site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कास्की उपनिर्वाचनः उमेदवार आकांक्षी नै बढी 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । देशकै ध्यानकेन्द्रित कास्की २ को प्रतिनिधिसभा निर्वाचनमा प्रमुख पार्टी नेकपा र कांग्रेसमा उमदेवारका आकांक्षी नै बढी देखिएका छन् । कांग्रेसबाट १६ जनाले निर्वाचन लड्ने आकांक्षा देखाएका छन् । चुनाव आउन अझै डेढ महिना बाँकी छ । चुनाव नजिकिँदै जाँदा ठूला पार्टीभित्र आकांक्षीहरु खुल्न थालेका छन् भने उमेदवारको सकस पनि उत्तिकै छ ।

यस क्षेत्रबाट चुनाव जितेका रवीन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि यो क्षेत्र रिक्त छ र यहाँ आउँदो मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । उनै रवीन्द्रले २०७४ को चुनावमा निकटतम् प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेलाई झन्डै नौ हजार मत अन्तरले हराएका थिए ।
निर्वाचनमा पराजित चालिसेसँगै उपनिर्वाचनमा १६ जना आकांक्षी देखिएका छन् । 

कास्की कांग्रेस सभापति कृष्ण केसीले अहिलेसम्म १६ जनाले आकांक्षा देखाएको बताए ।  आकांक्षीको संख्या धेरै भए पनि टिकट भने एकजनाले पाउनेछ जसको टुंगो केन्द्रले लगाउनेछ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

 
“हामीलाई उमेदवार टुंग्याउने अधिकार छैन, तीनजनासम्मको नाम सिफारिस गरेर पठाउने भनेको छ, हामीले यसको अख्तियारी क्षेत्रीय कार्यसमितिलाई दिएका छौँ, सम्भवतः यही महिनाभित्रै तीनजना उमेदवारको छनोट होला,” उनले भने । क्षेत्रीय सभापति माधव बास्तोलाले भने, “हामी अहिले आन्तरिक गृहकार्यमा छौँ, को–को आकांक्षी हुनुहुन्छ बुझ्न खोजेका हौँ, कांग्रेस ठूलो पार्टी हो, आकांक्षा पनि धेरैले नै देखाउनुभएको छ ।”

आकांक्षीको नाम नभने पनि उनले अघिल्लो निर्वाचनका उमेदवारदेखि नयाँ अनुहारसम्मले निर्वाचन लड्ने चाहना देखाएको बताए । “पुरानादेखि नयाँ अनुहार पनि उत्तिकै हुनुहुन्छ, धेरै उमेदवार भए पनि हामीले सकेसम्म सहमतिबाटै टुंगो लगाएर जिल्लालाई सिफारिस गर्ने हो, अन्यथा लोकतान्त्रिक प्रक्रिया त छँदैछ ।”
यही महिनाभित्रै तीनजना उमेदवार जिल्लालाई सिफारिस गरिसक्ने उनले दाबी गरे । जिल्ला सभापति कृष्ण केसीले पनि क्षेत्रले सिफारिस गरेपछि कात्तिक १–२ गतेभित्रै केन्द्रमा सिफारिस गरिसक्ने बताए ।

Royal Enfield Island Ad

“हामीले केन्द्रको पत्र प्राप्त भएपछि जिल्ला कार्य समितिको बैठक बसेर उमेदवार छनोटको बैठक बसेर क्षेत्रलाई दिइएको छ । केन्द्रको परिपत्र अनुसार क्षेत्रले सिफारिस गरेका उमेदवार हामीले केन्द्रमा पठाउनेछौँ,” उनले भने ।

यसको लागि उक्त क्षेत्रको क्षेत्रीय समिति आकांक्षी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संघसंगठनसँग छलफल र सरसल्लाह गरिएको उनले बताए ।

निर्वाचनको आन्तरिक तयारी भने भइरहेको उनले जानकारी दिए । “आन्तरिक संगठन परिचालन, व्यवस्थित र पार्टीका हरेक इकाइका कार्यकर्ताबीच जाने, छलफल चलाउने कार्य भइरहेको छ, अघिल्लो निर्वाचनमा जाँदा गुमेको परिणाम फिर्ता ल्याउने गरी महत्व दिएका छौँ,” केसीले जानकारी दिए ।

निर्वाचनमा पराजित भए पनि पाँचवर्षसम्मको उमेदवार आफू नै भएको तर्क देवराज चालिसेले गर्दै आएका छन् । उनीसँगै महासमिति सदस्य ऋषि काफ्ले पनि आकांक्षीको दौडमा छन् । कांग्रेसमा सोभियतबहादुर अधिकारी, वीरेन्द्रनारायण बिजुक्छे, विजय आचार्य, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले टिकट दाबी गर्दै आएका छन् ।

नेकपामा पनि उस्तै

अघिल्लो निर्वाचनको साख जोगाउने र सरकार लोकप्रिय रहेको सन्देश दिन कास्की नेकपालाई अहिले सबैभन्दा ठूलो चुनौती छ । त्यसकारण पनि नेकपा संयमित भएरै चुनावी प्रचारमा लागेको छ । विभिन्न संगठनको चुनावमा नेकपाको लगातार पराजय, दुई पार्टी एकीकरण पछिको पहिलो उपनिर्वाचन, त्यसमाथि पनि प्रतिनिधिसभा निर्वाचनको एकमात्रै क्षेत्रमा साख जोगाउनु नेकपाको मुख्य चुनौती हो ।

यहाँबाट तत्कालीन एमालेका रवीन्द्र अधिकारीले चुनाव जितेका थिए । अहिले पनि नेकपाभित्र साविकको एमालेबाटै उमेदवार बनाउनुपर्ने पक्षमा पूर्वएमाले नेताहरु लागिपरेका छन् । यहाँका नेकपाका अध्यक्ष कृष्ण थापा पनि पूर्वएमालेकै हुन् । उनी प्रदेशसभा सदस्य समेत हुन् ।

दसैंलगत्तै आकांक्षी छान्ने र केन्द्रमा पठाउने भनिए पनि हालसम्म आकांक्षी उमेदवारको विषयमा छलफल नभएको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा बताउँछन् । “उमेदावरकै बारेमा त छलफल भएको छैन, जिल्लाको बैठक पनि बसेका छौँ तर आन्तरिक काम मात्र भएको छ,” उनले जानकारी दिए ।

थापाका अनुसार १० दिनभित्रै आकांक्षीलाई केन्द्रमा सिफारिस गरिने उनले जानकारी दिए । “को–को आकांक्षी हुनुहुन्छ, सोध्ने प्रक्रिया सुरु भएको छ, हेरौँ, आगामी १० दिनसम्ममा सबै टुंगिएला,” थापाले भने ।

नेकपामा सुरुमा नेकपा उपाध्यक्ष बामदेव गौतम लड्ने चर्चा र नेकपाकै अध्यक्षद्वयले समेत समर्थन गरिसकेको हल्ला भए पनि उक्त हल्लाको स्वयम् गौतमले नै खण्डन गर्दै चुनाव नलड्ने घोषणा गरिसकेका छन् । रवीन्द्रपत्नी विद्या भट्टराई अहिलेसम्म चुनाव लड्ने वा नलड्ने निर्णयमा पुग्न सकेकी छैनन् । पार्टीको निर्देशन र निर्णयअनुसार गर्ने भन्ने उनले तयारी जवाफ छ ।

यसबाहेक नेकपामा सोमनाथ अधिकारी प्यासी, तुलबहादुर गुरुङ धनराज आचार्य, राजकाजी गुरुङ (करण) श्रीनाथ बराल, शारदा सुवेदी, भीम कार्कीलगायतको चर्चा भइरहेको छ । पूर्वमाओवादी केन्द्रबाट प्रदेशसभामा पराजित राजकाजी गुरुङ (करण) कास्की २ ‘ख’ बाट पराजित प्रदेशसभा सदस्यका उम्मेदवार समेत हुन् ।

१२२० मतदाता थपिए

मंसिर १४ गतेको उपनिर्वाचनमा ७१ हजार आठ सय ७१ जनाले मतदान गर्न पाउने भएका छन् । यो संख्या २०७४ को चुनावभन्दा एक हजार दुई सय २० जनाले बढी हो । ०७४ को चुनावमा ७० हजार छ सय ५१ जना मतदाता यो क्षेत्रमा थिए । जिल्ला निर्वाचन कार्यालय कास्कीले उपनिर्वाचनको लागि मतदाता नामावली संकलन गरेको थियो । कार्यालयका अनुसार अन्तिम मतदाता नामावली प्रकाशन हुँदा यस क्षेत्रमा ७१ हजार आठ सय ७१ जनाले मतदान गर्न पाउनेछन् ।

जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले निर्वाचनका लागि अन्य कार्यहरु पनि भइरहेको जानकारी दिए ।  “आन्तरिक तयारी हुँदैछ, निर्वाचन सामाग्रीहरु खरिद गर्ने जम्मा गर्ने कार्य हुँदैछ । कर्मचारी आवश्यकताको विषयमा पनि गृहकार्य गदैछौँ,” सुवेदीले भने ।
    
यस क्षेत्रमा ३२ मतदान स्थल तथा ८२ वटा मतदान केन्द्र रहनेछन् भने हरेक केन्द्रमा सात–आठ जनाका दरले कर्मचारी आवश्यक पर्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ । मंसिरमा हुने उपनिर्वाचनमा ३३ हजार एक सय छ जना पुरुष र १८ हजार सात सय ६४ जना महिला मतदाताले भाग लिनेछन् । वडा नं. १७ स्थित पार्दी माविको मतदान केन्द्रमा सबैभन्दा बढी ५०२८ जना मतदाता रहेका छन् भने वडा नं. १६ को दिपज्योती आधारभूत विद्यालयको केन्द्रमा सबैभन्दा कम सात सय आठजनामात्रै मतदाता रहेका छन् ।

पोखरा लेखनाथ महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बर वडालाई राखेर २ नम्बर क्षेत्र बनाइएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro