मैले आफ्नो राजनीतिक जीवनमा पटक–पटक गरेर १५ वर्ष लामो जेल जीवन बिताएँ । पञ्चायतको अँध्यारो कालरात्रीमा जेल हाम्रा लागि कस्टकर नै थियो । तत्कालिन शासकहरु हामीप्रति निकै कडा रुपमा प्रस्तुत हुन्थे । किनकी हामी उनीहरुले चलाइरहेको व्यवस्थाको विरोधमा थियौं । प्रजातन्त्रको पक्षमा हामी आवाज उठाइरहन्थ्यौं ।
तर, चाडबाडको बेलामा उनीहरु पनि अलि नरम बन्थे । हामी जेलभित्रै पनि दसैं मनाउँथ्यो । असत्यमाथि सत्यको जीत भएजस्तै दसैंले हाम्रो आन्दोलनले पनि जित्नेछ, प्रजातन्त्रले जित्नेछ भन्ने विश्वासमा थप बल पुर्याउँथ्यो । जनताले एकदिन पक्कै निर्दलीय व्यवस्थाबाट पार पाउने छन्, लोकतन्त्रको घामबाट नेपालीले बञ्चित हुनुपर्ने छैन भन्ने मेरो विश्वास थियो । जेलभित्रै पनि हामी चाडबाड आउँदा रमाइलो गरेर मनाउँथ्यौं । इष्टमित्र भेट्न आउनुहुन्थ्यो । जेलमा भएका अरु साथीका आफन्तहरु र उहाँहरुको घरबाट ल्याएका विभिन्न प्रकारका खानाहरु हामी बाँडेर खान्थ्यौं । जेलभित्र पनि दसैं आएपछि हामी रमाइलो गथ्र्यौ ।
दश वटा दसैं जेलभित्रै
१५ वर्ष जेलमा बिताउँदा १० वटा दसैं मैले जेलभित्रै मनाएको छु । जेलभित्र पनि दसैं आउँथ्यो । काठमाडौंको सेन्ट्रल जेलमा बस्दा जेलमा सँगै रहेका काठमाडौंका साथीहरुको घरबाट आफन्तहरु आउँथे । खाने कुराहरु ल्याउँथे । प्रकार प्रकारका खानेकुरा हाम्रा लागि बनाएर आफन्तहरु भेट्न आउनुहुन्थ्यो । सेन्ट्रल जेलमा बस्दा दसैं निकै रमाइलैसँग मनाइन्थ्यो । एकपटक गोरखाको जेलमा दसैं तिहार नै मनाएको छु । त्यो बेलामा गोरखाकै स्थानीय कांग्रेसका साथीहरु तथा पार्टीका महिला नेताहरु सबै आउनुहुन्थ्यो । नख्खु कारागारमा बस्दाको पनि रमाइलो अनुभव छ । दसैं आएपछि नख्खुमा त हामीले पिङ पनि हालेका थियौं । पिङ पनि खेल्थ्यौं ।
पहिलो पटक म २०१८ सालमा भरतपुर जेलमा बसेको हुँ । अनि त्यसपछि विद्यार्थी आन्दोलनका क्रममा पटक पटक २०१९,२०२० र २०२२ सालमा जेलमा बसेँ । २०२८ सालदेखि २०३२ सालसम्म लगातार चार वर्ष नै जेलमा बसेँ । १७ वर्षको विद्यार्थी उमेरदेखि २०६२ सालसम्म आइपुग्दा पटक पटक गरि १५ वर्ष जेलमा विताएँ । अहिले पनि दसैं आउँदा जेलमा मनाएका दसैंहरु सम्झनामा आउँछन् । त्यतिबेला जेलमा रहेका साथीहरुको पनि सम्झना हुन्छ ।
किसुनजीसँग दसैं स्मरण
जेलमा कृष्णप्रसाद भट्टराई (किसुनजी), गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु)सँग पनि सँगै बसेँ । नख्खु कारागारमा गिरिजाबुसँगै जेलमा बसेको हुँ । सेन्ट्रल जेल भद्रगोलमा किसुनजी सँगसँगै जेल चलान गरेपछि नख्खु कारागारमा उहाँसँग पनि बसेँ । हामी किसुनजीसँग टीका लगाउँथ्यौं । दसैंमा उहाँ ‘आयुद्रोण सुते श्रीयम् दशरथे..’ भनेर श्लोक हाली हाली आशिर्वाद दिनुहुन्थ्यो । उहाँसँग टीका लगाएर जेलभित्रै मनाएको दसैं रमाइलो लाग्थ्यो । उहाँ जेलभित्रै पनि टीका लगाएर २०–३० रुपैयाँ दक्षिणा दिनुहुन्थ्यो । ओमकारजी, श्यामलालजी, श्रीकृष्ण जी भन्ने काठमाडौंका साथीहरुसँग पनि म जेल बसेको छु । उहाँहरुसँग जेलमा बस्दा पनि दसैं निकै रमाइलो भएको सम्झन्छु । उहाँहरुको घरबाट खानाका विभिन्न परिकार जेलमा आइपुग्थे । निकै रमाइलो हुन्थ्यो । उहाँहरुसँग बस्दा हाम्रो कोठा अरु कोठा भन्दा उज्यालो थियो ।
(कांग्रेस वरिष्ठ नेता पौडेलसँग बाह्रखरीका जगन्नाथ दुलालले गरेको कुराकानीमा आधारित)