site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पारिवारिक मूल्यहरूको विघटन
Sarbottam CementSarbottam Cement

गोविन्द अधिकारी


‘‘भिन्सेन्ट वेटर हो कफी हाउसको । यसको नाम यत्ति नै हो– कफी हाउस । सय वर्षमा कफी हाउसको ढपढाँचा व्यापार धेरै बदलियो, तर नाम बदलिएको छैन । त्यसो त अहिले यसले रेस्टुरेन्ट तथा बारको रूप धारण गरिसकेको छ, कफी भने अझै पनि त्यहाँ उस्तै मीठो पाइन्छ ।’’ 

उपन्यासको थालनीका पङ्क्ति हुन् यी । कन्नडमा लेखिएको ‘घोचर घाचर’ शीर्षकको यो उपन्यास पहिले अङ्ग्रेजीमा अनुवाद गरियो । अङ्ग्रेजीबाट नेपालीमा अनुवाद हुँदा पनि उपन्यासको नाम भने ‘घाचर घोचर’ नै रहेको छ । ‘घाचर घोचर’ उपन्यासको कुनै पात्रको नाम भने हैन । यो शब्द नेपाली वा अङ्ग्रेजी मात्र हैन कन्नड शब्दकोशमा पनि छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

आकारका दृष्टिले लघुउपन्यास वा उपन्यासिका भने पनि हुने यो आख्यानको अन्त्यमा लेखिएको छ: 

‘‘अर्को टेबलतिर जाँदाजाँदै भिन्सेन्ट मलाई भन्छ ‘‘सर, हात धुुनुहुन्छ कि रगत लागेको छ त्यहाँ ।’’

Global Ime bank

म जड हुन्छु । के भइराखेको छ मलाई ? म केमा अल्झिएको छु ? यो घनचक्करबाट पार पाउने कुनै न कुनै उपाय त हुनैपर्छ । आफ्नै लयमा मेरो मगजमा दौडन थाल्छन् यी दुई शब्द– ‘घाचर घोचर’ ।’’

उपन्यासको आरम्भ र अन्त्यका यी पङ्क्ति पढ्नेबित्तिकै लाग्छ, यो पक्कै पनि भिन्सेन्टकै कथा हो । भिन्सेन्टको आलम्बनमा कथा अगाडि बढ्छ, तर ऊ बेलाबखत मात्र झुल्किन्छ । लगभग पूरा कथाको पात्रजस्तै अन्तःदृष्टियुक्त– ‘‘नियमित ग्राहकलाई कतै ऊ उनीहरू आफैंले भन्दा धेरै राम्ररी त चिन्दैन ?’’ प्रश्नमै विश्वास पनि व्यक्त भएजस्तो लाग्छन् यी पङ्क्तिहरू । भिन्सेन्ट बिचराले उपन्यासको नायक हुन भने पाएको छैन । ऊ त द्रष्टामात्र हो, युग परिवर्तनका चिह्नहरूको ।  

उपन्यासकार स्वयम्ले वर्णन गरेको यस कथामा प्रमुख पात्र ऊ स्वयम् हो । यसैले ‘घोचर घाचर’ भिन्सेन्टको कथा होइन । उपन्यास पढेपछि अरू पात्रलाई बिर्से पनि भिन्सेन्टको सम्झना भने बाँकी रहन्छ । यसैले उसलाई सूत्रधार भन्न सकिएला । तर परम्परागत अर्थको सूत्रधार भने हैन । 

स्नेह हैन स्वार्थले बाँधेको विघटनउन्मुख पारिवारिक मूल्यको चित्रात्मक वर्णन छ उपन्यासमा । लाइसेन्स राजको अन्त्यतिरको अवसर र सकसको वर्णनले सामाजिक–आर्थिक यथार्थको चित्रण हुन पुगेको छ भने दक्षिण भारतीय समाज र परिवारको वर्णनले उपन्यासमा आञ्चलिकता पनि देखिन्छ । तर मूलतः विघटन हुन लागेको परम्परागत पारिवारिक मूल्यको कथा हो ‘घाचर घोचर’ । पात्रहरू भित्रभित्रै गुम्सिएका छन् सबै । भौतिक सुविधा बढे पनि मनमा डर लिएर बाँचेका छन् । 

आफैंमा खुम्चिएको र जबर्जस्ती हाँस्न व्यर्थका ठट्टा सुनाउने परिवारको थपनाको मूली ‘कफी किङ’ले सायद वर्तमानको प्रतिनिधित्व गर्छ । सम्पन्नतामा पनि आमा त उत्तिकै घोटिएकी नै छ । अलिकति ठस्सा बढेको छ । त्यत्ति न हो । मालतीको जीवन सम्पन्नताकै अहङ्कारले ध्वस्त बनाउँछ । माइतीमा सजिलै गुजारा नहुने भए मालती घरमा सम्झौता गर्थी होला । अनितालाई ढोंग लाग्छ सबै । प्राध्यापक बाबुको ‘इज्जत’ ( अर्को मध्यमवर्गीय भ्रम !) पतिको घरको वैभवभन्दा ठूलो ठान्छे र यथार्थमा पति अरूको कमाइमा बाँचेको थाहा पाएपछि परिवारसँग निहुँ खोज्दै माइत जान्छे । अनिताको प्रकृतिकी नारी माइतमा पनि रमाउन त पक्कै नसक्नुपर्ने ! उपन्यासको अन्त्यतिर लेखकको स्वैरकल्पनाको अनीष्ट त्यसैको सङ्केत हो कि ?
मध्यमवर्गीय सुविधा त काकाको मसला व्यापारबाट प्राप्त भयो, तर परिवारमा मध्यमवर्गीय रहनसहनको भने देखासिकीमात्र गर्न खोजिएको छ, अपनाउन सकिएको छैन । हाम्रै छरछिमेकको कथाजस्तै । परिवारमा आर्जन गर्ने मूल सदस्य भाइ भए पनि परिवारको मूलीको हैसियतमा छ । उसकी महिला मित्र (?)ले ल्याइदिएकी मुँगको दाल फालेको, तर परिवारका सदस्यलाई त्यसको वास्ना मन परेको प्रसङ्गले मानवीय ईष्र्या, डर र द्वेषमात्र हैन परिवारको सोच र स्तर पनि देखाउँछ । दाल त्यसरी पकाउनै नसक्ने आर्थिक अवस्था त थिएन । तर पकाउन त अभ्यास हुनुपर्छ । संस्कार भनिदिए पनि हुन्छ । यस्तै अवस्थालाई खिस्याउनु पर्दा नेपालीमा ‘टुप्पाबाट पलाएको’ भन्ने गरेका होलान् ! 
पुस्तकको शीर्षक नै विसङ्गत छ र परम्परागत दृष्टिमा अर्थहीन । सायद जीवनको विसङ्गत अस्तित्वको बोधलाई शीर्षकदेखि नै उपन्यासकारले व्यक्त गरेका हुन् र कथा त यही विसङ्गत अस्तित्वको अभिव्यक्तिको आलम्बन हो । कथाको प्रमुख पात्रको चरित्र र प्रवृत्ति तथा ‘घाचर घोचर’ शब्दको उत्पत्ति र अर्थ जान्न मन हुनेले पुस्तक पढ्नुपर्छ । 

पुस्तकमा उद्धृत पङ्क्तिहरू सबै नै अङ्ग्रेजी संस्करणको समीक्षाबाट लिइएको हुनुपर्छ । मूलभन्दा अङ्ग्रेजी अनुवाद अझ राम्रो पो भएछ कि ? नेपाली अनुवाद पनि राम्रो छ । अनुवादको किरकिरी खासै लाग्दैन । कहिलेकाहीँ अङ्ग्रेजीमै सोचेर नेपालीमा लेखिएजस्तो टर्रो हुन्छ । ‘चारखुट्टेको घरजम’ को फणीन्द्रराज खेतालाले गरेको अनुवादको झल्को यदाकदा आउँछ । पुस्तकको पहिलो शब्द नै अशुद्ध देख्दा भने दिक्क लाग्दोरहेछ । 

कन्नड साहित्यको इतिहास नेपालीसँग मिल्दोजुल्दो देखिन्छ । अभिलेखहरू हुँदै आधुनिक युगमा प्रवेश गरेको, प्रारम्भमा मौखिक परम्पराको भक्तिधाराको प्रभुत्व, संस्कृत साहित्यबाट प्रभावित । नेपालीभन्दा अलिकति पुरानो पनि । तर सम्पर्ककै अभावको कारणले होला नेपालीमा हिन्दी, उर्दु, बङ्गालीबाट अनुवाद भए पनि दक्षिण भारतीय भाषाका साहित्यको अनुवाद खासै पाइँदैन । 

नेपालीमा पाश्चात्य साहित्यका कृति र प्रवृत्ति विशेषगरी अङ्ग्रेजीबाट भारतीय भाषाहरू हिन्दी र बङ्गाली हुँदै आएको मानिन्छ । पहिले हिन्दी वा बङ्गालीमा अनुवाद भएपछि नेपालीमा हुन्थ्यो । अझै यो बाटो चालु नै छ । तर यो ‘घाचर घोचर’ भने अर्को बाटोबाट आयो– कन्नडबाट अङ्ग्रेजी हुँदै नेपालीमा । सायद अबका दिनमा अङ्ग्रेजी हुँदै आउने नै मूल बाटो हुने पो हो कि ?

विवेक शानभागको कन्नड उपन्यास ‘घाचर घोचर’ पनि अङ्ग्रेजी हुँदै नेपालीमा आइपुगेको हो । नेपालीमा अनुवाद गरेका छन्– युग पाठकले । मूल उपन्यास सन् २०१३ मा छापिएको छ भने अङ्ग्रेजी अनुवाद २०१५ मा र नेपाली अनुवाद २०१९ मा प्रकाशित भएको देखिन्छ । 

भारतीय लेखक पङ्कज मिश्राका अनुसार ‘केही दशकयता भारतमा लेखिएका सर्वोत्कृष्ट उपन्यासमध्ये’ को हो ‘घाचर घोचर’ । पछिल्लो गातामा छापिएका उद्धरणहरूले उपन्यासको स्वाभाविक बढाइचढाइ गरेकै हुन्छन् । त्यसो त मूल्य पनि १२५ पृष्ठको पुस्तकलाई ४०० रुपैयाँ धेरै नै हो नेपाली बजारमा । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC