काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने विषयमा अभूतपूर्व राष्ट्रिय एकता भएको बताएका छन् ।
शनिबार बसेको सर्वदली बैठकमा उक्त विषयमा सहमति भएको बताएका हुन् ।
उनले ट्विटमा लेखेका छन्, "लिपुलेक र लिम्पियाधुरासहित कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा अभूतपूर्व राष्ट्रिय एकता कायम भएको छ। सरकारले यही राष्ट्रिय भावनालाई शीरोधार्य गर्दै दृढता र स्पष्टताका साथ कुटनीतिक रुपमा सीमा समस्याको समाधान गर्नेछ।"
भारतले नेपाली भूभागसहितको नयाँ नक्सा जारी गरेपछि यसको चौतर्फी विरोध भएको थियो । उक्त विषयमा साझा धारणा बनाउने प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्रमन्त्रीहरु तथा सरोकारावाला निकायालाई बालुवाटार बोलाएर छलफल गरेका थिए ।