site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अब्बल आख्यान, कमजोर चलचित्र 
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल


फ्रान्सेली चलचित्र निर्देशक रोबर्ट गुइजिनले भनेका छन्, “मलाई लाग्छ, राम्रो चलचित्र बनाउने ‘ट्रिक’ भनेको संवेदना र बौद्धिकताबीचको सन्तुलन पत्ता लगाउनु हो । राम्रो चललचित्रले मानिसको दिमाग र हृदय दुवैलाई छुन्छ । एकातिर त्यसले मानिसलाई हसाउँछ, रुवाउँछ भने अर्कोतिर शब्द र बौद्धिकताद्वारा मानिसलाई सोच्न पनि बाध्य पार्छ । मानिसका मनमा प्रश्न खडा गर्छ ।” 

कस्तो चलचित्र राम्रो ? भन्ने प्रश्नमा आजसम्म विश्वमा एकमत छैन । यसलाई अङ्ग्रेजहरू ‘मिलियन डलर क्वेस्चन’ भन्छन् । यसको अर्थ, यसको उत्तर पाउन साह्रै मुस्किल छ भन्ने नै हो । आफ्नो संस्कृति, भाषा र रुचिअनुसार सबैका लागि राम्रो चलचित्रको परिभाषा फरक हुन सक्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा चलचित्र बन्ने क्रम बाक्लिए पनि सफल चलचित्रको सङ्ख्या भने न्यून छ । वर्षमा सय वटा जति चलचित्र बन्छन्, तर सफल चलचित्र खोज्दा मुस्किलले आधा दर्जन भेटिएलान् ! बाँकी चलचित्रले न त लगानी उठाउन सक्छन् न त दर्शकको माया नै  पाउन सक्छन् । 

किन यस्तो हुन्छ ? निर्देशक तथा निर्माताहरु असफलताको दोष कमजोर स्क्रिप्टलाई दिन्छन् । अर्को प्रश्न पनि यहीँ जोड्न सकिन्छ । के नेपालमा राम्रो ‘स्क्रिप्ट राइटर’ छैनन् ? स्क्रिप्टमा लगानी गर्न निर्माताहरु तयार हुँदैनन् ? समस्या यी प्रश्नमा पनि छैन । राम्रो स्क्रिप्टका लागि २० लाखसम्म लगानी गर्न आफू तयार रहेको निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँ बताउँछन् । 

Global Ime bank

स्क्रिप्टको अभावमा नेपालमा थुप्रै आख्यानमाथि चलचित्र निर्माण भएका छन् । लोकप्रिय आख्यानमा बनेका चलचित्रमा ‘तीन घुम्ती’, ‘मसान’, ‘शिरीषको फूल’, ‘कुमारी शोभा’, ‘झोला’, ‘समर लभ’, ‘मुनामदन’, ‘सेतो बाघ’, ‘प्रेमपिण्ड’, ‘वासुदेव’, ‘वसन्ती’, ‘बसाइँ’ आदि पर्छन् । लोकप्रिय आख्यानमा बनेका चलचित्र पनि अधिकांश कमजोर हुन पुगेका छन् । कुनै समय पाठकमाझ ख्याति कमाइसकेका साहित्यिक कृतिमाथि बनेका चलचित्र पनि किन असफल हुन्छन् त ? यसमा पनि स्क्रिप्टकै कमजोरी मानिएको छ । लोकप्रिय साहित्यिक कृतिमाथि बनेका चलचित्रमध्ये पनि ‘वसन्ती’, ‘वासुदेव’, र ‘प्रेमपिण्ड’ सफल भए भने बाँकी असफलताको कोटीमा पर्न गए ।  

यसको मुख्य कारण कमजोर पटकथा भएको निर्देशक यादव खरेल, नीर शाह, नयनराज पाण्डे र खगेन्द्र लामिछाने बताउँछन् । 

कथालाई पटकथा रुपान्तरण गर्दा हुने कमजोरी नै उत्कृष्ट आख्यानमा बनेका चलचित्र कमजोर हुनुको कारण भएको उनीहरुको मत छ । 

