संसारमा देखिएका समस्याका लागि अर्थशास्त्र र अर्थशास्त्रीलाई दोष लगाउनु अहिले एउटा चलनै बनेको छ । संसारमा देखिएको बढ्दोे असमानता, बेरोजगारी, आर्थिक समस्याजस्ता विषयमा एउटा समूहले सधैँ आर्थिक सिद्धान्तलाई दोषी देखाउँछ । हुनत, यस्ता आरोपले अर्थशास्त्रीहरूलाई आफ्नो क्षेत्रमा अझ बढी सशक्त हुन प्रेरित गर्छ तर अर्थशास्त्रमाथि दोष थोपर्ने नियोजित प्रयासले वास्तविक दोषी ‘सार्वजनिक नीति (पब्लिक पोलिसी)’बाट ध्यान अन्तै लगेको छ ।
अर्थशास्त्र तथा राज्यका नीतिहरूको निकट सम्बन्ध हुन्छ तर यी विषय एउटै होइनन् र एउटै झैं ठान्नु पनि हुँदैन । राज्यका नीतिका लागि अर्थशास्त्र भनेको इन्जिनियरिङ विषयका लागि भौतिकशास्त्र वा चिकित्सा विज्ञानका लागि जीवशास्त्र जत्तिकैमात्र हो । जस्तो रकेट बनाउन र त्यसलाई पृथ्वीको गुरुत्वाकर्षणबाट मुक्त गर्न भौतिकशास्त्र अर्थात् फिजिक्सको ज्ञान नभई हुँदैन तर सर आइज्याक न्युटनलाई अमेरिकी अन्तरिक्ष यान च्यालेन्जर दुर्घटनाका लागि जिम्मेवार मान्न त सकिन्न । त्यस्तै बायोकेमेस्ट्री (जीवरसायन विज्ञान) लाई माइकल ज्याक्सनको मृत्युका लागि दोष पनि दिन मिल्दैन ।
भौतिकशास्त्र, जीवशास्त्र तथा अर्थशास्त्रले विज्ञानका रूपमा हाम्रो वासस्थल रहेको यो संसारका स्वभावजन्य प्रश्नहरूको उत्तर दिन्छन् । यसलाई नर्थवेस्र्टन विश्वविद्यालयका अर्थशास्त्रका इतिहासकार जोल मोकिरले ‘संकथानात्मक’ ज्ञान भनेका छन् । इन्जिनियरिङ, चिकित्साशास्त्र तथा राज्यका नीतिले यो संसारलाई कसरी परिवर्तन गर्ने भन्ने प्रश्नको उत्तर खोज्छन् त्यसलाई मोकिर परिप्रेक्षात्मक ज्ञान भन्छन् ।
इन्जिनियरिङ पढाउने कलेजमा भौतिकशास्त्र तथा चिकित्साशास्त्रमा जीव विज्ञान पढाइए पनि यी व्यावसायिक शिक्षा आफ्नो मूलभूत विज्ञानबाट निकै फरक ढंगले विकसित भएका छन् । वास्तवमा आफ्नै विशिष्ट मापदण्ड, पाठ्यक्रम विकास, जर्नल तथा पेसागत बाटो विकसित गरेर इन्जिनियरिङ तथा चिकित्साशास्त्र आफैँमा एक विशेष प्रजाति बनिसकेका छन् ।
सार्वजनिक नीति पढाउने संस्थाले भने इन्जिनियरिङ तथा चिकित्साशास्त्रजस्तो आफैँलाई रूपान्तरण गर्नसकेका छैनन् । धेरैजसो यस्ता शैक्षिक संस्थाले आफ्नै संकायका व्यक्तिलाई प्राध्यापकको जागिर नदिएर आधारभूत विज्ञान संकाय जस्तै अर्थशास्त्र, मनोविज्ञान, समाजशास्त्र अथवा राजनीतिशास्त्रका प्राध्यापक खोज्छन् । मैले पढाउने हार्वर्ड विश्वविद्यालयमा पनि ‘पब्लिक पोलिसी’ विभागमा ठूलो संख्यामा शिक्षक छन् तर यस विभागले प्राध्यापक चयन गर्दा आधारभूत विज्ञान संकायबाट विद्यावारिधि गरेका विद्यार्थीलाई महत्त्व दिन्छ र तिनको वृत्ति विकासमा पनि तिनले ‘पब्लिक पोलिसी’मा हैन अन्य विषयका जर्नलमा कति लेख प्रकाशित गरे भन्नेलाई ध्यानमा राख्छ ।
प्राध्यापनमा प्रवेश गर्नुअघि राज्यका नीति बनाएको अनुभवलाई विश्वविद्यालयमा महत्त्व दिइन्न र दिइएको भए पनि उदाहरण अत्यन्त थोरै छन् । अझै आश्चर्यको विषय त के छ भने प्राध्यापन पेसामा आबद्धहरूको पनि वास्तविक संसारसँगको सम्बन्ध अत्यन्त कम देखिन्छ । यसका लागि प्राध्यापक चुनिने तरिका आफैँमा एक समस्या हो भने प्राध्यापन गर्नेले अन्य क्षेत्रमा कार्य गर्दा विश्वविद्यालयको साखमा धक्का लाग्ने सोच पनि जिम्मेवार छ । त्यसैले क्षतिपूर्ति स्वरूप मजस्तो अन्तै नीतिगत विषयमा अनुभव भएको प्राध्यापकलाई विश्वविद्यालयले नियुक्त गर्छन् ।
शैक्षिक दृष्टिले ‘पब्लिक पोलिसी’ पढाउने संस्थाले चिकित्सा अध्ययन संस्थानको जस्तै तरिका अपनाउँछन् भन्ने धेरैलाई लाग्न सक्छ । चिकित्सा शिक्षा पढेका डाक्टर होउन् वा पब्लिक पोलिसीका विज्ञ दुवैलाई समस्या परेको बेलामा बोलाइन्छ र समस्याको कारण र निदान पत्ता लगाउन अनुरोध गरिन्छ । दुवैले समस्या समाधानका कति उपाय छन् भनेर सोच्छन् र हरेक उपायको फाइदा र बेफाइदाको मूल्यांकन गर्छन् । अन्त्यमा दुवैले आफूले सुझाएको समाधान कार्यान्वयन गर्ने उपाय बताउँछन् र काम भए नभएको मूल्यांकन गर्छन् ।
तथापि, ‘पब्लिक पोलिसी’ पढाउने विश्वविद्यालयले स्नातकोत्तरका लागि एक वर्षे वा दुई वर्षे कार्यक्रममात्र दिन्छन् र तिनको विद्यावारिधिको कार्यक्रम पनि अन्य विषयमा जस्तै सामान्य हुन्छ । चिकित्सक बनाउन चिकित्सा अध्ययन विभागले गर्ने मेहनत तथा तिनले शिक्षालाई अघि बढाउन गर्ने परिश्रमसँग ‘पब्लिक पोलिसी’को तुलना गर्नै मिल्दैन ।
अमेरिकामा चिकित्साशास्त्र पढाउने मेडिकल कलेजमा भर्ना पाउन विद्यार्थीले तोकिएका विषय लिएर चार वर्ष अध्ययन सकेको हुनुपर्छ । त्यसपछि चिकित्सक बन्न दुई वर्ष कक्षा कोठामा र अर्को दुई वर्ष शिक्षण अस्पतालका विभिन्न चिकित्सा विभागमा काम गर्नुपर्छ । यसरी चिकित्सा विज्ञान पढ्ने विद्यार्थीले यथार्थमा अभ्यास गर्दै कसरी काम हुन्छ भन्ने ज्ञान आफ्ना प्राध्यापक र उनको समूहसँग राम्रोसँग सिक्न सक्छन् ।
चौथो वर्षको अन्त्यमा, नयाँ डाक्टरले उपाधि प्राप्त गर्छन् । तर, तिनले तीनदेखि नौ वर्षसम्म आफ्नो पढाइको क्षेत्र अनुसार शिक्षण अस्पतालमा रेजिडेन्ट बनेर काम गर्नुपर्छ । यस्ता डाक्टरमाथि वरिष्ठ डाक्टरले कामको बोझ बढाउँदै लग्छन् । त्यसैले यस्ता विद्यार्थीले स्नातोकत्तरको पढाइ गरेको सातदेखि १३ वर्षको अवधिमा बल्ल डाक्टरी गर्न पाउँछन् । अझ कतिले विशिष्ट क्षेत्रमा जान वरिष्ठ चिकित्सकअन्तर्गत बसेर थप समय काम गर्छन् ।
परन्तु, ‘पब्लिक पोलिसी’ स्कुलमा दुई वर्षको कक्षा कोठाको पढाइपछि विद्यार्थीलाई थप केही पढाइँदैन । अनि पीएचडीबाहेकका अन्य विद्यार्थीलाई थप तालिमको केही व्यवस्था हुँदैन । यद्यपि, शिक्षण अस्पतालको तरिका पब्लिक पोलिसीका विद्यार्थीलाई प्रभावकारी हुन सक्छ ।
मैले हार्वर्ड विश्वविद्यालयमा सन् २००६ देखि सुरु गरेको वृद्धि प्रयोगशाला (ग्रोथ ल्याब)का सन्दर्भमा कुरा गरौँ । सो प्रयोगशाला सुरु एल साल्भाडर तथा दक्षिण अफ्रिकामा राज्यका नीति विकासका सम्बन्धमा संतोषप्रद अनुबंध पश्चात् गरिएको थियो । त्यसपश्चात हामीले तीन दर्जनभन्दा बढी देश तथा क्षेत्रमा काम गरेका छौँ । एक प्रकारले यो प्रयोगशाला शिक्षण तथा अनुसन्धान अस्पतालभन्दा कम छैन । यो प्रयोगशालाले बिरामी (हाम्रो सन्दर्भमा सरकार)को अनुसन्धान तथा डाक्टरले गरेजस्तो निदानको काम गर्छ । यो प्रयोगशालामा हामी पीएचडी सकेका विद्यार्थी (अर्थात्, चिकित्सा शिक्षामा एमडी गरेका विद्यार्थीजस्तै) तथा स्नातोकत्तर सकेका विद्यार्थी (चिकित्सा शिक्षामा दुई वर्ष सकाएका विद्यार्थीजस्तै) लाई भर्ना गर्छौँ । त्यस्तै कलेज सकेका स्नातक वा अनुसन्धान सहायक (नर्सजस्तै)लाई पनि भर्ना लिन्छौँ ।
हाम्रा बिरामीको समस्याका लागि यो प्रयोगशालाले नयाँ निदानका उपाय पत्ता लगाउँछ जसले तिनको समस्याको स्वरूप निक्र्योल गर्छ र उपाचारात्मक विधि निकाल्छ । त्यसपछि हामी पब्लिक पोलिसीमा गर्नुपर्ने परिवर्तनका लागि सरकारसँग बसेर काम पनि गर्छौँ । हाम्रा आवासीय विद्यार्थी मेडिकल स्कुलमा जस्तै हामीसित तीनदेखि नौ वर्ष बस्छन् । अनि अधिकांश आफ्नो देशमा सरकारको उपल्लो ओहोदामा काम गर्न पुग्छन् । हामीले आर्जन गरेको अनुभव र ज्ञानलाई बौद्धिक सम्पदाको अधिकारजस्तो आफैसँग नराखी हामी विभिन्न प्रकाशन, अनलाइन माध्यम तथा अध्ययन कोर्सको रूपमा बाँड्छौ । हाम्रो प्राप्ति भनेकै अरूले हाम्रो तरिका अपनाउन् भन्ने हो ।
यो ‘ग्रोथ ल्याब’को ढाँचा सोचेर बनाइएको होइन । यो त आफैँ विकसित हुँदै गयो । माथिबाट यस प्रक्रियालाई थोपर्नुको सट्टा आफैँ हुर्कन दिइयो । जे भए पनि ‘पब्लिक पोलिसी’मा शिक्षण अस्पतालजस्तो तरिकालाई अपनाउन सकियो भने यसले संसारमा नै जनताका लागि राज्यले ल्याउने नीतिको अध्ययनलाई अझ उच्च तहमा सिकाउन र संसारलाई मद्दत गर्न सक्छ । त्यति भएमा साधारण जनताले पनि अर्थशास्त्रीलाई तिनको जिम्मेवारी नै नभएको विषयमा दोष लगाउन छाड्नेछन् ।
(हाउसम्यान भेनेजुयलाका पूर्व योजना मन्त्री तथा अन्तरअमेरिका विकास बैंकका पूर्व प्रमुख पनि हुन् । उनी अमेरिकाको हार्वर्ड विश्वविद्यालयका प्राध्यापक र हार्वर्ड ‘ग्रोथ ल्याब’का निर्देशक पनि हुन् ।
(बाह्रखरी र प्रोजेक्ट सिन्डिकेटको सहकार्य )
Copyright: Project Syndicate, 2019.