site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नाटकघर ‘सर्भाइभ’ हुन सजिलो छैन  
Sarbottam CementSarbottam Cement

१३ वर्ष अघिदेखि नाटकघर खोलेर नेपालमा नाटकलाई गति दिँदै आएका छन्– घिमिरे युवराज । उनी शिल्पी नाटकघरका संस्थापक, कलाकार, निर्देशक तथा नाटककार हुन् । नेपाली तथा विदेशी अनुदित थुपै नाटक निर्देशन गरिसकेका घिमिरे पछिल्लो समय नाटक लेखनमा पनि अग्रसर भएका छन् । नाटकघर खोलेर यसलाई निरन्तरता दिनु भनेको हरेक दिन ‘हट प्यान’मा बस्नुसरह भएको बताउँतछन् उनी । नाटकघर खोलेपछि त्यसको लगानी उठाउने भन्दा पनि ‘सर्भाइभ’ भने हुन सक्ने उनको भनाइ छ । केही दिन अघिमात्रै उनले आफैंले लेखेको नाटक ‘आँधिको मनोरम नृत्य’लाई पुस्तकमा ल्याए । पहिलो पटक किशोर मनोभावलाई लेखनमा उतारेका उनलाई यो नाटक लेख्न निकै गाह्रो परेको थियो । दशकभन्दा लामो नाटकघरको अनुभव भएका उनीसँग नाटक किताबको अनुभव तथ समग्र नेपाली नाटकबारे बाह्रखरीकर्मी वर्षा महर्जनले गरेको कुराकानीको सार:

भर्खरै नाटकको किताब ‘आँधीको मनोरम नृत्य’ ल्याउनुभएको छ । प्रतिक्रिया कस्तोे आउँदैछ ?
एकदमै सकारात्मक छ । अहिलेसम्म पढेका साथीभाइले राम्रो प्रतिक्रिया दिइरहनुभएकोमा उत्साहित पनि छु ।

नाटक त हेर्ने पो हो, पढ्ने हो र ?
नाटक साहित्य र प्रस्तुति दुवै हो । किनभने, संसारका प्रसिद्ध नाटकहरु, जस्तै सेक्सपियरका सबै नाटक पढ्न योग्य छन् । स्तरीय नाटक छ भने पढ्न पनि उत्तिकै मज्जा आउँछ । साहित्यको एउटा बलियो विधाको रुपमा नाटकलाई लिइन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यही नाटक तपाईंले मञ्चन पनि गरिसक्नुभयो । जसमा किशोर मनोविज्ञान उतार्नुभएको छ । त्यसको प्रभाव कत्तिको परेको पाउनुभयो ?
यसमा मैले तपाईंले भन्नु भएको जस्तै टिनएजर्सको कथालाई लिएको छु । स्कुल–कलेजका विद्यार्थीले धेरै हेरे । १५ वटा स्कुल–कलेजका विद्यार्थीलाई हामीले यो नाटक देखायौं ।

धेरै विद्यार्थीले नाटक हेरिसकेपछि हाम्रो वास्तविक जीवनलाई तपाईंले नाटकमा देखाइदिनुभयो भन्ने प्रतिक्रिया दिनुभयो । अभिभावक र गुरुवर्गको दृष्टिकोणलाई प्राथमिकता दिइएको हुनाले उनीहरुको नजरबाट नाटक लेख्दा, ए हाम्रो कुरा पनि सुनिँदो रहेछ भनेर उनीहरु खुसी भए । 

Global Ime bank

आँधिको मनोरम नृत्यमा किशोरावस्थाको केके कुरा समेट्नुभएको छ ?
पुस्तान्तरको कुरा छ । अहिलेका टिनएजरहरुमा उनीहरुका बुवा, आमा र हजुरबुवा–आमाबीच वैचारिक तथा जीवनशैलीको हिसाबले पनि ठूलो भिन्नता छ । नयाँ प्रविधि भित्रियो । मित्रता र मायाका नयाँनयाँ परिभाषाहरु आए । नयाँ सम्बन्ध खोजिन थालियो । बुवा–आमा र शिक्षकहरुमा आफ्ना बच्चाले धेरै पढेर अब्बल नम्बर ल्याएर ‘राम्रो’ बनोस् भन्ने चाहना छ । तर छोराछोरी के सोच्छन् के चाहन्छन् भनेर उनीहरुकै नजरबाट नाटक बनाउन जरुरी छ भन्ने लागेर यो नाटक तयार पारेको हो ।

स्कुल, घर र समाजले बनाइदिएको त्यो व्यस्त घेराबाहेक उनीहरुले कहिले आफनो लागि समय पाउँछन् त ? उमेर बढेसँगै शरीरमा र मनमा आएको रुपान्तरण अनि चञ्चलतालाई उसले कसरी लिइरहेको छ र उसले मनको कुरा कसलाई सुनाउने ? आफनो शरीरको रङ्ग र रुपलाई लिएर साथीभाइहरुले जिस्काउँदा निराशा पो बढ्दै गएको हो कि भन्नेजस्ता कुरालाई नाटकमा समेटेको छु ।

तपाईं पौराणिक अनि द्वन्द्वसँग सम्बन्धित जटिल नाटकतिर सक्रिय व्यक्ति, किशोरकिशोरीको नाटक लेख्छु भनेर कसरी सोच पलायो ?
मैले अलि धेरै एब्सर्ड, मिथिकल, द्वन्द्वात्मक र ऐतिहासिक चरित्रमाथि नाटक गरिरहेको पक्का पनि हो । अबचाहिँ केही प्रयोगात्मक नाटक पनि गर्नुप¥यो भन्ने सोचमा थिएँ । त्यही समय मेरा विद्यार्थीले ‘जहिल्यै तपाईं कथा खोज्न कताकता जानुहुन्छ, हाम्रो विषयमा चाहिँ नाटक हुँदैन ? भनेपछि मलाई छोयो । हो नि हामी जहिले पनि कथा खोज्न बाहिरबाहिर जान्छौं । यही सहरभित्रै पनि कति कथाहरु छन् भनेर खोज्दै गर्दा यो नाटक लेखेँ । यो समयावधिमा केही स्कुले भाइबहिनीहरुले आत्महत्या गरेका समाचारहरु सुनिन थाले । त्यसले पनि एकदमै धेरै घचघचायो लेख्न । त्यस्ता घटनाबाट छोइनाले पनि प्रेरणाको  काम हुन गयो ।

किशोर मनोविज्ञानलाई नाटक लेखनमा उतार्न कतिको गाह्रो लाग्यो ?
मलाई लेख्ने इच्छा त भयो, तर सजिलो पटक्कै भएन । किनभने, म त त्यो उमेर समूहको होइन । नाटक लेख्दै जाँदा म आफंैले पनि अभिभावकको नजरबाट हेर्ने अनि उनीहरुको क्रियाकलापलाई ‘जज’ गर्ने रहेछु भन्ने थाहा पाएँ । मेरो उमेर धेरैपटक मेरो लेखनमा हाबी हुन पुग्यो । यो नाटक लेख्ने क्रममा म धेरै स्कुलहरुमा गएँ अध्ययनका लागि । ती स्कुले विद्यार्थी र हाम्रो कलाकार विद्यार्थीको मद्दतले मैले यो नाटक लेख्न सकेको हो ।

तपाईं नाटक खेल्ने अनि निर्देशन गर्ने मान्छे लेखनतिर लाग्नुभयो नि ?
मेरो इच्छा लेख्ने पनि हो । म नाटकसम्बन्धी लेख र कथा पनि लेखिरहेको हुन्छु र प्रकाशित पनि गरिरहेको हुन्छु बारम्बार । तर म ‘शिल्पी’को प्रशासन र अभिनय अनि निर्देशनमै धेरै समय अल्झिएँ । त्यो स्पेस पाइरहेको थिएन लेख्नलाई । तर सधंैभरि आफ्नो इच्छा मारेर पनि त भएन । यो खासमा पुस्तकको रुपमा ल्याउँछु भन्नेचाहिँ थिएन । तर नाटक मञ्चनपछि धेरै सकारात्मक प्रतिक्रिया आयो र धेरैले किताब ल्याए पनि हुन्छ भन्ने सल्लाह दिनुभयो । मञ्चनपछि आत्मबल पनि बढ्यो । अनि मैले मञ्चित नाटकमाथि काम गरेँ । हामीले निर्देशन गर्दा १० हजार शब्द थियो भने किताबमा १५ हजार शब्द पुग्यो, हरेक ‘सिन’ को वर्णन गर्नुपर्ने भएकाले । यो नाटक म र मेरो साथी अमजद प्रवेजले संयुक्त रुपमा निर्देशन गरेका हौं । 

मञ्चनका लागि लेख्न सजिलो कि पढ्नको लागि ?
त्यसलाई तुलनात्मकरुपमा हेर्न सकिन्नँ । दुईथरि नै उत्तिकै गाह्रो । म धेरै वर्षदेखि रङ्गमञ्चमै काम गरिहेको हुनाले केही हदसम्म दृश्यलाई मञ्चमा उतार्न सहज लाग्छ, किताबमा ल्याउँदा अलि चुनौतीपूर्ण लाग्यो । कुन राख्ने, कुन नराख्ने र पाठकले किताब पढिरहँदा ‘भिजुअलाइज’ कसरी गर्ने भन्नेखालको चुनौती थियो ।

अरु किताब पनि लेख्ने योजना छ ? 
फिक्सन मेरो प्रिय विधा हो । म फिक्सनमा काम गर्छु ।

शिल्पीमै धेरै व्यस्त भएँ भन्नुभयो । शिल्पीको मुख्य व्यक्ति पनि हुनुहुन्छ । कतिको गाह्रो हुन्छ थिएटर चलाउन ?
एकदमै गाह्रो छ । मसँगै अरु पनि हुनुहुन्छ, सबैले आ–आफ्नो हिसाबले योगदान पुर्‍याइरहनुभएको छ । हामीले लिजमा जग्गा लिएर आफैं थिएटर बनाएर सञ्चालन गरिरहेका छौं । यसको हरेक महिनाको खर्च नै तीन लाखजति छ । त्यही भएर आर्थिक रुपमा धेरै नै चुनौतीपूर्ण छ यो काम । गुणस्तरत कायम राखेर नाटकघरलाई सर्भाइभ गराइराख्नु चुनौतीपूर्ण काम हो । हरेक एउटा प्रोडक्सनपछि अर्कोे प्रोडक्सनमा जानु नै चुनौतीपूर्ण हुन्छ । किनभने, नाटकघर मात्रै भएर भएन, नाटक पनि दर्शकले मन पराइदिनुप¥यो । नाटकबाटै गुजारा चलाउनु पनि पर्‍यो । हामी हरेक दिन ‘हट प्यान’मा बसेजस्तो लाग्छ । 

शिल्पीलाई व्यवस्थित र राम्रो बनाउन के–कस्तो योजना बनाउनुभएको छ ? 
म युरोपमा पढेको हुनाले त्यहाँका धेरै नाटकघर हेर्ने मौका पाएँ । पहिलो त हामीले अलि ठूलो स्टेजमै जोड दियौं । अर्को कुराचाहिँ नाटकघर भनेको गेटबाटै सुरु हुन्छ, त्यहीँबाटै राम्रो वातावरण सृजना गर्न सक्नुपर्छ । दर्शक र स्वयम् कलाकारलाई नै पनि आत्मीय वातावरण तथा कलाको अनुभव प्रदान गर्न सक्दो कोसिस गरिरहेका छौं । शिल्पीलाई अझै राम्रो र व्यवस्थित गर्ने सपना छ । थिएटरको सङ्गठनात्मक संरचनामा जाने कोसिस गरिरहेका छौं, त्यसकारण पनि हामी अलि व्यवस्थित छौं । 

तपाईंले खेलेका र निर्देशन गरेका अधिकांश नाटक अनुवादमा आधारित छन् । नेपाली नाटक नपाएर त्यसो गर्नुभएको हो ?
धेरै जसो भन्दा पनि त्यो सङ्ख्या बराबरी छ । नेपालीमा नाटक नपाएर त होइन । हामीले गोठाले नाटकघरको उद्घाटन नै कुमार नगरकोटीको ‘कोमा अ पोलिटिकल सेक्स’ नामक नेपाली नाटकबाटै गरेका हौं ।

