्घर्षको अङ्ग बने ।  

हात–हतियार बनाउने सीप थिएन । गोला बारुद, बम फ्याँक्न जान्दैनथे । विभेदको दलदलमा आकण्ठ जाकिएका व्यापारीलाई सबै त्यही समाजले सिकायो ।

“एउटा भरुवा बन्दुक बोक्थेँ, एक गोली लाग्थ्यो,” आफ्नो विद्रोहका दिन सम्झँदा आज पनि उत्तिकै रोमाञ्चित हुन्छन् ।

सुरुमा नक्सलाइट विद्रोह आफैं गरिबीबाट गुज्रियो । प्रशासनले तीव्र दमन, धरपकड थाल्यो । सर्च अपरेसन चलायो । विद्रोहको दिउल नफुट्दै प्रशासनले ठाउँठाउँमा निस्तेज बनाइदियो ।

जब प्रहरीसँग सीधासिधी मुकाबिला सुरु भयो । नक्सलबादीले ठाउँठाउँबाट हातहतियार कब्जामा लिन थाले । विद्रोह फैलँदै, विकसित हुँदै गयो ।

गुरिल्ला युद्धमा सामेल भए पनि उनी कुनै पद, ओहोदामा भने थिएनन् । न कुनै सेल कमिटीमा आवद्ध भए ।

फेवातालको किनार आँखाले एक फन्को लगाउँदै मनोरञ्जन थप्छन्– “दमनकारी, विभेदकारी राज्यसत्ता भत्काउन हिँडेको मान्छेलाई पदको के पर्वाह र ! मलाई जित्नु थियो, पदले पुरस्कृत हुनु होइन !” 
सामन्त, साहू– महाजनहरू घर छाडेर भागे । उनीहरूको खेत–खलियान कब्जामा लिए । गरिबहरूलाई बाँडिदिए ।

अजित दत्त, तुलशी, विभूजस्ता परम मित्र गुमाए । उनले नचिनेका कयौं लडाकुहरूले शहादत प्राप्त गरे । सरकारी फौजले कयौं सोझासीधाको कत्लेआम ग¥यो । रगतको भेल तरेर नक्सलबारी विद्रोह अगाडि बढ्यो । 

तर युद्ध जितेनन् । जित्ने छाँट पनि देखेनन् ।

उनी केही समय अझै युद्धमै थामिन्थे होला, सत्तासीन माक्र्सवादी कम्युनिस्ट पार्टी (सीपीएम) र नक्सलबादीबीच लडाइँ चर्कियो । 

नक्सलबारी (आइसीपीएमल) र सीपीएमलाई छुट्टयाउने रेलको पटरी थियो । रेल्वे स्टेसनमाथि नक्सलबादी बस्थे । त्यसको तल्लो भागका बासिन्दाले सीपीएमलाई समर्थन गर्थे । राज्यसत्ताविरुद्धको लडाइँ दुई कम्युनिस्ट पार्टीतर्फ सोझियो । त्यसले समाजमा रक्तस्राव निम्त्यायो । उनी दिक्किए ।

“त्यतिबेला सीपीएम सोच्थ्यो हामीहरू असली क्रान्तिकारी हौं, यिनीहरू काङ्ग्रेसको उक्साहटमा लागेका छन्, किनभने प्रान्तीय सत्तामा कम्युनिस्टहरू नै थिए । केन्द्रीय सरकार हामीलाई देख्नासाथ गोली दाग्थ्यो !

दुई कम्युनिस्ट पार्टीको लडाइँले गरिबी, विभेदबाट मुक्ति नमिल्ने निष्कर्षमा पुगेपछि आन्दोलनबाट सुटुक्क बाहिरिएँ,” नक्सलबादी विद्रोह छाड्दाको क्षण सम्झन्छन् उनी ।

त्यतिबेला सीपीएमले सत्ताको नेतृत्व गरे पनि पुँजीवादी, सामन्तवादीलाई नै पहरा दिएको र समाजवादी आन्दोलनलाई दिशा नदिएको मनोरञ्जनको निष्कर्ष छ ।

“तिनताक सीपीएम हाम्रो वर्ग दुस्मन नै थियो,” उनी अहिले पनि किटानका साथ भन्छन् ।

सन् १९७१ मा पाकिस्तानबाट पूर्वी पाकिस्तान अलग भयो र बङ्गलादेशको जन्म भयो । त्यसको केही समयपछि उनले नक्सलबारी आन्दोलन सधैंका लागि परित्याग गरे ।

रेल्वे स्टेसनमा बसेर लुटपाट
बङ्गलादेशको जन्म नहुँदासम्म उनका काका पूर्वी पाकिस्तानमै बस्थे । पूर्वी पाकिस्तान अलग भएपछि कथा अर्कै भयो । उनका काका पनि देश छाडेर भारतको शरणमा आइपुग्न विवश भए । मुण्टो लुकाउने ठाउँ खोज्दै मध्यप्रदेशको दण्डाकर्ण पुगे ।

दण्डकर्ण केही सुरक्षित थियो । कामकाजको दुःख थिएन । ठाउँ सुविधानजनक लागेपछि उनी दाजु रहेको ठाउँमा आए । सबैलाई लिएर मध्यप्रदेश नै पुगे ।

नक्सबादी आन्दोलन लड्दासम्म मनोरञ्जन व्यापारी जादवपुरमै थिए । काका दण्डाकर्णमा रहेको र बाबुआमा, हजुरआमा पनि उतै जान लागेको थाहा पाएपछि उनी परिवारलाई भेट्न गए ।

दण्डाकर्ण पुग्न घना जङ्गल छिचोल्नु पथ्र्यो । बाटो बिराए परिवार सधैंका लागि विछोडिन्थ्यो । जङ्गली जीवजन्तुको भय पनि उस्तै थियो ।

फेरि भेट होला कि नहोला ठानेर उनी हुरीझैं हुर्रिए । परिवारलाई दण्डाकर्ण पुर्‍याए । आठ महिनापछि फर्किएर पुरानै थलोमा आए ।

सन् १९७२ को आदिदेखि १९७४ को अन्त्यसम्मको कालखण्ड उनी फर्किएर हेर्न चाहँदैनन् । मिल्थ्यो भने जिन्दगीरूपी किताबबाट उनी ती पाना सुटुक्क च्यातिदिन्थे । समयको बाटोमा देखिने आफ्ना पैतालाका डोबहरू, आफ्नै अनुहारको बिम्ब–प्रतिबिम्ब धूलोले छोपिदिन्थे ।

समयको त्यही पाटोमा हो उनी ‘लुटेरा’ बनेको । चोरी–डकैती गर्दै हिँडेको । अहिले उनी पथभ्रष्ट रत्नाकरको परिचय मेटाएर वाल्मिकीको बाटोमा आइपुगेका छन् ।

कहिलेकाहीँ आफ्नो इतिहासको पाना आफैंले पल्टाउनुपर्छ । घरीघरी पढ्नुपर्छ । सुनाउनु पनि पर्छ । ती पानाहरूमा रत्नाकरको परिचय देख्दा मुटुमा सुल उठ्छ । र, ऐँठन भइरहन्छ ।

विभाजन, विभेद र उत्पीडनमा टाक्सिँदै आएकाले समाज–सत्ताप्रति प्रश्न थिए । विभाजनको रेखा मेटाउने ल्याकत उनीसँग थिएन । उनी जन्मनुभन्दा पहिल्यै देशले विभाजनको मार खेप्यो । विभेद र दमनको साङ्लो तोड्न सक्थे । प्रयत्न गरे । लक्ष्यमा बीच बाटोमा नपुग्दै दुर्घटनामा पर्‍यो । 

यी सबैले उनलाई लुटपाटमै संलग्न नगराउनुपर्ने हो ! तर नियति परचक्री बनिदियो ।

सन् १९७४ मा उनी प्रहरी हिरासतमा पुगे । बम आक्रमण, कुटपिट, ज्यान मार्ने उद्योगलगायत चारवटा अभियोग उनीमाथि लगाइयो । भारतको संविधानको धारा (आर्टिकल १ सय ४८, १ सय ४९, ३ सय ७, तीन प्लस पाँच) विपरीतको काम गरेको प्रहरीले दाबी गरेको थियो ।

मुद्दा दर्ता त भयो, तर चार सिट फाइल भएन । २६ महिना जेलको बास भयो । अन्नततः मुद्दा नचली रिहा भए ।

रगत दान गरे २० दिन जेल छुट !

मनोरञ्जनको उपन्यासमा एक ब्याण्डेज बाँधेको चरित्र छ । उद्वेलित हुँदै उनी त्यो चरित्रको गर्भतिर प्रविष्ट हुन्छन् ।

दुई डाँकाले सुन पसलमा डकैत गरे  । वैध, अवैध दुवै सुन लुटपाट गरे । कानुनी झमेलाबाट बच्न पसलेले वैध सुनमात्रै प्रहरीलाई टिपायो ।

सुन लुट्न सिद्धहस्त लुटेराले लुटेको अवैध सुन खाल्डो खनेर पहिल्यै लुकाएका थिए । प्रहरीबाट पक्राउ पर्न भने जोगिएनन् । पक्राउ गरेपछि वैध सुनमात्रै फिर्ता गरे । अवैध सुनबारे प्रहरीले सुइँको पनि पाएन ।
मुद्दा छिनोफानो भयो । लुटेरालाई दस–दस वर्ष जेल सजायँ तोकियो ।

लुटेरामध्ये एउटा अझ चलाख रहेछ । जेलका कैदी–बन्दीले अस्पतालमा गएर रक्तदान गर्न सक्ने व्यवस्था थियो । बेलाबेला जेलर रक्तदान गरेर पुण्य कमाउन भनी पनि रहन्थ्यो । शारीरिक रूपमा स्वस्थले रगत दान गर्न कुनै बाधा थिएन ।

चलाख लुटेराले सुइँको पायो । चुपचाप अस्पताल पुगेर रक्तदान गरेर आयो ।

धर्म–पुण्य कमाउनका लागि, कसैको ज्यान बचाउनका लागि उसले रगत दान गरिरहेको थिएन । त्यसको गुह्य अर्कै थियो ।

रक्तदान गरेवापत् २० दिन कैद सजाय छुट हुने रहेछ । दुईपटक दिए ४२ दिन, ३ पटक दिए ६४ दिन । एवम्रितले बोनसमा दिन थपिँदै जान्थ्यो ।

साथीभन्दा पहिल्यै जेलबाट छुटेर ‘गाडसुन’ आफ्नो बनाउने उसको ध्याउन्न रहेछ ।

अर्को साथी लुटेरालाई थाहा भइहाल्यो । मनमुटाव भयो, “मलाई किन थाहा दिइनस् ? म पनि रक्तदान गर्न जान्थेँ । सँगै जेल बसाइ छुट हुन्थ्यो ।”

उसले सोच्यो– “म पनि रगत दिएर जेल बसाइ २० दिन त छोट्याउँला । तर पनि ऊभन्दा २० दिन नै पछि पर्ने नै भएँ ।”

त्यसपछि उसको मनमा पाप पैदा भयो ।

केही दिन व्यतीत भएको हुँदो हो । बिहानको खाजा खाने समयमा ती दुई बन्दी (लुटेरा) नोलमा दुईतिर ठूल्ठूला कराही बोकेर सिँढी चढ्दै थिए । कराहीमा भकभकी उम्लिएको झोलिलो पदार्थ थियो । 

रक्तदान गर्ने कैदी पछाडि, अर्कोचाहिँ अगाडि थियो । चार–पाँच खुट्किला सिँढी चढेपछि माथिको कैदीले काँधको नोल छाडिदियो । तातो पववान् पछाडिको कैदीको टाउकाबाटै ओइरियो । एकैछिनमा पाउसम्मै पुग्यो । भुङ्ग्रोमा परेको माझाझैं फट्फटियो । कुद्दै गएर तलाउमा हामफाल्यो । त्यतिबेलासम्म शरीरको छाला ताछेको आलुजसरी खुइलिइसकेको थियो । सफेद देखिएको थियो ।
ठूलो चिच्याहट छायो । कैदीबीच हाहाकार मच्चियो । 

प्रशासनले अस्पताल पुर्‍यायो । पूरै शरीर ब्याँडेज बेरिएको थियो । तर घाउ गहिरिन रोकिएन । त्यही रात उसको निधन भयो ।

आँखै अगाडि बाफिलो पबवान् शरीरबाट ओइरिएको देखेका कैदी कयौं रातसम्म निदाउन सकेनन् । मनोरञ्जन पनि सकेनन् । भूत बनेर तर्साउँछ भन्ने भ्रम व्याप्त भयो । रातको समय कैदी ओहोरदोहोर गर्थे । च्यादर ओढेको आफ्नै साथी देखे भने पनि कैदी भयले थरहरी हुन्थे । यो क्रम कयौं दिनसम्म कायम रह्यो ।

जेलको मध्यभागमा खाना पकाउनका लागि चौका गाडिएको थियो । त्यसको माथिल्लोपट्टि धेरै महिनासम्म भूतका लागि भनेर खाना छुट्टयाइयो । कुनै जीवजन्तुले खाना खाइदिँदो हो । तर कैदी भूत तृप्त भयो भनेर पुलकित हुन्थे ।

