राजनीति
काठमाडौं ।
नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले संविधानमा भएको व्यवस्था अनुसार अख्तियार चल्नुपर्ने बताए । उनले संसदीय व्यवस्थाको सफ्टवेयर ल्याए पनि हार्डवेयर ल्याउन नसकेको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसद् र सुशासन विषयक शुक्रबार भएको कार्यक्रममा उनले संसद्मा प्रश्नोत्तर पनि नहुने हुँदा यहाँ बोल्नु र त्यहाँ बोल्नुबीचको फरक नभएको बताए ।
सबै कुरा दलमा केन्द्रित भएकाले सांसदको भूमिका नै नभएको उनको भनाई थियो । “सबै कुरा दलमा केन्द्रीत भयो,” थापाले भने,“दलीय भागबण्डाले धेरै कुरा विगारेको छ । हामीले उठाएको विषय सभामुखको पोल्टामा पुगेको छ ।”
थापाले सभामुखले नचाहेसम्म आफूहरूको प्रस्तावमा छलफल नहुने बताए । “टंगालले बोलायो भने सांसदहरू संसद्को बैठक छाडेर कुद्छन्,” थापाले भने,“नागरिक आन्दोलनको सुरूवात भएको छ ।” थापाले लोकमान सिंह कार्कीको नियुक्तिकै बारेमा छलफल गर्नुपर्ने बताए । “हामीलाई यस्तो संवैधानिक निकाय चाहिएको हो कि होइन ?”थापाले प्रश्न गर्दै भने,“राजनीतिक दलहरू स्वतन्त्र छन् कि छैनन् भन्ने प्रश्न उठेको छ । अब लोकमान सिंह कार्कीको नियुक्तिकै बारेमा छलफल गर्नुपर्छ ।” थापाले आफ्ना कमजोरी ढाकछोप गर्न विभिन्न पात्र उभ्याउने प्रवृत्ति बढेको बताए ।
थापाले संसद्मा खुलेर बहस हुनुपर्ने बताए । उनले संविधान र संविधानसभा नियमावलीले दिएको अधिकार संसद्ले प्रयोग गर्न पाउनुपर्ने बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन १४, २०७३ २०:२१
प्रतिक्रिया दिनुहोस्