त्यसपछि हामीले सत्यमोहन जोशीको ‘मजिपा लाखे’, अभि सुवेदिको ‘चिरिएका साँझ’ गर्‍यौं । भवानी भिक्षु, नयनराज पाण्डे, उपेन्द्र सुब्बालगायत लेखकले लेखेका कथामा आधारित नाटक पनि गर्‍यौं । पछिल्लो पटक कुमार नगरकोटीले लेखेको ‘बाथटब’ अनि फूलमान बलको ‘म्हेन्दोमाया’ र मैले लेखेको ‘आँधीको मनोरम नृत्य’ पनि गर्‍यौं ।

एउटा रङ्गकर्मीलाई संसारमा आएका राम्रा नाटक खेल्ने इच्छा हुन्छ । एउटा कुराचाहिँ भन्छु– नेपाली नाटक गरिनुपर्छ, तर विदेशी नाटकप्रति पूर्वाग्रह राख्नु हुँदैन । यस्तै सोच्ने हो भने विदेशी पुस्तक पढ्नै भएन । विदेशी चलचित्र हेर्नै भएन । कलाको राष्ट्रियता हुँदैन । दर्शकहरुले त विदेशी नाटकलाई पनि खुलेरै प्रशंसा गरिराख्नुभएको छ । मलाई लाग्छ– मिडियाले पनि त्यसमा खुल्ला विचार गर्नुपर्छ । नेपाली नाटक नभएर विदेशी गरेको भन्दा पनि, जति धेरै विदेशी नाटक ग¥यो त्यसले नेपाली नाटक लेखनलाई सघाउ पु¥याउँछ भनेर बुझ्नुपर्छ । त्यो जहिले पनि परिपूरक नै हो जस्तो लाग्छ मलाई ।

तर नाटक लेखकहरुको कमी त छ नै, होइन र ? 
हो । अरु साहित्यिक किताबहरु कथा, उपन्यासभन्दा नाटक निकै कम छ । काल्पनिक कथा, उपन्यास तथा अरु किताबहरु आउँदा बजारले पत्याइहाल्छ, नाटककै किताबमा चाहिँ त्यस्तो छैन । सायद बजारमा नाटकका किताबलाई अरु जस्तो पु¥याउन नसकिएको पनि हुन सक्छ । या त गुणस्तरयुक्त लेखन नभएर पनि हुन सक्छ । आर्टको कतिपति विधालाई म ‘अभोकादो’सँग तुलना गर्छु । यो सुरुमा खाँदा अनौठो लाग्छ । तर पछि बानी भैसकेपछि मन पराउँछन् । 

नाटक प्रशिक्षण पनि दिइरहनुभएको छ, विद्यार्थी कत्तिको आउँछन् ?
हरेक थिएटर गु्रप मण्डला, सर्वनाम, एक्ट्रेस स्टुडियोले प्रशिक्षण दिइरहेको छ । सबै थिएटरमा विद्यार्थीहरु छन् । अस्ति भर्खरै पनि ११ औं ब्याचलाई बिदाइ गर्‍यौं । हरेक वर्ष हामी दुई ब्याचलाई प्रशिक्षण दिन्छौं । हरेक ब्याचमा १५ देखि २० जना लिन्छौं । समयसँगै सङ्ख्या पनि बढ्दै गइरहेको छ ।

ती विद्यार्थीहरु रङ्गमञ्चमै कतिको टिकिरहन्छन् ?
नाटकमै टिकिरहने एकदमै कम छन् । धेरैको इच्छा चलचित्रमा जाने हुन्छ । कतिचाहिँ खाली समय केही सृजनात्मक काममा लागौं भनेर आउनुहुन्छ । तर नाटकमै लाग्छन् भन्ने अपेक्षा पनि गर्दिनँ म । नाटकको पनि विभिन्न पाटो छ । थिएटरबाहेक पनि कोही रेडियो नाटकमा, कोही चलचित्रमा र कोही यसमै टिकिरहन्छन् । प्रशिक्षण लिइसकेपछि नाटक सचेत कलाकार र दर्शकचाहिँ जन्मन्छन् ।

नाटकमा पुरुष कलाकारभन्दा महिला कलाकार कम देखिने र त्यही महिला कहिलेकाहीँ त डबल रोलमा पनि देखिने गर्छन् । महिलाको कमी भएरै हो ?
कमी नै हो । हामीले दिने प्रशिक्षणको लास्ट ब्याचमा १६ जना विद्यार्थीमा ६ जना महिला र १० जना पुरुष थिए । सामाजिक व्यवहार र छोरीलाई दिने मौका, हेर्ने नजरमा पनि भर पर्छ । समग्रमा समाजमा जस्तो चलन छ त्यसको असर थिएटरमा पनि भैहाल्छ ।

अहिले नाटकघरमा नाटकहरु निरन्तर मञ्चन भैरहेका छन् । नाटक हेर्ने दर्शक बढेकै हुन् त ?
दर्शक बढेका छन् । समग्रतामा चलचित्र हेर्ने, पुस्तक पढ्ने, पेन्टिङ हेर्ने दर्शक नै कति छन् र ? तर यसले नाटकको दर्शक तान्न मद्दत मिलिरहेको छ । यति भन्दाभन्दै पनि नेपालमा थिएटर कल्चरकै विकास भने भैसकेको छैन । हामीले हतार पनि गर्नु हुँदैन र यतिको दर्शकमा नाटकप्रतिको मोहलाई नकार्नु पनि हुँदैन । किनभने, प्रोसिनेम थिएटरको अभ्यास धेरै लामो छैन हाम्रोमा । कल्चरल थिएटरहरु गाईजात्रा, घोडेजात्रा अथावा सडकमा हुने नाटकको लामो इतिहास छ । तर बन्द रङ्गमञ्च अर्थात् ‘मोडर्न थिएटर’को अभ्यास भनेको १५–२० वर्षको मात्रै हो । यस्तोखालको अभ्यास नै धेरै भएको छैन भने धेरै अपेक्षा गर्ने कुरा पनि भएन । यसमा सन्तुष्ट हुनुपर्छ । हामीले अझै १५ वर्षजति यसरी नै राम्रा नयाँ नाटकहरु दियौं भने बिस्तारै अहिलेको नयाँ पिँढीबाटै नाटकमा धेरै योगदान हुन सक्छ ।

नाटकमै लागेर जीवीकोपार्जन हुन सक्छ ? 
संसारमा कहीँ पनि थिएटरमा लगानी गरेअनुसारको ‘रिटर्न’ आएको देखिएको छैन । हामी पनि लगानी गरेको ‘रिटर्न’ कुरेर बसेको होइन । त्यो लगानी भयो अब ‘सर्भाइभल फ्याक्टर’ मात्रै महत्वपूर्ण हो । यो पनि कलाको एउटा पाटो हो र समाज तथा सरकारले सघाउ पु¥याउनुपर्ने कुरा हो । साउथ एसियामै कहीँ पनि थिएटर गु्रप आफंै बक्स अफिसमा सर्भाइभ भएको छैन । नेपालमा बरु उदाहरणीय ढङ्गमा चलिरहेको छ । यहाँ राज्यको केही सहयोगबिनै ५–६ वटा नाटकघर आफैं सर्भाइभ गरिरहेका छन् । सरकारले नाटक समूहलाई जग्गा या भवनमात्रै पनि उपलब्ध गराइदियो भने धेरै राहत मिल्छ कलाकारहरुलाई । 

तपाईं चलचित्रमा पनि अभिनय गर्दै हुनुहुन्छ । रङ्गमञ्चबाट जीवन नचल्ने देखेर त्यता लाग्नुभएको हो कि दर्शक बढाउन ?
चलचित्र गर्नु मेरो इच्छामात्रै हो । तर म थिएटरबाट उतै भने जाँदिनँ । कलाकै अर्को पाटो भएको हुनाले अनुभव गर्न खोजेको मात्रै हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ४, २०७६  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC