कविता के हो
कविता के हो
हाततिर
उठिरहेको हात
शरीरतर्फ
झुकेको आत्मा
मृत्युतिर
घुरिरहेका आँखा
के हो कविता ?
कुनै हमला
हमलापछि खुट्टा खोज्दै
रगतपच्छे जुत्ता
नायकको मौन
विदूषकको चिच्याहट
कपाल झर्दै गर्दा
देखिएको हजामको चिन्ता
एउटा सानो पात झर्दा
राष्ट्रको शोक
आखिर के हो
के हो कविता ?
मैले जहिल्यै पनि सोचेँ
मलाई रामचन्द्र शुक्लको जुँगा याद आयो
जुँगाले थिचिएको मसिनो हाँसो
हाँसोका पछाडि कविताको रहस्य
कविताको रहस्यमा
हाँस्दै गरेको जुँगा !
एउटा देहातीे कार्यकर्ताप्रति
समय–असमय
ऊ साइकल हुइँक्याउँदै आइपुग्छ
कैयौं पटक त मलाई झिँझो लाग्छ
उसको यो आगमनमा
उसको प्रश्न र उसको सूर्तीमा
बेचैन हुन्छु म
साह्रै ब्याकुल हुन्छु
उसको गलत–सलत भाषा
उसका शब्दहरूबाट झर्दै गरेको धुलो
र, उसको त्यो केशमा
जुन उसको शीरबाट पूरै उडेको छ
कैयौं पटक
उसको भूकम्पझैं लाग्ने मौन
मलाई अस्तव्यस्त गरिदिन्छ
उसको साइकलमा हावा
हमेशा नै कम हुन्छ
हमेशा उसको छेउमा हुन्छ
एउटा अर्को अनुहार
जसलाई पुलिसचौकीमा बोलाइएको छ
मलाई चौकीदेखि दिक्क लाग्छ
म चौकीलाई तहस–नहस पार्छुु
म त्यसतर्फ इशारा गर्छु
जतातिर चौकी छैन
जता पुलिस कहिल्यै आउँदैन
म त्यसतर्फ इशारा गर्छु
ऊ बिस्तारै हाँस्छ
र मेरो कुर्सी हल्लिन थाल्छ
मेरो टेबलमा राखिएका किताबहरू
हल्लिन थाल्छन्
मेरा सारा शब्द र अक्षर
हल्लिन थाल्छन्
म उसलाई रोक्दिनँ
न भन्छु भोलि–पर्सि
दिउँसो
साँझ
ऊ उठ्छ
र, ढोका ठेल्दै
बाहिर जान्छ
मेरो भरोसा
उसको पछाडि लाग्दैन
मात्र केही बेरसम्म
चिलझैं हावामा कावा खान्छ
र, झ्वाट्ट
ठीक त्यसै ठाउँमा बस्छ
जहाँबाट ऊ गएको थियो ।