site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एक घटना लु सुन
Sarbottam CementSarbottam Cement

लु सुन


म गाउँ छोडेर राजधानीमा आई बसेको पनि छ वर्ष बितिसकेको छ । यसबीचमा राजकीय भनिने धेरै सन्दर्भहरूका विषयमा जानियो । देखियो । सुनियो । थाहा पाइयो । तर ती विषयमा मलाई विशेष तत्व केही भएको महसुस भएन । यदि यस विषयमा केही सोधिए, सङ्क्षेपमा भन्न सक्छु कि ती अनुभवहरूले मेरो खिन्नता बढाएको छ । अझै भन्ने हो भने खासमा मानव समाजका प्रति मेरो कटुता पहिलेको अपेक्षा धेरै बढेको छ ।

हो, एउटा सानो घटना मलाई अवश्य सम्झना हुन्छ, जसलाई म महत्वपूर्ण भन्न सक्छु र जसले मलाई आशाको एउटा किरण देखायो । यसैले म त्यसलाई बिर्सिन सक्दिनँ ।

Prabhu Bank
Agni Group
NIC Asia

१९१७ को जाडोको समय थियो । उत्तरको चिसो हावाले शरीर छेड्दै थियो । जीविकाको सवाल थियो, काममा पुग्न घरबाट बिहान सबेरै हिँड्नु पर्दथ्यो । सडक शून्य थियो । चहलपहल थिएन । ‘एस–दरवाजा’सम्म पुग्नका लागि रिक्सा एकदम गाह्रो गरी पाइयो । रिक्सा गुड्न थाल्यो । हावाको झोंक्का, सडकको सारा धूलो उडाइसकेर केही सुस्तसुस्त बगिरहेको थियो । रिक्सावालाले गति बढायो । ‘एस–दरवाजा’ केही अगाडि देखिन थालेको थियो । त्यतिकैमा कोही सडक पार गर्दैगर्दा रिक्सामा ठोक्कियो र बिस्तारै ढल्यो ।

ती एक महिला थिइन् । अधिकांश कपाल सेता भइसकेका थिए । शरीरमा च्यातिएको कपडा थियो । ती बूढी महिला फुटपाथबाट ओर्लिएर अचानक हाम्रो सामुन्ने हुँदै सडक पार गर्न थालिन् । रिक्सावालाले तिनलाई बचाउने धेरै प्रयत्न ग¥यो, तर ती बूढी महिलाको हावामा उड्दै गरेको च्यातिएको कोट रिक्सामा अल्झियो । भाग्य राम्रो थियो, रिक्सावालाले तत्कालै गाडी रोके । नभए ती बूढी महिलालाई नराम्रो धक्का लाग्ने थियो र गम्भीर चोट लाग्न सक्थ्यो ।

Global Ime bank

महिला भुइँमा लडिन् । रिक्सावाला रोकियो । मेरो विचारमा ती बूढीलाई धेरै चोट लागेको थिएन । यो घटनाको कुनै साक्षी पनि थिएन । मलाई लाग्यो रिक्सावाला व्यर्थैमा झञ्झट मोल्दैछ; आफूले त भोग्छ नै, मलाई पनि यस बाधामा फसाइरहेको छ ।

“सुन, केही भएको छैन । तिमी हिँड !” मैले भनेँ ।

रिक्सावालाले यता ध्यान दिएन । सायद मेरो कुरो उसले सुनेन । उसले रिक्सा रोक्यो । ती बूढी महिलालाई हातको सहारा दिएर उठायो र सोध्यो, 

“चोट त लागेको छैन नि ?”

“धेरै चोट लागेको छ ।”

बूढी महिला अगाडि सडकमा नै थचक्क बसिन् । रिक्साको धक्का पनि त्यति कडा थिएन । बूढी जानीजानी यसो गर्दै थिइन् । मलाई झर्को लाग्यो । रिक्सावाला पनि जानेरै अप्ठेरोमा फस्न खोज्दै थियो । फेरि सोचेँ, उसको काम– उही जानोस् ।

बूढीको कुरा सुनेपछि रिक्सावाला एकक्षण पनि रोकिएन । उसले ती महिलालाई सहारा दिएर सडकको छेउमा रहेको एक भवनतिर लिएर गयो । 

देखेँ, अचम्म लाग्यो । ऊ त पुलिस चौकीतिर बढ्दै थियो । चिसो र तीव्र हावाका कारण बाहिर कोही पनि थिएन । रिक्सावालाले बूढीलाई चौकीको ढोकातिर लैजाँदै थियो ।

तत्कालै एउटा अनौठो अनुभूति भयो मलाई । मेरो अगाडि हिँड्दै गरेको च्यातिएको पुरानो कपडामा रहेको रिक्सावालाको आकार बढ्न थाल्यो । रिक्सावाला जतिजति पाइला अगाडि बढाइरहेको थियो, उसको आकार त्यतित्यति विराट हुँदै गइरहेको थियो । आँखा उठाएर हेरेँ, मलाई लाग्यो म उसको विशालताबाट थिचिँदै गएर छोटो हुँदै गइरहेको छु । मोटो भुवादार लामो कोटमा छोपिएको मेरो शरीर एकदमै खुम्चिँदै गइरहेको छ ।

म निश्चल, असमर्थ झैं रिक्सामा बसिरहेँ । मस्तिष्कमा मूढता छायो । देखेँ, चौकीबाट एकजना पुलिस मतिरै आउँदै थिए । म रिक्साबाट ओर्लिएँ ।

पुलिस कर्मचारी आएर मतिर हेर्दै भने, “तपाईं अर्को रिक्सा लिनूस् । यो रिक्सा यहाँभन्दा अगाडि जाँदैन ।”

मेरो हात स्वतः कोटको गोजीमा गयो । गोजीबाट एक मुठी तामाको सिक्का निकालेर मैले पुलिसकर्मीतिर बढाएँ । “यो रिक्सावालालाई दिनुहोला है,” मैले भनेँ । 

बतास रोकिएको थियो, तर सडक अहिले पनि शून्य नै थियो । म ‘एस–दरवाजा’ तिर पैदल नै हिँडँे । मनले रिक्सावालाको कुरा नै सोचिरहेको थियो र म आफ्नो अशिष्टता अनुभव गरिरहेको थिएँ । आफ्नो दृष्टिकोणलाई सम्झँदै गर्दा लज्जा अनुभूत भइरहेको थियो । मैले तामाको सिक्का किन दिएँ ? के यो रिक्सावालालाई इनाम थियो ? उसलाई इनाम दिने वा उसको मूल्याङ्कन गर्ने म को हूँ ? यस प्रश्नको उत्तर मसँग थिएन ।

त्यो घटना आज  पनि मलाई स्पष्ट सम्झना छ । यसलाई सम्झेर आफूप्रति एक किसिमको ग्लानि अनुभव हुन्छ । तिनताकका ठूल्ठूला फौजी र राजनीतिक घटनाहरू मलाई सम्झना छैन । ठीक त्यसै गरी, जसरी बाल्यकालमा पढेको क्लासिक ग्रन्थ मेरो दिमागबाट उत्रिसकेको थियो । तर यो घटना मेरो स्मृतिमा आज पनि ताजा बनेर बसेको छ । आज देखिएका घटनाहरूभन्दा पनि धेरै स्पष्ट । यसबाट मलाई आफ्नै छुद्रताका कारण लज्जाबोध हुन्छ । 

यद्यपि, आत्मपरिष्कारका लागि प्रेरणा प्राप्त हुन्छ तथा एउटा नयाँ आशा एवम् उत्साहको किरण देखिन थाल्छ ।

(प्रसिद्ध चिनियाँ लेखक लु सुनको खास नाम झाउ सुरेन थियो । यिनी लघुकथा, समालोचना, निबन्धका साथै कविता पनि लेख्थे– सम्पादन पनि गर्थे । सुन चिनियाँ सांस्कृतिक क्रान्तिका अगुवामध्ये एक थिए । प्रगतिशीलता यिनको मूल मन्त्र थियो, यिनको लेखन विश्व प्रसिद्ध छ । यिनका कृतिहरू विश्वका धेरै भाषामा अनुवाद भएका छन् । सन् १८८१ मा जन्मिएका यिनको १९३६ मा निधन भयो ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ९, २०७६  ०६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC