— अक्षर काका
पचासको दशक उत्तराद्र्धतिर सिन्धु सेरोफेरोमा एउटा हैला फैलियो, “तुलसी चौलागाईंका छोरीहरूले पुराण भन्छन् रे !”
छोरीले सप्ताह–पुराण भन्ने ? शिवपुरीको पानीढलो भोटेचौरको शीर–पुछार एकै भावमा आश्चर्यचकित भयो । चुल्होचौकाको चौघेरो नाघ्न संघर्ष गरिरहेका आमा–दिदीबहिनीहरूको आँखीभौं जुरुक्क उचालियो । वेदवेदांगलाई विरासतमा पाएको अहम् पालेका पुरुष अनुहारमा अभिमान ढलेको रंग छायो ।
शिवपुरीको छेकोको सिन्धुफाँटमा श्रीमद्भागवतमाथि उपाध्याय बाहुनको ‘एकाधिकार’ थियो । उपाध्यायबाट एक श्रेणी घटुवामा परेका ‘जैसी’लाई पुराण वाचनको सुविधा/अनुमति कहाँ ?
हेपाइको त्यही भुंग्रोमा तुलसीले जुम्ल्याहाजस्ता दुई छोरी सरस्वती र गार्गीलाई ‘विदुषी/बिबान’ तुल्याएका थिए । आदिम गार्गीको परीक्षा वैदिककालमा भइसकेको थियो । आधुनिक सरस्वती–गार्गीको परीक्षा त्रिवेणीघाटमा हुँदै थियो ।
“स्त्री जातिको परीक्षा वैदिककालदेखि अद्यपर्यन्त चलिरहेकै छ,” गार्गीको अनुहार झट्ट उघ्रिन्छ ।
तिनताक सिन्धुका डाँडापाखामा जनुयुद्धको डँडेलो सल्किएको थियो । सशस्त्र संघर्ष उत्कर्षतिर थियो । राता र सेता बन्दुकका चेपुवामा परेर कतिबेला प्राणपखेरु उड्ने हो, त्यसको कुनै टुंगो थिएन । जीवन अनिश्चितताको भुमरीमा थियो ।
जाँतोमा घुन पिसिएझैं दुवैतिरका बन्दुकको निशानामा किरियापुत्रीदेखि व्यासासनका विद्वान–विदुषीसम्म परिरहेका थिए । युद्धको त्यही रापमा पुराणवाचन गर्न हेलिएका थिए– गार्गी दिदीबहिनी ।
सिन्धु बेंसीको त्रिवेणी घाटमा धान्याचलसहितको सप्ताह शुरू भयो । र, निर्बाध चल्न थाल्यो । गार्गी दिदीबहिनीको वाचकीको तारिफ चौतर्फी चुलियो । पुराण वाचन र संकीर्तन सुन्न चारचौरासका मान्छे धुइरिए । विदुषीहरूको भागवत–भक्तिको प्रखरताले सामाजिक परीक्षा उत्तीर्ण गर्यो ।
सांगेको दिन नजिकिँदै थियो । काठमाडौंसँग साँध जोडिएको भोटेचौरमा सरकारी फौज र माओवादी छापामारबीच मुठभेड भयो । धेरैको संख्यामा रहेका सरकारी फौजसामु सीमित विद्रोही सेना भिडन्तमा टिकिरहन सकेनन् । पछि हट्दै ओरालो झरे । नजिक–छेउ कुनै गाउँ थिएनन् । मृग शावकझैं खुर्मुरिएका लडाकुहरूको आँखा पण्डाल टाँगेजस्तो ठाउँमा पर्यो, जहाँ सरस्वती र गार्गी श्रीमद्भागवत कथावाचन गरिरहेका थिए । दौडिँदै गएर सप्ताह सुनिरहेका श्रद्धालुहरूको घुइँचोमा मिसिए । सप्ताह ज्ञान महायज्ञ चलिरहेको ठाउँमा अचानक हतियारधारी देखेपछि भक्तजनको मनमा चिसो पस्यो ।
“पुराण बिथोल्न धुन्धुकारी बनेर त आएनन् ?” कत्तिको मनमा शंकाको बादल मडारियो । त्राहिमाम् बने । तर, लडाकुहरू व्यासासन भएतिर अघि बढेनन् । बरु खटमुनि लुुसुक्क छिरे । प्राण जोगाए ।
“माओवादी छापामारहरूले व्यासासनमुनि लुकेर ज्यान जोगाएको कुरा निकै पछिमात्रै थाहा पायौं, त्यो पनि त्यसबखतको कुनै स्रोताले कानमा पारेपछि,” सरस्वती चकित हुँदै सुनाउँछिन् ।
ध्वंश र पुनर्निर्माणको धङ्धङीमा बाँचेका विद्रोही आँखाहरूलाई पुरानो संस्कृति, रीति–थिति मन पर्दैनथ्यो । सप्ताह–पुराणादि धर्म–कर्मप्रति उनीहरूको मोह भंग भइसकेको थियो । रोक्ने कोसिस रहन्थ्यो । तर, गार्गी दिदीबहिनीका लागि त्यही समय ‘लिच्छवी(स्वर्ण)काल’ सावित भयो ।
संस्कृतका किताबलाई क्रान्तिको तगारो ठान्ने कोसिस भइरहँदा उनीहरूलाई छायाले पनि छोएन । बरु त्यही रापतापमा उनीहरू ‘शाकम्भरी’ र ‘शाम्भवी’ बने । तत्कालीन विद्रोहीको आँखामा ‘शाकम्भरी’ र ‘शाम्भवी’ पुरुषवादी सत्ताको ‘विद्रोह’कै आयाम थियो ।
महिलाले वेदको पुस्तक समाउनै हुँदैन, महिला–कान वेद–उपनिषदादि ग्रन्थबाट टाढा हुनुपर्छ, उनीहरूका ओठ वेदका ऋचामुक्त हुनुपर्छ भन्ने पुरुष अहम्विरुद्धका विद्रोह थिए– ‘शाकम्भरी’ र ‘शाम्भवी’— माओवादीको नजरमा । र त, सरस्वती र गार्गीको भागवत भक्तिलाई उनीहरूले आड दिए ।
“पुरुषको हातबाट भागवतको एकाधिकार तोडिनु पनि एक किसिमको क्रान्ति नै हो भनेर चर्चा गर्थे, विद्रोहीबाटै यत्तिको आड पाएपछि हाम्रो भागवत यात्रा देशव्यापी बन्न पुग्यो । एकाध समयमै हामी सुदूरपूर्वको झापादेखि पश्चिमको बाग्लुङ पुग्यौं,” सरस्वती भागवतको यात्रारम्भ सुनाउँछिन् ।
संकीर्तनले थमाएको भागवत
तुलसी चौलागाईंको घर तुलसीको मठजस्तै थियो– पवित्र, सांगीतिक । तिथि–पर्वमा भजन, संकीर्तनमा रम्थ्यो । झुम्थ्यो । हार्मोनियम, खैंजडीको सुरम्य धूनले संगीत, भगवानभक्तिको छनक दिन्थ्यो । यही माहोलमा झांगिए । लहरिए । र, तरंगित हुँदै गए– सरस्वती र गार्गी ।
“बालखैदेखि गार्गी दिदीबहिनी संगीत भनेपछि हुरुक्कै हुन्थे । भजन–कीर्तनबाट मुग्ध भएको देख्दा, शास्त्रीय रागबाट आह्लादित भएको देख्दा यिनीहरूलाई संगीत सिकाऊँ भन्ने लागिरहन्थ्यो,” तुलसी छोरीहरूको बाल्यकालतिर फर्किन्छन् ।
संगीतप्रति अवचनीय लगाव भए पनि नजिकमा संगीतको विद्यालय थिएन । साविककै पढाइ एक किसिमको बाध्यता बन्यो । माध्यमिक तहको पढाइ पार गरेपछि उनीहरूको रुचिले कोल्टे फेर्यो ।
भजनको दायरा बढ्दै गएर रामानन्द गिरीको सान्निध्यमा पुगे । गुरुको सत्सङ्गमा पुगेपछि भागवतप्रति भक्ति जाग्यो । वेदका ऋचा मुखाग्र पार्न थाले । भागवतको मर्म थाहा थिएन तर कथा कण्ठस्थ थियो ।
विरासतमै पाएका थिए वेदको तत्वज्ञान । भजन–संकीर्तन । गुरुको संगत थपिएपछि उनीहरूको ज्ञानको आयातन अझै विस्तृत बन्यो । प्रवेशिका तहको पढाइ पूरा भएपछि वेदवेदाङ्ग, श्रीमद्भागवत पुराणादिमा खारिने इच्छाले छट्पटी पैदा गर्यो । डोर्याएर वाल्मीकि विद्यापीठ पुर्यायो ।
“नेपाल देश संस्कृतकै अनुष्ठान भूमि हो भन्ने ज्ञान किशोरवयमा भएको थियो । अझै आँखा उघार्न मन लागेर संस्कृत शिक्षातिर पाइला चाल्यौं,” संस्कृतको औपचारिक पढाइतिर लहसिनुको कारण बताउँछिन् सरस्वती ।
६ महिना संस्कृत भाषा पढेपछि पूर्वमध्यमा उत्तीर्ण गरे । संस्कृततर्फ उच्च शिक्षाको ढोका पनि अब टाढा रहेन । विलक्षण दिदीबहिनीलाई संस्कृतमा खारिन समय लागेन । वेद–वेदांग धमनी र शिरामै बगेको थियो । सरस्वतीले इतिहास पुराणमा आचार्य (स्नातकोत्तर) तह पूरा गरिन् । गार्गीले इतिहास पुराण र संस्कृत साहित्य द्वीविषयमा आचार्यको उपाधि चुमिन् ।
घरबाटै व्यासासनको यात्रा
घर जीवनको पाठशाला हो । र त, विदुषी दिदीबहिनीको भागवत शिल्पको आधारशीला पनि घर नै बन्यो ।
रामानन्दकै सान्नीध्यमा उनीहरूले वेदका ऋचा वाचन गर्न थालिसकेका थिए । वेदस्तुति, भीष्मस्तुति, गोपीगीतम्, वेणुगीतम्का राग अलापिसकेका थिए ।
तर, भर्खरका नवयौवनाले भागवत कथा वाचन गर्ने भनेपछि धेरैलाई पत्याउन मुश्किल पर्यो । कारण– त्यतिबेलासम्म व्यासासनमा स्त्रीअनुहार देखिने कुरा कल्पनाबाहिरको थियो । वाचनको थालनी उनीहरूले आफ्नै आँगनमा निर्मित व्यासासनमा बसेर गरे ।
“भागवतमा पोख्त छौं, पुराणमा पारंगत छौं भनेर सुनाउँदै हिँड्ने कुरा भएन । समाजले हत्तपत्त पत्याउँदैनथ्यो । प्रमाणित गर्न घरमै कसीरूपी व्यासासन तयार पार्नुपर्यो,” त्यतिबेलाको क्षण सम्झिन्छन् उनीहरू ।
आफूलाई प्रमाणित गर्न घरको नित्यपुरोहितलाई ‘गणेश’ थपना गरे । दिदीबहिनीले व्यासासनमा बसेर सपना पूरा गरे । त्यसपछि उनीहरूले पाइला पछाडि सार्नुपरेको छैन ।
सुदूरपूर्व झापाको आँगनदेखि गल्कोटको गौंडासम्म झन्डै डेढ सय मञ्चमा गार्गी दिदीबहिनी पोखिइसकेका छन् ।
० ० ०
पुराण वाचनको १७ वर्षे यात्रामा छन् उनीहरू । सत्सङ्गबाट शुरू भएको यात्रा मोक्ष प्राप्तिको दिशामा अविराम छ ।
स्त्रीद्वेषी समाजमा महिलाको यात्रा सकसपूर्ण छ । समाजले कोरेको ‘लक्ष्मणरेखा’ काटेर अघि बढे अनेक प्रश्नको सामना गर्नुपर्छ । प्रश्नमात्रै भए त उत्तर दिन पनि सकिँदो हो, कहिलेकाहीँ त सुन्नै नसक्ने लाञ्छना बेहोर्नुपर्छ ।
उनीहरूसँग कयौं यस्ता अनुभूति छन्, जसले उनीहरूलाई अघि बढ्न सधैं हौस्याउँछन् । कति यस्ता अनुभूति पनि छन्– कहिलेकाहीँ आँखा रसाउँछन् । ‘सतीसावित्री सीता’ले झैं पटक¬–पटक अग्निपरीक्षामा सामेल भइरहनुपर्छ ।
काभ्रेमा एउटा त्यस्तै तीतो अनुभूति छ ।
२०६४ साल । संविधानसभा निर्वाचन सकिएर मुलुक गणतन्त्र संस्थागत हुने दिशातिर उन्मुख हुँदै थियो । काभ्रेको भकुण्डेबेसीबाट गार्गी दिदीबहिनीलाई निम्तो आयो– शिवपुराण कथा वाचन गर्न ।
शिवपुराणमा पोख्त दिदीबहिनीले निम्तो तिरस्कार गरेनन् । सहर्ष स्वीकार गरे र झिटीगुण्टा बोकेर भकुण्डे सोझिए ।
व्यासासनमा स्त्री अनुहार देखेपछि वरिवरिका महिला कानेखुसी गर्न थाले, “भर्खरका छन् । शिव पुराणजस्तो गह्रुंगो ग्रन्थ वाचन गर्न सक्लान् त ? यिनीहरूले वेद पढेका त छन् के ?”
वेद–उपनिषद् वाचनमा प्रभुत्व जमाइसकेका ‘विदुषी’प्रतिको महिलाहरूकै हेय दृष्टि देखेर दिदीबहिनीको चित्त कुँडियो । मन अमिल्लियो । नजरअन्दाजको अर्को पनि कारण थियो– तबलावादन र गायन पनि महिला नै लगेका थिए । तर, गार्गी दिदीबहिनीले हरेस खाएनन् । सम्हालिएर कथा श्रवण गराए ।
चार दिनसम्म त भीड पातलै थियो । पाँचौं दिनदेखि भक्तालुको ओइरो लाग्यो । उद्यापनका दिन त भीड थेगिनसक्नु भयो । “भक्तजनले चढाएको तिल नै ६ पाथी हुँदो हो,” मच्चिएर हाँस्छिन् गार्गी ।
शुरूमा भागवत वाचन ‘स्वान्तः सुखायः’कै हिस्सा (अंग) बनाएका थिए उनीहरूले । अहिले क्रमशः समाजसेवासँग पनि जोड्दै छन् । समाजसेवाको आवरणमा पुराणवाचन ‘व्यापार’मा बदलिएला भनेर सचेत पनि छन् । कहिलेकाहीँ पाइला कुठाउँमा परिहाल्छ ।
ललितपुर भैंसेपाटीको घटना स्मरणीय छ । तीन–चार वर्षअघिकै कुरा हुनुपर्छ । गार्गी दिदीबहिनी भागवत कथावाचनका लागि भैंसेपाटी पुगेका थिए । अनाथाश्रमका लागि भनेर आयोजकले पुराण लगाएका थिए । तर, आयोजकको गतिविधि शंकास्पद देखियो । अनाथाश्रमको सहयोगार्थ भनिएको छ तर सप्ताहको सेरोफेरोमा कोही अनाथ देखिँदैनन् । सप्ताह ज्ञान महायज्ञ लगाउने रैथाने पनि रहेनछन् ।
पुराणवाचन गरेका बेला आयोजकसँग सोधपुछ गर्न नमिल्ने । व्यासासनबाट ओर्लिएका बेला आयोजक फेला नपर्ने । शंका–उपशंकाले वेष्टित भएपछि गार्गी दिदीबहिनीले स्रोतासँग सन्देह पोखे ।
नभन्दै आयोजकको खराब नियत देखियो । पुराण–उद्यापन गरिसकेपछि स्थानीयले वाचकीहरूलाई घर ल्याइदिए । आयोजकलाई प्रहरी–चौकी पुर्याइए । संकलित २५ लाख रुपैयाँ व्यक्तिको पोल्टामा जानबाट रोकियो ।
भागवत कर्म र मासिक धर्म
उनीहरूको दिनचर्या नै भागवत अनुष्ठान भएको छ । बिहान उदयाचलदेखि साँझ अस्ताचलसम्म वेद–उपनिषद्का स्तोत्र पाठ गर्दै बित्छ । तर, रजोधर्म (महिनावारी)का बेला उनीहरू वैदिक अनुष्ठान, वेद, पुराणादि वाचन गर्दैनन् ।
“वैदिक, सनातन धर्म यस्तो कट्टरपन्थी छ र ?”
प्रश्न सुन्नेबित्तिकै गार्गीको अनुहारको भावभंगिमा बदलियो । “शास्त्र स्त्रीद्वेषी छैन । श्रीमद्भागवत्, पुराण त झन् छँदै छैन । धर्म–शास्त्रले लिंगभेद गरेको छैन । शास्त्र मानवका लागि सिर्जित हो । अमुक लिंगका लागि होइन,” उनले कूटनीतिक उत्तर दिइन् ।
“उसो भए महिनावारी किन बार्नुहुन्छ ?”
प्रश्नले गार्गीलाई झन् गम्भीर बनायो ।
“महिनावारीका बेला चित्त र शरीर दुवै शुद्ध हुँदैन । अतिरिक्त थकावट पैदा हुन्छ । कसै–कसैलाई असह्य दुखाइको अनुभूति पनि हुन्छ । यस्तो बेलामा जतिसक्दो आरामको जरुरत पर्छ । पुराणवाचनमा एकाग्रता र विकाररहित मनको आवश्यकता पर्छ । महिनामा चार दिन शरीरलाई छुट्टी पनि त चाहियो,” यसपल्ट भने उनले सहज उत्तर फर्काइन् ।
स्त्रीवाचक भएकाले आयोजकहरूले नै गार्गीहरूको मर्म बुझ्छन् । पुराणको समय जुराउन आउनेले मासिक चक्रको सम्भावित तिथि पनि सोध्न बिर्सिंदैनन् । तदनुकूल सप्ताह, नवाहको मिति तय गर्छन् ।
र, गृहस्थ जीवन
जीवन भागवत ज्ञान, अनुष्ठानमै समर्पण गरिसकेकाले गृहस्थ जीवन उनीहरूको योजनाबाहिर छ । भागवतप्रति भक्तिभाव रहेकाले परिवारिक दबाब पनि छैन । सिंगो घर आराध्य–मन्दिर प्रतीत हुन्छ ।
समवयीजस्ता देखिने छोरीहरू इच्छ्याएको बाटोमा हिँडेकाले बुवा तुलसीको पनि अतिरिक्त चाहना छैन । बिहे गरेर गृहस्थ जीवन शुरू गरून् भन्ने त झन् छँदै छैन ।
“नैमिषारण्ड्यजस्तो यो पावन भूमि, वैदिक धाममा एउटा पनि स्त्री गुरुकुल, सत्सङ्गस्थल छैन । जीवनको उत्तराद्र्धसम्ममा त्यो योजनालाई साकार तुल्याउने र भागवत भक्तिलाई जीवनपर्यन्त डोर्याउने इच्छा छ,” गार्गी र सरस्वती अन्तिममा समवेत स्वरमा योजना पस्कन्छन् ।