“शरीर पो मुक्त भयो । आत्म बन्दी नै छ भनेर खाना राख्न जबर्जस्ती गर्थे,” उनी अहिले पनि अचम्भित हुन्छन् ।

पढाइको प्यास !
जेल, जेलजस्तो थिएन । मृत्युशाला प्रतीत हुन्थ्यो । बाटो बिराएर जेल पुगेका थिए । अझ आफ्नै आदत शत्रु बन्यो भनौं न ।

जेलमा छँदा उनी तरकारी काट्ने, बोरा बोक्नेजस्ता ‘फाल्तु’ काम गर्थे । जसको कुनै ‘मूल्य’ थिएन ।

एउटा २४ वर्षे पट्ठो । जेलमा भारी बोकेर ओहोरदोहोर गरेको देखेपछि जेलको नाइके (जसलाई उनी गुरु भनेर सम्बोधन गर्छन्)ले एक दिन मनोरञ्जनलाई बोलाएर भन्यो, “उमेरमै जेल परिस् । तँमाथि चारवटा गम्भीर प्रकृतिको मुद्दा छन । उमेर कैद भुक्तान गर्नुपर्ने हुनसक्छ । पढ् !”

मनोरञ्जनले वास्ता गर्न उचित ठानेनन् । आफ्नै कामतिरै फर्किए ।

अर्कोदिन, उनी औषधि किन्न कम्पाउन्डभित्रकै फार्मेसीमा गएका थिए । जेलको अर्को कुनामा एकजना दुब्लो, निन्याउरो युवक लुगा धोइरहेका रहेछन् । २०–२१ सालको युवक हेर्दा सम्भ्रान्त परिवारको देखिन्थ्यो ।

उनले आश्चर्यपूर्व सोधे, “कसरी यहाँ आइपुग्यौ ?”

युवकले आर्त स्वरमा बोल्यो, “मलाई मेरी आमाले नै यहाँ ल्याउनुभयो । उहाँलाई लाग्छ कि, मेरो दिमागी हालत ठीक छैन ।”

“आफ्नै आमा छोराप्रति यति निर्दयी हुन सक्छिन् ? दिमाग ठीक अवस्थामा छैन भनेर जेल पठाउन सक्छिन् ?” उनी आफ्नै प्रश्नले रन्थनिए ।

उनले यही प्रश्न गुरुसँग गरे । गुरुको उत्तर पनि त्यही थियो, “युवकलाई उनकै आमाले जेलको बाटो देखाएकी थिइन् ।”

त्यो घटनापछि उनी निकै दिन बिथोलिए । मस्तिष्क दंश भइरह्यो ।

निकै विह्वल अवस्थामा देखेर जेलका गुरुले उनलाई दोहोर्‍याएर भने, “लेखाइ–पढाइ सिक् । नत्र तैंले पनि जिन्दगीमा धेरै दुःख पाउनेवाला छस् ।”

२४ वर्ष उमेर भइसकेको थियो । एकमनले सोचे– “यो उमेरमा लेखपढ् सिक्नू !”

अर्को मनले उत्तर दियो, “मान्छेको पो उमेर होला, लेखाइपढाइको कुनै उमेर हुँदैन ।”

लेखपढ सिके कष्टकर जेलजीवनबाट त्राण पाइएला भन्ने क्षोभ पनि प्रकट भयो मनोरञ्जनलाई । भुइँको धूलोमा बङ्गाली वर्णमालाको बिस्कुन लगाउन थाले । अक्षरको धर्सा कोर्दै आफैं पुलकित हुँदै गर्न थाले ।

जेलको वातावरण भयग्रस्त थियो । कैदीहरूबीच कुनै भावनात्मक साइनो थिएन । एकै सिरान गरेर सुते पनि उनीहरूबीच कतिबेला शत्रुता, कटूता प्रकट हुन्थ्यो भन्नै सकिँदैनथ्यो ।

दिन मारपिट, झैझगडाबाट सुरु हुन्थ्यो, रुवाबासी, रक्तमुच्छेलमा अन्त्य हुन्थ्यो । यातना र प्रताडनाबाट दिमागी अवस्था खज्मजिएकाले चक्कु, छुरी पनि चलाउँथे । ज्यानै लिन्थे ।

कैदीले एउटा थाली पाउँथे । त्यसमै दिसा–पिसाव गर्नुपर्ने, त्यही पखालेर खानुपर्ने, नर्कभन्दा पर थिएन जीवन, वरै थियो । 

सयभन्दा बढी बन्दी, पानी पिउनका लागि एकै नल थियो । कल–झगडाको बिउ पनि यही बन्थ्यो । बन्दीमध्ये कोही कर्तव्य ज्यान मुद्दाका हुन्थे । उनीहरूको रवाफ बेग्लै । जेलमा ओहोरदोहोर गर्दा पनि मान्छे मारुँलाझैं गर्थे । उनीहरूमाथि सीधा नजर पनि कसैको पर्नु हुँदैनथ्यो ।

तर मनोरञ्जन यसको विपरित थिए । हमेसा भुइँको धूलामा अक्षर खोजिरहन्थे । 

जेलको अँध्यारोमा अक्षरको बाटो खोजिरहेको देखेर प्रहरी अधिकारी धेरै दिन आश्चर्यमा परेछन् । एकदिन बोलाएरै भने, “भुइँमा औंलाले होइन खरीले लेख् ! तेरो लेखनमा धेरथोर मेरो पनि योगदान रहनेछ ।”
खरी पाएपछि उनले कोठा–भित्ता जता पनि कोरेर अक्षर लेख्न सिके ।

कैदीहरू बेलाबखत अस्पताल पुगेर रक्तदान गर्थे । रक्तदान गरेवापत् कोहीले सजाय छुट लिन्थे । पुपक्र्षका लागि जेलमा रहेकाहरूलेचाहिँ २० रुपैयाँ बुझ्थे । कैदीहरूले सीधै पैसा पाउँदैनथे । जेलको द्वारमा बहिखाता हुन्थ्यो । बन्दीहरूले चुरोट, बिँडीलगायत आवश्यक सरसामान किन्थे । पैसा कट्टा हुँदै जान्थ्यो ।

मनोरञ्जनले कापी र कलम किन्न खोजे । तर जेलरले इन्कार गर्‍यो । भन्यो– “पुपक्र्षका लागि जेल चलान भएकालाई दिन मिल्दैन । राजबन्दी र सजाय अवधि तोकिएकाले मात्रै कागज किन्न पाउँछन् ।”

उनको पढ्ने इच्छामा जेलरले चिसोपानी खन्याइदियो । रुँदै बाहिरिए । तिनै प्रहरी अधिकारी, जसले उनलाई खरी दिएका थिए । उनले देखेछन् । दगुर्दै सोध्न आए– “के भो बाबु ? किन दुःखी छौ ?”
मनोरञ्जनले निरीह हुँदै सुनाए– “लेख्न कागज देऊ भनेको, जेलरले हुँदैन भन्यो !”

उनले तुरुन्तै जेलरलाई गएर सम्झाए– “यो भाइ यो उमेरमा पढ्न लेख्न चाहन्छ । फेरि हामीले जेलको नाम संशोधन गरेर सुधार गृह बनाउँदौ छौं । त्यसका लागि त बन्दीको व्यवहार सुधार्नु परेन ?”

“कहाँ हुन्छ ? उसले नक्सलबादीलाई कागज दियो भने ? नक्सलबादीले चिट्ठी, पत्र, दस्तावेज लेख्यो भने ? नक्सलबादीलाई कडा गर्नु भन्ने आदेश छ !” ऊ आफ्नो तर्कमा डेग चलेन ।

“जेलको छाप लगाएर कागज देऊ । बेलुका उसले फिर्ता गर्नेछ । दिनहुँ यसै गर,” प्रहरी अधिकारीले उपाय बताइदिए ।

धेरै गलफत्तिपछि जेलर राजी भयो । उसले डेपुटी जेलरलाई अह्रायो, “यसलाई दिनहुँ छाप लगाएर काजग देऊ । साथका कलम पनि देऊ । बेलुका यसले फिर्ता गर्छ । गरेन भने कानुनी कारवाही गर्नु !”

मनोरञ्जनको पढ्ने अभिलाषाका सामुन्ने जेलर पनि नतमस्त भयो ।

तिनै कागजमा उनले अक्षर डोर्‍याउन सिके । तिनै अक्षरले उनलाई जीवन निष्पट्टताबाट जुनेली राततिर डोर्‍यायो । अझ भनौं न, आफ्नै रगत जीवनलाई बाटो देखाउने ‘मसी’ बन्यो । अक्षरको दसी बन्यो ।

सन् १९७७ को अन्ततिर उनी जेल रिहा भए । जेलबाट निस्कँदा निरक्षर आँखा दूर त भइसकेको थियो । तर आगतको टुङ्गो थिएन । 

फर्किएर परिवारकै शरणमा जाउँ, गरिबीसँगमात्रै पौंठेजोरी खेल्नुपर्छ ।

धेरै सोचविचार गरेपछि रिक्सासँगै जिन्दगी धकेल्न थाले ।

उनलाई थाहा थियो– अब रिक्साको पाउदानी ठेलेरमात्रै जिन्दगी धकेलिनेवाला छैन । किताबका उत्तिकै आँखा दौडाउनुपर्छ । कापीमा उत्तिकै कलम दौडाउनुपर्छ ।

तिनताका रेल्वे स्टेसनमा किताब फेला पर्थे । न्यून बंगाली, अधिक अंग्रेजी भाषाका किताबको उरुङ हुन्थ्यो । उनकै शब्दमा भन्नुपर्दा ती कुनै ‘काम’का थिएनन् । जिन्दगी बदल्नेवाला दिएनन् । बरु अन्योल पार्नेवाला थिए ।

“सही किताबले मात्रै सही गन्तव्यमा पुर्‍याउँछ,” अहिले पनि उनी यही मान्यतामा अडिएका छन् ।

जादवपुरमै एउटा पत्रिका पसल थियो । केही पठनीय कृति पाइन्थ्यो । त्यहाँबाट उनले केही पुस्तक ल्याए । कोही यात्रु पाइए गन्तव्यमा पुर्‍याइदिन्थे । नभए त्यही रिक्सामा टाङ् अड्याएर पुस्तक पढ्न थाले । रिक्सा नै पाठशाला प्रतीत भयो ।

सन् १९८० को उत्तराद्र्धतिर हुनुपर्छ । सम्झना धमिल्लिइसक्यो सायद । उनको रिक्सामा एकजना पढेलेखेकी महिला यात्रु आइपुगिन् । उनले जादवपुरकै कुनै ठाउँमा पुर्‍याउन अह्राइन ।

उनले खुरुखुरु पाउदानी घुमाउन थाले । तर उनको दिमाग एउटा शब्दमा अल्झिइरहेको थियो– जिजीविषा ।

संस्कृत भाषाकोजस्तो लाग्ने शब्दले उनको दिमाग कयौंदिनदेखि रन्थन्याएको थियो । 

कुनै नौला शब्द किताबमा फेला परे भने उनले रेल्वे स्टेसनमा भेटिने जो कोही बटुवाहरूलाई सोधेर अर्थ बुझ्ने प्रयास गर्थे । अल्मलिएर बस्दैनथे । तर त्यो शब्दको उत्तर दिनेवाला जान्ने कोही फेला पर्न सकेनन् ।

मनोरञ्जनले ती महिलालाई सोधे– “जीजिविषाको अर्थ थाहा छ तपाईंलाई ?”

अहो ! ती महिलाले सहजै भनिदिन– “बाँच्ने इच्छा; बाँचिरहने चाहना ।”

उत्तर दिनअघि ती महिलाको आँखा आश्चर्यमा परेको उनले देखेका थिए ।

उनको दिमागले होइन, त्यो परिघटनाले उनको जिन्दगीले नै निकास पायो ।

जुन किताबमा उनले ‘जीविविषा’ शब्द फेला पारेका थिए, त्यही किताबकी लेखिका नै उनको सामुन्नेमा रहिछन् ।

महाश्वेता देवी (सन् १९२६ जनवरी १४– २८ जुलाइ २०१६) मूर्धन्य स्रष्टा थिइन् । आधा घण्टा– ४५ मिनेटको त्यो भेट मनोरञ्जनलाई रिक्साचालकबाट लेखकतिर डोर्‍याउन मनग्गे भयो ।

“तपाईं के भन्नुहुन्छ, महाश्वेता देवी होइन मैले साक्षात् सरस्वती भेटेको थिएँ,” त्यो क्षण सम्झिएर मनोरञ्जन व्यापारी अहिले पनि विभोर हुन्छन् ।

महाश्वेता देवीकै सान्निध्य पाएकाले त्यही साल ‘वर्तिका’ पत्रिका (जर्नल)मा उनको ‘रिक्सा चलाइ’ शीर्षकको प्रबन्ध छापियो । अब उनी रिक्सा चालकमात्र रहेनन् । फुटकर लेखकको परिचय गाँसियो ।

सन् २००० मा मनोरञ्जनको पहिलो कृति प्रकाशित भयो, ‘वृत्तेर शेष पर्व’ । ‘वृत्तेर शेष पर्व’ मा २४ कथा सङ्ग्रहित छन् । कथाका चरित्र आफैंले समाजमा देखेभोगेका पात्र हुन् । 

“म पहिला निरक्षर थिए । २४ वर्षको उमेरमा साक्षर भएँ । चौबीसै कथा–कहानी लेख्न सके । जीवनको एक वृत्ताकार परिधि निर्माण गर्‍यो,” माछापुच्छ«ेको शिरमा आँखा पुर्‍याएर मुसुक्क हाँस्छन्, मनोरञ्जन ।

लेखनको १९ वर्षे दौरानमा उनले १७ कृति सिर्जना गरेका छन् । ४ कथा सङ्ग्रह । १ आत्मवृत्तान्त । १२ उपन्यास । तर पनि समाजले उनलाई लेखकका रूपमा पचाइसकेको छैन । लेखका रूपमा उनको छवि देश–दुनियाँ फराकिलो त हुँदैछ । तर दलितहरू झन्झन् दमन र उत्पीडनको माखेसाङ्लो झेलिरहेका छन् ।

“दलितसँगै दलित साहित्य पनि उत्तिकै उत्पीडनको सिकार भएको छ,” उनी हमेसा सुनाउँछन् ।

आफ्नो लेखनले दलितमाथिको पुस्ता–दरपुस्तादेखिको दमन पन्छाउन नसकेकोमा ठूलो ग्लानी पनि उनलाई । 

आफ्नै साहित्यको विमर्शमा आफैं पस्न नपाएको क्षण
समय उनलाई ठ्याक्कै याद छैन । जादवपुर विश्वविद्यालयमा दलित साहित्यको गोष्ठी हुँदैरहेछ । मनोरञ्जनलाई कसैले फोन गरेर जानकारी गरायो । फोन गर्ने सायन्तन दास गुप्ता नामका व्यक्ति थिए, उनी ठक्याक्कै यही हो भने पनि भन्न सक्दैनन् ।

गोष्ठीमा दलित साहित्यबारे कार्यपत्र प्रस्तुत हुँदैरहेछ । कार्यपत्र मनोरञ्जनद्वारा सिर्जित दलित साहित्यमाथि नै तयार पारिएको रहेछ ।

आयोजकमध्ये कसैले फोन गरेका रहेछन् । उनले सोधे– “तपाईंको लेखोटलाई नै आधार बनाएर कार्यपत्र प्रस्तुत हुँदैछ । तपाईंलाई निम्तो छ ?”

मनोरञ्जन आश्चर्यमा परे । तत्कालै जवाफ फर्काए, “छैन ।”

मनोरञ्जनले सोधे– “तपार्ईं जानुहुन्छ ?”

उनले भने– “जान्छु ।”

“उसो भए म पनि जान्छु,” मनोरञ्जनले पनि इच्छा व्यक्त गरे ।

भन्न लागे, कार्यपत्र अङ्ग्रेजीमा प्रस्तुत हुन्छ । तपाईं अङ्ग्रेजी बुझ्नुहुन्न । केलाई जानुहुन्छ ?

मनोरञ्जनको मनले मानेन । अङ्ग्रेजी नबुझेर के भयो त ? सहभागीको भावभङ्गिमा त बुझिन्छ । कत्तिको ताली बज्छ, त्यो त थाहा हुन्छ । उनी सरासर विश्वविद्यालयतिर लागे ।

अफसोस ! मूलढोकामा खडा रहेको पालेले गेटमै रोक्यो । सोध्यो– “निम्तोपत्र छ ?”

उनी किंकर्तव्यविमूढ देखिए । जवाफ फर्काए– “छैन ।”

उनी विश्वविद्यालयको सामुन्नेमै रिक्सा चलाउँथे । रक्सी खाएर कयौंपटक झैझगडा गरेका थिए । रक्तमुच्छेल हुनेगरी कुटपिट गरेका थिए । द्वारपालेमात्रै होइन सारा दोकानदार मनोरञ्जनको हर्कतबारे परिचित थिए ।

आजित पनि थिए ।

तर उनी सुध्रिएर लेखनमा बाटो मोडिसकेको बारे कोही जानकार थिएनन् ।

“यो त पियक्कड हो । भित्र गएर के गर्छ ? मारपिट गर्छ, चक्कु–छुरा चलाउँछ,” द्वारपालले जानै दिएन ।

उनले भित्र रहेका आयोजकलाई फोन दबाए । आयोजकमध्येका एकजना हुर्रिंदै बाहिर आए । 

उनले भने, “उहाँको दिग्गज लेखक हो, जान दिनूहोस् ! उहाँकै लेखमाथि परिचर्चा हुँदैछ ।”

“अहो ! यो मान्छे रक्स्याहाबाट कतिबेला लेखक भयो ?” द्वारपालले केही सोच्न सकेनन् ।

इपीडब्ल्यू (इकनोकोमिक पोष्ट विक्ली)मा मनोरञ्जनको निबन्ध छापिएको थियो । निबन्ध कोलकाता क्षेत्रमा दलितको सामाजिक विषमतामा केन्द्रित थियो ।

आयोजकका तर्फबाट जयदेव शरङ्गीले अङ्ग्रेजीमा सम्भाषण सुरु गरे । उनले तीन शब्दबाहेक बुझेनन् । पहिलो इपीडब्ल्यू जहाँ उनको लेख छापिएको थियो । दोस्रो, मनोरञ्जन व्यापारी, जो उनी आफैं थिए । तेस्रो, मीनाक्षी मुखर्जी, जसले उनको लेख अनुदित गरेकी थिइन् ।

शरङ्गी भाषण सकेर मञ्चबाट अवतरित भए । मनोरञ्जनले बीचमै समातेर भने, “तपाईंले चर्चा गरेको लेखक व्यापारी मै हुँ ।”

शरङ्गीले पत्याएनन् । मुख बिगार्दै भने, “अहो ! तपाईं नै हो र ? मिनाक्षीजीले अनुवाद गरेको लेखोटका सर्जक ?”

“हो मै हुँ,” उनले दृढ भएर जवाफ फर्काए ।

त्यसपछिमात्रै उनलाई मञ्चमा आसन मिल्यो ।

उपसंहार
अघिल्लो दिन दिनभरि झरीले चुटेको पोखरा त्यसदिन केही खुलेको थियो । अरू हिमशृङ्खला कुहिरोभित्र हराए पनि माछापुच्छ्रेको थाप्लो केही खुलेको थियो । 

नेपाल लिटरेचर फेस्टिभलको आठौं संस्करणको पाहुना बनेर आएका मनोरञ्जन व्यापारी दिन घर्कंदै जाँदा झरीले गाँजेको आकाशझैं देखिन्थे ।

दक्षिण एसियाको प्रतिष्ठित पुरस्कार डीएससीको छोटो सूचीमा परेकाले विजेता घोषणा गर्ने घडी नजिकिँदै जाँदा उनको मुटुको धड्कन ज्यादा तेज भएको हुँदो हो ।

उमेर घर्कंदै जाँदा रिक्सासँगको उनको नाता टुटिसकेको छ । आँखाहरू धमिलो हुँदै गएका छन् । एउटा निजी स्कुलको चमेनागृहमा काम गर्छन् । करारअवधि सकिन एकवर्षमात्रै बाँकी छ । 

लेखकीय छवि त उदात्त हुँदैछ । तर त्यसले मात्रै खान पुग्ने होइन रहेछ । छोराको तीन हजार वेतन र आफ्नो चार हजार वेतनले मुस्किलले महिना चलाउन पुग्छ ।

अघिल्लो वर्ष पुस्तकको रोयल्टीवापत् पाएको रकमले घरकुटी त थपथाप गरे तर अभाव डेरा सरिसकेको छैन ।

“अहिले म नेपालकै सुन्दर सहर पोखरामा छु र आफ्नो जिन्दगीको कुरुप कथा भनिरहेको छु । घरमा मेरो एक महिनालाई मात्रै पुग्ने रासन बाँकी छ । थाहा छैन, त्यसपछि मेरो के हाल हुन्छ ? ‘देयर इ दि गनपाउडर इन दि एअर’ ले पुरस्कार जित्यो भने जिन्दगी अरू दुईचार महिना धकेलिँदो हो कि ?” यत्ति भनेर उनी भावुक भए ।

विडम्बना अरूणभ सिन्हाले अंग्रेजीमा अनुदित गरेको उनको कृति ‘देयर इज दि गनपाउडर इन दि एअर’ अथात् बतासमा बारुदको गन्धले यस वर्षको डीएससी पुरस्कार हात पारेन ।

डीएससी हात नलागे पनि नेपाली पाठकको मनग्ये माया पाएर उनी कोलकाता फर्किए । पोखरामा प्राप्त गरेको पाठकीय ऊर्जाले विभेद र उत्पीडविरुद्ध लड्न आमृत्यु बल प्रदान गरिरहनेछ !

आवरण तस्विर : स्क्रोल डट इन

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro