पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवनबाट रातारात पोखरा ल्याइएपछि मानवअधिकार उल्लंघन भएको भन्दै रास्वपासहित अरू दलका नेताले पनि अभिव्यक्ति दिएका छन् । गएको बुधबार लामिछानेलाई चितवनमा बयान सकिएपछि मध्यरातमा पोखरा ल्याइएको थियो ।
मादकपदार्थ सेवन गरेका प्रहरी अधिकारीले रातमा औषधि समेत खान नदिई लामिछानेलाई जबर्जस्ती उठाएर हिँडाएको आरोप लगाइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा ल्याइसकेपछि भेटेका नेताहरूले त्यस्तो अभिव्यक्ति दोहोर्याउँदै मानवअधिकारको गम्भीर उल्लंघन भएको जनाएका छन् ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अनुसन्धानका क्रममा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा लामिछाने गएको कात्तिक २ गतेयता कास्की प्रहरी हिरासतमा छन् । उनीमाथि अन्तिमपटक मंसिर ९ गते अनुसन्धानका निम्ति १५ दिनको म्याद थप गरिएको थियो, त्यो आइतबार सकिँदै छ । लामिछानेमाथि प्रहरीले सहकारी ठगी, किर्ते, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
उनलाई कास्की ल्याइसकेपछि यहाँबाटै बयानका निम्ति कात्तिक अन्तिम साता रुपन्देही लगिएको थियो । त्यसपछि काठमाडौं र त्यतैबाट चितवन लगिएको थियो । पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यी सबै घटनामा लामिछाने जोडिएको विषयचाहिँ गोर्खा मिडिया र उनी त्यसका पूर्वसञ्चालक हुनु हो ।
सोही प्रकरणमा चितवन लगिँदा उनका समर्थकले व्यापक नाराबाजी र प्रदर्शन गरेका थिए । त्यसक्रममा झडप हुँदा केही सुरक्षाकर्मी र रास्वपाका कार्यकर्ता–समर्थक घाइते भएका थिए । बुधबार त्यहाँ उनको बयान सकिएपछि बिहीबार पोखरा ल्याउने प्रहरीको प्रारम्भिक तयारी थियो ।
लामिछानेले बिहीबार विमानमार्फत पोखरा आउने बताएका थिए । तर, प्रहरीले बुधबार आधारातमा उनलाई जबर्जस्ती पोखरा ल्याएको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी वसन्तकुमार शर्माले उनलाई राति ३ बजेतिर कास्की ल्याइएको र हिरासतमा रहेका बताएका थिए ।
“उहाँ (रवि लामिछाने)लाई पोखरा पुर्याउँदा त्यही बिहानको ३–४ बजेको थियो होला । अहिले जिल्ला प्रहरी कार्यालयको कस्टडीमा हुनुहुन्छ,” उनले भनेका थिए ।
लामिछानेलाई चितवन हिरासतमा प्रहरीद्वारा गरिएको व्यवहार मानवअधिकारको गम्भीर उल्लंघन भएको भनेर टीकाटिप्पणी भइरहेको छ । यसबारे रास्वपाले मानवअधिकार आयोगमा उजुरी पनि दिएको छ ।
हिरासतमा रहेका व्यक्तिमाथि अमानवीय कार्य भएको भनेर लामिछानेप्रति अरू दलका नेताले पनि ऐक्यबद्धता जनाउन थालेका छन् । उनलाई आधारातमा पोखरा ल्याइएको विषयमा सत्तासाझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले असहमति जनाएका छन् ।
शनिबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले भने, “नेपाली कांग्रेस मानवअधिकार र लोकतन्त्रप्रति प्रतिबद्ध छ । रविजीको विषयमा अदालतले आफ्नो प्रक्रिया अघि बढाइरहेको छ ।”
उनले लोकतान्त्रिक देशमा यस्तो हुनु गलत भएको पनि बताए । “...तर, राति १२ बजे उठाएर लैजाने भन्ने कुराचाहिँ अमानवीय काम हो । यो रविजीको मात्रै कुरा होइन, कसैलाई पनि गर्न हुँदैन । यो त हाम्रो लोकतान्त्रिक देश हो । त्यो बिल्कुल गलत हो,” कोइरालाले भने ।
यसबारे कांग्रेसका तर्फबाट बोल्ने उनी पहिलो नेता हुन् । त्यसो त लामिछानेलाई चितवनबाट पोखरा ल्याइएपछि दिनहुँजसो उनलाई भेट्न अरू दलका नेता समेत पुग्न थालेका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले शुक्रबार लामिछानेलाई हिरासतमा नै भेटेका थिए । भेटपछि उनले लामिछानेलाई राज्यले दुःख दिएको बताएका थिए । लामिछानेमाथि राज्यले अस्वाभाविक र अन्यायपूर्ण व्यवहार गरेको भन्दै उनले रास्वपाको आन्दोलनमा ऐक्यबद्धता पनि जनाए ।
उनले भनेका थिए, “जुन राजनीतिक शक्तिहरू उदय भइराखेको छ, तीमध्येको एउटा सशक्त धार गठन गर्ने व्यक्तिको रूपमा म उहाँलाई बुझ्छु । त्यसैले उहाँप्रति मेरो सधैँ सद्भाव पनि छ । अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अस्वाभाविक र अन्यायपूर्ण भयो भनेर आफ्नो ऐक्यबद्धता दिन म यहाँ आएको हो । यो अलिकति प्रतिशोधपूर्ण भएको छ भन्ने मलाई लागेको छ ।”
आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको र उक्त सन्देश बाहिर लैजान लामिछानेले आग्रह गरेको भट्टराईले जानकारी दिएका थिए । “उहाँले म (रवि)माथि राजनीतिक प्रतिशोध हो, मैले सबै गरिरहेको छु, गर्छु भन्नुभयो । यो सन्देश बाहिर पुगोस् भन्नुभएको छ । मैलेचाहिँ सधैँ सत्य र न्यायको पक्षमा लडेको मान्छे भएकाले सधैँ लड्छु र बोल्छु भनेको छु,” डा. भट्टराइले भने ।
डा. भट्टराईले ऐक्यबद्धता जनाएको भोलिपल्ट (शनिबार) संसद्को प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि लामिछानेलाई हिरासतमा भेटे । भेटपछि शाहीले लामिछानेमाथि अमानवीय व्यवहार र मानवअधिकार उल्लंघन भएको सुनेकाले त्यसबारे सत्यतथ्य बुझ्न आएको बताए ।
उनले लामिछानेमाथि गम्भीर मानवअधिकार उल्लंघन भएको बताए । “चितवनमा उहाँलाई अमानवीय व्यवहार गरिएको छ । मानवअधिकारको गम्भीर उल्लंघन भएको छ । जसले गरेको हो, उनीहरूलाई कारबाही गरिनुपर्छ भन्ने हाम्रो माग हो,” उनले भने ।
लामिछाने उच्च रक्तचापको बिरामी रहेको तर औषधि समेत खान नदिएर राज्यले मानवअधिकारको ठाडो उल्लंघन गरेको उनले आरोप लगाए । उनले त्यसमा संलग्न अधिकारीलाई कारबाही गर्न माग समेत गरे ।
शाही मानवअधिकारकर्मीको टोलीसहित लामिछानेलाई भेट्न हिरासतमा पुगेका थिए । लामिछानेमाथि प्रतिशोध साँधिएको उनले बताए ।
“प्रतिशोध नभएको भए अरू मान्छेलाई पनि ल्याएर थुन्नुपर्थ्यो । कानुनी राज्यको पालना सबैले गर्नुपर्छ । हामीले सबै अधिकार न्यायालयलाई दिएका छौँ, न्यायालयभन्दा जान्नेबुझ्ने हामी होइन, न्यायालयले जे गर्छ, त्यो स्वीकार गर्नुपर्छ” उनले भने, “तर, हिरासतमा भएको अमावनीय घटनाको चाहिँ खेद प्रकट गर्दछु । हिरासतमा मानवअधिकारको उल्लंघन गर्न पाइँदैन । हिजो ममाथि पनि यस्तो भएको थियो ।”
मादकपदार्थ सेवन गरेका प्रहरीले आएर मध्यरातमा उठाएको भनेर लामिछानेले भनेको भन्दै शाहीले राज्यआतंक भएको बताए । “हिरासतमा भएका व्यक्तिलाई जाँड खाएको प्रहरी आएर उठाएर, तानेर, अहिले जो रास्वपाका सभापतिले जुन कुरा मसँग गर्नुभयो, उहाँको कुराअनुसार त जाँड खाएको प्रहरी आएर रातको ११/१२ बजेतिर आएर उठेर कतै मलाई मारिदिन्छन् कि भनेर मैलेचाहिँ ठाउँठाउँमा प्रहरीलाई कहाँ लैजान लागेको भन्नुपर्ने अवस्था सिर्जना, जुन राज्यआतंक भएको छ, यो हुनु हुँदैन,” शाहीले भने ।
लामिछानेलाई पोखरा ल्याइएपछि स्वास्थ्य जाँच गरिएको र उक्त रिपोर्ट नलुकाई सार्वजनिक गर्न उनले प्रहरीलाई आग्रह गरे । उक्त रिपोर्टमा लामिछानेमा उच्च रक्तचाप देखिएको शाहीको जिकिर छ ।
“दुःख परेको बेला साथ दिन आएको हुँ । मानवीयताको नाताले आएको हुँ । कानुनी प्रक्रियामा मेरो भन्नु केही छैन, तर हिरासतमा लगेपछि देशको पूर्वगृहमन्त्री, प्रतिनिधिसभा सदस्यलाई राज्यआतंक गर्न पाइँदैन । त्यो गरेपछि किन गरियो भनेर उहाँको मुखबाट सुन्न आएको हुँ,” उनले भने ।
मानवअधिकारकर्मीले पनि रातको समयमा जुनसुकै अवस्थामा त्यसरी जबर्जस्ती ल्याउन नपाइने बताए । “यो अमानवीय कुरा, नेपालको संविधानदेखि मानवअधिकारको अन्तर्राष्ट्रिय मान्यताको विपरीत भएको छ । यसको बारेमा अनुसन्धान गरेर वास्तविक कुरा लिन्छौँ । प्रमाणित भए यो मुद्दा हेगमा समेत लैजान सक्ने तागत हामीमा छ,” नेपाल मानवअधिकार परिषद्का अध्यक्ष तुलसी थापाले भने ।
लामिछानेमाथि बदला लिने भावमा शारीरिक र मानसिक रूपमा ‘ह्यारेसमेन्ट’ गरिएको उनको भनाइ छ । “मानवअधिकारको उल्लंघन गरेको घटना त मध्यरातमा चितवनबाट ल्याउँदैमा देखिएको छ । दिनको समयमा ल्याउँदा पनि कुनै आपत्ति हुन सक्ने स्थिति थिएन । तर, शारीरिक र मानसिक रूपमा ह्यारेस गर्न, रिभेन्ज लिने हिसाबले यो भइराखेको हो भन्ने अनुमान हामीले गरेका छौँ,” थापाले भने ।