काठमाडौं । सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को संयुक्त गोष्ठी (वैचारिक आदान–प्रदान) सोमबारबाट शुरू हुँदैछ । होटल याक एण्ड यतीमा अपराह्न ४ः४५ बजे शुरू हुने वैचारिक गोष्ठीमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले नेकपालाई राजनीतिक, वैचारिक प्रशिक्षण दिनेछ । यद्यपि नेकपाले त्यसलाई वैचारिक आदान–प्रदान भनेको छ ।
गोष्ठीका निम्ति चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ १२ः२५ बजे काठमाडौं आउनेछन् । उनीसहित चिनियाँ कम्युनिस्ट पार्टीको स्कुल (प्रशिक्षण), सङ्गठन विभागका प्रतिनिधिसहित झण्डै ५० जनाको समूह आउने बताइएको छ । यसअघि कम्युनिस्ट घटकका सदस्यहरू छुट्टछुट्टै चीन गएर राजनीतिक, वैचारिक प्रशिक्षण, अनुशिक्षण लिएर आउने भए पनि यसरी चिनियाँ प्रतिनिधिमण्डल नै आएर वैचारिक कार्यशाला राखेको पहिलोपटक भएको नेकपा नेता बताउँछन् । गोष्ठीकै सन्दर्भ पारेर दुई कम्युनिस्ट पार्टीबीच समझदारीमा हस्ताक्षरसमेत हुने बताइएको छ ।
यसअघि साविक एमाले, माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीबीच अलग–अलग सम्झौता–समझदारी भए पनि यसपटक पार्टी एक भएकाले पुनः सझदारीमा हस्ताक्षर गर्नुपरेको नेकपाका नेताहरूले जनाएका छन् । सोमबार र मंगलबार चल्ने गोष्ठीको उद्घाटन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गर्नेछन् । चिनियाँ कम्युनिस्ट पार्टी आयोजक रहेको गोष्ठीको अध्यक्षता नेकपाको स्कुल विभागले गर्ने पार्टी विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
उद्घाटन सत्रमा पार्टीका अध्यक्षद्वयले मन्तव्य राख्नेछन् । उद्घाटनकै दिन दोस्रो सत्रमा चिनियाँ कम्युनिस्ष्ट पार्टीका विदेश विभाग प्रमुख सङ् ताओले विशेष कार्यपत्र (कि नोट) राख्ने कार्यक्रम रहेको रिजालको भनाइ छ । मंगलबारको सत्र बिहान १० बजेदेखि होटल याक एण्ड यतीमै प्रारम्भ हुनेछ । नेकपाका तोकिएका नेता–कार्यकर्तामात्रै सहभागी हुनेछन् ।
दोस्रो दिनको सत्रमा सीपीसीका तीन विभाग, पार्टी स्कुल, विदेश सङ्गठन विभागले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यपत्र विशेषः चिनियाँ कम्युनिस्ट पार्टीले पछिल्लो पटक विकास गरेको सी जिनपिङ विचारधारा जुन पार्टीको निर्देशक सिद्धान्त र वैचारिक, राजनीतिक कार्यदिशासमेत हो र बदलिँदो विश्व परिदृष्यमा चीनको भूमिका, बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई परियोजना) विश्व कम्युनिस्ट आन्दोलनबारे चीनको दृष्टिकोण समावेश हुने नेकपाको नेता बताउँछन् ।
पार्टी अनुशासन त्यसले साङ्गठनिक जीवनमा पार्ने प्रभावबारे पनि चिनियाँ कम्युनिस्ट पार्टीले प्रशिक्षण दिनेछ । दोस्रो दिनको सत्रमा नेकपाको भने कार्यपत्र रहँदैन । अध्यक्षद्वयको मन्तव्यबाहेक नेकपाको कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची पनि छैन । मंगलबार दुई कम्युनिस्ट पार्टीबीच समझदारीमा हस्ताक्षर हुनेछ । होट मेरियाटमा मध्याह्न ११ः४५ मा नेकपा स्कुल विभाग र सीसीपी स्कुल विभागबीच हस्ताक्षर हुनेछ । हस्ताक्षरमा नेकपाका दुई अध्यक्षको पनि उपस्थिति रहने रिजालले जानकारी दिए ।
“यसअघि एमाले र माओवादी केन्द्रबीच पार्टीको चिनियाँ कम्युनिस्ट पार्टीसँग छुट्टाछुट्टै राजनीतिक समझादरी भएर मैत्रीपूर्ण सम्बन्ध स्थापित भएको थियो । दुई पार्टी एकभएपछि सीपीसीसँग पुनः समझदारीको खाँचो परेको हो,” उपप्रमुख रिजालले भने । आजै सीसीपीका विदेश विभाग प्रमुख सङ र प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ताको कार्यक्रम रहेको रिजालको भनाइ छ । भेटका अवसरमा चिनियाँ राष्ट्रप्रति सी जिनपिङको को नेपाल भ्रमणका विषयमा कुराकानी हुने बताइएको छ ।
नेकपा र सीपीसीको वैचारिक प्रशिक्षण गोष्ठी पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणसँग जोडेर हेर्नुपर्ने र राष्ट्रपति सीभन्दा पहिलो उनको विचारको आगमन भएको रूपमा बुझ्नुपर्ने नेकपाकै नेताहरूको भनाइ छ । सीपीसीको १९ औँ महाधिवेशनले तय गरेको सीपथका बारेमा नेकपाभित्र बहसको थालनी भएको छ । नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले त यसबारे बहसको उठान नै शुरू गरेका छन् ।
राष्ट्रपति सीको भ्रमणको पूर्वसन्ध्यामा सीपीसीले दिन लागेको प्रशिक्षण अर्थपूर्ण रहेको र कतै नेकपा सी पथतिर त अभिमुख हुँदैन भन्ने संशयलाई बढावा दिएको राजनीतिक विश्लेषक बताउँछन् ।