बाह्य हस्तक्षेप र दलहरूबीच उत्पन्न मतभेदले मुलुक संकटग्रस्त बन्दै गएको बेला संकटको समाधान नै एकथरीले ‘निर्वाचन’ र अर्कोथरीले ‘संविधान संशोधन’ अनिमात्र निर्वाचनमा देखेका छन् । यस परिवेशमा चुनाव नगर शीर्षक राजनीतिक परिवेश र चुनाव कुरेर बसेकालाई पक्कै मन नपर्ला । तर, धेरैलाई मन पर्ने नै सत्य र हितकारी हुन्छ भन्ने हुँदैन ।
सन्तहरूका वाणीमा देश, परिवेश र आफैँसंग मेलखाने धेरै प्रसंग जोडिएर आएका हुन्छन् | गहिराइमा पुगेर चिन्तन गर्ने हो भने ती संयोग नभएर यथार्थ नै हुन्छन् | ओशोले एक प्रसंगमा भनेका रहेछन् __- चुनाव नगर | उनको इसारा हो - कुनै पनि विषयमा चुनावद्वारा निकालिएको निर्क्योल सत्य र सही नहुन पनि सक्छ | चुनाव अंकको खेल हो तर जीवन गणितका आधारमा जिउन सकिँदैन । प्राकृतिकरूपमा जन्मेको, हुर्केको, प्रेम पाएको, प्रेम दिन जानेको मानिसले गणितको सहारा लिएर जितहारमा जान खोज्नु प्राकृतिक होइन भन्छन् ओसो । यसै प्रसंगबाट प्रेरित भएर चर्चाको शिर्षक चुनाव नगर राखिएको हो । अहिलेसम्म नेतृत्व हामीले नै चुनेर पठाएका हौँ । हेरौँ त चुनावका परिणाम सही निस्के कि गलत त ?
ओशो भन्छन् - "कुनै चुनाव नगर | जीवन र जगतलाई प्राकृतिकरूपमा चल्न देऊ | जीवन र जगतलाई यसको समग्रतामा प्रष्फुटन हुन देऊ |" ओशोका अनुसार व्यक्तिले जति प्रतिस्पर्धा गरेर चुनाव जिते पनि र शक्ति हत्याए पनि खुसी र आनन्दित हुन सक्तैन । किनभने खुशी र आनन्द आफ्नै स्वभावमा रहँदा प्राप्त हुने हो | आफैँलाई जान्नु र आफ्नै स्वभावमा रमाउनु, अनि होस, ध्यान र प्रेमको मार्गमा चल्नु नै आनन्दको मार्ग हो | चुनाव जितेर पनि पुग्न चाहेको त्यहीँ हो पुर्याउन चाहेको त्यहीँ हो जहाँ सुख र आनन्दको अनुभूति मिलोस् | आफूलाई मिलोस् र अरूलाई पनि मिलोस् |
सन्त वाणी बुझ्न कठिन हुन्छ । राजनीतिलाई परिवर्तनको माध्यम मान्नेहरूले सजिलै विश्वास गर्न सक्दैनन् | तर, हामीले हाम्रै देशको इतिहास र विश्वको इतिहास हेर्दा पनि त्यो राष्ट्रको स्थिरता र शान्ति राजनीतिक या आर्थिक परिवर्तनले आएको भेटिँदैन । बरु त्यस देशका राजनीतिक नेतृत्व र त्यहाँका जनताको मानवीय स्वभावमा आएको परिवर्तनले सबै किसिमका विकासमा मद्दत पुगेको उदाहरण भेटिन्छ |
सच्चा राजनीतिले त मानवीय प्रशन्नता बढाउँछ | हाम्रो राजनीतिक परिपाटी र हाम्रा राजनेताले जनतालाई प्रशन्न पार्ने काम गर्न कति सफल भए त ? स्थानीय निकायको चुनाव २० वर्षदेखि नभएको कारण विकासमा बाधा पुगिरहेको र देशले निकास नपाएको धारणा राख्दा हामीले बिर्स्यौं १५ वर्ष अगाडिसम्म स्थानीय निकायमा जनप्रतिनिधि रहँदा के कस्ता विकास भएका थिए त ? फेरि पनि स्थानीय तहको चुनावको मिति घोषणा सँगै सडक तात्न थालेका छन् |
तराईमा आन्दोललगायत व्यवधानका अनेकौं उपाय निकालिँदै छन् | खोइ के गरेर विकास हुने हो ? चुनाव समाधान हो त ? समाधान त्यतिबेला निस्कन्छ जब धर्तीलाई, देशलाई, स्वयंलाई शान्त,स् थिर, प्रशन्न, सकारात्मक र सुखी राख्न प्राकृतिकरूपमा चल्न दिइन्छ | जुन बेला जेको खाँचो हुन्छ प्राकृतिकरूपमै त्यसको उपाय आफैँ निस्कन्छ | स्वयंको प्रति प्रेम, प्रकृति प्रेम, आत्मज्ञान र आत्मानन्दको अनुभूति गर्न नसक्नेले जति चुनाव गराए पनि न देशले निकास पाउँछ न स्वयंले मोक्ष |
विस्टन चर्चिल भन्छन् -"राजनेतामा देशमा विकासका सकारात्मक परिवर्तन यो यो कारणले यति समयमा हुन सक्छ भन्ने खुबी हुनुपर्छ र बोलेको कुरा सम्भव हुन नसकेमा के के कारणले असफल भइयो भन्ने खुलाउन सक्ने पनि हुनुपर्छ | बोल्नमा हाम्रा राजनेता जति सीपालु छन् विकास किन हुन सकेन, बाधक तत्व के हो, समाधानका उपाय के भनेर पत्ता लगाउने र थाहा भए पनि खुलस्त गर्ने खनि त्यसअनुसार अगाडि बढ्ने हिम्मत गरेको भेटिएन | किनभने त्यो हिम्मतका लागि निःस्वार्थ भाव आवश्यक हुन्छ | निःस्वार्थी राजनेताको अभाव नै मुलुकको दुरवस्थाको कारण हो |
परिवर्तन ल्याउन क्रान्ति जरुरी हुन्छ तर त्यो चुनावी मत र मतान्तरको होइन ध्यान, होस र प्रेमजस्ता गुनले सम्पन्न आध्यात्मिक क्रान्ति जरुरी हुन्छ | किनभने ध्यान, होस र प्रेमविना स्वयंको मनस्थिति परिवर्तन हुँदैन | मनस्थिति परिवर्तन नभएसम्म परिस्थिति सुध्रिदैन । व्यक्तिले गर्ने राजनीति (उच्च तहको निति ) मा होस, प्रेम र ध्यानको जरुरत पर्दैन ? राजनीति आफैँमा एउटा अस्तित्त्वगत चेतना हो जसको उद्देश्य सकारात्मक परिवर्तन, शान्ति र स्थिरता कायम गर्नु हो | विडम्बना, हामीले हाम्रो देशमा उल्टो गुणहरूको सामना गरिरहेका छौँ |
राजनीतिकै कारण दिन प्रतिदिन दुःख, कष्ट, अस्थिरता, अराजकता, अपराध र भ्रष्टाचार बढ्दै गएका छन् | कतिपय अवस्थामा त राजनेताबाट पाउने आश्वासन र झुटा वाचाले जनतामा आत्मसम्मान नष्ट भएको अनुभूति हुनेगर्छ | राजनीति झुटको खेती भएर प्रस्तुत भएको छ |सीप, ज्ञान र दक्षताविनाको राजनीतिले केही गर्न नसकिने पुष्टि नै भइसकेको छ | किनभने सीप, ज्ञान र दक्षता त होस, प्रेम र ध्यानको प्रतिफल हो | चुनावका बेला राजनीतिक दलका घोषणापत्रमा लेखिएका हुन्छन् - हामी यो गर्छौं, त्यो गर्छौं, देशमा परिवर्तन ल्याउछौँ | तर हुनेवाला केही हैन, केही देखिएन |
राजनीति अरूमा दोष देख्ने, अरूमाथि विजय हासिल गर्ने र अरूलाई बदल्ने प्रयासको विषय बनिरहेको छ | होस, प्रेम, ध्यान र जीवन रूपान्तरणको विषय समेटिन नसकेको कारण नै देश विकास र जीवन विकासको नयाँ आयाम बन्नसकेको छैन राजनीति | चुनाव हाम्रो जीवनका हरेक क्रियाकलापमा कहाँ छुटेका छन् र ? हाम्रो सम्बन्धमा कुन सम्बन्धले फाइदा दिन्छ, कोसँग नजिकिनु ठीक छ, को आफ्नो लागि काममा आउनेवाला छ चुनाव गरेरै त सम्बन्ध अगाडि बढेको हुन्छ प्रत्येकको जीवनमा | हाम्रा कर्म, कुन कर्मले आत्मिक सन्तुष्टिभन्दा भौतिक सुख र भौतिक सम्पन्नता दिन्छ त्यही रोजेको भेटिन्छ |
प्रेम कोसँग गर्ने, कसलाई गर्ने, मलाई के फाइदा हुन्छ त्यहीअनुसार चुनाव गरेर प्रेम गर्छ मानिस | विनाकारण, अकारण प्रेमको कला जानिएकै छैन | प्रेमलाई जीवन जिउने कला र जीवन रूपान्तरणको माध्यम बनाउने कला सिक्नै बाँकी छ | हाम्रा सबै कर्म, सम्बन्ध र कलामा होस, ध्यान र प्रेमको सुगन्ध भएको भए चुनावको जरुरतै किन पर्थ्यो र ? सत्यमा जीवन जिउने र सत्यको मार्गमा हिँड्ने राजनेता देशले पाएको भए सकारात्मक परिवर्तन देखिन्थ्यो र चुनावको सार्थकता रहन्थ्यो होला |
विडम्बना, सही नेतृत्व पाउन सकेन राष्ट्रले जति चुनाव गरे पनि | जति दलगत विचारधारा र मान्यता बोकेर हिँडे पनि सन्तुष्ट र जनहितको काम गर्न नसकेकोमा पछुताउने नेतृत्वगणको कमी छैन | प्रकट गर्दैनन् बाहिर भित्र सबैसँग त्यही अनुभूति छ । किनभने जनताका लागि केही गर्न नसकेको र दलगत भाषण र आदर्श छाट्दै हिँडेको तथ्य आफैँसंग छ प्रत्येक नेतृत्व तहसँग |
चुनाव मिति घोषणा हुनासाथ युवा देखि बृद्धसम्म अब के घोषणापत्र लिएर, के आश्वासन लिएर जनता सामु मत माग्न आउने हुन् भन्ने बाटो हेरिरहेका छन् | तर, नोट र भोटमा बिक्ने गरेको हाम्रो नैतिकताले गर्दा नै असल र सही नेतृत्वको चयन हुन सकेन । त्यसकै परिणाम हो देशले आज भोगिरहेको स्थिति | हामीले जे कुरामा होस, प्रेम र ध्यान दियो त्यही प्राप्त हुने हो |
हामीले कुनै दल, कुनै नेता र कुनै विचारधारामा ध्यान दियौँ | त्यसकै चुनाव गर्यौं र त्यसलाई नै विकसित गरायौँ | हामीले देश र जनताप्रति ध्यानै दिएनौ, होस दिएनौ, प्रेम दिएनौ अनि विकास खोजेर कहाँ पाइन्छ ? निम रोपेर आँप फलाउने प्रयास हामी सबैले गर्यौं । त्यसकै परिणति भोगिरहेछौँ | सबैले चाहेर नै चुनाव हुँदैछ | चुनावको नतिजा हाम्रै कारणले प्राप्त हुन्छ । त्यसैले अबको चुनाव भोट र नोटको मात्र होइन जीवन रूपान्तरण र देश रूरपान्तरणको नाममा गर्ने कि ? हैन भने भो चुनाव नगरौँ ।