विश्व जलविन्दु महासंघ र विश्व जलविन्दु बिरामी महासंघको संयुक्त तत्वावधानमा यस वर्ष पनि मार्च १२ देखि १८ सम्म जलविन्दु रोगका सम्बन्धमा चेतना बढाउने ध्येयले विश्व जलविन्दु सप्ताह मनाइयो । यी दुई संस्थाले २००८ देखि विश्व जलविन्दु दिवसको सुरु गरे र २०१० देखि हरेक वर्ष विश्व जलविन्दु सप्ताह (’वल्र्ड ग्लुकोमा विक’) मनाउँदै आइरहेका छन् ।
सन् २०२० को अन्त्यसम्ममा जलविन्दु रोगीको संख्या करिब सात करोड ६० लाख पुग्ने आकलन गरिएको छ । यस रोगको चापलाई थोरै भए पनि नियन्त्रण गर्न यी दुई संस्थाले मात्र सामना गर्न नसक्ने भएकाले समाजका हरेक समूह र वर्गबाट जलविन्दु रोगका बारेमा जनचेतना फैलाउन यो अभियान आवश्यक भएको हो ।
जोसँग जेको विज्ञता वा सुविस्ता छ त्यही उपयोग गरेर सामाजिक सञ्जाल तथा स्थानीय तहबाट समेत यस सप्ताहलाई व्यापक बनाउनु हामी सबैको दायित्व हुन जान्छ । हामी सबैले जलविन्दु रोगका बारेमा जानकारी पाउनु किन आवश्यक छ त ?
जलविन्दु धेरै किसिमका हुन्छन् । आँफै सुरु हुने जलविन्दुलाई प्राथमिक जलविन्दु र अन्य रोग र अवस्थाले गर्दा सिर्जना हुने जलविन्दुलाई द्वितीय (सेकेन्डरी) जलविन्दु भन्ने गरिन्छ । द्वितीय जलविन्दुको कारक रोगको उपचार पछि स्वतः नियन्त्रण हुन्छ । आँखाको गेडीको समग्रतालाई कायम राख्न आँखाभित्र पैदा भइरहने पानी ( एक्वाइस ह्युमर) को चाप स्थिर रहनुपर्छ ।
यो तरल रगत छानिएर निरन्तर आँखाको गेडीभित्र लेन्सभन्दा अगाडि पट्टिको भागमा प्रसार भइरहन्छ । पछि फेरि आइरिस ( आँखाको रङ निर्धारण गर्ने पुतली) र पारदर्शक कर्नियाबीचमा रहने सूक्ष्म छिद्रबाट छानिएर पुनः रगतमै मिसिन्छ । ती छिद्र भएको चेपलाई कोण वा एङ्गल भनिन्छ । एङ्गल साँगुरो वा बन्द भयो भने पानीको निकास नभएर अकस्मात् आँखाको चाप अनियन्त्रितरूपले बढ्छ । सामान्यतया १० देखि २० एमएमएची हुनुपर्ने चाप धेरै भएमा आँखा जोडजोडले दुख्ने, रातो हुने, बिजाउनेदेखि लिएर टाउको दुख्ने र बान्तासमेत हुने लक्षण देखापर्छ । यो आँखाको आपत्कालीन अवस्था हो ।
समयमै उपचार पाएन भने यस्ले छोटै समयमा दृष्टि पूर्णरूपले नष्ट गरिदिन्छ । समयमै अस्पताल पुगेको अवस्थामा आँखाको चापलाई तुरुन्त कम गर्ने औषधि वा सुईहरूको प्रयोगद्वारा दृष्टिलाई जोगाउन सकिन्छ । जलविन्दु रोगबाट दीर्घकालीन बचावटका लागि भने पुतली वा आइरिसलाई प्वाल पार्ने विधि पेरिफेरल आइरिडेक्टोमी र ती छिद्रलाई ठूलो पार्ने वा खोल्ने शल्यक्रिया तथा लेजर पद्धतिहरू उपलब्ध छन् ।
कोण खुला भएर पनि हुने जलविन्दुलाई प्राथमिक खुला कोण जलविन्दु भनिन्छ । यसमा क्रमिकरूपले पुनः नफर्किने गरी दृष्टि नसा बिग्रिँदै जान्छ । यस रोगमा आँखाको चाप सामान्य वा बढी पनि हुनसक्छ तर दृष्टि क्षेत्रमा क्रमशः ह्रास आउँछ । माथिको भन्दा यो जलविन्दुको प्रकार किन घातक मानिन्छ भने यस्मा कुनै लक्षण हुँदैनन् ।
कुनै लक्षणबिना भित्रभित्रै यो रोगले दृष्टि नसा नष्ट गरिरहेको हुन्छ र सम्बन्धित व्यक्तिलाई यो थाहा पनि हुँदैन । प्रायःजसो बिरामी अन्य समस्या बोकेर अस्पताल जाँदा चिकित्सकले दृष्टि नसा परीक्षण गर्दा अकस्मात यो रोग पत्ता लाग्छ । अर्थात्, जलविन्दुले दृष्टि क्षेत्रमा निकै नै असर गरिसकेपछि मात्र बिरामी अस्पताल पुग्छन् ।
त्यसैले कुनै समस्या नआए पनि समयसमयमा आफ्नो आँखा परीक्षण गर्नु राम्रो हुन्छ । विश्व जलविन्दु सप्ताहमा नेपालमा पनि विभिन्न आँखा अस्पताल वा संस्थाबाट निःशुल्क जलविन्दु परीक्षण तथा जलविन्दुसम्बन्धी जनचेतना कार्यक्रम गरे ।
जलविन्दुको पूर्ण परीक्षणमा आँखाको दृष्टिपर्दा र दृष्टिनसाको जाँच, आँखाको चापको मापन, दृष्टि क्षेत्रको जाँच, बाहिरी पारदर्शक कर्नियाको मोटाइको मापन र दृष्टिनसाको तहगत फोटोग्राफी ( अकुलर कोहरेन्स टोमोग्राफी) जस्ता जाँच पर्छन् ।
जलविन्दुको जोखिम समूह निम्न प्रकार छन्
परिवारका सदस्यमा जलविन्दुको रोग भएमा
कुनै कारण बस लामो समयसम्म कोर्टिकोस्टेरोइड भन्ने औषधि प्रयोग गरेको भएमा
आँखामा चोटपटक लागेको वा अप्रेसन गरेको भएमा
चालिस भन्दामाथिको उमेर समूहका व्यक्तिमा
उच्च रक्तचाप वा मधुमेहको रोग लागेको भएमा
दृष्टि दोष ( टाढा नदेख्ने ठूलो पावरको चश्मा लगाउने व्यक्तिमा )
खुला कोण जलविन्दु रोगको पूर्णतया उपचार नभए पनि यसलाई रोकथाम गरेर अन्धोपन हुने समयलाई पछि धकेल्न सकिन्छ । यो रोगका अन्तिम अवस्थामा दृष्टि क्षेत्र साँघुरिएर ’टनेल भिजन’मात्र बाँकी रहन्छ र अन्ततोगत्वा आँखाको दृष्टि पूर्ण नाश हुन्छ ।
यसैले जलविन्दु रोगका बारेमा आपूmले जानिसकेपछि अरूलाई पनि यसका बारेमा जानकारी दिनु हाम्रो कर्तव्य हो ।
( लेखक रेयुकाई आँखा अस्पताल बनेपाका दृष्टि विशेषज्ञ हुन् )