site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
धरानमा किन हार्‍यो नेकपा ? यस्ता छन् कारण
Ghorahi CementGhorahi Cement

काठमाडौं । उपनिर्वाचन भएका ५२ स्थानमध्ये सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले धरानलाई सर्वाधिक सुरक्षित ठानेको थियो । २०४८ सालदेखिको ‘प्रभाव’ र ‘पकेट’ क्षेत्र मानिएको यस स्थानमा आकाङ्क्षीको लर्को थियो । साविक एमाले र माओवादी केन्द्रका नेताहरूले छुट्टाछुट्टै लबिइङ गर्दै आफूलाई उमेदवार बनाउनु पर्ने दाबी गरेका थिए ।

आन्तरिक कलह र गुट–उपगुटको वृत्तमा अल्मलिएको नेकपाले समयमै उमेदवार टुङ्गो लगाउन सकेन । कात्तिक १७ गतेको सचिवालय बैठकले प्रकाश राईलाई उमेदवार बनाउने निधो गर्‍यो । त्यतिन्जेल प्रतिस्पर्धी कांग्रेसले उमेदवारसहितको घरदैलो आधाआधी सकिसकेको थियो । तथापि, अन्तिम चुनावी परिणाम नआउँदासम्म नेकपा चुनाव जित्नेमा ढुक्कजस्तै थियो ।

तर, अन्तिम नतिजा आउँदा नेकपा स्तब्ध भयो ।  साविक उपविजेता कांग्रेसका उमेदवार तिलक राईले २६ हजार ७ सय ९ मत प्राप्त गर्दै विजयको झण्डा उचाले । नेकपाका उमेदवार प्रकाश राईलाई २३ हजार ९ सय १४ मत प्राप्त भयो । मनमोहन अधिकारी र तारा सुब्बाको लिगेसी बोकेको धरान गुमेपछि नेकपा अर्धमूच्र्छित अवस्थामा छ ।

Agni Group

पार्टी केन्द्रले समीक्षा गर्न त भ्याइसकेको छैन । पार्टीका सचिवालय सदस्य झलनाथ खनालले धरान र भक्तपुरजस्ता सुरक्षित ठाउँ गुमाउनु सरकार अलोकप्रिय भएको सङ्केतका रूपमा बुझेका छन् । “सरकार लोकप्रिय भएको भए हामी सबैतिर चुनाव जित्थ्यौं,” उनले सोमबार बाह्रखरीसँग कुरा गर्दै भने ।
स्थानीय नेता–कार्यकर्ता र केन्द्रीय तहका नेताहरूले पनि आ–आफ्नो बुताअनुसारको विश्लेषण गरिरहेका छन् ।

एकता नटुङ्गिदाको परिणाम

Global Ime bank

नेकपाले १८ महिनापछि केन्द्रीय तहमा एकीकरण टुंग्याएको छ । तर विभाग, आयोग, निकाय (सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च) र जनसंगठनहरूको एकता त अझै बाँकी छ । केन्द्रीय तहमै यो अवस्था विद्यमान रहँदा मातहतका कमिटीहरू झन् निस्क्रिय छन् । जिल्ला, महानगर, उपमहानगर र अन्य तहगत कमिटी त निस्क्रिय प्रायः नै छन् ।

उपनिर्वाचन हुने धरानको अवस्था पनि यस्तै थियो ।

धरान उपमहानगर कमिटीका सदस्य राजमणि निरौला भन्छन्, “उपनिर्वाचन आइसक्यो, वडा, टोल कमिटी नै छैनन् । निर्वाचन परिचालन भेला बोलाउँदै त्यहीँ शपथ गराउनुपर्ने अवस्था थियो ।”

निरौलाले उपनिर्वाचनको परिणाम नेकपाका लागि ठूलो पाठ भएको बताउँदै यसको वस्तुनिष्ठ समीक्षा हुनुपर्ने बताए । निर्वाचनमा पराजित हुनुका पछाडि एउटामात्रै कारण जिम्मेवार हुन नसक्ने निष्कर्ष निकाल्दै यसलाई अनेकौं आयाम र कोणबाट समीक्षा गरिनुपर्ने उनको विश्लेषण छ ।

“अरू उमेदवार जनताको घरघरमा छन् । हामी केन्द्रले कसलाई टिकट दिन्छ भनेर बस्नुपर्ने अवस्था थियो । बेलैमा उमेदवार टुंग्याएको भए परिस्थिति अर्कै हुन सक्थ्यो,” उनी भन्छन् ।

“केन्द्रले उमेदवार त टुंग्यायो तर कमिटीहरू कुनै चलायमान भएनन् । कतै कमिटी नै छैनन् । भएका पनि चलायमान हुन सकेनन्,” उनी हारको कारण औंल्याउँदै भन्छन्, “धरान सुनसरीको १ नम्बर निर्वाचन क्षेत्रमा पर्छ । क्षेत्रीय कमिटीको इञ्चार्ज, सहइञ्चार्ज छैनन् । वडा र टोल कमिटी पनि यही अवस्थाबाट गुज्रिएका छन् ।”
कामको विन्यास र जिम्मेवारी बाँडफाँडमा सुरुमै ध्यान नपुर्‍याउँदा परिणाम विपक्षीको पोल्टामा पुगेको उनको निष्कर्ष छ ।

जनसंगठनहरूको एकता एकीकरणको काम नसकिएकाले त्यसको असर निर्वाचनमा परेको निरौला बताउँछन् ।

“एकताको मूलभूत काम नसकिँदा त्यसको सोझो असर निर्वाचनमा पर्‍यो,” उनले दाबी गरे ।

जनप्रतिनिधिहरूको कामप्रति जनता रुष्ट

धरानको उपनिर्वाचनमा कांग्रेस दृढ मनोबलको साथ मैदानमा थियो । यसअघिका निर्वाचनमा पराजय बेहोरेकाले ‘यो पटक जितुन्’ भन्ने मतदाताको सहानुभूति थियो । भ्रष्टाचारको विरोध गर्दैै आएका तिलक राईले सुशासनको पक्षमा आवाज उठाएकाले जनस्तरमा राम्रै छाप छोडेका थिए । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेले धरान उपमहानगरमा मेयर, उपमेयरसहित २० मध्ये १४ वटा वडा जितेको थियो । १७ नम्बर वडामा माओवादीले जित हासिल गरेको थियो । बाँकी पाँचवटा (१, २, ५ १४ र १८ ) वडा कांग्रेसले जितेको थियो ।

अधिकांश जनप्रतिनिधिको कामकारबाहीप्रति जनता रुष्ट थिए । र, विकल्पको प्रतीक्षामा थिए ।  धरान उपमहानगरपालिकाको कर समायोजनले सबैभन्दा बढी मतदाता चिढ्याउने काम गरेको निरौला बताउँछन् ।

“बढ्न त अन्यत्र नगरपालिकाले पनि कर बढाएका थिए । मूल्य वृद्धि भएकाले त्यसको अनुपातमा कर बढेको थियो । विपक्षीले यसलाई मुख्य प्रचारको विषय बनायो । नेकपाले यसलाई चिर्न सकेन,” उनी भन्छन् ।

धरान उपमहानगरले घरबहाल कर बढाएर १२ प्रतिशत पुर्‍याएको छ । जबकि छिमेकी स्थानीय तहमा त्योभन्दा तीन प्रतिशत कम (९ प्रतिशत) छ । अन्य कर पनि यही अनुपातले वृद्धि गरिएको छ । 

प्रदेश र संघ सरकारले पनि जनअपेक्षित परिणाम दिन नसकेकाले त्यसको असर चुनावमा देखिएको राजमणि निरौला दाबी गर्छन् ।

“केन्द्र र प्रदेशले पनि ठीक ढंगले काम गर्न सकेका छैनन् । स्थानीय जनप्रतिनिधिको कार्यसम्पादन पनि राम्रो छैन । त्यसैले नेकपाले हार बेहोर्नुप¥यो,” उनी भन्छन् ।

त्यसैको परिणाम हो– एमालेले जितेका वडाबाट राम्रो भोट नखस्नु ।

धरान नगरमा ११, १३, १५, ८ लगायत वडामा ८२ वटा सुकुम्बासी बस्ती छन् । तिनमा १२ हजार २ सय ६६ घरधुरी छन् ।

अघिल्लो निर्वाचनमा यी सुकुम्बासीलाई जसले आकर्षित गर्न सक्यो त्यसकै पल्ला भारी हुन्थ्यो । यसअघिका स्थानीय र प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमालेले लालपुर्जा दिलाउने– व्यवस्थित बसोबास गराउने आश्वासन दिँदै भोट आफूतिर तान्दै आएको थियो । धरान नगरको किनार वरिपरि बसोबास गर्दै आएका सुकुम्बासीलाई नेकपाले ‘भोट बैंक’ नै ठान्थ्यो ।

तर, नेकपाले सुकुम्बासी, भूमिहीनहरूको समस्या समाधान गर्न सकेको थिएन । यसअघि निर्वाचित भएका मेयर तारा सुब्बाले बस्ती व्यवस्थित गराउन घर नम्बर वितरण त गरेका थिए । तर, उनीहरू त्यतिलेमात्रै सन्तुष्ट भएनन् ।
यसपटक कांग्रेसले असन्तुष्ट सुम्बासीको भोट तानेको नेकपाका नेताको बुझाइ छ ।

नेकपाविरुद्ध सबै दल गोलबद्ध

गत निर्वाचनमा एमाले एक्लैले २० हजार ९ सय ७५ मत ल्याएर मेयर जितेको थियो । कांग्रेसका तिलक राईले १६ हजार १ सय २ मत ल्याएका थिए । संघीय समाजवादी फोरम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायत साना दलको सहयोग पाएका माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार १ सय ८० मत पाएका थिए ।
पार्टी एकता भएकाले जित सहज हुने विश्वास थियो । तर, परिणाम ठीक विपरीत आयो ।

निरौला दाबी गर्छन् : धरानमा नयाँ शक्ति र संघीय समाजवादी फोरम एकीकृत भएर बनेको समाजवादी पार्टीको ३ हजार मत छ ।

यसअघि उपमेयरमा उमेदवारी दिएका पारश राईले पनि ५ हजार १ सय ८१ मत ल्याएका थिए । भलै उनलाई माओवादी केन्द्रको साथ–सहयोग थियो ।

यो निर्वाचनमा समाजवादी पार्टीका उमेदवार गजेन्द्रबहादुर लिम्बूले ७ सय ५५ मत ल्याए ।

“यस निर्वाचनमा नेकपाको विरुद्धमा सबै पार्टी गोलबद्ध भए । समाजवादीले अघोषित रूपमा कांग्रेसलाई नै सहयोग गर्‍यो । हामीले आफूलाई ठीक ढंगले व्यवस्थापन गर्न सकेनौं,” निरौला थप्छन् ।  भक्तपुर–१ (क) को प्रदेशसभामा राप्रपा संयुक्तले कांग्रेसलाई सघाउने निर्णय गरेको थियो ।
तर, धरानमा उसले आफ्नै उमेदवार खडा गरेको थियो । राप्रपाका उमेदवार कुमार बराइलीले ५० मत प्राप्त गरे ।

नेकपाको आन्तरिक विग्रह

आन्तरिक कलह व्यवस्थापन गर्न नसक्दा नेकपाले धरान गुमाएको चर्चा नेकपा वृत्तमा हुन थालेको छ । नेकपाभित्र अहिले देखिने ३ गुट छ । एकता प्रक्रियामा सामेल भएकाले माओवादी केन्द्रको तलदेखि माथिसम्म आफ्नै धार छ । नेकपाभित्र अर्को समानान्तर धार वरिष्ठ नेता माधव नेपाल समूहको छ ।
धरानका उमेदवार प्रकाश राई माधव नेपाल समूहकै हुन् । नेपाल समूहकै भएकाले प्रकाशलाई उमेदवार बनाउनुहुँदैन भनेर पार्टी अध्यक्ष ओली समूहले केन्द्रमा लबिइङ गरेको थियो ।

धरान नगर कमिटीले प्रकाश राई, बेणु काफ्ले र चोत्लुङ सुब्बाको नाम सिफारिस गर्‍यो । ओली पक्षका प्रदेश कमिटी सदस्य विजय राईले असहमति प्रकट गरे । प्रदेश कमिटीले उनको पनि नाम सिफारिस गरेर केन्द्रमा पठायो । चुनावमा प्रकाशले ओली समूहबाट यथेष्ट साथ सहयोग पाउन नसकेको टिप्पणी अहिले पार्टीभित्रै भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  १८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC