काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु गोप्य वार्ताका लागि बिहीबार बेलुकादेखि चन्द्रागिरी पुगेका छन् । चन्द्रागिरीमा रहेको रिसोर्टमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादललगायतका नेताहरु बिहीबार बेलुका त्यहाँ पुगेका थिए ।
पार्टी एकता, सरकार सञ्चालनलगायतका विषयमा कुराकानीका लागि उनीहरु त्यहाँ पुगेको स्रोतले जानकारी दियो । नेता पौडेल बिहीबार दिउँसो नै त्यहाँ पुगेका थिए भने दाहाल ४ बजे पुगेका थिए । गृहमन्त्री थापा साढे ४ बजे र प्रधानमन्त्री ओली सवा ५ बजे चन्द्रागिरी पुगेका थिए ।
स्रोतका अनुसार प्रचण्ड अघिल्लो साता पनि परिवारसहित पुगेका थिए । “मन्त्री फेरबदल गर्ने कुरा पनि पहिलेदेखि नै चलेको थियो,” स्रोतले भन्यो,“पार्टी एकताको टुंगो नलाग्दा पार्टीभित्रै विवाद बढेको छ ।” नेकपा एकता तल्लोतहसम्म पुग्न सकेको छैन । प्रदेश कमिटीभन्दा तल एकता हुन सकेको छैन । २२ वटा जनसंगठनमध्ये वकिल र इन्जिनियरको संगठनबाहेकका कुनै पनि संगठनको एकता टुंगो लागेको छैन । जिल्लाको नेतृत्वमा माधवकुमार नेपालले समानान्तर सूची तयार पारेका छन् । त्यसैगरी महानगर र जनसंगठनमा पनि उनले समानान्तर सूची तयार पारेका छन् ।
नयाँ वर्षको पहिलो दिन नै तल्लो तहसम्म सबै एकता टुंगो लगाएर सर्कुलर जारी गर्ने तयारी भएको स्रोतले जानकारी दियो ।