– नवराज पराजुली
“नेपालमा बसेर
त्यसमाथि पुलिसको जागिर खाएर
तँ आफैं असुरक्षित छस्
केको सुरक्षा गर्छस् ?”
हेलो साथी !
विदेश गएको वर्षौंपछि
तैंले मेरो मोबाइलमा पठाएको यो म्यासेजले
मलाई बन्दुकको तातो छर्राले जसरी छेड्यो
र म पीठो छान्ने चाल्नी जस्तो भएँ ।
त्यही छोटो म्यासेजको लामो उत्तर दिन फोन गर्दै छु ।
सम्झी त्यो दिन—
तेरो घरले ओढेको परालको पुरानो घुम्टोलार्ई फ्याँकेर
तेरो घरको चिन्डे टाउकोमा
हुलासको नयाँ जस्तापाता लगाएको थियो ।
र— तैंले र मैंले
घरअगाडिको कदमको रूखको टुप्पोमा चढेर
चम्किएकी बेहुलीजस्ती तेरो घरलार्ई
जन्ती बनेर हेरेका’थ्यौं ।
टुप्पोबाट चम्किएको घर हेरेको दिन मैले सोचेको थिइनँ
म आफ्नो टुप्पो खोज्दै जाँदा प्रहरीमा लाग्नेछु
र छालाको बुट चम्काउने छु ।
टुप्पोबाट चम्किएको घर हेरेको दिन मैले सोचेको थिइनँ
तँ त्यही कदमको टुप्पोमाथिबाट उड्दै
आफ्नो भाग्य चम्काउन विदेश जानेछस् ।
र, केही वर्षपछि चम्किला अक्षर भएको मोबाइलबाट लेख्नेछस्—
“नेपालमा बसेर
त्यसमाथि पुलिसको जागिर खाएर
तँ आफैं असुरक्षित छस्
केको सुरक्षा गर्छस् ?”
तैंले पठाएको यो छोटो म्यासेजको छर्राले
मलाई छेडेर पीठो छान्ने चाल्नी जस्तो बनाइदियो ।
त्यही छोटो म्यासेजको लामो उत्तर दिन फोन गर्दै छु ।
देउसी खेल्न जाँदा
हरेक वर्ष तँ भट्याउँथिस्
र, हरेक वर्ष म चामल र लठ्ठी बोक्दै ‘देउसिरे’ भन्थें,
चामल र लठ्ठी बोकेर ‘देउसिरे’ भनेको दिन मैले सोचेको थिइनँ
म चामलका लागि पुलिस भएर लठ्ठी बोक्ने छु ।
चामल र लठ्ठी बोकेर ‘देउसिरे’ भनेको दिन मैले सोचेको थिइनँ
तँ विदेशी चामल खाएर
मलार्ई म्यासेजमा भट्याउनेछस्—
“नेपालमा बसेर
त्यसमाथि पुलिसको जागिर खाएर
तँ आफैं असुरक्षित छस्
केको सुरक्षा गर्छस् ?”
तैंले मलाई पठाएको यो छोटो म्यासेजको छर्राले
मलाई छेडेर पीठो छान्ने चाल्नी जस्तो बनाइदियो ।
त्यही छोटो म्यासेजको लामो उत्तर दिन फोन गर्दै छु ।
१२ कक्षामा पढ्दा
तेरो अंग्रेजी सफा भएर तँ १३ कक्षामा पढ्न थालिस्
र मेरो अंग्रेजीमा दाग भएर म पहिलो दर्जनमै अड्किएँ
त्यतिखेर मैले सुनेको थिएँ
‘जस्तोसुकै जब्बर दागलाई पनि
राइफलको तेलले धुँदा जान्छ’
तर, सोचेको थिइनँ
अंग्रेजीको जब्बर दागलार्ई धुन म राइफल बोक्नेछु ।
त्यतिखेर मैले सोचेको थिइनँ
तैंले निकाल्न नमिल्ने ठाउँमा लागेको
गोलीले भन्दा दुख्ने गरी लेख्नेछस्—
“नेपालमा बसेर... ड्याङ, ड्याङ
त्यसमाथि पुलिसको जागिर खाएर... ड्याङ, ड्याङ, ड्याङ,
तँ आफैं असुरक्षित छस् ... ड्याङ, ड्याङ, ड्याङ, ड्याङ
केको सुरक्षा गर्छस् ?”