“भनेजस्तो पटकथा लेख्न नै सकिँदैन । निर्देशक स्वतन्त्र भएर अगाडि बढ्ने हो भने त सम्भव होला । तर लेखकसहित धेरैजनाको सोचलाई स्थान दिनुपर्ने बाध्यता हुन्छ । आख्यानका चलचित्र बिग्रनुको मुख्य कारण यही रहेको मैले अनुभव गरेँ,” निर्देशक नीर शाह भन्छन्, “पुराना ऐतिहासिक उपन्यासका चलचित्रमा भनेजस्तो छायाङ्कन स्थल पाउन पनि निकै गाह्रो छ ।”

स्क्रिप्ट लेखक पुस्तकका लेखकको मनोविज्ञानसँग साक्षात्कार हुन सक्नुपर्ने उनी बताउँछन् । डायमण्ड शमशेर राणा र ध्रुवचन्द्र गौतमसँग बसेर काम गर्दा पनि उपन्यासको नजिक पुग्न निकै कठिन भएको शाह बताउँछन् । लेखकको उपस्थितिबिना उनीहरुको भावनालाई प्रतिनिधित्व गराउन निर्देशक तथा पटकथाकार चुक्ने गरेको शाहको बुझाइ छ । “पर्याप्त मात्रामा साहित्यमाथिको चिन्तन भएको अवस्था र उपयुक्त छायाङ्कन स्थल उपलब्ध भएको खण्डमा राम्रो चलचित्र बनाउन सकिन्छ,” उनी भन्छन् । 

निर्देशक तथा लेखक यादव खरेल चलचित्र र पुस्तक फरक विधा भएकाले पुस्तकमा आएको कथामा चलचित्र बनाउन सजिलो नभएको बताउँछन् । एउटा विधा (पुस्तक)बाट अर्को विधामा रुपान्तरण गर्नु चुनौतीपूर्ण भएको उनको भनाइ छ । “आख्यानमा आएको कथा, परिवेश, पात्रलाई दृश्य भाषामा रुपान्तरणका लागि तयार पारिने पटकथामा उत्पन्न हुने समस्या नै लोकप्रिय आख्यानमा बनेका चलचित्र कमजोर हुनुको प्रमुख कारण हो,” खरेल भन्छन्, “सदृश्य देखाउन चाहिने उपयुक्त पात्रको चयन, परिवेश, सेट, अभिनय जीवन्त रुपमा आउनुपर्छ । किताबमा वर्णन गरिदिएमात्रै पुग्छ ।” नाटक प्रेमपिण्डमा आधारित चलचित्र ‘प्रेमपिण्ड’ यादव खरेलले निर्देशन गरेका हुन् । यसलाई व्यावसायिक रुपमा सफल चलचित्र मानिन्छ ।    

गत शुक्रबारमात्रै मदन पुरस्कार पाएको झमक घिमिरेको पुस्तक ‘जीवन काँडा कि फूल’मा आधारित चलचित्र हलमा रिलिज भयो । बिनाप्रचार हलमा आएको चलचित्र धेरैले रिलिज भएको पत्तै पाएनन् । घिमिरेको कृतिलाई चलचित्रमा ढालेका छन्, निर्देशक विनोद विष्टले । 

सुविन भट्टराईको युवा पाठकमाझ लोकप्रिय पुस्तकमध्येको एक हो, ‘समर लभ’ । प्लस टु जेनेरेसनमा आख्यान पढाउने कल्चर बसाउन ठूलो भूमिका खेलिएको भनिएको यो पुस्तकलाई सुरुमा चलचित्रमा ढाल्ने तयारी गरेका थिए, ‘नाइँ नभन्नू ल’ फेम्ड निर्देशक विकास आचार्यले । पछि मुस्कान ढकालले निर्देशन गरे । चलचित्रको गीत तत्कालीन समयमा लोकप्रिय रहेका पुष्पन प्रधानले गाए । निर्देशक र कलाकारसँगै सुविन र पुष्पन पनि चलचित्रको प्रचारमा हिँडे । तर दर्शकले चलचित्र मन पराइदिएनन् । अधिकांश समीक्षकको आशय रह्यो, ‘पुस्तक राम्रो र चलचित्र औसत !”

करिव दुई वर्षअघि चलचित्र ‘तीन घुम्ती’ रिलिज भयो । विश्वेश्वरप्रसाद कोइरालाको चर्चित उपन्यास ‘तीन घुम्ती’लाई बाबुराम ढकालले निर्देशन गरेका थिए । यो चलचित्रले पनि दर्शक तान्न सकेन । 

कृष्ण धराबासीको चर्चित कथा हो, ‘झोला’ । यही छोटो कथामा आधारित रहेर चलचित्र ‘झोला’ निर्माण भयो । यादवकुमार भट्टराईले निर्देशन गरेको चलचित्रले पनि बक्स अफिसमा पकड जनाउन सकेन । 

‘मुनामदन’ नेपाली साहित्यमा सबैभन्दा धेरै बिक्री हुने पुस्तकमा पर्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’मा आधारित रहेर पनि चलचित्र निर्माण भयो । सर्वाधिक बिक्रीको रेकर्ड राख्ने कृति ‘मुनामदन’लाई निर्देशन गरेका थिए, ज्ञानेन्द्र देउजाले । निर्माणको लामो समयपछि प्रदर्शनमा आएको यो चलचित्रलाई नेपालबाट अन्तरराष्ट्रिय पुरस्कार ‘ओस्कार’का लागि सिफारिस पनि गरियो । तर विडम्बना हलमा भने यो चलचित्रलाई दर्शकले रुचाएनन् । ‘मुनामदन’को श्लोकश्लोक ओँठमा झुण्डिए पनि दृश्य भाषामा तयार पारिएको चलचित्र हेर्न दर्शक हलमा गएनन् । 

गोपालप्रसाद रिमालको नाटक ‘मसान’ लाई पनि चलचित्रको रुप दिइयो । यो नाटकलाई चलचित्रमा उतारेका थिए, नीर शाहले । तर यो चलचित्रले पनि हलसम्म दर्शक तान्न सकेन । पाठक तान्न सफल पुस्तक मसानले दृश्य रुप पाउँदा दर्शकको मनमा ठाउँ बनाउनै सकेन । 

डायमण्ड शमशेर राणाको ऐतिहासिक कृति ‘सेतोबाघ’को कथालाई पनि चलचित्रमा उतार्ने प्रयास भयो । यसको निर्देशन पनि उनै नीर शाहले नै गरे । तर यो चलचित्रले पनि दर्शक पाएन । उता, यादव खरेल निर्देशित ‘प्रेमपिण्ड’ तथा शाहकै ‘वासुदेव’, र ‘वसन्ती’ले भने उल्लेख्य सफलता पाए । सिनेमा घरदेखि समीक्षासम्म राम्रो प्रतिक्रिया पाए । हलसम्म चलचित्र हेर्न दर्शक पुगे । 

आख्यानमाथि चलचित्र बन्न सुरु भएको ‘कुमारी’बाट हो । विजय मल्लको उपन्यास ‘कुमारी शोभा’लाई चलचित्रमा ढालेर यो चलचित्र बनाइएको थियो । प्रेमबहादुर बस्नेतले ‘कुमारी’ निर्देशन गरेका थिए ।    

४० को दशकको सुरुबाट आख्यानमाथि बन्न थालेको चलचित्र निर्माणको क्रम यथावत् छ । नयनराज पाण्डेको उपन्यास ‘सल्लिपिर’, ‘सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’, राजेन्द्र पराजुलीको छोटो कथा ‘केमिस्ट्री’मा चलचित्र बनाउने निर्देशकहरुले बताइरहेका छन् । 

केही समयअघि मदन पुरस्कार विजेता उपन्यास ‘सेतो धर्ती’मा आधारित रहेर चलचित्र बनाउने भनेर केही चरण लेखक अमर न्यौपानेसँग निर्देशक तथा निर्माताले छलफल गरे पनि काम अघि बढेको छैन । 

लेखक, कलाकार तथा निर्देशक खगेन्द्र लामिछाने पनि कथा तथा नाटकमा चलचित्र बनाउनेमध्येमा पर्छन् । उनको लेखन तथा अभिनय रहेको चलचित्र ‘टलकजङ्ग भर्सेस टुल्के’ नाटकमा आधारित चलचित्र हो । ‘धनपति’ पनि उनले लेखेको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र हो ।

लामिछानेले अहिले निर्देशन गरिरहेको चलचित्र ‘पानी फोटो’ पनि नाटकको कथामा आधारित छ । एक दशकअगाडि नाटक ‘पानी फोटो’ मा पनि उनकै लेखन तथा निर्देशन रहेको थियो । 

कृतिमाथि बनेका चलचित्र कमजोर हुनुको कारण आख्यान लेखक र पटकथा लेखकबीच समन्वयको अभाव मुख्य कारण रहेको लामिछाने बताउँछन् । लेखकले जुन सोचाइ शब्दमा उतारेको हुन्छ, त्यही रुपमा स्क्रिप्ट लेखकको बुझाइ हुनुपर्नेमा उनको जोड छ । 

“नेपालमा जसको कृति हो त्यसको लेखक र स्क्रिप्ट लेखकबीचको समन्वय निकै कम भएको पाइन्छ,” लामिछाने भन्छन्, “लेखकको चिन्तनभित्र पसेर समन्वय गर्दै स्क्रिप्ट लेखेको खण्डमा राम्रो चलचित्र बन्न सक्छ । तर कृतिको सर्जक र स्क्रिप्ट लेखकबीच समन्वय भएन अथवा कम भयो भने त्यो निर्देशकसम्म पुग्दा धरै अन्तर भइसक्ने र त्यसको असर पर्दामा देखिने हुन्छ ।”

तुलनात्मक रुपमा कथा र उपन्यासलाई चलचित्रमा रुपान्तरण गर्नभन्दा नाटकलाई चलचित्र बनाउन सहज हुने उनको अनुभव छ । उनको ‘टलकजङ्ग भर्सेस टुल्के’ र निर्माणको चरणमा रहेको ‘पानी फोटो’ नाटकको रुपान्तरण हो । यद्यपि, यसमा पनि केही पात्र र कथाबाहेक सबै पक्ष चलचित्रमा फरक भएर आउने वउनले बताए । 

“चलचित्र र कृति लेख्दाको बुनाइ नै फरक हो । बुनाइ राम्रो भयो भने चलचित्र राम्रो हुन्छ, अन्यथा चलचित्र राम्रो बन्दैन,” लामिछाने भन्छन् । उनको ‘धनपति’ र ‘टलकजङ्ग भर्सेस टुल्के’ लगानी उठाएका चलचित्र हुन् । ‘टलकजङ्ग भर्सेस टुल्के’ राम्रो समीक्षा पाएको चलचित्र हो भने ‘धनपति’लाई मिश्रित प्रतिक्रिया आएको थियो । 

आख्यानकार नयनराज पाण्डे कुनै समयका चलचित्र लेखक हुन् । अहिले उनी चलचित्र लेखन छोडेर पूर्णकालीन साहित्य लेखनमा छन् । उनको उपन्यास ‘सल्लिपिर’मा चलचित्र बन्ने तयारी चलिरहेको छ । दर्जनभन्दा धेरै कृतिमा आधारित चलचित्रले सफलता प्राप्त गर्न नसकेको इतिहास छ । यो इतिहासले पाण्डेलाई बेलाबेला झस्काइरहन्छ । पठनमाध्यम पुस्तक र दृश्यमाध्यम चलचित्र भिन्न विधा भएकाले यसमा पठनबाट दृश्यमा रुपान्तरण गर्दा ग्यारेन्टी नहुने उनको भनाइ छ । 

आख्यानलाई चलचित्रमा रुपान्तरण गर्दा कहिलेकाहीँ पठनभन्दा दृश्यमा बलियो भएर आए पनि त्यस्त चलचित्रको सङ्ख्या कम रहेको उनी स्वीकार्छन् । पाण्डे पनि राम्रो चलचित्र बन्नका लागि पटकथा नै स्तरीय हुनुपर्नेमा जोड दिन्छन् । कृतिलाई पटकथामा रुपान्तरण गर्ने व्यक्तिको शिल्पमा चलचित्र राम्रो अथवा नराम्रो हुनेमा भर पर्ने उनी बताउँछन् । 

“उपन्यासमा सयौं विषय र दृश्य हुन्छन्, चलचित्रमा ती सबै विषयलाई समेट्न सकिँदैन । आख्यानका दृश्यमा लोभिएर ती सबै दृश्यलाई अटाउन खोजियो भने पनि चलचित्र बिग्रन्छ,” उनी भन्छन् । यही भयले उनले ‘सल्लिपिर’मा बन्न लागेको चलचित्रको पटकथा लेखेनन् । “मेरो उपन्यासका सबै दृश्य मलाई मन पर्छ । कुनै पनि दृश्य छोड्न सक्तिनँ, किनकि ती दृश्यमा मलाई प्रेम छ, त्यसैले मैले पटकथा लेखिनँ,” उनले भने । 

कस्ता दृश्य पटकथामा समावेश गर्ने भन्ने शिल्प पटकथाकाररमा हुनुपर्ने र त्यसलाई कसरी दृश्यमा देखाउने त्यो कला निर्देशकमा हुनुपर्ने पाण्डेको भनाइ छ । “अहिलेसम्म हामीमा जेजति समस्या भयो त्यो पटकथाकार र निर्देशकको क्षमतामा रहेको समस्याले भयो,” पाण्डे भन्छन्, “युवा निर्देशक र देशविदेशका चलचित्रमा काम गरिसकेको र डकुमेन्ट्री पनि बनाइसकेको हुनाले उपन्यासको मर्मलाई बुझ्नु हुन्छ र सल्लिपिरमा राम्रो चलचित्र बन्छ कि भन्ने अपेक्षा छ । तर मलाई धरमरचाहिँ भइरहन्छ ।”

पाण्डेले नै हो ‘बसाइँ’ को पटकथा लेखेको । तर दृश्यमा रुपान्तरण हुँदा उनलाई नै चलचित्र मन परेन । ‘शिरीष फूल’को पटककथा पनि उनैले लेखेका हुन् । तर त्यसमा पनि निर्देशकको काम उनलाई चित्त बुझेन । ‘बसाइँ’ सुभाष गजुरेलले निर्देशन गरेका थिए । आफूले लेखेको पटकथामा बसेर निर्देशकले चलचित्र नबनाएको भन्न पाण्डे हिचकिचाउँदैनन् । 

आमपाठकले रुचाएका कृतिको कथा, पात्र र परिवेश पाठकको दिमागमा जरो गाडेर बसिसक्ने हुँदा त्यस्तो कृतिमा चलचित्र बनाउनु नै चुनौतीपूर्ण भएको निर्देशक नरेशकुमार केसी बताउँछन् । आफूले पढेको कृति दृश्य भाषामा अझै बलियो भएर आएको देख्न चाहने पाठक/दर्शकले सोचेअनुसार नपाउँदा त्यस्ता चलचित्र सफल नहुने उनको भनाइ छ । 

रोबर्ट गुइजिनले भनेजस्तै दशकौंदेखि आमपाठकलाई रुवाएका, हँसाएका र सोच्न बाध्य बनाएका आख्यानमा निर्मित अधिकांश नेपाली चलचित्रले त्यो ल्याकत राख्न सकेनन् । कारण चलचित्रकर्मीकै शब्द सापटी लिँदा पटकथाकार र निर्देशकमा ठूलै कमजारी रह्यो, उनीहरु चुके । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६  १०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement