site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 मूल्यको लडाइँ
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


पूर्वी पहाडबाट बच्चैमा काठमाडौं छिरेर आफ्नै बलबुताले अध्ययन गरे पुरुषोत्तम (दाहाल)ले । प्रमाणपत्र तहबाटै पञ्चायतविरोधी आन्दनेलनमा सक्रिय भए । एकातिर भोको पेट पाल्नुपर्ने अवस्था, अर्कोतर्फ निरंकुशताविरुद्धको आन्दोलनमा होमिने सपना । उपाय देखियो— पत्रकारिता । ‘नेपाल टाइम्स’मा प्रवेश गरे । पत्रकारिताको बाह्रखरी त्यहीँबाट शुरु गरे । त्यसपछि विभिन्न साप्ताहिक पत्रिका हुँदै ‘राजधानी’ दैनिकको संस्थापक प्रधानसम्पादक भए । राष्ट्रिय समाचार समिति ‘रासस’को प्रमुखदेखि रेडियो नेपालको ‘घटना र विचार’ थालनीसम्मको यात्रा तय गरे । निजी क्षेत्रको पहिलो टेलिभिजन ‘च्यानल नेपाल’मा पनि उनले काम गरे । छापा, रेडियो, टेलिभिजन हुँदै अहिले उनी न्यु मिडियासम्म आइपुगेका छन् । चार दशक लामो पत्रकारिता यात्रामा थुप्रै उकाली¬–ओराली र देउरालीको यात्रा तय गरेका पुरुषोत्तमले ‘बाह्रखरी’सँग गफिँदै पत्रकारिताको मूल्यमा अडिग रहँदा भोग्नुपरेका तीता स्मृति साटे ।

० ० ० 

Prabhu Bank
Agni Group
NIC Asia

पूर्वी नेपालको सुदूर पहाडी जिल्ला— ओखलढुंगा । त्यसको पनि सीमान्तकृत बस्ती विकुटार । विकुटारमा पुरुषोत्तम (दाहाल)का बुवा रत्नप्रसादले पण्डित पुण्यप्रसाद दाहाललाई लिएर गएका थिए । पुण्यप्रसादका दुई काम थिए । एउटा– भाषा स्कुलमा पढाउने । अर्को— संस्कृत पढाउने । पुरुषोत्तमलाई बुवाले दुवै ठाउँमा पढ्न पठाए । बुवाको आज्ञा मान्नै पर्‍यो । उनी भाषा स्कुलमा पनि पढ्थे, संस्कृत पनि ।

विकुटारमा पढ्दापढ्दै शिक्षाका लागि काठमाडौं नै जानुपर्छ भन्ने लाग्यो । उनी कक्षा ५ सकेर काठमाडौं आए । रानीपोखरी संस्कृत माध्यमिक विद्यालयमा ६ बाट अध्ययन थाले । ०३२ सालमा एसएलसी दिएका पुरुषोत्तमले त्यसपछि बाल्मीकि क्याम्पस हुँदै त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर सके ।

Global Ime bank

धेरैजसो व्यक्तिमा एउटा उमेर त्यस्तो आउँछ, जतिबेला मनमा कथा, कविता खेल्न थाल्छन् । पुरुषोत्तम पनि त्यसबाट अछुतो रहेनन् । कथा, कविता र निबन्धसँग उनको सानिध्यता बढ्यो । वादविवाद र वक्तृत्वकलामा रमाउन थाले, भाग लिन थाले ।

पहाडको ठिटो पुरुषोत्तम । काठमाडौं राजधानी । न साइनो न सम्बन्ध । काठमाडौं उनका लागि पराई भूमि थियो । पराईलाई परचक्रीको व्यवहार हुने नै भयो । कक्षा ६ मा पढ्दा पनि उनी काम गरेर खर्चको बस्दोबस्त गर्थे ।

“भाडामा बस्नु पर्ने, तिर्नलाई पैसा हुँदैनथ्यो । आज कहाँको कोठा, भोलि कहाँ ! ठेगानै नहुने,” पुरुषोत्तम आफ्नो बालवयको संघर्ष सुनाउँछन्, “तपाईंलाई अहिले कथा सुनेजस्तो लाग्छ । काल्पनिक कथाजस्तो लाग्छ । म कक्षा ६ पढ्दा नै काम गर्थें ।”

के काम ?

“काठमाडौंमा मैले गिट्टी कुटेको छु । काठमाडौंका सडकमा बालुवाको बोरा बोकेर हिँडेको छु । कयौं रात रत्नपार्कमा सुतेको छु । शायद आज हुन्थ्यो भने ‘खाते’ भन्दै कुटेर लखेट्थे । कहिले बोराभित्र पसेर जाडो छल्थें, कहिले बोरा ओढेर सुत्थें,” स्मृतिका पाना पल्टाउँछन् पुरुषोत्तम, “रत्नपार्कको  छाता देख्नुभएको छ ? हो, त्यो छातालाई सिरक सम्झेर कयौं चिसा रात गुजारेको छु । त्यो छाता नयाँ होइन, त्यही बेलाको हो ।”

अतीतको संघर्ष कथा उनको मस्तिकमा अझै उस्तै गाढा छ, जसरी आजका घटना उनको स्मरणमा छन् । शायद त्यस्तै घटनाले उनलाई चट्टानी बन्न सिकायो । जब्बर संघर्षको जग बसायो । प्रमाणपत्र तहमा पढ्दै थिए । काम र त्यसको खोजी त बाल्यकालदेखिकै साथी भइहाले । काम गर्नै पर्ने, एकसरो जीवन गुडाउनै पर्ने । उनलाई काम चाहिएको थियो ।

०३१ सालदेखि उनी नेपाल विद्यार्थी संघमा आबद्ध भएर पञ्चायतविरुद्ध स्वतन्त्रताको आन्दोलजनमा सहभागी हुन थालेका थिए । त्यसका लागि पत्रकारिता सबैभन्दा राम्रो विकल्प थियो । एकातिर जीवन धान्ने काम हुने । अर्कातिर स्वतन्त्रताको आन्दोलनमा योगदान पनि हुने ।

सरकारी सञ्चार माध्यममा त्यो सम्भव थिएन । त्यसैले निजी क्षेत्रकै पत्रिकामा काम गर्नुको विकल्प थिएन । तत्कालीन श्री ५ को सरकारका अधिकृत थिए, ओखलढुंगाकै तुलसी भट्टराई, जो सरकारी नुन खाएर पनि एक राष्ट्रिय दैनिकमा भूमिगत भएर सरकारविरोधी सम्पादकीय लेख्थे । उनीसँग पुरुषोत्तमले कुरा राखे । उनले विदूरप्रसाद पौडेल (पछि उपकुलपति तथा सांसद् पनि भए)लाई भने । विदूरले ‘नेपाल टाइम्स’ राष्ट्रिय दैनिकका सम्पादक चन्द्रलाल झासँग भेटाए । कुरा मिल्यो । ०३५ जेठदेखि उनी ‘नेपाल टाइम्स’मा जोडिए ।

“त्यो बेला मैले नियुक्ति लिएर र तलब यति हुन्छ भनेर तोकेरै काम शुरु गरेको थिएँ । ०३५ जेठको पहिलो साताबाट शुरु गरेको मेरो पत्रकारिता आजसम्म जारी छ,” सन्तुष्टिका धर्साहरू पुरुषोत्तमको मुहारमा दौडिन्छन् ।

चन्द्रलाल खारिएका र निडर पत्रकार । पुरुषोत्तमलाई विश्वास गर्ने हो भने उनले ४१ वर्षको पत्रकारिता यात्रामा चन्द्रदादजस्तो निडर सम्पादक देखेका छैनन् । उनै चन्द्रलालले पत्रकारिताको कखरा सिकाए पुरुषोत्तमलाई ।

पहिलो समाचार के लेखे, पुरुषोत्तमको दिमागमा घुर्मैलो सम्झना पनि छैन । तर, सबैभन्दा पहिला चन्द्रलालले सम्पादकलाई चिठी लेख्न अह्राए । उनले लेखेर देखाए । तर, चन्द्रलालले हेरेनन् । मात्रै भने, “फेरि लेख ।”

फेरि लेखे ।

“फेरि लेख ।”

फेरि लेखे ।

“मैले एउटा विषयमा २५ पटक सम्पादकलाई पत्र लेखेको छु । उहाँले त्यसरी अभ्यास गराउनुहुन्थ्यो,” पुरुषोत्तम सुनाउँछन्, “यसरी मलाई चन्द्रलाल झाले पत्रकारिताको कखरा सिकाउनुभएको हो । पत्रकारमा धैर्य कति छ भनेर त्यसको परीक्षण गर्नुहुन्थ्यो उहाँ । हामी अभ्यासले पोख्त भएका पत्रकार हौं ।” 

० ० ०

पुरुषोत्तमको यात्रा शुरु भयो मिसन पत्रकारिताबाट । जसको अभिष्ठ थियो— पञ्चायतको विरोध गरेर प्रजातन्त्र पुनर्बहाली गर्नु ।

होमनाथ दाहाल ‘राष्ट्र पुकार’का सम्पादक थिए, जसले प्रजातान्त्रिक आन्दोलनलाई सहयोग पुर्‍याउँथ्यो । पुरुषोत्तमले त्यसमै काम गरे, ०३६ देखि । त्यसपछि ‘देशान्तर’मा दुई वर्ष काम गरे, जहाँ उनले व्यावसायिक पत्रकारिता गर्न सिके ।

पुरुषोत्तम आफ्नो पत्रकारिता यात्रामा तीन जनालाई गुरु ठान्छन् । एक चन्द्रलाल भइगए, जसले उनलाई पत्रकारिताको बाह्रखरी सिकाए । होमनाथ, जसले उनलाई मिसन पत्रकारिता सिकाए । र, किशोर नेपाल, जसले उनलाई व्यावसायिक पत्रकारिताको अभ्यास गराए ।

‘नेपालवाणी’ साप्ताहिक पुरुषोत्तम आफैंले प्रकाशन गरे । मिसन पत्रकारिताकै अभ्यास गरेको ‘नेपालवाणी’माथि पञ्चायतको नजर पर्‍यो । कहिले दर्ता खारेज हुन्थ्यो, कहिले प्रतिबन्ध लाग्थ्यो । कहिले अञ्चलाधीशको कार्यालयमा तारिख त कहिले न्यायको अपीलका लागि अदालतको ढोकासम्मको यात्रा । यस्तै जुहारीबीच केही वर्ष उनले ‘नेपालवाणी’ चलाए ।

०४६ को जनआन्दोलनले पञ्चायतलाई फ्याँक्यो । प्रजातन्त्र पुनर्बहाली भयो । स्वतन्त्र वातावरण तयार भयो ।

० ० ०

पुरुषोत्तमले ०३१ सालबाट प्रजातन्त्रको पुनप्र्राप्तिका लागि नेविसंघमा आबद्ध भएर काम गरे । ०३५ देखि ०४६ सम्म पञ्चायतको विरोधमा मिसन पत्रकारिता गरे । त्योबीचको १६ वर्षमा थुप्रै समाचार, विचार र सम्पादकीय लेखे, जसका कारण उनलाई पञ्चायतले चिन्यो । पञ्चहरू उनलाई मन पराउँदैनथे । परिणाम— उनी कयौंपटक जेल चलान भए । त्योभन्दा धेरै उनी प्रहरी हिरासतमा पुगे । त्यहाँ राजनीतिक दलका तत्कालीन शीर्ष नेतादेखि अहिलेका प्रमुख दलका मुख्य नेतासँग भेट हुन्थ्यो । भलाकुसारी र छलफल चल्थ्यो । नेविसंघ र मिसन पत्रकारिताले पनि तत्कालीन प्रतिबन्धित कांग्रेस र कम्युनिस्ट पार्टीका नेताहरूसँग पुरुषोत्तमको राम्रो सम्बन्ध थियो ।

कृष्णप्रसाद भट्टराई (किसुनजी) अन्तरिम चुनावी सरकारका प्रधानमन्त्री भए । किसुनजीलाई पुरुषोत्तमको धेरै कुरा थाहा थियो । भाइबहिनीलाई काठमाडौंमा राखेर पढाइरहेको र त्यसका लागि पुरुषोत्तमले भोग्नुपरिरहेको आर्थिक अभावसँग किसुनजी साक्षात्कार थिए । त्यसैले एकदिन किसुनजीले भने, “पुरुषोत्तम ! तिमीलाई आर्थिक समस्या छ । ‘क’ श्रेणीको कुनै संस्थानको जीएम खान्छौ ? जाऊ, म भन्दिन्छु । सहयोग पनि पुग्छ ।”

पुरुषोतमः मलाई पैसा कमाउनु छैन किसुनजी । जर्नालिजममा मलाई राम्रो आइडिया छ । एउटा कार्यक्रम चलाउन दिने हो भने म चलाउँछु ।

किसुनजीः कहाँ के चलाउँछौ ?

पुरुषोत्तमः बीबीसीको मोडलजस्तै समसामयिक घटनामा रेडियो नेपालमा एउटा कार्यक्रम चलाउन पाए कस्तो होला ? नेपालमा ३० वर्षसम्म सरकारी मिडियाले प्रजातन्त्रमाथि एकोहोरो आक्रमण गरिरहेको छ । प्रजातन्त्रको सिद्धान्त के हो भन्ने कुरा जनतालाई देखाउनु, सुनाउनु र सिकाउनु पनि पर्‍यो । र, देशमा भएका विषयलाई पनि मिडियामा ल्याएर त्यसको विश्लेषण गर्नुपर्‍यो । कसरी प्रजातन्त्र अभ्यास गर्ने, त्यसको अभ्यास पनि गर्नुपर्छ ।

किसुनजीले तुरुन्तै सहमति जनाए ।

योगप्रसाद उपाध्याय सञ्चारमन्त्री थिए । सञ्चार सल्लाहकारको जिम्मेवारीमा मनमोहन भट्टराई थिए । उनीहरूसँग छलफल भयो । किसुनजीले कार्यक्रमको नाम राख्ने जिम्मेवारी पनि पुरुषोत्तमलाई नै दिए । 

कार्यक्रमको नाम ‘यो हप्ता’ राखे । तुरुन्तै कार्यक्रम लोकप्रिय भयो । माग बढ्यो । १५ दिनमै नाम परिवर्तन गरेर ‘घटना र विचार’ राखे । हप्ताको तीन दिन प्रसारण हुन थाल्यो ।

“मलाई लाग्छ— रेडियो नेपालको जीवनमा आजसम्म सबैभन्दा धेरै लोकप्रिय भएको र समाचारपछि जनतामा एकैचोटि सबैभन्दा धेरै प्रभाव पारेको कार्यक्रम यही नै हो,” पुरुषोत्तमले रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम ‘घटना र विचार’ जन्मको प्रसंग सुनाए ।

त्यसअघि कार्यक्रमका लागि सिग्नेचर ट्युन चाहिएको थियो । आक्रामक सिग्नेचर ट्युन बनाउन चाहन्थे उनी । ओखलढुंगाकै गायक तथा रेडियो नेपालका कार्यक्रम प्रस्तोता थिए, पाण्डव सुनुवार । उनको सहयोग लिए । रेडियो नेपालकै धनेन्द्र बिमल लाइब्रेरीमा काम गर्थे । तीनजना बसे । लाइब्रेरीका धून खोजेर काट्दै मिक्स गर्दै गर्न थाले । एउटाको विकल्पमा अर्को, त्यसको पनि विकल्पमा अर्को धून खोज्दै मिक्स गर्दै गए ।

“अन्तिममा चार–पाँचजना बसेर फाइनल ट्युन तयार पार्‍यौं,” उनले सुनाए, “वास्तवमा त्यो जस्तोको तस्तै हामीले अन्तबाट लिएका पनि हैनौं तर आफैँले एरेन्ज गरेका पनि होइनौं । विभिन्न धूनलाई मिक्स गरेर बनाएका थियौं । त्यो धून पनि धेरैले मन पराए ।”

०४७ देखि ०५१ को असारसम्म उनले ‘घटना र विचार’मा काम गरे । त्यसबीच थुप्रै उचारचढाव झेले । उनी मूल्यको कुरा गर्थे, सरकार शक्तिको कुरा गथ्र्यो । सरकारी मिडिया, त्यसमा पनि आफूनिकटको व्यक्तिले चलाएको कार्यक्रम, आफ्नो पक्षमा हुनु पर्ने सरकारको धारणा थियो । पुरुषोत्तम ‘गुण र दोषका आधारमा समाचार बन्छ, विश्लेषण हुन्छ’ भन्थे । तर, सबैलाई किन चित्त बुझ्थ्यो र !

“म प्रजातन्त्रको मूल्यको कुरा गर्थें । सत्तामा बस्ने मान्छे शक्ति र नियन्त्रणको कुरा गर्थे । उनीहरू सकेसम्म ‘घटना र विचार’मा आफ्ना कुरामात्रै आइदिऊन् भन्ने चाहन्थे,” पुरुषोत्तम भन्छन्, “त्यसैले हाम्रो विवाद भयो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला  र सञ्चारमन्त्री विजयकुमार गच्छदार हुनुहुन्थ्यो । उहाँहरूले हामीलाई हटाउनुभयो । उहाँहरूले शक्तिको कुरा गर्नुभयो । हामी पत्रकार मूल्यमा अडिग रह्यौं । शक्ति र मूल्यको द्वन्द्व भयो । हामी शक्तिको शिकार भयौं ।”

० ० ०

०४० दशकको शुरुतिर फर्किन्छन् पुरुषोत्तम । वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र शाहबारे एउटा समाचार ‘देशान्तर’ पत्रिकामा प्रकाशन भयो । सम्पादक किशोर नेपाल थिए । 

निकै लामो संघर्ष र कठिन मेहनतपछि पाइएको समाचार थियो । संयोगले त्यो समाचार पुरुषोतम आफैंले लेखेका थिए । समाचार थियो— ब्राउन सुगर कारोबारमा धीरेन्द्रको पनि हात छ । धीरेन्द्रका एडीसी भरत गुरुङ पनि त्यसमा संलग्न छन् ।

पत्रिकाको सबै काम सकेर किशोर र पुरुषोत्तम किशोरको घर बत्तीसपुतली पुगे । रात छिप्पिसकेको थियो । खाना खाएर पुरुषोत्तम पनि त्यहीँ सुते ।

बिहानै ७ बजे फोनको घण्टी निरन्तर बज्यो । किशोर निदाएकाले पुरुषोत्तमले उठाए । 

उताबाट चर्को र ठाडो स्वरमा सोधियो, “किशोर छ ?”

पुरुषोत्तमले भने, “उहाँ सुतिरहनुभएको छ ।”

“तँ को ?” उताबाट साधियो ।

“म पुरुषोतम दाहाल,” उनले जवाफ दिए ।

“ए, मैले तँलाई नै खोजेको हो,” स्वर झन् रुखो भयो ।  

पुरुषोत्तमले सोधे, “यहाँ को बोल्नुभएको ?”

उत्तर थियो, “भरत ।”

“को भरत ?” पुरुषोत्तमले सोधे ।

“भरत भनेपछि भरत,” जंगिएको आवाज आयो ।

“भरत नाम गरका २० जना साथी छन् मेरा । पूरै नाम नभनुन्जेल म कसरी चिनूँ ?” पुरुषोत्तमले भने । 

आवाज आयो, “भरत गुरुङ ।”

भरतले भने, “तेरो र तेरो सम्पादकको फुर्ती निकै बढेको रहेछ । मैले चाहें भने गाडीको टायर र पिचका बीचमा नचिनिने गरी तेरो लाश पेल्न सक्छु । धेरै बकबक नगर् ।”

दरबारको समाचार लेखेबापत आएको त्यो पहिलो धम्की थिएन  । पञ्चायतकालमा यस्ता धम्की आइरहन्थे । हिरासत पानीपँधेरोजस्तै भइसकेको थियो ।

पुरुषोत्तमले हाँस्दै भने, “कुन ठाउँमा र कहिले त्यस्तो पुण्य कर्म गर्ने हो, खबर दिनुहोला । हामी त्यहीँ आउँछौं । हुन्न ?” भरतले गन्द्रङ्ग फोन राखे ।

० ० ०

पञ्चायत पतन भयो । बहुदल आयो । स्वतन्त्र प्रेस र वाक् तथा प्रकाशन स्वतन्त्रता संविधानले नै व्यवस्था गर्‍यो । तर, धम्की दिनेलाई न संविधान न कानुन ! पुरुषोत्तमलाई मात्रै नपुगेर परिवारसम्म पुग्थे धम्की दिनेहरू । धम्कीको अर्को विवरण पनि सम्झिए उनले, “बहुदल आइसकेपछि रेडियो नेपालमा ‘घटना र विचार’ शुरु गरिसकेपछि नयाँ तरिकाले समाचार दिँदा मेरो घरमा राति १२–१ बजे फोन गरेर श्रीमतीलाई धम्की दिन्थे–पुरुषोत्तमजीले मेरो कुरो मान्नुभएन । उहाँको लाश बुझ्न भोलि धोबीखोलाको किनारमा आउनू ।”

एकातिर सत्तासीनको दबाब, अर्कोतिर प्रतिपक्षीको हुंकार । ०४८ मा कर्मचारी आन्दोलन चर्किएको थियो । आन्दोलनको समाचार विश्लेषण गरेर ‘घटना र विचार’मा प्रसारण गरे । एमाले नेताहरूलार्ई मन परेन ।

“उहाँ (एमाले नेता)हरूले एकातिर तत्कालीन गृहमन्त्री शेरबहादुर देउवा र अर्कातिर मेरो पुत्ला राखेर शहीदगेटमा जलाउनुभयो,” पुरुषोत्तमले सम्झिए ।

यी र यस्ता दबाब दिनहुँजसो आउँथे । कहिले प्रत्यक्ष, अहिले अप्रत्यक्ष । यतिसम्म त ठिकै हो तर पुरुषोत्तमलाई त्यतिबेला अचम्म लाग्थ्यो, जतिबेला प्रजातान्त्रिक सरकारका व्यक्तिहरू नै यो समाचार दिनू र यो नदिनू भन्थे । तर, त्यसलाई उनले सधैं गौण ठाने । एउटा कानले सुने र अर्को कानले उडाइदिए । कुन समाचार दिने र कुन नदिने, त्यो पत्रकारको विवेकले निर्धारण गर्छ । प्रधानमन्त्री होस् या एउटा सामान्य नागरिक— दुवैले आफ्ना कुरा राख्न पाउनुपर्छ । व्यक्तिको पोर्टफोलियोकै आधारमा विभेद हुुनु हुँदैन भन्ने उनको मान्यता थियो । सरकारको सञ्चार माध्यम हो भन्दैमा प्रतिपक्षीको विचार जनतामा पुर्‍याउनु हुँदैन भन्ने सत्तासीनको हैकम उनलाई चित्त बुझेन । फलतः पुरुषोत्तम ‘घटना र विचार’बाट निकालिए ।

० ० ०

०४३ मा ‘नेपालवाणी’ साप्ताहिकको एक गाईजात्रे अंकमा सम्पादकीय छापियो । त्यो समय पुरुषोत्तम काठमाडौंमा थिएनन्, चितवनमा थिए । भक्तपुरका प्रवीण वन नाम गरेका साथी थिए, जो ‘नेपालवाणी’मा काम गर्थे । उनले सम्पादकीयमा लेखेछन्, “एकादेशमा एकजना वीरेन्द्रबहादुर शाह नाम गरेको व्यक्ति थियो । त्यो व्यक्तिले सत्ता कस्तो हुने भनेर जनमत संग्रह गरायो । जनमतसंग्रह आफ्नो पक्षमा पार्न पूरै जंगल सिध्याइदियो । सर्प र गैंडाका छाला बेच्यो । र, यसरी सत्ता कब्जा गर्‍यो...।”

सरकारले पुरुषोत्तमलाई राजकाजको अभियोगमा मुद्दा दायर गर्‍यो । जेल त बस्नु परेन तर पत्रिका खारेज भयो । भलै पछि पुरुषोत्तमले मुद्दा जिते । दमननाथ ढुंगानाले उनको पक्षबाट अदालतमा बहस गरेका थिए ।

० ० ०

०५८ मा ‘राजधानी’ दैनिक प्रकाशन हुने भयो । प्रधानसम्पादकको जिम्मेवारी पुरुषोत्तमको काँधमा आइपुग्यो । पत्रकारिताको संस्थागत विकास हुनुपर्छ भन्ने उनको मान्यता थियो । स्वतन्त्रतासँगै संस्थागत पत्रकारिताको अभ्यास शुरु गरे । पत्रिकाले राम्रो उपस्थिति देखायो । ‘राजधानी’ बजारका मै हुँ भन्ने अखबारलाई चुनौती दिन सक्ने अवस्थामा पुग्यो ।

बिस्तारै लगानीकर्ता र सम्पादकीय उद्देश्य बाझिए ।

“म पत्रिकालाई संस्थागत बनाएर लैजानुपर्छ भन्ने पक्षमा थिएँं । संस्थापकहरू आफ्नो आदेशअनुसार संस्थालाई म्यानुपुलेट गर्नुपर्छ भन्न लाग्नुभयो । यसमा मतभेद भयो,” पुरुषोत्तम भन्छन्, “पत्रिकाभित्रै काम गर्ने साथीरू ग्रुपिजममा लाग्नुभयो । जबकि म आफैंले उहाँहरूलाई जम्मा गरेको थिएँ । संस्थापकहरू कर्मचारीको ग्रुपिजममा छिर्नुभयो । म मूल्यको कुरा गर्ने मान्छे, उहाँहरूले मलाई अवमूल्यन गर्न थाल्नुभयो । मैले यो बुझ्नेबित्तिकै तुरुन्त राजीनामा दिएँ ।”

पत्रिका प्रकाशन शुरु भएको सात महिनामै उनले राजीनामा दिएका थिए ।

० ० ०

‘राष्ट्र पुकार’मा छँदा पुरुषोत्तमले ०३५ देखि करिब चार वर्ष बीपी कोइरालासँग रिर्पोटिङका लागि सँगै हिँड्ने अवसर पाए ।

बीपी कहिल्यै नरिसाउने, सधैं शान्त र भद्र स्वभावका लाग्थे । उनीबाहेक गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहनसिंह, टंकप्रसाद आचार्य, तुलसीलाल अमात्यलगायत थुप्रैसँग उनले अन्तर्वार्ता गर्ने अवसर पाए । तर, उनलाई असाध्यै मन पर्ने व्यक्ति मनमोहन अधिकारी थिए । मनमोहनले प्रेसलाई गर्ने व्यवहार सम्झिँदा उनलाई अझै प्रिय लाग्छ ।

०३५ देखि ०७६ सम्मको पत्रकारिता यात्रामा उनले कयौं व्यक्तिको अन्तर्वार्ता र रिर्पोटिङ गरे । राजादेखि रैतीसम्म उनको सम्पर्क र संगत रह्यो । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्रसँग औपचारिक अन्तर्वार्ता लिने पत्रकार उनै हुन् । ‘रासस’मा हुँदा उनले यो मौका छोपे ।

० ० ०

पत्रकारिता माध्यमको विकास द्रुत्ततर गतिमा भइरहेको छ । छापा, प्रसारण (रेडियो/टेलिभिजन) हुँदै अहिले अनलाइनसम्म आइसकेको छ । सामाजिक सञ्जालले ठाउँ लिएको छ । यसलाई छोटो अवधिमा भएको चामत्कारिक विकास ठान्छन् पुरुषोत्तम । छापाबाट शुरु भएको उनको पत्रकारिता अहिले अनलाइनसम्म आइपुगेको छ । www.harekpal.com उनकै अनलाइन न्युज पोर्टल हो । 

प्रविधिले नेतृत्व गरेको अहिलेको पत्रकारितालाई विगतको पत्रकारितासँग तुलना गर्न नमिल्ने बताउँछन् पुरुषोत्तम । प्रजातान्त्रिक विचारधाराभित्र बसेर पत्रकारिता गरेका उनी स्वतन्त्रताको कुरा गर्न आज पनि छोड्दैनन् । अहिलेको सरकारले नियन्त्रित लोकतन्त्रको अभ्यास शुरु गरेको र यसको पहिलो आँखा स्वतन्त्र प्रेसमाथि परेको उनी बताउँछन् ।

विषयवस्तु समयअनुसार बिस्तारै परिवर्तन हुँदै जाने र सच्चा पत्रकारले अन्तिम सत्य यही नै हो भनेर कहिल्यै पनि दाबी नगर्ने उनको विचार छ । “पत्रकारिता गर्ने व्यक्तिले मैले जे भनेको छु, त्यही नै ठीक हो भनेर कहिल्यै दाबी गर्दैन । विकल्पहरू राखिरहेको हुन्छ । विकल्प राखेर हेरिरहेको पत्रकारले ट्रेन्ड कस्तो छ, कन्टेन्ट कसरी विकास भइरहेको छ भनेर विश्लेषण गर्छ,” उनी भन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६  ०६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC