यसरी बनाऔं मजबुत परिवार

यसरी बनाऔं मजबुत परिवार

आज १५ मे । अर्थात् अन्तरराष्ट्रिय परिवार दिवस । यो दिवसलाई खासै महत्व दिएको देखिँदैन । सामाजिक सञ्जालमा पनि उतिविधि चर्चा भएको पाइँदैन । तर परिवारको महत्व नबुझ्नेले अरु केहीको पनि महत्व बुझ्न सक्दैन । परिवार ठीक हुँदा मानिसलाई विभिन्न काममा सफलता मिल्छ, परिवारमा सधैं तनाव वा झगडा छ भने काम बिग्रने सम्भावना अधिक हुन्छ । मान्छेको स्वास्थ्यमा पनि परिवारको स्वास्थ्यले अहम् भूमिका खेलिरहेको हुन्छ । 

यो वर्ष (सन् २०१९)को परिवार दिवसको नारा ‘परिवार र जलवायु अभियान’ रहेको छ । हामीमध्ये कतिपयलाई परिवारको महत्व थाहा छ, तर पनि त्यसलाई सन्तुलित बनाउन सकिरहेका हुँदैनौं । एउटा परिवारलाई सुखी राख्नका निम्ति परिवारका सबै सदस्यको महत्वपूर्ण हात हुन्छ । 
पछिल्ला वर्षहरुमा तीव्र गतिमा संयुक्त परिवार, मूल परिवारको रुपमा सानो बन्दै गएको छ । यसकारण पनि आउँदा पुस्तालाई पारिवारिक महत्वबारे सिकाउनु–बुझाउनु अत्यावश्यक भइसकेको छ । 

पहिला आमा र पत्नीलाई खान दिउँ
परिवारलाई एकजुट बनाइराख्नु आवश्यक छ । त्यसका निम्ति हामीले आफ्नो निजी स्वार्थलाई छाडेर पहिला परिवारको अर्काे सदस्यका बारेमा सोच्ने गर्नुपर्छ । प्रायः परिवारमा पत्नी वा आमा पहिला अरुलाई खाना खुवाएरमात्र आफू खाने गर्छन् । हामीले पनि पहिला पत्नी वा आमालाई खान दिएर आफू खान सक्ने हो भने कत्ति सुन्दर अवस्था बन्ला !

प्रेमले कुराकानी गरौं
परिवारको कुनै सदस्यले यदि कुनै गलत काम जानेर वा नजानेर गरेको रहेछ भने विस्तारै सम्झाउनुपर्छ । ठूलो स्वरमा कुरा गर्ने वा हप्काउने गर्नुहुँदैन । यस्तो आदतले परिवारको सदस्यबीच आपसी समझदारी विकसित हुँदै जान्छ ।

शिष्टाचारमा ध्यान
ज्येष्ठ वा आदरणीय व्यक्तिको आदर र बच्चालाई स्नेह गर्नुलाई हामीले संस्कारका रुपमा विकास गर्नुपर्छ । बुज्रुगसँग कुरा गर्दा आदरका साथ गर्नु अनि परिवारका सदस्यमध्ये कसैलाई आवश्यक परेको खण्डमा तत्कालै मद्दतको हात बढाउनु पनि शिष्टाचारको एउटा हिस्सा हो । मान्छेलाई मन पराउनु र नपराउनु भनेको नै उसमा निहित शिष्टाचार हो । 

माफी दिन सिकौं
मान्छेले आफूलाई तनावरहित राख्ने हो भने, सबैभन्दा महत्वपूर्ण सूत्र ‘माफ दिनु’ र ‘भुल्नु’ नै हो । गल्ती मान्छेबाटै हुन्छ, त्यसलाई कम गर्ने वा नियन्त्रण गर्ने अचुक औषधि भनेकै माफी हो । बदलाको भाव राख्दा कुनै पनि समस्या समाधान हुँदैन । त्ससले तिक्ततामात्रै बढाउँछ । नातेदार वा छिमेकसँग कुनै विषयमा विवाद हुन खोज्दा आफू पनि तात्ने वा आवेगमा आउने हो भने पछि गएर त्यसले सम्बन्धमै चिसोपना ल्याइदिन्छ । त्यसकारण पनि सकेसम्म माफीको नीति अँगाल्नु श्रेयष्कर हुन्छ । 

नवभारत टाइम्समा आधारित
   

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad