– नरेन्द्र चुदाली
“हेलो ! शिवहरिजी, कता ?”
“म खोकना छु नरेन्द्रजी ! साँझ भेट्नुपर्छ है ?”
मैले सम्पर्क गरेको समय शिवहरिजी प्रायः रिपोर्टिङका क्रममा उपत्यकाका यस्तै ऐतिहासिक र प्राचीन सभ्यता भएका ठाउँहरूमा रहने गर्नुहुन्थ्यो । शायद आफ्नो पत्रकारिता कर्ममा शिवहरि घिमिरेको निरन्तर मेहनत र लगावको परिणमस्वरूप ‘होचो ढोका’ जन्मिएको हुनुपर्छ ।
पारम्परित मिथक र संस्कृतिको खोजमूलक कथनसहित प्रकाशित घिमिरेको पहिलो कृति ‘होचो ढोका’को अध्ययन गर्दा यसले हाम्रो कला–संस्कृति र सभ्यताको पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने अनुभूति भयो । विशेषगरी काठमाडौं उपत्यकाका कला–संस्कृति, सभ्यता तथा किम्वदन्तीका सवालमा दिग्गज ज्ञातासँगको वार्तालाप, भेटघाट, अनुसन्धान तथा खोजमूलक अन्वेषणजस्ता प्रभावकारी विधिबाट तयार पारिएको कृति ‘होचो ढोका’ वास्ताविकताको नजिक रहेकोमा दुईमत छैन । यो कृतिले काठमाडौं उपत्यकाका बासिन्दाको स्मृतिमा रहेका कतिपय रहस्यमय विषयलाई मिथकीय शैलीमा प्रस्तुत गरेको छ । त्यस्ता रहस्य र मिथकका सवालमा विस्मृत जिज्ञासाहरूलाई पुस्तकमा ब्युँताउने लेखकको कोसिस पक्कै पनि सराहनीय छ ।
मिथक नेपाली समाजका विभिन्न समयका जीवन्त सम्झना हुन् । विभिन्न संस्कृतिमा रहेका मिथकीय पात्र र प्रवृत्तिले तत्कालीन सामाजको यथार्थ र त्यसको सम्यक ज्ञान प्राप्त हुन्छ । काठमाडौं उपत्यका कला–संस्कृति र सभ्यताको दृष्टिले आफैंमा अनुपम सहर हो । संस्कृति नगरीको रूपमा रहेको उपत्यकाको आफ्नै महत्त्व र सौन्दर्य छ । र, यहाँ रहेका कला–संस्कृति र सभ्यताबारे यस्ता खोज, अनुसन्धानले हाम्रो नयाँ पुस्तमा यसबारे जानकारी गराउन मद्दत पुग्नेछ ।
समय बित्दै जाँदा हाम्रा कला–संस्कृति लोप हुँदै जाने खतरा हुन्छ । यसर्थ पनि ‘होचो ढोका’ जस्ता खोजमूलक सामग्रीले हाम्रो सम्पत्तिका रूपमा रहेका यस्ता गाथाहरुलाई पुस्तौं पुस्तासम्म जोगाइराख्न मद्दत पुग्नेछ । नेपालको कला–संस्कृतिमा रूचि देखाउने पाठक, अन्वेषक, विद्यार्थी तथा नयाँ पुस्ता एवं खोजकर्ताहरूका लागि यो पुस्तक अध्ययनायोग्य बन्नेछ भन्ने लागेको छ ।
खोजमूलक पत्रकारिताबाट कुनै पनि विषयवस्तुको गहिराइसम्म पुग्न सकिन्छ भन्ने उदाहरण यो पुस्तकबाट प्राप्त गर्न सकिन्छ । आफ्नो मूलधारको पत्रकारिता यात्राका क्रममै अन्वेषणमूलक पुस्तक तयार पार्नु आफैंमा चुनौतीपूर्ण कार्य हो । त्यसकारण पनि पत्रकारिता क्षेत्रमा लागेका धेरै युवाको निम्ति पुस्तकका लेखक प्रेरणा हुन् । समाचार संकलन गर्दा फिल्डमा खटिने सञ्चारकर्मीले सामाजका धेरै कथा–व्यथाको जानकारी प्राप्त गर्न सक्छ भन्ने उदाहरण घिमिरेको कृति ‘होचो ढोका’बाट पाउन सकिन्छ । यसबाट कलमजीवीलाई ‘ग्राउन्ड जिरो’ रिपोर्टिङमा उत्प्रेरणा मिल्न सक्छ ।
पुस्तकमा समेटिएका सबै सामग्री रोचक छन् । सबै विषयवस्तुमा गहन अध्ययन गरेको दाबी लेखकले प्रस्तुत गरेका छन् । तर, कतिपय विषय तथा किम्वन्दती विषयमा भिन्नाभिन्नै तर्क तथा तथ्य आएका छन् । जस्तैः घरमा होचो ढोका किन राखियो भन्ने सवालमा पुस्तकले उपत्यकाका राजाहरूले टोलमा गएर नेवार समुदायका छोरीचेली जिस्क्याउने गरेको र उनीहरूबाट छोरीचेली जोगाउन होचोढोका बनाउने प्रचलन स्थापित भएकोे उल्लेख गरेको छ । तर, कतिपय जानकारहरूले यसलाई भूकम्पीय जोखिमबाट बच्नका लागि घरमा होचो ढोका राख्ने गरिएको तर्क पेश गरेका छन् । पुस्तकभित्रकै अर्को तथ्यअनुसार घरभित्र चिसो नपसोस्, चोरी नछिरोस् भन्नेजस्ता तथ्य पनि राखिएको छ ।
किताबमा होचो ढोकासँग रोचक प्रसंग जोडिएका पर्याप्त तथ्यहरु राखिएको छ । जसअनुसार एक युग यस्तो थियो, जुन युगमा उपत्यकाका युवतीहरू राजारजौटाका यौन प्यास मेटाउने माध्यम बन्थे । युवतीहरूमाथि भएको दमन, अन्याय, अत्याचार र यौन हिंसा बावुआमाले सहन सकेनन् । राजाहरूबाट भएको अन्याय मेट्न टोल–टोलबाट अगुवाहरू जागे । टोलबासीको सल्लाहपछि आफ्ना छोरीचेली जोगाउन घर र टोलको मूलढोका होचो बनाउने जुक्ति निकाले । त्यसपछि राजाहरू टोलमा पसेनन् । पुस्तकमा उपत्यकामात्रै होइन, देशका विभिन्न ठाउँका कला–संस्कृति र सम्पदाका अनौठा कहानी अटेका छन् । यस्तै–यस्तै रोचक इतिहास बोकेका कयौं सांस्कृतिक कथाहरू किताबमा समेटिएका छन् ।
अर्कोतिर, हाम्रा परम्परा तथा मिथकहरू सबै सकारात्मक हुन्छन् भन्ने छैन । कतिपय प्रथा तथा कुरीति पनि हुन सक्छन् । त्यस्ता प्रथा तथा कुरीति पनि यो पुस्तकमा समेटिएका छन् । ती चिजहरूको अध्ययनबाट हाम्रो समाज र सभ्यताको विकासक्रमलाई बुझ्न सहज हुन्छ । पहिले हाम्रो समाज कहाँ थियो र वर्तमानमा हामी कहाँ छौं भनेर हाम्रो सामाजिक सभ्यताको विकासक्रमको दूरी मापन गर्न यो पुस्तकले सघाउँछ ।
पुस्तकले उपत्यकामा पहिले भएका तर अहिले नासिएका चिजहरूलाई पनि समेट्ने प्रयास गरेको छ । सांस्कृतिक सम्पदाले गुमाएको मौलिकतालाई समेट्न खोजेको प्रयास पुस्तकको अर्को बलियो पक्ष हो । मोफसलमा ओझेलमा परेको ऐतिहासिक सराय नाँच, लाहुरे टाँसिएको भीरबारे पुस्तकले उठान गरेका विषय पाठकका लागि नयाँ हुन सक्छन् ।
‘होचो ढोका’ घिमिरेको पहिलो कृति भएकोले कमी–कमजोरीमुक्त हुन त नसक्ला तर आफ्नो कला–संस्कृति र पहिचानलाई पुस्तकमार्फत प्रवद्र्धन र संरक्षण गर्न एउटा युवा लेखकले थालनी गरेको प्रयास आफैंमा सराहनीय छ । यति हुँदाहुँदै पनि किताबका केही भ्रमिक पक्षहरू पनि छन् । किताबमा प्रमाण र तथ्यको प्रयोग कम देखिन्छ । ७३ वटा शीर्षकमा लेखिएका सांस्कृतिक कथा त्यति गहिरा छैनन् । समाचारीय भाषाशैली प्रयोग गरिएकाले पढ्दा त्यति आनन्द आउँदैन । तर, सूचना लिन र बुझ्नका लागि सरल छ ।
पुस्तकः होचो ढोका
मूल्यः ३२५।–
लेखकः शिवहरि घिमिरे
प्रकाशकः स्वदेश प्रकाशन