जबजको उत्तराधिकारी बन्‍ने दाउमा ईश्वर पोखरेल

जबजको उत्तराधिकारी बन्‍ने दाउमा ईश्वर पोखरेल

काठमाडौं । ‘जबजः खोला तरेर बिर्सेको लौरो ! एमाले–माओवादी एकता घोषणासँगै ३ जेठ ०७५ बाट मदनको जबजलाई खोपाको भिमसेन बनाइयो । नेतृत्वलाई सिंहासन नीतिलाई कात्रो ? कार्यकर्ताले साहसपूर्वक प्रश्न गरेनन् । भौतिक बिदाइको ठ्याक्कै २५ वर्ष पुगेका दिन भएको थियो मदनको वैचारिक बिदाइ !’

चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परेका तत्कालीन नेकपा एमालेका महासचिव एवम् प्रतिनिधिसभा सदस्य मदनकुमार भण्डारीको २६ औँ स्मृति दिवसका दिन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरेको ट्विट हो यो ।

नेकपा माले–मार्क्सवादीबीच एकता भएको दुई वर्षपछि अर्थात् २०४९ सालमा मदनकुमार भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको तत्कालीन कार्यक्रमका रूपमा अघि सारे । २०५० सालमा उनको देहावसान भइहाल्यो । उनको शेखपछि पार्टीको उत्तराधिकार सम्हाल्न आएकाहरूले जनताको बहुदलीय जनवादलाई विकास गर्न आवश्यक ठानेनन् । बरु रणनीतिक रूपमा अघि सारिएको तत्कालीन कार्यक्रमलाई सिद्धान्तको रूपमा निःशर्त स्वीकार गरे ।

तत्कालीन एमाले अहिले माओवादी केन्द्रसँग एकता गरेपछि नेपाल कम्युनिस्ट पार्टी बनेको छ । र, पार्टी नेतृत्वले जनताको बहुदलीय जनवादी कार्यक्रमलाई यथारूपमै अघि नबढाउने बताइसकेका छन् ।

दुवै पार्टीले अँगाल्दै आएका विचारका राम्रा पक्ष समेटेर जनताको जनवाद अलम्बन गर्ने राजनीतिक प्रतिवेदनको मस्यौदामा उल्लेख छ । एक्काइसौँ शताब्दीलाई तत्कालीन माओवादी केन्द्रको वैचारिक मियो बनाएका एकीकृत पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २६ औँ मदन–आश्रित स्मृति दिवसका दिन पूर्वएमालेको आँगनमा उभिएर भने– “पार्टीका केही साथीहरू अझै पनि मदन भण्डारीलाई दोहोर्‍याउने कुरा गर्छन्, हामी मदन भण्डारीलाई दोहोर्‍याएर बसिरहने कि अघि बढ्ने ?”

पार्टी अध्यक्षले पूर्वएमालेलाई प्रश्न गरिरहँदा मदनकै सालिकको सम्मुखमा उभिएर वरीयताक्रमका पहिलो अध्यक्ष केपी शर्मा ओलीले भने, “जनताको बहुदलीय जनवादलाई सूत्र बनाएर घोक्दैनौँ ।”

मदन भण्डारीको उत्तराधिकारीका रूपमा पार्टी–आन्दोलनको बागडोर सम्हालेका अध्यक्ष ओलीले नै “जबजलाई सूत्र बनाएर घोक्ने, त्यसैलाई कण्ठ गर्ने, हिजो मदन भण्डारीले जेजे भन्नुभयो, त्यसैले काम चल्छ भन्ने रूपमा होइन, समयानुकूल ढंगले यसको सिर्जनात्मक प्रयोग कसरी हुन्छ भनेर चल्दै आएका छौँ, त्यसैगरी चल्छौँ” भनिसकेपछि पूर्वएमालेभित्र जबजको औचित्य संकटपूर्ण रहेको चर्चा हुन थालेको छ । र, नेकपाभित्र विश्वप्रकाश शर्माले माइक्रो ब्लगिङ साइटमा ट्विट गरेझैँ मदन भण्डारीको भौतिक बिदाइको २५ वर्षपछि जबज पनि बिदाइको कोटीमा परेको त छैन ? भन्ने प्रश्न पेचिलो बनेको छ । र, सम्भवतः यो प्रश्नको उत्तर आगामी महाधिवेशनले खोज्नेछ ।

एशज र जबजको माथापच्ची

पार्टी निकट युवा संघको २९ औँ स्थापना दिवसका दिन पार्टी अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य ईश्वर पोखरेलबीच मञ्चमै छेडखानी भयो । पोखरेलले सिद्धान्तको प्रश्नमा प्रष्ट नहुँदा नेकपा ‘हाँसको चाल न कुखुराको चालको’ देखिएको टिप्पणी गरेका थिए ।

नीति, नेतृत्व र कार्यक्रमका हिसाबले पार्टी अहिले पनि मदन भण्डारी–प्रतिपादित जनताको बहुदलीय जनवादमै रहेको भन्दै घुमारो भाषामा एकीकृत पार्टीको क्रान्तिको न्यूनतम कार्यक्रम जनताको बहुलीय जनवाद बनाउनुपर्ने र त्यो नै समाजवादको प्रस्थानविन्दु हुन सक्ने औँल्याएका थिए ।

जवाफमा अध्यक्ष प्रचण्डले जबज र एक्काइसौं शताब्दीको जनवाद (एशज) कै संश्लेषित रूप नेकपा भएको औँल्याउँदै सिद्धान्तमा माथापच्ची गरेर बसेको भए पार्टी एकता नै नहुने बताए ।
नेकपाभित्र वैचारिक ध्रुवीकरणको अध्याय आरम्भ भइसकेको छ । र, यसको थालनीकर्ता अध्यक्ष प्रचण्ड र ईश्वर पोखरेल नै हुन् ।

मार्क्सवाद, माओवाद र प्रचण्डपथीय बाटो हिँड्दै आएका प्रचण्डले नारायणकाजी श्रेष्ठसँग पार्टी एकता गर्दा प्रचण्डपथको कुम्लो–काम्लो बिसाए भने एमालेसँग एकता गरेपछि माओवाद विधिवत् थान्को लगाए । अहिले उनी पूर्वएमाले पंक्तिलाई जबजबाट विमुख गराएर नीति र पार्टी दुवैको नेतृत्व गर्ने दाउमा छन् ।

उनले त पूर्वएमालेसामु मुख फोरेरै सोधेका छन्, “मार्क्सवादलाई जीवित आत्मा पनि भनिन्छ । त्यसैलाई मध्यनजर गरेर मदन भण्डारीले विकास गर्नुभएको विचारलाई अझ परिमार्जन गर्ने, नयाँ परिस्थितिअनुसार त्यसलाई विकसित गर्ने र अहिलेका चुनौती सामना गर्नेगरी, त्यसलाई अघि बढाउने कि जे कुरा मदन भण्डारीले गर्नुभएन हामी त्यही गरेर बस्ने ?” 

पार्टी एकतापछि संकटमा परेको जनताको बहुदलीय जनवादलाई कार्यकर्ताका बीचमा बहस र छलफलमा पु¥याएर जबजको उत्तराधिकारीको रूपमा अघि सार्ने एमालेको दुई कार्यकाल महासचिवसमेत रहिसकेका ईश्वर पोखरेलको पनि दाउ रहेको छ ।

‘समाजवादसम्म पुग्ने बाटो मदनले नै खनेका छन्’

पार्टी एकतादेखि नै पोखरेलले पार्टीको नीति, कार्यक्रम, विचार, दृष्टिकोण र सिद्धान्तमाथि नानातरहले प्रश्न उठाएका छन् । 

“अहिले हामी भन्दैछौँ हामी थप एकतावद्ध बनेका छौँ । कता हो कता, शक्तिशाली पनि बनेका छौँ । तर, हाम्रो यो स्थितिलाई सच्चा शक्तिमा बदल्नका लागि विगतमा हामी स्वयम्ले स्थापित गरेका विचार, विधि, मान्यता, अभ्यास र आचरणलाई नयाँस्तरमा उठाउन र स्थापित गर्न जरुरी छ । प्राप्त भएको उचाइसँगै चुनौतीहरू पनि प्रकट हुनसक्छन् भन्ने कुरालाई यतिबेला पनि हेक्का राख्नु जरूरी छ । त्यस्ता दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्न विगतमा हामी स्वयमले स्थापित गरेका, विकसित गरेका कुरामा आधारित हुँदै अगाडि बढ्नुपर्ने जरुरी छ । हाम्रा राम्रा कुराहरूले, हामी स्वयम्ले विकास गरेका राम्रा कुराहरूले मात्र हामीलाई बचाउन सक्नेछन्, हामी नयाँ स्तरमा उठ्न सक्नेछौँ !”

यसरी उनले पार्टी एकता गर्दा खोसिएको पदको मात्रै चिन्ता गरेका छैनन् । मदन–प्रतिपादित जबजलाई एकीकृत पार्टीको नीति–कार्यक्रम, कार्यदिशाकै रूपमा अघि बढाएर आफूलाई जबजका असली रक्षकको उमेदवारका रूपमासमेत प्रस्तुत गर्दैछन् ।

एमालेका पाका नेता प्रदीप नेपाल पनि ईश्वरको तर्कसँग सहमत छन् । अहिले नेकपा नेतृृत्वको सरकार जबजकै देन भएको उनको ठहर छ । नेकपाका कतिपय नेताले जबजकै ब्याज खाएर जबजको उपादेयता सकिएको घोषणासमेत गरेको बताउँदै मदन भण्डारीले समाजवादसम्म पुग्ने बाटो खनिसकेकाले त्यसको रक्षा नै आजको नेतृत्वको आवश्यकता भएको उनको भनाइ थियो ।

“अहिले एमाले र माओवादी एक भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ । पार्टी दुईतिहाइ सन्निकट मत पाएर सरकारमा छ । जबज विरोधी र जबज पढेरै हुर्किएकासमेत जबजको उपादेयता सकिएको घोषणा गर्दै हिँड्न थालेका छन् । यसमा कुनै द्विविधा पाल्नुपर्दैन । जबसम्म हामी समाजवादमा पाइला चाल्दैनौँ, त्यतिबेलासम्म जबज कामयावी नै रहन्छ । परिपक्व पुँजीवादपछि समाजवाद आउँछ, भाषण गरेर, संविधानमा लेखेर समाजवाद आउने होइन,” मदनसँगै लामो समय सहकार्य गरेका नेपालले बाह्रखरीसँग कुरा गर्दैै भने, “त्यहाँसम्मको बाटो मदनले कोरिसक्नु भएको छ । हारे प्रतिपक्षमा बस्ने, जिते सरकारमा जाने र जनहितका नीति कार्यक्रम बनाउने, सबै मदन भण्डारीले तय गरिसक्नुभएको छ । मदन भण्डारीको दृष्टिकोणमा राज्य संयन्त्र विस्तारित हुनु, उपरी संरचनाभन्दा तलका संरचना बलियो हुनु नै समाजवादको आधार निर्माण हुनु हो ।”

आजको सन्दर्भमा पनि उनको निचोड छ– “संघीयताले समाजवादको बाटोतिर जान सघाउ पुर्‍याउँछ । यसकारण कि संघीयताले तलका संस्था बलियो बनाउँछ । कामकाजी बनाउँछ । संघीय संसदको काम कानुनमात्रै बनाउने हो । जनसमुदायमा शक्ति पुग्नु नै जनताको बहुदलीय जनवाद हो । अतः आजको सन्दर्भमा जबजको औचित्य सकिएको होइन, बरु बलियो बन्दै गइरहेको छ ।”

तर, पार्टीका अर्का नेता टंक कार्कीको भने भिन्न मत छ यसमा । जबज स्वयम् मार्क्सवादको सिर्जनात्मक प्रयोग भएकाले जबजलाई जडसूत्र बनाउन नहुने तर्क गर्छन् उनी । “ हरेक प्रणालीको ऐतिहासिक महत्त्व हुन्छ । यो बीचको अवधिमा हामीलाई जनताको बहुदलीय जनवादले दिशानिर्देश गर्‍यो । कम्युनिस्ट आन्दोलनलाई गति प्रदान गर्‍यो । चुरो कुरो कम्युनिस्ट आन्दोलन अतिवादतिर जानबाट रोक्यो । तर, एउटा अतिवादबाट मुक्त हुँदै गर्दा हामी अर्को अतिवादमा त फसिराखेका छैनौँ ?,” उनी तर्क गर्छन् ।

अमूकअमूक व्यक्ति उत्तराधिकारी बन्न होडबाजी गर्नेतिर लाग्नेभन्दा जबजको समय–सापेक्ष विकास र परिमार्जनमै कम्युनिस्ट आन्दोलनको हित देख्छन् उनी ।

अक्षर काका

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad