काठमाडौं । कुखुरा पालनमा दिनानु दिन लगानी वृद्धि हुँदै गए पनि किसानले अनुदान वा ऋण प्राप्त गर्न सकेका छैनन् । कुखुरा पालक किसान संघले ललितपुरमा आयोजना गरेको कार्यक्रममा आफूहरूले कुनै प्रकारको सहजता महसुस गर्न नसकेको बताएका हुन् ।
किसानका अनुसार पोल्ट्री व्यवसाय आधुनिक तथा व्यवसायी हुँदै गइरहेको छ । यसले मात्र करिब २ लाख ५० हजार व्यक्तिलाई रोजगारी दिएको उनीहरूको दाबी छ । सरकारको गैर जिम्मेवारीका कारण यो व्यवसाय धराशायी बन्दै गएको व्यवसायीहरूले बताएका छन् ।
तराईबाट कार्यक्रममा प्रतिनिधित्व गरेका गोविन्द पौडेलले कुखुरा पालक किसानलाई सरकारले पाँच प्रतिशत अनुदान दिने भनेको भए तापनि अनुदान होइन ऋण समेत नपाएको गुनासो गरे । ‘कृषि अन्तर्गत, गाई, भैँसी, बाख्रा लगायतमा सरकारले अनुदान दिने गरेको छ, तर कुखुरा सानो भएर नदेखेको हो कि अनुदान त परको कुरा ऋण समेत पाइएन ।’ जसका कारण किसान घाटामा र उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएको बताए ।
गोरखा जिल्ला कुखुरा पालक संघका अध्यक्ष पर्शुराम बस्नेतको भनाइ पनि उस्तै छ । सम्पूर्ण पोल्ट्री फर्म नै समस्यामा परेको बताउँदै किसानले श्रमको मूल्य नपाएको दुखेसो पोखे । टाठाबाठाले कृषकको अनुदान रकम खाएका र रियल कृषकले नपाएको प्रष्ट पारे । त्यसैगरी, काभ्रेका दीपक बस्ताकोटीले चल्ला र दाना बेच्नेले दलाली प्रवृद्धिबाट शोषण गरेको बताए ।
यसैबीच नेपाल कुखरा पालक किसान संघका अध्यक्ष झनक पौडेलले पोल्ट्री किसान २४ सै घण्टा कुखुराको खोरमा खटे पनि लागत अनुसारको मूल्य निर्धारण हुन नसकेकाले देशैभरका किसान मर्कामा परेको बताए ।
के हुन् समस्या
नेपाल कुखुरा पालक किसान संघले मुख्यतः दाना, चल्ला र औषधीको मूल्यमा अधिकतम वृद्धि भएको बताएको छ । बजारमा गुणस्तरहीन दाना, चल्ला र औषधीको समेत अभाव रहेको छ । लगानीको अभाव एवं सुरक्षा नभएको नहुँदा कठिनाइ भोग्नु परेको छ । सप्लार्यसहरूले प्रयोग गर्ने ढक–काँटा तथा विधिको समस्या छ । किसानको बजारसम्म पहुँच छैन । खुला सीमानाका कारण अवैध पोल्ट्रीजन्य वस्तु भित्रनु अर्को गम्भीर समस्या हो । यसमा सरकारले अभिभावकीय भूमिका बहन गर्नुपर्छ । स्वस्थवर्धक मासुमा उपभोक्ताको अज्ञानता, उत्पादक किसानका हितमा नीति निर्माण लागु नहुनु, मूल्य निर्धारण एवं अनुगमन प्रक्रिया वैज्ञानिक नहुनु लगायतका समस्याले पोल्ट्री व्यवसाय धराशायी बन्दै गएको छ । लेर्यस तथा प्यारेन्ट कुखुराहरू अन्डा उत्पादन पश्चात् नष्ट नहुनु, किसानहरू व्यावसायिक एवं सगठित नहुनु लगायका समस्या प्रमुख रहेको बताइएको छ ।