तैंले मलाई पठाएको यो छोटो म्यासेजको छर्राले
मलाई छेडेर पीठो छान्ने चाल्नी जस्तो बनाइदियो ।
त्यही छोटो म्यासेजको लामो उत्तर दिन फोन गर्दै छु ।
यतिका पछि तैंले म्यासेज लेख्दा
मैले सोचेको थिएँ
तैंले सोध्लास्—
“हामी सानो हुँदाको धनुषा प्रा.वि.
हामीसँगै हुर्किएर धनुषा नि.मा.वि. भएको थियो नि,
अहिले त्यो स्कूल बढेर कत्रो भयो ?”
तर सोधिनस्
सोचेको थिएँ, तैंले सोध्लास्—
“गाउँका सबै राम्रा केटीहरूले
जन्तीहरूलार्ई बुनियाँ ख्वाइसके होला है ?”
तर सोधिनस्
तर,
तैंले सोधिस्:
“ ...
तँ आफैं असुरक्षित छस्
केको सुरक्षा गर्छस् ?”
तैंले मलाई पठाएको यो छोटो म्यासेजको छर्राले
मलाई छेडेर पीठो छान्ने चाल्नी जस्तो बनाइदियो
त्यही छोटो म्यासेजको लामो उत्तर दिन
अहिले म लठ्ठीले बेलेको रोटी खाएर फोन गर्दै छु ।
अब त म आगो छान्ने जाली भइसकें
यो जालीबाट चुहिएर झरेको आगोको आवाज सुन्—
तैंले
विदेश जाने विमानको भर्याङ उक्लिने बेला
खुट्टाले भुइँमा मचक्क टेक्दा
त्यहाँको धूलोमा
तेरो जुत्ताको छाप बसेको थियो,
विमानको पंखाले धूलो उडाउँदा
यो देशबाट तेरो अन्तिम निशानी नउडाओस् भनेर
म त्यही माटोको सुरक्षा गर्छु ।
तँलार्ई एक बट्टा घिउ पठाउन
तेरी बूढी आमा
बूढो घाँटी घ्यार्रघ्यार्र पार्छिन्
बूढो ठेकी घ्वार्रघुर्र पार्छिन्,
आफ्नै मनजस्तै जमेको दही
नौनी बन्यो कि बनेन भनेर ठेकीमा चियाउँछिन्,
चियाउँदा आमाका आँखाबाट केही थोपा तँ झर्छस्
र, दही नौनी बन्छ
तेरी आमाको हातबाट छुटेर
तेरो हातसम्म नपुगुन्जेल
त्यो घिउले जुन यात्रा गर्छ नि
म त्यही यात्राको सुरक्षा गर्छु ।
म बुझ्छु
बिर्को राम्ररी कसेर आमाले
तँलार्ई घरबाट टाढा एक बट्टा घर पठाएकी हुन् ।
तँलार्ई गुन्द्रुक पठाउनका लागि
तेरा बूढा बुबा
तोरीको बोटमा
अम्लिसोको कुचोले कीटनाषक औषधि छर्किरहेका छन्
म तिनै बाका हातहरूको सुरक्षा गर्छु ।
‘फिलिङ नोस्ट्याल्जिक’ भन्दै
तैंले
गाउँमा भक्का खाइरहेको पुरानो फोटो
फेसबुकमा हालेको देखेको थिएँ,
त्यो भक्काको पीठो जुन खेतमा फल्छ,
म त्यो खेतको सुरक्षा गर्छु
भक्का पकाउने दाउरा जुन जंगलमा फल्छ,
म त्यो जङ्गलको सुरक्षा गर्छु
भक्का पाक्ने बाफ हुने पानी जुन नदीमा फल्छ,
म त्यो नदीको सुरक्षा गर्छु ।
जुन सिमानाभित्रको देशको मान्छे हुँ भनेर
तैंले राहदानी बनाएको थिइस्,
म त्यही सिमानामा डराइरहेका रेखाहरूको सुरक्षा गर्छु ।
मेरो देशमा उदाउन नडराओस् भनेर
कहिलेकाहीँ अन्तु डाँडा गएर
घामको सुरक्षा गर्छु ।
मेरो तराईको गर्मी भिज्ने गरी
बर्सिन नडराओस् भनेर
कहिलेकाहीँ जनकपुरमा बसेर बादलको सुरक्षा गर्छु ।
म हिमालको जति सुरक्षा गर्छु,
त्यति नै सुरक्षा हिउँ खाएर छाक टार्नेहरूको गर्छु ।
म पहाडको जति सुरक्षा गर्छु,
त्यति नै सुरक्षा चट्टान चपाएर भोक मार्नेहरूको गर्छु ।
तराईको जति सुरक्षा गर्छु
त्यति नै सुरक्षा रोटीलाई थुकमा भिजाएर
घाँटीबाट तल झार्नेहरूको गर्छु ।
देउडामा ‘केमिस्ट्री’ मिलाएर नाचिरहेका
खुट्टाहरूको सुरक्षा गर्छु म
धाननाचमा ‘फिजिक्स’ मिलाएर गाँसिइरहेका
हत्केलाहरूको सुरक्षा गर्छु ।
होलीको दिन
म आधा समय
मुहारका रङहरूको सुरक्षा गर्छु
बाँकी आधा समय
रङका मुहारहरूको सुरक्षा गर्छु ।
यो देशको भेट्नु बनेर
झुप्पाको सुरक्षा गर्छु
सधैंं फेद बनेर
टुप्पाको सुरक्षा गर्छु ।
मलार्ई नै ढुंगा हान्ने हातहरूको सुरक्षा गर्छु म
ढुंगाले लाग्ने टाउकोहरूको सुरक्षा गर्छु ।
पहिले म— अहिले मलार्ई मार्न खोज्नेहरूको सुरक्षा गर्थें
अहिले म— पहिले मलाई मार्न खोज्नेहरूको सुरक्षा गर्छु ।
गोली बोकेर सुरक्षा गर्दा छोराछोरी हुर्केकै भुलेछु
पछिल्लो समय मैले
मेरो छोरोलार्ई भनी किनेर ल्याइदिएको पाइन्टले
उसको गोलीगाँठो पनि छोपेन,
जेठी छोरीलार्ई भनी किनेर ल्याइदिएको चप्पल
कान्छी छोरीले लगाई
अनि जेठी छोरीले कालो मुख लगाई ।
पछिल्लोपल्ट
मेरी श्रीमतीको र मेरो टाउको
एउटै सिरानीमा कहिले निदायो याद छैन
तर पनि म
अरूका श्रीमान्–श्रीमतीको निद्राको सुरक्षा गर्छु ।
दिनको चौबीस घण्टा र
वर्षको ३६५ दिनको यो जागिरमा
आफ्नो परिवारसँग मनाउने बिदा त हुन्न
तर पनि म
बिदा मनाउन हिँडेका अरूका परिवारले बोकेको झोलाभित्र
चेन लगाएर राखेको खुशीको सुरक्षा गर्छु ।
दशैंमा
अरू सबैका आमाबुबाका हातहरू
उनीहरूका छोराछोरीका निधारसम्म पुग्ने क्रममा
ती आशिषहरू बाटोमै अपहरण नहून् भनेर
म दशैंभरि बाटोमै उभिरहन्छु
मेरा आफ्ना आमा–बुबा
र आफ्ना छोराछोरीहरू
दशैंभरि मेरो बाटो हेरिरहन्छन् ।
तिहारमा अरूका दिदीबहिनीहरू
उनीहरूका दाजुभाइको सुरक्षाका लागि
हातको दुबोबाट तेल चुहाउँदै
दाजुभाइको वरिपरि घेरा लगाउँछन्
म तिहारमा
हातको बन्दुक र लठ्ठीबाट पसिना चुहाउँदै
सडकको वरिपरि घेरा लगाउँछु
अनि मेरा तीनैवटी दिदी
मेरो फोटोको वरिपरि घेरा लगाउँछन् ।
अरूको कुरै छोड्
म मन्दिरबाहिर बसेर
मन्दिरभित्रका ईश्वरको सुरक्षा गर्छु ।
अँ ... !
धत्तेरी !
मेरो मोबाइल कराउन थाल्यो साथी
पैसा सिद्धिन लागे जस्तो छ
अँ ! साँच्चै सुन् न
मेरी आमाको पाठेघरको अपरेसन गर्नुपर्ने छ
मिल्छ भने
साठी हजारजति पठाइदे’न, साथी
म पछि तँलार्ई
मेरो सञ्चयकोषबाट निकालेर तिरौंला ।
– यो कविता पराजुलीको पहिलो कवितासंग्रह ‘सगरमाथाको गहिराइ’बाट लिइएको हो ।
उनले वाचन गरेको यही कविताको यूट्युब लिंक—